2026 April 30/ 02:39: 06pm

रमेशप्रसाद दाहाल
प्रोपाईटर
ट्विन्स किचेन, धुलिखेल, काभ्रे

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः २०३५ साल माघ १३ गते साविक उग्रचण्डी नाला गाविस ६ टुसाल हालको बनेपा नगरपालिका वडा नम्वर ३ मा बुबा शिवप्रसाद दाहाल र आमा कमला दाहालको कोखबाट पहिलो सन्तानका रुपमा मेरो जन्म भएको थियो । प्राथमिक शिक्षा प्रभा प्रावि काँक्रेबाट लिएँ भने निमावि तहको अध्ययन शुभ चामुण्डा टुसालबाट भयो । माध्यमिक तहको अध्ययन चण्डेश्वरी मावि नालाबाट र क्याम्पस तहको अध्ययन काठमाडौबाट गरें । २०५१ सालको एसएलसी पछि पुरानो बानेश्वरमा ३ वर्ष सम्म दुध विक्री गर्दै अध्ययन गर्न थालेको थिएँ । रत्नराज्य स्कुलको बानेश्वर क्याम्पसमा अध्ययन गरेको थिएँ । 
    त्यतिखेर विद्यालय जाने चलन थियो । मेरो घरका सबै सदस्यहरुले अध्ययन गरेका छौं । दुई दाजुभाई र तीन बहिनी थियौं । सामान्य परिवार थियो । घरमा दुधको ब्यवसाय शुरु गरिएको थियो । बुबाले सधंै दुध संकलन गरेर काठमाडौ लैजानु हुन्थ्यो । राति दुध संकलन गर्ने र विहान सबेरै काठमाडौं लिएर जाने गर्नुहुन्थ्यो । हामी बुबालाई सघाउन कहिले नालासम्म कहिले बनेपासम्म आउने गरेका थियौं । हामी राति पनि अबेरसम्म नसुत्ने र विहान पनि चाँडै उठ्ने गरेका थियौं । अध्ययन र काम सँगसँगगै हुन्थ्यो । राति अबेरसम्म दुध तताएर बस्दा हामी गृहकार्य गरिरहन्थ्यौं । विद्यालयमा कहिल्यै अनुतिर्ण भईएन । उत्कृष्ट पनि हुन सकिएन । ठुलो बुबा रामप्रसाद दाहाल प्रअ हुनुहुन्थ्यो । मेरो काम विहान खाना पकाएर भाई बहिनीहरुलाई खुवाएर मात्रै विद्यालय जाने गरेका थिएँ । पछि रामप्रसाद बजगाई हेड सर हुनुुभयो । उहाँ मेरो मामा हुनुहुन्थ्यो । सुमाराको पुछारबाट काँक्रेको टुप्पोसम्म हिडेर जाने गरेका थियौं । साथीहरु धेरै थियौं । शिक्षकहरुसँग भेट हुन्छ । बलराम बजगाई, रामबहादुर श्रेष्ठ, प्रभा मिस, विष्णु सर लगायत सबैलाई सम्झन्छु । रामबहादुर सरले गणित पढाउनु हुन्थ्यो । उतिबेला गाग्रीमा पानी राखेर सिस्नु पानी लगाउनु हुन्थ्यो । मेरो एक जना साथीलाई सिस्नु लगाएको याद छ । उहाँको हात रातो भएकोे थियो । मैले पनि कहिलेकाँहि भेटें जस्तो लाग्छ । शुभचामुण्डामा २ वर्ष पढें । चण्डेश्वरी माविमा आशाकाजी सेवक हुनुुहुन्थ्यो । पछि ऋषिराम सर हेडसर हुनु भयो । स्कुल पछि क्याम्पस जाँदा केहि कुरा सिकें । 
    काभ्रे डेरी थियो मामाको । त्यहाँ काम गर्दै विहान कलेज जाने गरेको थिएँ । बानेश्वर क्याम्पसमा गोपिलाल न्यौपाने सर हुनुुहुन्थ्यो । राति ढिलासम्म दहि जमाएर विहान उठेर कलेज जाँदा कक्षामा जहिल्यै निदाउँथें । उहाँ भन्नुहुन्थ्यो ६०÷७० वर्ष उमेर कटेपछि निदाउँला अहिले उठौं रमेश भन्नुहुन्थ्यो । सधै निदाउने भएकाले म सबैको हेराईमा पर्दथें । कक्षामा केदार सर, दैवज्ञ सरको मिठासपन बोली विर्सनै सकिदैन । उहाँहरुको बोलीमा मिठास, नम्रताले हामीलाई झुक्न बाध्य बनाउँथ्यो । बासुदेव सरको पनि त्यस्तै थियो । सरहरु जति सानो स्वरले बोल्नु हुन्थ्यो हामी त्यति शान्त हुन्थ्यौं । सबैले बुझ्ने गरी शान्त र नरम स्वरमा प्रस्तुत ग¥यो भने सबैलाई प्रभावित बनाउन सकिन्छ । क्याम्पसमा सिकेको २ वर्षको अध्ययनको अनुभव मेरो जीवनको नयाँ भोगाई रह्यो । कहिले काहिँ कक्षा पनि छाडियो होला । मेरो मामाघर फेदी भन्दा माथी बोक्से तिमल्सिना गाउँमा थियो । कक्षा ३ मा अध्ययन गर्दा म मामाघरमा बस्ने गरेको थिएँ । दशैंमा बुबा मलाई लिन जानु भएछ । बुबा जाँदा मलाई घर आउन मन लागेन । बुबा फर्कने वितिक्कै मलाई घर आउन मन लाग्यो । म मामाघरमा कसैैलाई नभनी जिरो किलो आएर गाडीमा झुण्डिएर बनेपा आएँ र घर आएँ । फुलपातिको दिनमा होला मामा मलाई घरमा खोज्दै आउनु भएछ । मलाई सामान्य गाली गर्नुभयो । बुबाले पनि गाली गर्नु भयो । बुबाले नाम्लोको पातोले मलाई कुट्नु भएको याद छ । त्यो घटना पछि मैले गाली खाएको छैन । 
    बाल्यकालमा अभाव पनि थियो । सबै साथीहरु नयाँ पाईन्ट लगाएर विद्यालय आउँथे । म फाटेका पाईन्ट भए सम्म टालेर लगाएर विद्यालय जान्थे । म घरमा आएर बुबालाई त्यो कुरा सोध्थें । बुबा उत्तर दिन सक्नुहुन्न थियो तर रुनु हुन्थ्यो । अहिले सम्झना आउँछ त्यो कठिन क्षण थियो । साथीहरुले धेरै पटक सोधे तर भन्न सकिनँ । त्यहि कारण होला हामीलाई गलत बाटोमा पु¥याएको छैन । फरक–फरक विद्यालय अनुभव फरक फरक थियो । काँक्रेमा जस्तो अनुभव शुभ चामुण्डामा भएन । हामी गुच्चा र कक फाईट खेल खेल्थ्यौं । शुभ चामुण्डा मन्दिर थियो । अहिले त्यो पुनर्निर्माण गरिएको छ । साथीहरु मिलेर हामीले कक फाईट खेल्ने गरेका थियौं । उहाँहरुको एक दिन सल्लाह भएछ । सधैं म जित्ने भएकाले त्यो दिन मलाई हराउने । खेल्दा खेल्दै सबै मिलेर हराएपछि मलाई रिस उठ्यो । कक्षा ६ मा अध्ययन गर्दै गरेको अवस्था थियो । त्यो बेला भाई सँग नै झगडा भएको थियो । विद्यालयमा अतिरिक्त कृयाकलाप हुन्थे । हामी क्यारेमबोर्ड खेल्थ्यौं । चार जनाको पालामा हामी तीन जनामै खेल सकाउँथ्यौं । दुईजना मिलेर अरु दुई जनालाई हराउँथ्यौं । विद्यालयमा एउटा नियम थियो । विद्यालय हाता भित्र खेल्ने गरी नाम लेखाएर क्यारेमबोर्ड लिनु पर्दथ्यो । सधैं हामी अरुलाई हराउने गरेका थियौं । मेरो कहिल्यै चाहना भएन । भएको कुरालाई ब्यवस्थापन गर्ने र खुशी हुने बाहेक अरु केहि भएन । 
    बालबालिकाहरुलाई पढाई मात्र सबथोक होईन । पिएचडी गरेर पनि समाज र परिवार बुझ्न सकेन भने त्यस्तो शिक्षा काम भएन । ब्यवहारसँगै शिक्षा आवश्यक छ । हाम्रो समयमा शिक्षा र ब्यवहारिकता दुबै थियो । अहिले बालबालिकाहरुलाई मैले त्यहि भनिरहेको छु । बालबालिकाहरुलाई पढ भन्दा उनिहरुको चाहना अर्काे हुन सक्छ । पढाई सकेपछि विदेश जाने बालबालिकाहरुको सोच छ । नेपालमा अवसर नै अवसर छ । नेपालमै सोचेर केहि गर्ने हो भने अवसर धेरै छ । बुबाले काठमाडौंमा दुई स्थानमा दुध पु¥याउनु हुन्थ्यो । शंकर देव क्याम्पस र सातदोबाटोमा दुध लग्नु हुन्थ्यो बुबाले । मैले एसएलसी दिँदा पनि विहान दुध पु¥याएर आउने गरेको थिएँ । शिक्षा सदन माविमा परीक्षा केन्द्र थियो । दुध पु¥याएर फर्किए पछि क्यान पठाएर परीक्षा दिएर घर जाने गरेको थिएँ । बुबाले पछिल्लो समय हामीलाई दैनिक पैसा दिनु हुन्थ्यो । स्कुल आउँदा पनि हामी दुध बोकेर गाडी नहुँदा बनेपासम्म आउँथ्यौं । राति पनि बत्ति बालेर हामी बनेपासम्म आउँथ्यौं । ओभानो भनेर टेकिन्थ्यो पानीको चोबल्टो हुन्थ्यो । विद्यालय पोशाक फरक हुँदैन थियो । दुध बोकेर आएकै पोशाकमै कक्षामा बस्ने गरेका थियौं । विद्यालय जाने फरक फरक पोशाक भन्ने हुँदैन थियो । जे लगाएर गए पनि खासै मतलब थिएन । 
    ज्ञाननाथ पाठकसरसँग बनेपामा हामीले अंगेजी ट्युसन पढें । हामी चार÷पाँच जना साथीहरुको समुह थियो । विहान ट्युसन पढेर एसएलसीको तयारी गरेका थियौं । स्कुलमा पढाई हुन्थ्यो । ट्युसन पनि पढें । दुध तताउन स्टोभ र दाउरा दुबै बालिएको हुन्थ्यो । राति ११ बजेसम्म त्यहि आगोको छेउमा बसेर बुक हेर्ने गरेको थिएँ । एसएलसी सोचेजस्तो त भएन तर पनि पास भएँ । खुशीको सीमा रहेन । मेरो माईलो बुबा पनि दुधकै काम गर्नुहुन्थ्यो । रामकृष्ण बजगाई मेरो मामा आर्टिस्ट पनि हुनुहुन्थ्यो । उहाँले फिल्म पनि बनाउनु भएको थियो । एसएलसी सकिएको भोलिपल्ट देखि नै मामाको डेरीमा काम गर्न थालें । तलबको कुरा भएन । मामाको काम गर्दथें । विहानको समय कलेज जान्थें । कलेज जानु अघि पुरै काम गरें । काम गरेको केहि समय पछि मामाले ७ हजार पैसा दिनुभयो । त्यो पैसाले मैले घरमा सोफा किनेर ल्याएँ । अझै त्यो सोफा हाम्रो घरमा छ । स्कुल पढ्दा बुबाले दुध लिएर काठमाडौ पठाउनु हुन्थ्यो । त्यो दिनको नाफाको पैसाले मैले घरमा कार्पेट किनेर ल्याएको थिएँ । मैले नाफा कति हुन्छ भन्ने कुराको सामान्य जानकारी थियो । ७० लिटर जति दुध संकलन हुन्थ्यो । ५÷७ दैनिक कमाई हुन्थ्यो त्यतिबेला पनि बुबाको । बुबालाई त्यो बेला पैसाको समस्या थिएन । मलाई दुईवटै कक्षामा दुईवटा विषय लाग्यो । दौंतरी, ठुल्दाई लगायतका फिल्महरु बनिरहेका थिए । मामाको संगत कलाकारहरुसँग थियो । बलिदान पनि उहाँले नै बनाउनु भएको थियो । कलेजको अध्ययनसँगै मेरो भविष्य बनाउने उद्देश्यले डेरी छाडेर होटलको काम सिक्नुस् भन्नुभयो । त्यहि क्रममा विदुर गिरी भन्ने सिने पत्रकारले कुरिनटारमा डालीमा होटलमा होटल सम्वन्धी तालिम सिक्ने गरी त्यता लागें । 

होटल क्षेत्रमा प्रवेशः डेरीमा काम गर्दा गर्दै मलाई मामाले सिने पत्रकार विदुर गिरी मार्फत कुरिनटारको डालीमा होटलमा ६ महिने तालिममा पठाउनु भयो । किचेनमा बसेर काम गर्दै थिएँ मेरो बोलीका कारण वेटरमा राखियो । तालिम भने पनि मलाई तलब उपलब्ध गराईयो । मामाले धेरै कुरा सिकाउनु भयो । मेरो भविश्यका लागि उहाँले धेरै सल्लाह र सुझाव पनि दिनुभयो । मामाका सफल फिल्म थिए । दौंतरी, बलिदान, चिनो जस्ता फिल्महरुले उहाँलाई थप उचाईमा पु¥याएका थिए । होटलमा काम गर्दा रामचन्न्द्र पौड्याल, केवुलकारका मालिक लक्ष्मणबाबु श्रेष्ठ लगायत आउनु हुन्थ्यो । ठुला मान्छेहरुको सेवा गर्न पाउँदा खुशी लाग्थ्यो । किचेनको काम त्यो बेला देखि नै पाईन । अझै मलाई धोको छ । धेरै कुराको ज्ञान छ पूर्ण ज्ञान छ जस्तो लाग्दैन । 
    ६ महिना बित्यो । बुबा मलाई लिन जानु भएको थियो । दशैंको बेला मलाई विदा दिईयो । २०५८ सालमा अंकल कमलप्रसाद दाहाल मोटरसाईकल दुर्घटनामा परेर बित्नुभयो । फोन गरेर मलाई बोलाउनु भयो । घर आउने बेलामा दशैं खर्च भनेर ५ हजार ४ सय दिएर पठाउनु भयो । पहिलो महिनाको ८ सय, दोश्रो महिनाको १ हजार, तेश्रो महिनाको १ हजार २ सय तलब हिसाव गरिएको रहेछ । दशैं पछि फेरी फर्किएँ । केहि दिन काम गरेर बुबाले फोन गरिदिनु भयो । अनि फर्किएँ । साहुजीले मलाई विदाई दिन मान्नु भएको थिएन । मेरो सर्भिसबाट उहाँ असाध्यै खुशी हुनुुहुन्थ्यो । ६ महिनाको अनुभवले म विदेश जाने तयारीमा थिएँ । फेरी काठमाडौमा काम गर्न थालें । दरबारमार्गमा होटल डालीमा रेष्टुरेन्ट थियो । होटल फुजुमा तालिम लिन जाने गरी फाराम भरिएको थियो । केहि समय त्यहाँ काम गरिरहेको थिएँ । तालिम पनि लिदै थिए । काठमाडौ बस्न पैसा चाहिन्थ्यो । बुबालाई पैसा माग्या थिएँ । बुबाले घर नजिकै रहेका ढु्ंगा विक्री गरिरहेको थियो । महेन्द्र भन्नेले किन्नु भएको ढुंगा धुलिखेल लज रिसोर्टमा बेचिएको रहेछ । उहाँले मलाई कुरा गर्नुभयो । केहि समय पछि म धुलिखेल लज रिसोर्टमा काम गर्ने गरी आएँ । २०५५ मंसिर १४ गतेबाट धुलिखेल लज रिसोर्टमा काम गर्न शुरु गरें । धुलिखेल लजको आफ्नै नियम र तालिम थियो । डालीमा रेष्टुरेन्टमा काम गर्दा धुलिखेल लजको स्टिकर टाँसिएको थियो । मलाई मन मनै आफ्नै जिल्लामा भएको यस्तो होटलमा काम गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्योे । बुबाले महेन्द्र मार्फत त्यहाँ काम गर्ने अवसर दिनुभयो । केहि समय काम गरेर विदेश नै जान्छु भन्ने थियो । तर त्यहाँ पुगेपछि त्यो यात्रा रोकियो । 
    होटलमा अशोक बडाल म्यानेजर हुनुुहुन्थ्यो । केहि समय पछि हामी सुकुटेमा बनभोज जाँदा केहि घटना भयो । केहि साथीहरुले जागिर छाड्नु भयो । मेरो बढुवा भयो । म वेटरबाट हल हेर्ने जिम्मेवारीमा पुगें । पछि रिसेप्सनमा पनि बसेर काम गरें । मैले पैसाको लागि भन्दा पनि जीवनका लागि काम गरें । मेरो इमान्दारीता र नम्रता थियो नै । त्यहिकारण जिम्मेवारी पनि बढ्दै गयो । त्यहाँ म्यानेजरहरु पनि फेरिदै गए । लज रिसोर्टका प्रोपाईटर प्रेमकण्ठ माकजु सरले मलाई २०६७ साल देखि त्यो जिम्मेवारी मलाई नै दिनुभयो । २०७२ सालसम्म त्यो जिम्मेवारी पूरा गरें । हलमा पार्टी हुँदा र भोलिपल्ट हल तयारी गर्दा रातभर नसुति नसुति काम गरिन्थ्यो । प्रेमकण्ठ सरको उर्जा र ममताले काम गरेको पत्तै हुँदैन थियो । विश्वास र भरोसा दुबै थियो । लगनशिलता उस्तै थियो । निरन्तर १८ वर्ष त्यहि काम गरें । कहिलेकाँहि म रिसाएँ होला । कहिलेकाँहि उहाँले केहि भन्नुभयो होला तर नराम्रोका लागि कहिल्यै भएन । काम गरेको केहि समय पछि बहिनीका विवाहका लागि ५ हजार रकम मागेको थिएँ । उहाँले तलबबाटै मिल्ने गरी उपलब्ध गराउनु भयो । १३ सय ५० तलब थियो मेरो । म्यानेजरसम्म आईपुग्दा सर्भिस चार्ज, न्यूनतम पारिश्रमीक, लामो समय काम गरे पछिको केहि तलब र टिप्स समेत गरेर २५ हजार भन्दा धेरै हुन्थ्यो । 

जागिरबाट आफ्नै ब्यवसायः २०७२ बैशाख १२ गते भुकम्प गयो । भुकम्प गईरहँदा त्यहाँ विदेशी सहितको तालिम चलिरहेको थियो । हामीले उहाँहरुलाई टेण्टमै सुतायौं । विस्तारै भुकम्पका कारण होटल ब्यवसाय पातलो बन्दै गयो । प्रेमकण्ठ सरको छोरी विदेशमा अध्ययन गरेर फर्कनु भयो । मेरो पनि खासै काम भएन । प्रेमकण्ठ सरहरु मर्निङ्गवाक जानुहुन्थ्यो । काभ्रे भञ्ज्याङ्गसम्म मर्निङ्गवाक जाने र फर्कने बेला म गाडी लिएर लिन जाने गरेको थिएँ । गाडीहरुको फले धेरै थियो । सरहरुकै समुहबाट त्यो सडक छेउमा पर्ने गरी रेस्टुरेन्ट खोल्न पाए हुन्थ्यो भन्ने सल्लाह भयो । गाडी चलाउँदा मैले त्यो कुरा सुनिरहेको थिएँ । मैले प्रेमकण्ठ सरलाई भनें सर म आफै गर्छु यो ब्यवसाय । उहाँ खुशी हुनुभयो । केहि गर्छु भन्ने इच्छा भएको ब्यक्तिलाई म सहयोग गर्छु भन्नुभयो । त्यसपछि मैले धुलिखेल लज रिसोर्ट छाडे र राजमार्ग आसपास जग्गा खोज्न थालें । 
    म होटलबाट खासै निस्कन्न थिएँ । काभ्रे भञ्याङ्गबाट धुलिखेलसम्मको भागमा हेर्दा हेर्दै अलिकति कोल्टे परेको ठाउँ हेर्ने कुरा भयो । एकान्त स्थानमा राम्रो सेवा दिन सकियो भने ब्यवसाय सम्भव छ जस्तो लाग्यो । अहिले ट्विन्स भएको ठाउँमा बंगुर फार्म थियो । थोरै थियो फार्ममा बंगुर । शुरुमै मेरो ज्वाईको दुर्घटना भएकाले केहि समय काम शुरु हुन सकेन । प्रेमकण्ठ सर निर्माण शुरु भए पछि आउनुहुन्थ्यो । सल्लाह सुझाव दिनुभयो । त्यहाँका आवश्यकतामा सहयोग गरिदिनु भयो । उहाँकै साथ, सहयोग र हौसलाबाट रेस्टुरेन्ट शुरु गरियो । शुरुमा केहि साथीहरु मिलेर गर्ने भन्ने थियो । त्यो कुरा भएन । म सामान्य परिवारको थिएँ । ब्यवसाय चलेन र डुब्यो भने उहाँहरुलाई मन दुख्छ जस्तो लाग्यो । म त केहि नभएको मान्छे केहि हुँदैन तर उहाँहरुलाई चित्त दुख्छ भन्ने लाग्यो । सबै साथीहरुको सहयोग रह्यो । अहिले पनि छ । लगानी भन्दा ठुलो कुरा आँट रहेछ । म सँग पैसा थिएन । १ लाख रुपैया मात्रै थियो । त्यो पैसा फलामका लागि दिएँ । ३ लाख रुपैयाँ लाग्यो । जस्ता, फलाम ज्याला समेत गर्दा १६÷१७ लाख लाग्यो । फर्निचर समेत गर्दा झण्डै २५ लाख जति लाग्यो । भाई भर्खर विदेशबाट आएर सुमो किनेर चलाउन थाल्या थियो । त्यो विक्री ग¥यौं । होटलमा काम गरिरहँदा एउटा घडेरी बनेपामा किनेका थियौं । त्यो पनि बेच्यौं । १७ लाख जतिमा त्यो विक्री गरेर काम शुरु गरें । सहकारी र बैंकबाट ऋणको प्रकृया गरें । राम कोँजुसँग १० वर्षका लागि भाडामा लिएका छौं । बार्षिक २५ हजार तिर्ने गरी भाडामा लिएका हौं । 
    जग्गा र गाडी विक्री गर्दा श्रीमती र भाईलाई विश्वास दिलाउन कठिन थियो । होटलको नाम मेरा जुम्ल्याहा बच्चाहरुको नामबाट राखेको हुँ । अरुण र बरुण हुन् छोराहरु । त्यो नाम लामो थियो । ट्विन्स किचेनको नाम उनिहरुको नामबाटै जुराएर राखिएको हो । 

प्रेम र विवाहः मैले प्रेम विवाह नै गरें । विद्यालय तथा क्याम्पस अध्ययन गर्दा प्रेम भएन । श्रीमती पनि धुलिखेल लज रिसोर्टमै काम गर्थिन् । हामीले २०५९ सालमा प्रेम विवाह ग¥यौं । हाम्रो प्रेमका बारेमा दिदी र भिनाजुलाई थाहा थियो । उहाँहरुले पनौतीको मानेश्वरी मन्दिरमा लगेर विवाह गरिदिनु भयो । हाम्रो परिवार सशस्त्र द्वन्द्वबाट पनि पीडित बन्यो । बुबालाई ५ वर्ष माओवादीलाई सहयोग गरेको अभियोगमा डाँका मुद्दामा ५ वर्ष जेल हालियो । बुबा विवाहका लागि सहमति थिएन । उहाँ मेरो विवाहका बेला जेलमा हुनुुहुन्थ्यो । परिवारको सहमति विना प्रेम विवाह ग¥यौं । हामीबाट तीन सन्तान जन्मिएका छन् । पहिलो छोरी छिन् । दुई छोरा जुम्ल्याहा छन् । सबै अध्ययन गरिरहेका छन् । 
    कहिलेकाँहि ठाकठुक स्वभाविक हो । उनि नबोल्दा पनि म नै बोलाउँछु । जग्गा बेचेर रेस्टुरेन्ट गर्छु भन्दा पनि उनलाई चित्त बुझेको थिएन सहमतिमा ल्याएँ । अहिले पनि गाडी छ । साथीहरु मेरै ड्राईभिङ्गमा घुम्न जान रहर गर्नु हुन्छ म जान्छु उनलाई रेस्टुरेन्ट नछाडिदिए हुन्थ्यो जस्तो लाग्छ । त्यस्तै विषयमा हो अरु विषयमा असमझदारी छैन । 

भावी योजनाः रेष्टुरेन्ट चल्दै गयो । प्रेमकण्ठ सरले उद्घाटन गर्ने योजना सहितको कार्यक्रम तय गरिदिनु भयो । प्रेमकण्ठ सर, पत्रकार विजयकुमार पाण्डे लगायत भएर रेष्टुरेन्टको मेन्यु बनायौं । मैले रेस्टुरेन्टको वरपर तरकारी खेति गरिरहेको छु । त्यहाँबाट पनि कमाई हुन्छ । प्रेमकण्ठ सरले रेस्टुरेन्ट चलेन भने दाहाल तिमी मेरोमा आउ समेत भन्नु भएकोे थियो । उहाँले पैसा पनि ऋण स्वरुप सहयोग गर्छु भन्नु भएको थियोे । जिल्लाका थुप्रै ब्यक्तिहरुलाई उद्घाटनमा बोलाई सहयोग गर्नुभयो । त्यहि उद्घाटनका दिनमा आउने ब्यक्तिहरुका कारण आजसम्म रेस्टुरेन्ट चलिरहेको छ । हाम्रो होटलमा लोकल कुखुरा र ढिँडो मुख्य आर्कषण थियो । त्यसलाई नै हामीलाई प्रमुख बनाउँदै लग्यौं । सेवामा गुणस्तर बढाउँदै लगेपछि रातको समयमा कोठाको आवश्यकता पर्दै गयो । धेरै ब्यक्तिहरुले कोठा राख्न सुझाव दिनुभयो । धेरै पटक मैैले धुलिखेलमै भएका होटलहरुमा पठाएँ । पछि प्रेमकण्ठ सरकै सल्लाहमा एउटा घर किनें । बुडोल सामुदायिक सहकारीले ऋणलाई विश्वास ग¥यो । ब्याज तिर्न सक्ने आधार देखेपछि सहकारीले लगानी ग¥यो । अहिले १० कोेठा एटेच बाथरुम सहितको लज सञ्चालनमा ल्याएका छौं । 
    सेवा विस्तार र गुणस्तर बढाउने विषयमा केहि योजना बनाएको छु । नेपालमै केहि गर्न सकिन्छ र केहि छ है भनेर गरेरै देखाउन थप रेस्टुरेन्ट खोल्ने योजना छ । 

राजनीतिः पार्टीगत रुपमा कहि कतै संलग्न छैन । माओवादीले २०६२÷०६३ सालमा चलाएको मजदुर आन्दोलनमा सहभागी भएँ । मजदुरहरुलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन मैले पनि नेतृत्व गरें । अरु राजनीति मैले गरेको छैन । सोच पनि छैन । म त्यति बेलाको नेतृत्व पछिको मजदुरहरुको श्रमको उचित मुल्यांकन भएकोमा खुशी लागेको छ । 

जीवनः सकारात्मक सोच र निरन्तरको संघर्ष । भोगाई । सुन्दर । 

प्रेमः आवश्यकता । संसार नै छैन प्रेम विना ।

विवाहः बंशको निरन्तरता । 

शारिरीक सम्बन्धः प्राकृतिक नियम । 

अन्त्यमाः ब्यक्तिले आधार विर्सनु हुँदैन । धुलिखेल लज रिसोर्टका प्रेमकण्ठ सरले संघर्ष नसिकाउनु भएको भए, मामा रामकृष्ण बजगाईको भविश्यको सोच, केदार सर र दैवज्ञ सरको बोलि बचनले प्रभावित छु । खाना जहाँ खाए पनि एक छाक हो । तर एक पटक बोलिएको बोलीले पटक–पटक फर्काउन सक्नु नै सफलता हो । नम्रता, लगनशिलता, सकारात्मक सोच महत्वपूर्ण कुरा हो । पैसाकै लागि पछि नदगुरौं । सामाजिक जीवन पैसाकै लागि नसिध्याउँ । विभिन्न क्षेत्रका ब्यक्तिहरु, संघ संस्थाहरुको सहयोगमा हामी अगाडी बढेका छौं । सधंै सबैको सहयोगको अपेक्षा गर्दछु ।