धुलिखेल/आन्तरिक राजश्व कार्यालय धुलिखेलले चालु वर्षको ११ महिना पुग्दा ७ महिनामा लक्ष्य भन्दा धेरै राजश्व संकलन गरेको छ । जेठसम्मको लक्ष्यमा ११७ प्रतिशत धेरै राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।
आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख डम्वरु पराजुलीका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका ३२ हजार करदाताबाट जेष्ठ २९ गतेसम्म १ अर्ब ८३ करोड राजश्व संकलन भएको छ । एक अर्ब ६६ करोड लक्ष्य रहेकोमा लक्ष्य भन्दा ११० प्रतिशत धेरै भएको पराजुलीले बताए । जेष्ठ महिनामा ८० करोड ५९ लाख लक्ष्य रहेकोमा आयकर तर्फ ९४ करोड ७९ लाख राजश्व संकलन भएको छ । ब्याज कर बापत १२ करोड ५ लाख लक्ष्य रहेकोमा १३ करोड ६० लाख संकलन भएको छ । भ्याट तर्फ ५८ करोड ३६ लाख लक्ष्य रहेकोमा ४७ करोड ७९ लाख रुपैया संकलन भएको छ । अन्य शिर्षकमा भन्दा भ्याटमा लक्ष्य भन्दा केहि प्रतिशत कम राजश्व संकलन भएको पराजुलीले बताए ।
अन्त शुल्क तर्फ १५ करोड ४९ लाख लक्ष्य रहेकोमा २२ करोड ९९ लाख रुपैयाँ संकलन भएको छ । भक्तपुर जिल्लामा रहेको आन्तरिक राजश्व कार्यालय चालु आर्थिक वर्षको शुरुमै काभ्रेपलाञ्चोक आउने भनिए पनि मसिंर १ गतेबाट मात्रै कारोवार शुरु गरेको थियो । ठेक्काहरुको भुक्तानी समयमै नभएको तथा करोडसम्मका कामहरु उपभोक्ता समितिबाट हुन थालेपछि भ्याट बापतको रकम कम असुली भएको छ । कार्यालयमा घर बहाल बापत ३ करोड ७४ लाख संकलन भएको छ । घर बहालका धेरै शिषर्कका रकम चालु वर्षबाटै स्थानीय सरकारले असुल गर्नेछन् । स्वास्थ्य सेवा बापत १४ लाख, शिक्षा सेवा शुल्क बापत २५ लाख रुपैया संकलन भएको छ । चालु वर्षबाट यि शिर्षकमा राजश्व संकलन हुँदैन । चालु वर्षको असार मसान्तसम्म १ अरव ९९ करोड लक्ष्य रहेको थियो । आन्तरिक राजश्व कार्यालयमा ३२ हजार करदाताहरु आवद्ध भएका छन् । ति मध्ये ५ हजार भन्दा धेरै फर्म भ्याटमा दर्ता भएका छन् ।
कार्यालयमै बैंक काउन्टर
आन्तरिक राजश्व कार्यालयले ५० हजार भन्दा माथीको रकम बंैकमा जम्मा गर्नुपर्ने ब्यवस्था गर्दै आएको थियो । उक्त ब्यवस्थाले करदाताहरुलाई दैनिक बैंक र कार्यालय ओहोरदोहोर गर्न समस्या थियो । बैंक र कार्यालयको दुरी टाढा भएको तथा सवारी साधनको पहुँच नभएकाले कठिनाई भएको करदाताहरुले बताएका थिए । चालु वर्षको असार पहिलो साताबाटै कृषि विकास बैकले काउन्टर शुरु गर्ने भने पनि प्राविधिक कारणवश असार १ गते शुभारम्भ हुन सकेन । ‘बैंकको काउन्टर सेवाका लागि कोठा समेत ब्यवस्था गरिएको छ, सम्भवतः असार ५ गतेबाटै कारोवार शुरु हुन्छ’–प्रमुख डम्बरु पराजुलीले भने । बैंक काउन्टर संचालनमा आउँदा करदाताहरुलाई सुविधा हुनेछ । बार्षिक दुई अरब रकम संकलन गर्ने कार्यालयमा काउन्टर नहुँदा सेवाग्रही मर्कामा थिए ।





