धुलिखेल/भू–माफियाहरुले सार्वजनिक कुलो प्लटिङ्ग गरेको खुलासा भएको छ । पनौती नगरपालिका वडा नम्वर ५ मा सर्वसाधारणको उजुरी पछि प्लटिङ्गमा राजकुुलो घुसाईएको फेला परेको हो ।
पनौती नगरपालिका वडा नम्वर ५ साविक छाला कारखाना चौकोट सुब्बागाउँ ६ नम्वर वडामा रहेको २१ कित्ता प्लटिङ्ग अनियमित र बदनियतपूर्वक राजकुलो सहित घुसाई प्लटिङ्ग गरी विक्री वितरण गरिएको छ । वडा कार्यालय मार्फत पनौती नगरपालिकाले मालपोत कार्यालयलाई रोक्काका लागि अनुरोेध गरेपछि जग्गा प्लटिङ्ग गर्नेहरुले सार्वजनिक कूलो छाडेर निजी जग्गा विक्री गर्ने कागजमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार प्लटिङ्ग गर्दा लगाईएको वाल भत्काउने, मापदण्ड अनुसार राजकुलोको सीमाना छाड्ने र घडेरी खरिद गर्ने ब्यक्तिहरुलाई लालपुर्जामा भए अनुसारको जग्गा उपलब्ध गराउने सहमति गरेपछि रोक्का फुकुवाका लागि पत्र लेख्ने वडा अध्यक्ष श्रीधर कुँईकेलले बताए । ‘सहमति भएको छ, तर कार्यान्वयन बाँकी छ’–उनले भने–‘सबै सहमति कार्यान्वयन भएपछि फुकुवाका लागि पत्र लेख्छौं ।’
‘बाबु बाजेहरुको पाला देखि गाउँभरीको पानी बग्ने ७ फिटे कुलो प्लटिङ्गमा पारी विक्री भईसकेको रहेछ’–वडा अध्यक्ष श्रीधर कुँईकेलले भने –‘उजुरी र जानकारी दुबै प्राप्त भयो, तत्कालै नापी कार्यालयमा फिल्ड उतारका लागि पत्र लेखेर पुष्टि भए पछि सबै कित्ताहरु रोक्काका लागि नगरपालिका मार्फत मालपोत कार्यालयमा पत्र पठाईएको छ ।’ नगरपालिकाकै पत्रका आधारमा २०७६ जेष्ठ ९ गते उक्त प्लटिङ्गमा पर्ने २१ वटा कित्ता रोक्का गरिएको मालपोत कार्यालय काभ्रेका सूचना अधिकारी एवं मालपोत अधिकृत जयन्त भट्टराईले जानकारी दिए । साविकका कित्ता नम्वर १, २, ४ र १३३ भित्र बाटो जनाईएको कुलो र सिमाना राखिएको आधारमा पनि उक्त प्लटिङ्गमा सार्वजनिक जग्गा ब्यक्तिका नाममा हुनु हुँदैन भन्ने वडा अध्यक्षको भनाई छ । नगरपालिकाले जग्गा रोक्का राखे पछि प्लटिङ्गवालाहरुले ३ फिटको बाटो छाडिदिने बताउँदै कतै उजुरी नगर्न र कसैले सोध्यो भने मिलिसक्यो भनिदिनु भनेको वडा अध्यक्ष कुईकेलले बताए । कारवाहीका लागि ४५ जना स्थानीयहरुले वडा कार्यालयमा हस्ताक्षर सहितको उजुरी गरेका थिए ।
नापी कार्यालय काभ्रेका सूचना अधिकारी एवं नापी अधिकृत सुरेश मानन्धरले साविकका कित्ता नम्वर १, २, ४ र १३३ मा बाटो भन्ने फिल्डबुकमा उल्लेख भएको बताए । ‘फिल्डमा उल्लेख बाटो सार्वजनिक भएकाले निजी बनाउन पाईदैन’– उनले भने –‘सामान्यतया सिङ्गल लाईन भएको फिल्डमा बाटो उल्लेख भएको अवस्थामा ३ फिट बाटो कायम हुनुपर्छ ।’
८ कित्ता कुलोमा
साविकका कित्ताहरुबाट बनेको नयाँ कित्ताको १५१४ उमेश श्रेष्ठ, १५०५ जानुका कर्माचार्य, १५१३ शिव श्रेष्ठ, १५०४ विमलमाया श्रेष्ठ, १५१२ सुशिल कार्की, १५०३ रिता भुजेल र १५११, १५०२ कुमार श्रेष्ठको नाममा रहेको जग्गा कुलोमा परेको छ । ८ वटा कित्तामा झण्डै १ रोपनी जमिन सार्वजनिक छ भने जग्गाले प्लटिङ्गका लागि तयारी गरेको सार्वजनिक कुलो २ रोपनी धेरै क्षेत्रफलमा पर्छ । प्लटिङ्गमा पर्ने १३१, १३५ कुमार श्रेष्ठ, १५०९, १५१० र १५०१ विनिता अधिकारी, ८२६ बालकाजी मानन्धर, १२९ सकुन्तला न्यौपाने, १३० सिक्किन अग्रवाल, १४९९ अष्टलक्ष्मी मानन्धर, १५०० राज्यलक्ष्मी श्रेष्ठ, १५०७ लक्ष्मी मानन्धर, १४९८ मोहनकाजी मानन्धर र १५०८ चित्रकुमारी तिवारीले खरिद गरेको जग्गा रोक्का राखिएको छ ।
सरकारले जग्गाको प्लटिङ्ग र कित्ताकाट रोकेको समयमा भू–माफियाहरुले विभिन्न कागजात तयार गरी हुैँदै नभएका अंशियारलाई अशिंयार बनाई जग्गा खरिद विक्री गरेका हुन् । अदालतको आदेशको आधारमा, एक वर्ष भित्र एक पटक मात्रै कित्ताकाट गर्न पाउने अवस्थामा र अंशियारको बण्डापत्रका आधारमा जग्गाको कित्ताकाट हुने गरेको थियो । त्यहि नियम भित्र पस्न हुँदै नभएका अंशियारलाई अंशियार देखाएर फर्जि कागजात तयार गरी जग्गा प्लटिङ्ग पछि सार्वजनिक कुलो सहित विक्री गरिएको हो । प्लटिङ्ग पछिको विक्रीमा राजनीतिक दलका केहि स्थानीय नेता र पटक पटक जग्गाबाट लाभ लिएका ब्यक्तिहरु छन् । सबै कित्ताका जग्गा धनीहरुले पूरा जग्गा पाउनुपर्ने भन्दै सहमति कार्यान्वयन गर्न अनुरोध गरेका छन् । सहमति कार्यान्वयन नभए जग्गाका लागि बैना फिर्ता गर्न दबाब दिएका छन् ।
यसरी बेचियो ‘कुलो’
साविक सुब्बागाउँ गाविसका विभिन्न वडामा रहेका विभिन्न कित्ता जग्गाहरु २०४५ साउन ११ गते र २०४५ भदौ ९ गते, २०५० साल साउन ३२ गते विभिन्न कित्ताबाट पशुपति सिमेन्ट प्रा.लि. त्रिपुरेश्वर काठमाडौंका नाममा सिक्कीम अग्रवालले ७७ कित्ता जमिन खरिद गरे । १५ रोपनी भन्दा धेरै जमिन खरिद गरेको उक्त सिमेन्ट प्रालिले २०६५ साल पुष ११ गते सिराहा जिल्ला लाहान नगरपालिका वडा नम्वर ७ घर भएकी श्रद्धा मुरारकाका नाममा पास गरिदिए । अझै श्रद्धाका नाममा मालपोत कार्यालय काभ्रेमा कित्ता नम्वर ४ मा ३ रोपनी ३ आना १ पैसा १ दाम र कित्ता नम्वर ५ मा १ रोपनी, १ आना ३ पैसा जमिन बाँकी छ । बाँकी कित्ता श्रद्धा मुरारकाले राजन श्रेष्ठ भरतपुर नगरपालिका १ चितवन, तारानाथ ढकाल, गुल्मी, गोविन्दप्रसाद शर्माका नाममा विक्री गरिन् । त्यतिबेलासम्म उक्त कुलो नमासिएको वडा अध्यक्ष कुईकेलले बताए ।
प्लटिङ्ग गरी जमिन विक्री गर्ने क्रममा तारानाथ ढकालको समुहले सार्वजनिक कुलो विक्री गरेको हो । ढकालले श्रीमती सिता पौड्याल र गोविन्दप्रसाद शर्माले छोरा सुमित ज्ञवालीका नाममा समेत जग्गा पास गरिदिएर प्लटिङ्ग शुरु गरेका थिए । उनिहरुले २०७५ असार ३१ गते राजिनामा पास गरे लगत्तै २०७५ भदौ २६ गते अंश भरपाईमा अनिता मानन्धर हुँदै कुमार श्रेष्ठलाई चार कित्ता विक्री गरे । यस्तै थुप्रै ब्यक्तिहरु खडा गरी २१ कित्ता जग्गा ढकाल समुहले पास ग¥यो । सोहि प्लटिङ्गको जग्गामा भएको विवाद, अदालतको उजुरी र बंैकको ऋणका कारण एक ब्यक्तिले आत्महत्या समेत गरेको श्रोतले बतायो ।
पाँचखालमा पनि अतिक्रमण
राजकुलो अतिक्रमणको समस्याले पाँचखाल पनि ग्रसित छ । साँघुरो भएको स्थानमा ५ मिटर चौडा रहेको राजकुलो कतै पुरिसकिएको छ भने कतै १ मिटर पनि छैन । कुलोको दायाँ बायाँ घर बनाउनेले अतिक्रमण गरेको स्थानीयले बताए ।
कुलोका छेउछाउका हरेक घरहरूले सेफ्टी ट्यांकीको मलमुत्र त्यही राजकुलोमा हालिदिएका छन । वडा नम्बर ४ ले राजकुलोमा फोहोर नहाल्नु र अतिक्रमण नगर्नु भनेर सूचना गरेको भएपनि कार्यान्वन हुन सकेको छैन । कुलो अतिक्रमण गर्ने र कुलोमा सेफ्टी ट्यांकी हालि दिनेमा पूर्व जनप्रतिनिधिदेखि स्थानीय राजनैतिक पहुँचवालाहरु छ्न । बजार क्षेत्रमा रहेका नक्सामा अङ्कित राजकुलाका शाखा कुलोहरु पुरिएका छन् । शाखा कुलो माथी कतिपय पक्की ढलान भएका घर समेत बनी सकेका छन् । राजकुलोको दायाँबायाँ संरचना बनाउँदा कति सेट्ब्याक छोड्नु पर्ने हो, त्यसको स्पष्ट नियम छैन । नगरपालिकाको वेवास्ताका कारण अशुंवर्माकालिन राजकुलो अतिक्रमणको चपेटामा परेको सर्वसाधारणले बताएका छन् ।
मालपोत प्रमुखको सरुवा
सरकारी राजश्व अनियमित गर्ने मालपोत कार्यालय काभ्रेका प्रमुख धुर्वप्रसाद कोईरालाले महिना दिन पनि काभ्रेमा कार्य गर्न पाएनन् । सर्वाेच्च अदालतको मानहानी गर्दै कर्मचारीलाई रमाना दिने र जिम्मेवारीबाट मुक्त गर्ने तथा कर्मचारीहरुलाई हुँदै नभएको आरोप लगाउँदै मनोबल गिराए पछि कर्मचारीहरुबाटै असहयोग पाएका कोईरालाको राजश्व अनियमित भएको खवर लगत्तै विभागबाट अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कोईरालाले राजश्व बैंकमा दाखिला गर्नु पर्नेमा केहि दिन देखि मालपोत कार्यालयमै राखेको फेला परेको थियो ।





