धेरै विद्यार्थी हुने विद्यालयमा पहिलो बेलर, दोश्रो बनेपा निष्ट र तेश्रो नेपाल प्रहरी स्कुल साँगा रहेका छन् । १० जना भन्दा कम विद्यार्थी रहेका विद्यालयको संख्या २१ वटा छन् ।
बनेपा/काभ्रेपलाञ्चोक जिल्लामा यस वर्षको कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै विद्यार्थी बनेपास्थित बेलर इन्टरनेशनल स्कुलका सहभागी हुने भएका छन् । उक्त विद्यालयबाट नियमिततर्फ मात्रै ५ सय ६२ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
यसपछि धेरै विद्यार्थी सहभागी गराउने विद्यालयको दोस्रो स्थानमा बनेपा निष्ट रहेको छ, जहाँबाट ४ सय २२ जना विद्यार्थी नियमिततर्फ परीक्षामा बस्दैछन् । त्यसैगरी, नेपाल प्रहरी स्कुल साँगा, बनेपा २ सय ७४ विद्यार्थीका साथ तेस्रो स्थानमा रहेको छ ।
एक सयभन्दा बढी विद्यार्थी भएका विद्यालयहरूमा ज्ञानकुञ्ज मावि (१६६), आदर्श विद्यामन्दिर मावि, बनेपा (१६४), भालेश्वर मावि, पनौती (१४०), जनक मावि, नमोबुद्ध (१२२) र सर्वमंगला मावि, पाँचखाल (१११) रहेका छन् । जिल्लामा एक सयभन्दा बढी विद्यार्थी भएका विद्यालयहरूको संख्या जम्मा ८ वटा मात्रै रहेको छ ।
जिल्लाका कुल १ सय १ विद्यालयबाट ५ हजार ५ सय ९५ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । तीमध्ये ४ हजार ३४ जना नियमिततर्फ र १ हजार ५ सय ७६ जना एक्जाम्टेडतर्फका विद्यार्थी रहेका छन् ।
परीक्षा सञ्चालनका लागि जिल्लाभर २३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । बेलर इन्टरनेशनल स्कुलका विद्यार्थीहरू चण्डेश्वरी मावि नाला, हिमालय मावि बनेपा र आजाद मावि बनेपा गरी तीन केन्द्रबाट परीक्षा दिनेछन् । त्यस्तै बनेपा निष्टका विद्यार्थीहरू पनि यही तीन केन्द्रबाट विभाजन गरी परीक्षामा सहभागी हुनेछन् ।
बेलर इन्टरनेशनलका २ सय विद्यार्थी चण्डेश्वरी मावि नालामा, १ सय ५१ जना हिमालय मावि बनेपा र १ सय ७५ जना आजाद मावि बनेपामा परीक्षा दिनेछन् । बनेपा निष्टका १ सय ५० जना चण्डेश्वरीमा, ९७ जना हिमालय मावि र १ सय ७५ जना आजाद माविमा परीक्षा दिनेछन् । जिल्लाका केही पुराना तथा प्रतिष्ठित शिक्षण संस्थाहरूमा भने विद्यार्थी संख्या घट्दो क्रममा देखिएको छ । बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसमा यस वर्ष ३३ जना विद्यार्थी छन् ।
यता चैतन्य क्याम्पसमा भने ८६ जना विद्यार्थी सहभागी हुँदैछन्, र यो क्याम्पस प्रदेश सरकार मातहतमा जाने तयारीमा रहेको छ । जिल्लाभर विद्यार्थी संख्याको अवस्था हेर्दा ५० भन्दा बढी विद्यार्थी भएका विद्यालय १६ वटा मात्रै छन् । ५० भन्दा कम तर १० भन्दा बढी विद्यार्थी भएका विद्यालयहरू मध्यम अवस्थामा छन् भने १० भन्दा कम विद्यार्थी भएका विद्यालयको संख्या २१ पुगेको छ । अझै ६ वटा विद्यालयमा त एक जना पनि विद्यार्थी परीक्षामा सहभागी नहुने अवस्था रहेको छ । यो तथ्याङ्कले जिल्लामा शिक्षा क्षेत्रमा असन्तुलन र केही विद्यालयहरूको कमजोर अवस्थालाई स्पष्ट रूपमा देखाएको छ ।
१ सय भन्दा धेरै विद्यार्थी भएका विद्यालय
– बेलर इन्टरनेशनल स्कुल बनेपा – ५६२
– बनेपा निष्ट बनेपा – ४२२
– नेपाल प्रहरी, साँगा, बनेपा – २७४
– ज्ञानकुञ्ज मावि – १६६
– आदर्श विद्यामन्दिर मा.वि, बनेपा – १६४
– भालेश्वर मावि पनौती – १४०
– जनक मावि नमोबुद्ध – १२२
– सर्वमंगला मा.वि, पाँचखाल – १११
५० भन्दा धेरै विद्यार्थी भएका विद्यालय
चैतन्य क्याम्पस, बनेपा–८६, काठमाडौ युनिभर्सिटी हाई स्कुल चौकोट–८५, सञ्जीवनी मा.वि., धुलिखेल–७५, सिद्धार्थ मावि–७३, प्रगती प्रभात मा.वि, बनेपा–७१, तेजगंगा मावि पनौती–६७, आजाद मावि, बनेपा–६६, आजाद मावि, पाँचखाल–५६, पार्वती मावि–५२, धुलिखेल सञ्जीवनी क्याम्पस धुलिखेल–५०, गोल्डेन फ्युचर मा.वि, पाँचखाल–४९, काभ्रे इङ्गलिस मा.वि पनौती–४९
१० भन्दा कम विद्यार्थी भएका विद्यालय
हनुमान मावि धुलिखेल–१०, उमा सह–शिक्षालय मा.वि मण्डन–१०, जागृति मावि पोखरीचौरी–१०, भुमेस्थान मा.वि विर्तादेउराली–१०, सेतिदेवी मावि सापिङ–९, पलाञ्चोक भगवती मा.वि, पाँचखाल–८, तपेश्वर मावि मण्डन–८, जनता मा.वि.पाँचखाल–७, सेतीदेवी मावि धुलिखेल–७, जनता मावि भुम्लु–७, चक्रेश्वर मावि ७, नैमिषारन्य सँस्कृत गुरुकुलम बनेपा–६, सपनेश्वर मावि–६, आत्मविकास मा.वि बेथान्चोक–६, सरस्वती मावि बेथान्चोक–५, भुमे मावि तेमालमा–५ जना, पञ्चकन्या मा.वि ठुलोपर्सेल–४, श्वेतबाराह मावि–४, शान्ति निकेतन मा.वि रयाले–४, बालनिकेतन–३, दुलालेश्वर मा.वि भुम्लु–३ ।
शुन्य विद्यार्थी भएका विद्यालय
इन्द्रावती मावि मण्डन, सरस्वती शिक्षा गृह, नाईटिङ्गेल मावि, बालबाटिका मावि, लिलावती मावि कुशादेवी, कालिका मावि पाँचखाल ।
एसईई आजबाट
आज चैत १९ गते बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ शुरु हुँदैछ । जिल्लामा रहेका ३३ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण पछि परीक्षा संचालन गरिएको हो । परीक्षामा जिल्लाका ६९ वटा संस्थागत र १५० वटा सामुदायिक विद्यालय गरी कुल २१९ वटा विद्यालयबाट ६ हजार २ सय ८ जना विद्यार्थीहरू सहभागी हुनेछन् । नियमिततर्फ ५,२२७ जना, प्राविधिकतर्फ २०१ जना र ग्रेडवृद्धितर्फ २८० जना गरी कुल ६,२०८ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । साथै १२ जना बहिरा विद्यार्थी र एक जना दृष्टिविहीन विद्यार्थी पनि परीक्षामा सहभागी हुनेछन् ।
सामुदायिक विद्यालयतर्फ २,०८० जना छात्रा र १,७१७ जना छात्र गरी ३,७९७ जना तथा संस्थागत विद्यालयतर्फ १,००८ जना छात्रा र १,४०३ जना छात्र गरी २,४११ जना विद्यार्थी सहभागी हुनेछन् । यसरी कुल ३,०८८ जना छात्रा र ३,१२० जना छात्र सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सविता दंगालले जानकारी दिइन् । जिल्ला परीक्षा संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण गरिएको थियो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले परीक्षालाई मर्यादित, व्यवस्थित र अनुशासित बनाउन विगतका अभ्यास र अनुभवका आधारमा यस वर्षको परीक्षा पनि भव्य र सभ्य रूपमा सञ्चालन गर्न निर्देशन दिए । उनले भने, ‘अनुभवी केन्द्राध्यक्षहरूलाई विगतका अभ्यास र अनुभव छन् । आज चैत १९ गतेदेखि सञ्चालन हुने परीक्षालाई अझ व्यवस्थित बनाउन आवश्यक पूर्वतयारी, परीक्षा सञ्चालनको अवधि तथा परीक्षा सम्पन्न भएपछि उत्तरपुस्तिकाको सही व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ ।’ जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले विगतमा भएका कमी–कमजोरीहरू सुधार्न केन्द्राध्यक्षहरूले विशेष ध्यान दिनुपर्ने बताए । उनले विद्यार्थीमैत्री वातावरण सिर्जना गर्दै सरल र सहज रूपमा परीक्षा सञ्चालन गर्न आग्रह गरे ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका इकाई प्रमुख (उपसचिव) सविता दंगालले जिल्लामा परीक्षाको तयारीका बारेमा भएका गतिविधिहरूको जानकारी गराइन् । शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका उमेश पराजुलीले सञ्चालन गरेको कार्यक्रममा एसईईमा केन्द्राध्यक्षहरूले खेल्ने भूमिका लगायत विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको थियो । पूर्वाधारको तयारी, प्रश्नपत्र तथा उत्तरपुस्तिकाको व्यवस्थापन लगायत विषयमा समन्वय इकाई प्रमुख सविता दंगालले केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण गराएकी थिइन् । कार्यक्रममा प्रहरी प्रमुख एसपी कोमल शाहले परीक्षाका लागि सुरक्षा व्यवस्था कडा बनाइने बताए । उनका अनुसार प्रत्येक परीक्षा केन्द्रमा १५ जनासम्म सुरक्षाकर्मी खटाइनेछ । कार्यक्रममा सशस्त्र प्रहरीका डिएसपी विनोद थापा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना, शिक्षा तालिम केन्द्रका प्रमुख घनश्याम खनाल लगायतले परीक्षा मर्यादित र व्यवस्थित बनाउन सबै पक्षको सक्रियता आवश्यक रहेको धारणा व्यक्त गरे ।





