2026 April 30/ 04:02: 47pm

    धुलिखेल/धुलिखेल नगरपालिकाको पहिलो वडा नम्वर १० लाख बालमैत्री वडा घोषणा गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले नगरपालिकाको उक्त वडालाई बालमैत्री वडा घोषणा गरेकी हुन् । 
    जिल्लाको दोश्रो र प्रदेशको तेश्रो बालमैत्री वडाका रुपमा धुलिखेल नगरपालिका वडा नम्वर १० लाई घोषणा गरिएको हो । बालबालिका सम्वन्धी विभिन्न बुँदाहरुका साथै ३९ बुँदे मापदण्ड पूरा गरेपछि बालमैत्री वडा घोषणा गर्न मिल्छ । मन्त्री थापा मगरले सिङ्गो मुलकलाई नै बालमैत्री घोाषणा गर्न स्थानीय सरकारहरुलाई अनुरोध गरेको बताईन् । स्थानीय सरकार, प्रदेश हुँदै नेपाल राष्ट्रलाई बालमैत्री घोाषणा गरिने उनले बताईन् । ‘सरकारले जेष्ठ नागरिक, महिला तथा बालबालिकाहरुको हकमा विशेष सुविधा र ब्यवस्था गरेको छ’–उनले भनिन–‘उपचार, सेवा तथा संरक्षणका लागि सरकारले जिम्मेवारी लिन्छ ।’ 
    नगरपालिका प्रमुख अशोक ब्याञ्जुले नगरपालिकाका सबै वडाहरुलाई बालमैत्री घोषणाका लागि आधारभुत पूर्वाधारहरु तयार गरिरहेको बताए । हरेक वडामा बालमैत्री पार्क निर्माण, विद्यालय तथा अन्य संरचनाहरु निर्माणमा बालमैत्री, निर्णय र प्रकृयामा बालबालिकाहरुको सहभागिता, बालविवाहको अन्त्य, बाल श्रमिकको अन्त्य लगायतमा नगरपालिकाले सबै वडाहरुमा ध्यान दिएको बताए । नमुना नगरपालिका निर्माण गर्ने अभियान अन्र्तगत नगरपालिकाले हरेक योजनामा कार्य गरिरहेको बताए । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले सन् २०२० भित्र नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्दै वातावरण, महिला हिंसा रहित, सुकुम्बासी मुक्त, बालश्रम मुक्त नगर बनाउने अभियान शुरु गरेको बताए । ‘भौतिक पूर्वाधारको विकाससँगै मानविय विकासका लागि आवश्य पर्ने सबै सुचकांकहरुलाई पूरा गर्न आवश्यक कार्यक्रम सहितको बजेट ब्यवस्थापन गरिएको छ’–नगर प्रमुख ब्याञ्जुले भने–‘नेपालकै नमूना नगरपालिका बनाउने उद्देश्य अनुरुप महिला तथा बालबालिका सम्वन्धी काउन्सिल समेत गठन गरिएको छ ।’ विकासका हरेक पाटाहरुमा आय–आर्जनसँगै सामाजिक न्याय र बलियो नागरिक तयार गर्न आवश्यक पर्ने पूर्वाधार निर्माण गरेको नगर प्रमुख ब्याञ्जुले बताए । मन्त्री थममाया थापा मगरले देशको भविश्यसँग जोडिएका बालबालिकाहरुको क्षेत्रमा लगानी गर्न स्थानीय सरकारलाई अनुरोध गरिन् । बालबालिकाहरुको आधारभुत आवश्यकतालाई पूरा गर्न स्थानीय सरकारले प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिदै मन्त्री थापा मगरले प्रत्येक घरलाई महिला, बालबालिका र जेष्ठ नागरिक मैत्री बनाउनुपर्ने बताईन् । जेष्ठ नागरिकहरुलाई दिवाश्रमको ब्यवस्थापन र संरचना सहित वातावरण महिला र बालबालिका मैत्री बनाउन सरकारले विभिन्न कार्यक्रम शुरु गरेको र बजेट, नीति तथा कार्यक्रमबाट जनताको न्याय र समानताका लागि काम गर्नु पर्नेमा जोड दिईन् । विकाससँगै सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गर्न स्थानीय सरकारलाई निर्देशन दिईन् । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख मञ्जु गौतम, नगरपालिका उपप्रमुख विमला शर्मा, वडा अध्यक्ष पुष्प राउत, बाल क्लव सञ्जालकी सचिव यमुना तिमल्सिना, जिल्ला अध्यक्ष रञ्जन पौड्याल, बाल सञ्जाल वडा अध्यक्ष अञ्जना विक लगायतले वडालाई बालमैत्री बनाउन विभिन्न क्षेत्रको सहयोग निरन्तर आवश्यक रहेको बताउनु भएको थियो । सोहि अवसरमा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । 
    बालमैत्री वडा घोषणा गर्नु अघि विभिन्न निकायबाट अनुगमन गरिएको थियो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको नेतृत्वमा भएको अनुगमन समितिले बालमैत्री वडा घोषणा गर्न उपयुक्त भएको निश्कर्ष सहित नगरपालिकालाई प्रमाणपत्र प्रदान गरेको थियो । जिल्ला स्तरीय अनुगमनका क्रममा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने ३९ वटा सूचकहरु मध्ये ३३ वटा सुचकहरुमा शत प्रतिशत नम्वर प्राप्त भएको थियो । केहि सुचकहरु ९५ प्रतिशत भन्दा माथी रहेकाले बालमैत्री वडा घोषणा गर्न उपयुक्त रहेको केसीले बताएका थिए । बालबचाउँ, बालसंरक्षण, बालविकास, बालसहभागिता, संस्थागत सूचकका सबै बुँदाहरु उत्कृष्ट रहेको केसीले बताए । अनुगमनका क्रममा शिशुलाई पूर्ण स्तनपान, एक वर्ष भित्रको बालबालिका पूर्णरुपमा ६ महिना देखि पाँच वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाईएको, सुत्केरी आमा तथा गर्भवतीहरुले आईरन चक्की खुवाईएको, सबै बालबालिकाहरुको जन्म दर्ता भएको, बालविवाह रोकिएको जस्ता बुँदाहरुमा शत प्रतिशत नम्वर प्राप्त भएको छ । 
    वडा अध्यक्ष पुष्प राउतले वडाका सबै गतिविधिहरु बालमैत्री भएकाले बालमैत्री वडा घोषणा गर्न सहज भएको बताए । कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत माया बादे, धुलिखेल नगरपालिका कार्यक्रम अधिकृत विदुर गौतम र पत्रकारहरुको सहभागिता रहेको थियो ।