2026 April 30/ 11:46: 59am

धुलिखेल/विउ व्यापार र विषादीको प्रयोग अत्याधिक भएको छ । हाईब्रिड तथा उन्नत जातका बालीका विउप्रति कृषकहरूको आकर्षण बढ्दै गएको छ, यद्यपि स्थानीय उत्पादन र आवश्यकताको बीचमा अझै ठूलो अन्तर विद्यमान छ । विषादीको खपत झनै बढिरहेको छ । 
    विउ कारोबारतर्फ आर्थिक वर्ष २०८१÷०८२ मा सबैभन्दा धेरै मकैको बिउ विक्री भएको छ । हाईब्रिड मकै ८८७.४१४ मेट्रिक टन विक्री भएको छ भने उन्नत जातको मकै १०.०९ मेट्रिक टन मात्रै विक्री भएको तथ्यांकले देखाउँछ । यसले कृषकहरू हाईब्रिड मकैप्रति बढी निर्भर हुँदै गएको स्पष्ट संकेत दिन्छ । उत्पादन क्षमता र बजार माग दुवैका कारण हाईब्रिड मकैले प्राथमिकता पाएको देखिन्छ । त्यस्तै, धानतर्फ हेर्दा हाईब्रिड र उन्नत जातको धान दुवै ४३.६२० मेट्रिक टन बराबर विक्री भएको छ, जसले धानमा भने सन्तुलित प्रयोग रहेको देखाउँछ ।
    विउ विक्रेताको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा काभ्रेमा ८२ र सिन्धुपाल्चोकमा २४ गरी कुल १०६ वटा विउ विजन विक्रेताहरू सञ्चालनमा रहेका छन् । अघिल्लो वर्ष यो संख्या ८३ मात्र रहेको थियो । यस वृद्धिले कृषि इन्पुट बजार विस्तार हुँदै गएको र विउको पहुँच क्रमशः सहज बन्दै गएको संकेत गर्छ । तर, विक्रेताको संख्या बढ्नु मात्र पर्याप्त छैन, गुणस्तरीय विउको उपलब्धता र नियमन पनि उत्तिकै महत्वपूर्ण पक्ष हुन् ।
    जिल्लामा धान, गहुँ, मकै, कोदो, फापर, जौ लगायतका विभिन्न बालीका विउ उत्पादन हुने गरेको छ । यद्यपि १३ वटा सहकारी तथा समूहमार्फत उत्पादन हुने विउको वासलात (ब्यालेन्स) न्यून रहेको छ । वार्षिक रूपमा धान ६२ मेट्रिक टन र मकै २४ मेट्रिक टन मात्र उत्पादन हुने गरेको छ, जुन जिल्लाको आवश्यकता अनुसार अत्यन्त न्यून हो । उदाहरणका लागि, काभ्रेका लागि मात्रै ५४८ मेट्रिक टन मकै आवश्यक पर्दछ भने ७७१ मेट्रिक टन मकै आवश्यक हुने उल्लेख गरिएको छ, जसले आपूर्ति र मागबीचको ठूलो खाडल देखाउँछ ।
    यसैगरी, गहुँको १०२६ मेट्रिक टन र कोदोको ४८ मेट्रिक टन विउ आवश्यक छ भने जौको ४१ टन आवश्यक पर्छ । तर विडम्बना के छ भने जौको विउ जिल्लामै उत्पादन हुँदैन । त्यस्तै कोदो र फापर पनि विउका रूपमा उत्पादन नहुँदा कृषकहरू बाह्य स्रोतमा निर्भर हुन बाध्य छन् । यसले खाद्य सुरक्षामा दीर्घकालीन जोखिम निम्त्याउन सक्छ ।
    विउ प्रतिस्थापन दर पनि अपेक्षाकृत न्यून देखिएको छ । नेपालभर धानको विउ प्रतिस्थापन दर २८.५३ प्रतिशत रहेकोमा काभ्रेपलाञ्चोकमा यो १५.८४ प्रतिशत मात्र छ । मकैमा यो दर १९.२३ प्रतिशत र गहुँमा १३.३४ प्रतिशत रहेको छ । यसले सुधारिएको विउ प्रयोगको दर अझै कम रहेको र कृषकहरू परम्परागत विउमै निर्भर रहेको देखाउँछ । उत्पादन वृद्धि र उत्पादकत्व सुधारका लागि यो दर बढाउनु आवश्यक छ ।
    अर्कोतर्फ, विषादी प्रयोगको अवस्था चिन्ताजनक छ । आर्थिक वर्ष २०८१÷०८२ मा काभ्रेपलाञ्चोकमा किटनाशक धुलो÷दानादार विषादी ३८ सय ८३ केजी प्रयोग भएको छ भने सोही प्रकारको तरल विषादी ३० हजार ७ सय १० लिटर खपत भएको छ । ढुसीनासक विषादीको प्रयोग अझ बढी देखिन्छ, जसअन्तर्गत ५८ हजार ४६ केजी र २ सय ५५ लिटर खपत भएको छ ।
    झारनाशक विषादी ११ सय ४७ केजी र ३४ सय ४४ लिटर प्रयोग भएको छ भने जैविक विषादी ८ सय ७९ केजी र २६ सय ३७ लिटर खपत भएको छ । अन्य प्रकारका रोडेन्टिसाइड, पि.जी.आर. र स्टिकर वर्गका विषादी ४ सय ९३ केजी र १४ सय ७९ लिटर प्रयोग भएको छ । साथै ल्युर÷ट्रयाप ३१ हजार ४ सय ७१ वटा प्रयोग भएको छ, जसले आधुनिक कीट व्यवस्थापन प्रविधिको प्रयोग पनि बढ्दै गएको संकेत गर्छ ।
    समग्रमा वार्षिक रूपमा १.८५ केजी सक्रिय तत्व (एआई) प्रति हेक्टर विषादी प्रयोग भएको तथ्यांकले देखाउँछ । यो दर अत्यधिक नभए पनि सुरक्षित र सन्तुलित प्रयोगको दृष्टिले अझै सुधार आवश्यक छ । विषादीको अत्यधिक वा असन्तुलित प्रयोगले मानव स्वास्थ्य, माटोको उर्वराशक्ति र वातावरणमा नकारात्मक असर पार्न सक्छ । 
    काभ्रेपलाञ्चोक जिल्लामा विउको व्यापार र प्रयोग बढ्दो क्रममा भए पनि स्थानीय उत्पादन कमजोर छ र बाह्य निर्भरता उच्च रहेको छ । साथै विषादी प्रयोग पनि व्यापक रूपमा बढिरहेको छ, जसलाई वैज्ञानिक र सुरक्षित तरिकाले व्यवस्थापन गर्न जरुरी छ । दीर्घकालीन रूपमा कृषि प्रणालीलाई दिगो, आत्मनिर्भर र वातावरणमैत्री बनाउन विउ उत्पादन वृद्धि, प्रतिस्थापन दर सुधार तथा विषादीको विवेकपूर्ण प्रयोग अपरिहार्य देखिन्छ ।