2026 April 30/ 04:05: 05pm

    धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ४ अरनिको राजमार्ग सँगै रहेको काठमाडौ विश्वविद्यालय मार्गको सडकको ३ आना जग्गा विक्री प्रकरणमा मालपोत कार्यालय काभ्रे र धुलिखेल नगरपालिकाका कर्मचारीको संलग्नता देखिएको छ ।
     कर्मचारीहरुको संलग्नता र जग्गा धनी मैया सार्कीको लोभका कारण सडक लगातार विक्री भईरहेको थियो । काठमाडौ विश्वविद्यालय चोक अरनिको राजमार्ग २८ किलो देखि ४ सय २५ मिटर सम्म झण्डै ६० कित्ता जमिन सडकमा पर्छ । सडकमा परेको जमिन अरु कित्ता धनीहरुले विक्री गरेका छैनन् । मैया सार्कीले मात्रै किन विक्री गरिन् ? प्रहरी अनुसन्धान त्यसतर्फ सोझिएको छ । सर्वसाधारणलाई ३५ दिन भित्रको घर बाटो प्रमाणित सिफारिस माग्ने मालपोत कार्यालयका कर्मचारीहरुले एउटै सिफारिसका आधारमा ५ वर्ष पुरानो सिफारिसका आधारमा कसरी जग्गा पास गरिदिए ? नगरपालिकाका कर्मचारीहरुलाई जग्गा बाटोमै पर्ने थाहा हुँदा हुदै किन जग्गाले बाटो छुन्छ तर बाटोमा जग्गा पर्दैन भनेर सिफारिस गरिदिए ? प्रहरी अनुसन्धान त्यसतर्फ सोझिएको छ । 
    २०६२ साल भदौ ९ गते साविक कित्ता नम्वर ६३३ को १० आना ३ दाम क्षेत्रफलबाट मैया सार्कीले कित्ताकाट गरी ६५१ कित्ताको ७ आना ३ दाम जग्गा रविन्द्र श्रेष्ठ यगोल धुलिखेललाई ६० हजार रुपैयाँमा विक्री गरेकी थिईन् । धुलिखेल नगरपालिकाका इन्जिनियर जैसिलाल मण्डलले उक्त जग्गामा घर बाटो केहि नभएको देखिन्छ भन्दै सिफारिस गरिदिएका छन् । २०४८ सालमा खुलेको काठमाडौ विश्वविद्यालय जाने सडक त्यतिबेला देखि नै संचालनमा छ । इन्जिनियर जैसिलाल मण्डलले किन सडक भएको जमिनलाई छैन भनेर सिफारिस गरे ? रहस्यको विषय बनेको छ । ६३३ कित्ताकै बाँकी ३ आना जग्गा ६५२ कित्तामा कायम भई मैया सार्कीकै नाममा बाँकी रहेको थियो । २०७१ असार १२ गते मैया सार्कीले २ लाख ५० हजार रुपैयाँमा ज्ञानबहादुर मोक्तान र लोकेन्द्र तोलाङ्गेलाई विक्री गरिन् । जतिबेला धुलिखेल नगरपालिकाका कार्यकारी अधिकृत हरिराम नागिलाले २०७१ असार ११ गते कित्ता नम्वर ६५२ मा घर छैन तथा फिल्डमा पक्की मोटरबाटो सँग जोडिएको छ भन्ने ब्यहोराको घरबाटो प्रमाणित गरिदिए । त्यतिबेला पनि ६५२ नम्वर कित्ताका ३ आना जग्गा मुल सडकमै थियो । कार्यकारी अधिकृत नागिलालकोे पनि उक्त सिफारिसमा कैफियत देखिएको छ । त्यतिबेला मालपोत कार्यालय काभ्रेमा फाँटवाला मालपोत अधिकृत सुबोध खनाल थिए भने नासु कटकबहादुर खड्का र रेवती तिमल्सिना थिए । मैया सार्कीले बेचेको उक्त जग्गा पुनः २०७३ साल बैशाख ७ गते लोकन्द्र विष्टले ज्ञानबहादुर मोक्तानको जिल्ला अदालतबाट अधिकृत वारेसनामा लिई एक्लै मिना भैललाई ६ लाख ५० हजार रुपैयाँमा विक्री गरेका थिए । त्यतिबेला पनि मालपोत कार्यालयमा फाँटवाला मालपोत अधिकृत सुबोध खनाल थिए भने नासु कटकबहादुर खड्का र रेवती तिमल्सिना थिए । २०७१ असार ११ गते प्रमाणित गरिएको घर बाटो सिफारिसकै आधारमा दोश्रो पटक जग्गा किनबेच भयो । घर बाटो प्रमाणित गर्दा सम्वन्धित जग्गा धनिको नाम उल्लेख हुन्छ । मालपोत कार्यालयले त्यो कुरामा चासो दिन चाहेन । कर्मचारीको मिलेमतो रहेकाले घरबाटो प्रमाणितलाई आधार बनाईएको देखिएको छैन । 
    मिना भैलले २०७५ असोज ५ गते कृष्णराम दुवाल र लक्ष्मीप्रसाद प्रजापतिलाई १२ लाख रुपैयाँमा विक्री गरेकी थिईन् । मालपोत कार्यालयले पुनः २०७१ असार ११ गते लिएको घरबाटो प्रमाणित सिफारिसका आधारमा जग्गा पास गरिदिएको छ । स्थानीय सरकारको अनिवार्य सिफारिस आवश्यक पर्ने भए पनि मालपोत कार्यालयले पिच सडकको राजश्व बुझाएका आधारमा पुरानै सिफारिसमा पास गरिदिएको छ । मालपोत अधिकृत भोलानाथ घिमिरे र नासु गुरुप्रसाद घिमिरेले उक्त जग्गा पास गरिदिएका हुन् । मालपोत कार्यालय काभ्रेका सुचना अधिकारी मालपोत अधिकृत जयन्त भट्टराईका अनुसार घरबाटो सिफारिस ३५ दिन पछि आधार मान्न सकिदैन । तर अनिवार्य घरबाटो सिफारिस मालपोत कार्यालयमा जग्गा पास गर्दा पछिल्लो पटक भएको जग्गा धनिका नाममा स्थानीय सरकारले बनाईएको हुन्छ । उक्त प्रकरणमा त्यस्तो भएको नदेखिएको मालपोत अधिकृत जयन्त भट्टराईले बताए । 
    प्रमुख मालपोत अधिकृत धु्रर्वप्रसाद कोईरालाले कानुन अनुसार दोषि देखिएका कर्मचारीहरुलाई कारवाही हुने बताए । ‘अनुसन्धान जारी छ, धेरै कुरा बताउन मिल्दैन, अनुसन्धान सकिए पछि जानकारी गराउँला’–उनले भने–‘प्रहरीले अनुसन्धान गरिरहेकाले थप कुरा बताउनु आवश्यक छैन ।’ मालपोत कार्यालयमा अब आईन्दा ३५ दिन भित्रकै घरबाटो सिफारिसको कागजात राखेर मात्रै जग्गा पास गर्ने बताए । मालपोत कार्यालय काभ्रेका प्रमुख कोईरालाले पत्रकारहरुले खोज पत्रकारिता नगरेका कारण पटक पटक स्थानीयहरु ठगिएको बताए । ‘तपाईहरु के हेरेर बस्नु भएको थियो, म त भर्खर कार्यालय प्रमुख भएर आएको हुँ’–उनले भने–‘मालपोत कार्यालय कर्मचारीहरुले गल्ति नगरेको बताए ।’ 
    सडकमा परेको जग्गाको लगत कट्टा गरिएको छैन तर पनि २०६२ सालमै ३ आना जग्गा बाटोमा परेको भन्दै कित्ताकाट गरेर छाडेको अवस्थामा मैया सार्कीले किन विक्री गरिन् ? अनुसन्धानमा मालपोत र नगरपालिकाका कर्मचारीहरु सबैलाई नियन्त्रणमा लिनुपर्ने सर्वसाधारणहरुले बताएका छन् । ‘नक्कली ट्रेस नक्सा बनाई अरुको जग्गा देखाई विश्वास दिलाएर पिच सडक विक्री गरेछन्’–उजुरीमा भनिएको छ–‘जग्गा विक्री गर्ने मिना भैल, धुनपा ७ बखुण्डोलका लोकेन्द्र तोलाङ्ग र उनकी श्रीमती सोनु तोलाङ्गे, महाभारत गापा गोकुले ४ का ज्ञानबहादुर मोक्तान विरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा २०७६ बैशाख १५ गते जाहेरी दर्ता गरिएको थियो । प्रहरीले जाहेरी परे पनि अनुसन्धान गर्दै मिनालाई पक्राउ गरेको थियो । मिना पछि उजुरी परेका लोकेन्द्र, उनको श्रीमती सोनुलाई पनि पक्राउ गरेको छ । 

अदालतको अपहेलना
    मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत मालपोत अधिकृत विनोद कोईरालालाई सेवा अवधी १ वर्ष भन्दा कम रहेको अवस्थामा सुविधा र सन्तुलनको दृष्टिकोणबाट सरुवा तथा रमाना दिएको भन्दै सर्वोच्च अदालतले उत्प्रेण निवेदनको टुङ्गो नलाग्दासम्म सरुवा तथा रमाना नदिनु भन्ने आदेश विपरीत मालपोत कार्यालय सिन्धुली सरुवा गरेको छ । 
    पहिलो पटक अदालतले २०७५ फागु ६ गते भूमी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय समेतलाई दिएको थियो भने दोश्रो आदेश २०७६ साल जेष्ठ २ गते दिएको छ । तर पनि मालपोत कार्यालय काभ्रेका तत्कालिन प्रमुख सुशिला पौड्याल ढकाल र जेष्ठ ८ गते हाजिर भएका ध्रुर्वप्रसाद कोईरालाले अदालतको आदेश विपरीत रमानाका लागि दबाब दिएका छन् । दिएको जिम्मेवारीबाट हटाउँदै तलब समेत रोक्का गर्ने चेतावनी दिएका छन् । प्रमुख मालपोत अधिकृत कोईरालाले माथिको आदेशमा आफुले त्यसो गरेको बताउँदै अदालतको सम्मान गर्ने जानकारी दिए । 
    अदालतको आदेशको कार्यान्वयन नगरेको भन्दै कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले पनि मालपोत कार्यालय काभ्रेका प्रमुख कोईरालाको ध्यानाकर्षण गराएको छ ।