धुलिखेल/गाडीमा यात्रा गरिरहेकी १३ बर्षीया बालिकालाई जवर्जस्ति करणीको प्रयास गरेका गोकुले स्वास्थ्य चौकी महाभारत गाउँपालिकाका अहेव मिलापत्र पछि प्रहरी कारवाहीमा परिदैन भन्ने कुरामा ढुक्क थिए । जब बालिकालाई दिने भनेको ५ लाख रकममा आनाकानी गरे तब उनी प्रहरीको फरार सूचीमा परे ।
बालिकालाई जर्बजस्ति करणी गर्ने प्रयासमा असफल भएका अहेव बुद्धिदास श्रेष्ठ घटना भएको २२ दिनमा प्रहरी कार्यालयमा आफै हाजिर भए । स्थायी जागिरे अहेवले बालिकालाई जवर्जस्ति गर्ने प्रयास असफल भएपछि तत्काल १ लाख रुपैयाँ दिने भन्दै कागज गरेका थिए भने ५ लाख दिने शर्तमा कुरा नमिलेपछि प्रहरीले सूचना पाए लगत्तै उजुरी दर्ता भएको थियो । फौजदारी अभियोगका कुनैपनि घटनामा मिलापत्र गर्न मिल्दैन । बालिका करणी गम्भीर अपराध हो । तर गाउँकै अगुवा ब्यक्तिहरु करणी घटनालाई पैसामा मिलापत्र गर्छन् । शिक्षक, सामुदायिक मेलमिलापकर्ता आफैले करणी घटनामा मिलापत्र गराएका छन् । महाभारत गाउँपालिकामा गोकुले मावि छ । त्यहाँ कार्यरत छन् शिक्षक मोहनदास श्रेष्ठ । नाताले आफन्त पर्ने महाभारत गाउँपालिका वडा नम्वर १ घर भई गोकुले स्वास्थ्य चौकीमा कार्यरत अहेव बुद्धिदास श्रेष्ठले २०७६ जेष्ठ १२ गते दिउँसो १३ बर्षीया बालिकालाई सार्वजनिक सवारी साधन भित्रै करणीको प्रयास गरे ।
जेष्ठ १४ गते १ लाख रुपैयाँ दिने र कतै मुद्दा नगर्ने कागज तिनै मोहनदास श्रेष्ठले तयार गरे । प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल अन्र्तगतका सामुदायिक मेलमिलापकर्ताद्वय दिलदास श्रेष्ठ र सन्देश वाईवाले मिलापत्र गराए । स्थानीय पसलका साईलामान थिङ्ग लगायत ७ जनालाई साक्षी राखे । प्रथम पक्ष भन्दै बालिकाका बाबु आमालाई सहि गराए भने दोश्रो पक्षमा उनै करणीको प्रयास गर्ने बुद्धिदास श्रेष्ठलाई हस्ताक्षर गराए । २०७६ जेष्ठ २५ गते भित्र १ लाख रुपैयाँ दिने सहमति केहि दिनमै भाँडियो । बालिकाका बाबुले बुद्धिदासलाई ५ लाख रुपैयाँ माग गरे । घटना घटेको १२ दिन पछि बनेपामा मिलापत्रको थप तयारी गर्दै गर्दा प्रहरीले सूचना पायो र बालिका सहित उनका आफन्तलाई नियन्त्रणमा लिई बुद्धिदास विरुद्ध बाल यौन दुरुपयोग अभियोगमा मुद्दा दर्ता ग¥यो ।
महाभारत गाउँपालिका १ गोकुल घर भएका ३४ बर्षीय बुद्धिदास श्रेष्ठ गोकुले स्वास्थ्य चौकीमा अहेव चौथो तहका स्थायी कर्मचारी हुन् । गोकुलेबाट बनेपा आउँदै गरेको बोलेरो गाडीमा बालिकालाई जर्बजस्ति करणीको प्रयास गरेका थिए । भाउजु नाता पर्नेसँग उनी गाउँपालिका कार्यालय जाँदै गर्दा सोलाभञ्ज्याङ्ग भन्ने स्थानमा बुद्धिदासले गाडीको पछाडी बसिरहेको अवस्थामा बालिकाको छाति भित्र हात पु¥याई स्तनको मुन्टा समेत बाङ्गिने गरी माडेको र सुरुवाल तान्दै भित्र समेत हात पु¥याई अनैतिक कार्य गरेकोे बालिकाले बताएकी छिन् । आफू पीडाले रुन समेत नसकेकाले गाडीबाट झरे लगत्तै स्थानीयहरु र भाउजुसँग भनेको प्रहरीकोमा बयान दिएकी छिन् । गाडी साहु पनि आफै रहेका बुद्धिदासले बोलेरोको अगाडी अरु मान्छेहरुलाई राखेर आफु पछाडी चढेका थिए । बनखुमा बालिका ओर्लिईन् । घटनाका बारेमा अभिभावकलाई बताईन् । त्यो सबै घटनाको साक्षी त्यहि गाडीमा कार्यरत उनकै सहयोगी थिए । साहुका अगाडी उनले पनि केहि भन्न सकेनन् । जेष्ठ १४ गते मंगलबार बालिका माथी हातपात मात्रै भएको गुनासो आएपछि आईन्दा गल्ति नगर्ने भन्दै मिलापत्र गरिएको छ । बुद्धिदासले माफी मागे । कान समाएर उठबस गरे र कागजमा लेख्न लगाए सामान्य धकेलिएको, हलचल भएको र छोएकोले गल्ति भएको स्विकार्दै बालिकाको पक्षबाट कुनै उजुर बाजुर नगर्ने गरी मिलापत्र गरियो । फेरी अर्काे कागज गरियो जेष्ठ २५ गते भित्र १ लाख रुपैयाँ बालिकाको आफन्तलाई भुक्तानी गर्ने कुरामा दुवै पक्ष राजी भएको छ ।
१ लाख रुपैयाँ जेष्ठ २५ गते भित्र तिर्ने सहमति पश्चात चुपचाप लागेका बालिकाका आफन्तहरु आफैले पुनः ५ लाख मागे । पैसा लेनदेनको दलाली गरिरहेका थिए तिनै सामुदायिक मेलमिलापकर्ता सन्देश वाईवाले । बनेपामा ५ लाख रुपैयाँको बार्गेनिङ्ग ३ दिनसम्म चल्यो । जब प्रहरीकोमा बालिका माथी भएको यौन हिंसाका बारेमा जानकारी भयो तब बनेपा र जिल्ला प्रहरी कार्यालयको योजनामा पीडितहरुलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा पु¥याईयो । र बालिकालाई जाहेरी दिन लगाईयो । जाहेरी र बालिकाको बयान कागजमा एउटै गरियो तर उनले भने अनुसार करणी घटनालाई बाल यौन दुरुपयोग मुद्दामा परिणत गरियो ।
अगुवा नै बाटो.....
समाजमा अपराधका बारेमा सूचना दिने र अपराधीलाई कारवाही गर्न सहयोग गर्नु पर्ने समुह नै अपराध जोगाउन लागेका छन् । बालिकाले कारवाहीको माग गर्दा पैसामा मोलमोलाई गर्ने शिक्षक र मेलमिलापकर्ता अर्का अपराधी हुन् । प्रहरीले मिलापत्र गर्नेलाई कारवाही गर्ने सुरसार गरेको छैन ।
प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रले उत्पादन गरेका सामुदायिक मेलमिलापकर्ताहरुले समुदायमा यस्ता खालका घटनामा मिलापत्र गरेर समाजको धज्जी उडाईरहेका छन् । एनजिओले प्रतिवेदन बनाउन हुँदै नभएको विवादलाई विवाद देखाउने र भएको फौजदारी घटनालाई पैसामा मिलाउने नयाँ घटना नभएको स्थानीयले बताए । बालिकाको जबर्जस्ति करणी घटनाको मिलापत्र त्यसकै एउटा नमुना हो ।
के भन्छ कानुन ?
मुलकी अपराध संहिताको परिच्छेद १८ को करणी सम्वन्धी कसूरको दफा २१९ मा जवर्जस्ती करणी गर्न नहुने भन्ने उल्लेख छ । कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर अठार वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालबालिकालाई करणी गरेको मानिनेछ । सोहि परिच्छेदको (ग) मा गुदद्धार वा मुखमा लिङ्ग पसाएमा, गुदद्धार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै बस्तु योनीमा प्रवेश गराएमा पनि जवर्जस्ति करणी मानिनेछ । यस्तो अवस्थामा करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद हुने ब्यवस्था गरिएको छ । कैदको ब्यवस्था गरिएको बुँदा नम्वर (ख) मा दशवर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्ष देखि बीस वर्षसम्म कैद सजाँय हुनेछ ।
तर बालिकाको हकमा जवर्जस्ति करणी घटनालाई बाल यौन दुरुपयोग अन्र्तगत जाहेरी दर्ता गरी अभियुक्तलाई उन्मुक्ति दिने प्रयास गरिएको छ । बाल यौन दुरुपयोग अन्र्तगत मुद्दा चलाउँदा तीन वर्ष र तीस हजार जरिवाना हुनेछ । तर न्यायाधीशले त्यस्ता ब्यक्तिहरुलाई कानूनको छिद्रा समात्दै मुखमा आए जतिको धरौटीमा छाड्न सक्छन् ।
२३ दिनपछि हिरासतमा
बालिका करणी गरी एक लाख दिने कागजमा हस्ताक्षर गरी फरार रहेका महाभारत गाउँपालिका गोकुले स्वास्थ्य चौकीका अहेव रमेशदास भनिने बुद्धिदास श्रेष्ठले २३ दिनपछि जिल्ला प्रहरी कार्यालयमा आफै आत्मसमर्पण गरेका छन् । फौजदारी अपराधको जर्बजस्ति करणी सम्वन्धी घटनामा सबै भन्दा कमजोर बालयौैन दुरुपयोग शिर्षक समातेर अदालतबाट छुट्ने ब्यवस्थामा जाहेरी दर्ता गरिएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । प्रहरी प्रवक्ता डिएस्पी दिपक गिरीले बालिकाको सुरुवाल समेत तानेको बयान र जाहेरी भएकाले जर्बजस्ति करणी भन्दा पनि बाल यौन दुरुपयोग अभियोगमा मुद्दा दर्ता भएको बताउनु भयो । बालिकाले अहेवले सुरुवाल भित्र योनीमा हात पसाई जबर्जस्ति गर्न खोज्दा अर्काे मान्छेले रोकेपछि आफु जोगिएको तर स्तन समातेर मरणासन्न पारेको बताएकी थिईन् । यस्तो घटनामा मिलापत्र गर्नेहरुलाई कारवाही हुन्छ कि हुदैेन भन्ने जिज्ञासामा प्रहरी प्रवक्ता डिएस्पी गिरीले अनुसन्धान हुँदै गरेकाले थप कुरा बताउन नमिल्ने बताए ।
शिक्षक धरौटीमा छुटे
महाभारत गाउँपालिकाको कालिदेवी मावि कुपिन्टारमा कार्यरत शिक्षक रामेश्वर राय यादवले बालिकाहरु माथी मध्यरातमा जर्बजस्ति करणी गर्ने प्रयास गरेको अभियोगमा जिल्ला अदालत काभ्रे पलाञ्चोकले १ लाख धरौटीमा छाड्ने आदेश दिएको छ । २०७६ असार १ गते जिल्ला न्यायाधीश अर्जुन अधिकारीले फौजदारी अभियोगमा तीन वर्ष कैद तोकिएका मुद्दाहरुमा संलग्न अभियुक्तलाई धरौटीमा छाड्न सक्ने आधार देखाउँदै १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका छन् । बाल यौन दुरुपयोग मुद्दामा तीन वर्ष कैद र तीस हजार जरिवाना तोकिएको छ । शिक्षक यादवले मादक पदार्थ सेवन गरी छात्राहरु सुतिरहेको स्थानमा मोवाईलको बत्ति बालेर जर्बजस्तिकरणीको प्रयास गरेका थिए ।
सईका आफन्तको धम्की
नेपाल प्रहरीका सई रामविनोद राय यादवले अर्काको श्रीमती नाताले साली पर्ने १८ बर्षिया युवतीलाई जर्बजस्ति गरी अश्लील फिल्म समेत बनाएको अभियोगमा पुर्पक्षका लागि कारागार गए पछि उनी र उनका आफन्तले धम्की दिन थालेका छन् । यादवका आफन्तले तत्काल मिल्न, नमिले कुनै पनि घटना बनाएर फसाउने धम्की दिएको पीडित युवतीले बताउनु भयो । सई यादवका कान्छा भाई पनि प्रहरीमै कार्यरत छन् ।
सामुहिक करणी
चौरी देउराली गाउँपालिका वडा नम्वर ५ पोखरीचौरी दाहाल टोलमा २०७६ जेष्ठ २६ गते १७ बर्षिया बौद्धिक अपाङ्ग भएकी बालिकालाई सामूहिक बलात्कार भएको छ । त्यसअघि बालिका माथी २०७६ बैशाख ११ गते पनि उक्त घटना भएको बताईएको छ । बालिका घरमा एक्लै भएको समय पारी घरबाट तान्दै बारीको कान्लामुनी पु-याई सोहि ठेगानाका ३३ बर्षिय राजकुमार ढुंगेलले दुई महिना अघि जबर्जस्ति करणी गरेका थिए भने पछिल्लो समय घर भित्रै मुख थुनेर जबर्जस्ति गरिएको प्रहरी प्रवक्ता डिएस्पी दिपक गिरीले जानकारी दिए । आरोपित अभियुक्त दुवैलाई प्रहरीले जेष्ठ ३२ गते पक्राउ गरेको छ ।





