2026 April 30/ 11:57: 37am

२०४८ साल देखि २०७९ सम्म ७ वटा निर्वाचन सम्पन्न भएका छन् । निर्वाचनबाट संघीय सरचना अनुसार ४७ सांसद निर्वाचित भए। सांसद भएका मध्ये तीन संघीय मन्त्री र चार राज्यमन्त्री बनेका छन् भने प्रदेश उपसभामुख सहित ६ जना मन्त्री भए । २०८२ फागुन २१ को निर्वाचनमा ४२ प्रत्यक्षतर्फ र १० जना समानुपातिक तर्फ प्रतिस्पर्धामा छन् । 

मोतीराम तिमल्सिना
धुलिखेल

        आमनिर्वाचन, मध्यावधि निर्वाचन, संविधानसभा र प्रतिनिधि सभा निर्वाचनबाट जिल्लाका ४७ जनाले सांसद बन्ने अवसर पाएका छन् । एउटै ब्यक्ति चार पटक भन्दा धेरै सांसद बनेका छन भने केहि मन्त्री, राज्यमन्त्री भएका छन् । प्रदेश र संघ अनि समानुपातिक तथा सरकारले नियुक्ति गर्ने कोटामा पनि काभ्रेबाट संसदमा प्रतिनिधित्व भएको छ । एकल, गठवन्धन तथा अन्य माध्यम मार्फत पनि संसदमा पुग्न दलहरु बीच स्वस्थ र अस्वस्थ दुबै प्रतिस्पर्धा भएको देखिन्छ । 
    २०४८ सालपछि भएका निर्वाचनबाट काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधित्व गर्दै नेकपा एमालेबाट केशव बडाल र गोकुल बास्कोटा मन्त्री बनेका छन् । बडाल सबै भन्दा धेरै सांसद हुने ब्यक्ति हुन् । नेपाली काँग्रेसबाट राजेन्द्र खरेल मन्त्री भए । नेकपा एमालेबाट निर्वाचित गोविन्दनाथ उप्रेती, नेकपा माओवादीका सुर्यमान दोङ, तत्कालिन राप्रपा नेपाल (हाल नेकपा एमाले) बाट रेशम लामा, नेपाली काँग्रेसका कञ्चनचन्द्र बादे संघीय सरकारका राज्य मन्त्री बने । बागमती प्रदेश सरकारमा नेकपा एमालेका चन्द्र लामा, लक्ष्मण लम्साल र बसुन्धरा हुमागाई (लम्साल र हुमागाई हाल नेपाल कम्युनिष्ट पार्टी), नेकपा माओवादी केन्द्रबाट रत्न ढकाल, नेपाली काग्रेसबाट तिर्थ लामा र कञ्चनचन्द्र बादे (हाल कार्यरत) मन्त्री भए । पनौती माईती भएकी अप्सरा चापागाई प्रदेश सभाकी उप सभामुख छिन् । उनी एमालेबाट प्रतिनिधित्व गर्छिन ।
    २०४८ साल देखि २०७९ सम्म ७ वटा निर्वाचन सम्पन्न भएका छन् । निर्वाचनबाट संघीय सरचना अनुसार ४७ सांसद निर्वाचित भएका हुन्। सांसद भएका मध्ये तीन संघीय मन्त्रीर चार राज्यमन्त्री बनेका छन् भने प्रदेश उपसभामुख सहित ६ जना प्रदेश मन्त्री भएका छन। हामीले यो पटक आमनिर्वाचन २०४८ देखि २०७९ सम्मका निर्वाचनबाट निर्वाचितहरुको विवरण प्रस्तुत गरेका छौं । 

आमनिर्वाचन २०४८
    २०४८ सालमा नेकपा एमाले र संंयुक्त जनमोर्चाविच गठवन्धन भएको थियो । त्यतिबेला काभ्रेपलाञ्चोक जिल्लामा निर्वाचन क्षेत्र ४ वटा थिए । क्षेत्र नम्वर १ मा संयुक्त जनमोर्चा नेपालका तर्फबाट कमानसिंह लामा, नेकपा एमालेका तर्फबाट क्षेत्र नम्वर २ मा शिवबहादुर देउजा, क्षेत्र नम्वर ३ मा केशवप्रसाद बडाल र क्षेत्र नम्वर ४ मा गोविन्दनाथ उप्रेती विजयी भएका थिए । कमानसिंह लामा र गोविन्दनाथ उपे्रेती पछिल्लो समय नेकपा माओवादी केन्द्रमा आवद्ध थिए । दुबैको निधन भईसकेको छ । देउजा हाल नेकपामा छन् । बडालले पनि राजनीतिबाट सन्यास लिएका छन् । 

मध्यावधि निर्वाचन २०५१
    नेकपा एमाले र नेपाली काँग्रेस बीच प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा तीनवटा क्षेत्र कायम भएको थियो । तीनवटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । क्षेत्र नम्वर १ मा शिवबहादुर देउजा, क्षेत्र नम्बर २ मा केशवप्रसाद बडाल र क्षेत्र नम्वर ३ मा गोविन्दनाथ उप्रेती । उप्रेती पछि श्रमराज्यमन्त्री पनि भए । केशवप्रसाद बडाल पनि मन्त्री भए । 

आमनिर्वाचन २०५६
    २०५६ सालमा नेकपा एमालेले काभ्रेका दुई सिट गुमाएको थियो । २०५२ साल देखि शुरु भएको माओवादीको शशस्त्र विद्रोह मध्य भएको थियो । क्षेत्र नम्वर १ मा नेकपा एमालेका शिवबहादुर देउजा विजयी भएका थिए । उनी लगातार तीन पटक निर्वाचन जित्ने सांसदहरु मध्ये एक थिए । क्षेत्र नम्वर २ मा केशवप्रसाद बडाललाई हराउँदै नेपाली काँग्रेसका शिवप्रसाद हुमागाई विजयी भएका थिए भने क्षेत्र नम्वर ३ मा पनि नेकपा एमालेका उम्मेदवार विदुरप्रसाद सापकोटालाई हराउँदै नेपाली काँग्रेसका तर्फबाट राजेन्द्र खरेल निर्वाचित भएका थिए । खरेल पनि मन्त्री भए । 

संविधान सभा निर्वाचन २०६४ (पहिलो) 
    माओवादी शान्ति प्रकृयामा आएको, २०५४ मा स्थानीय निकायको निर्वाचन पछि २०५९ साल देखि स्थानीय निकायमा जनप्रतिनिधि विहिन भएको, संसदको निर्वाचन हुन नसकेको जस्ता राजनीतिक घटनाक्रम थिए । माओवादीको शशस्त्र विद्रोह पछि भएको २०६२÷२०६३ को आन्दोलन पछि नागरिकहरुले शान्तिको अपेक्षा गरेका थिए । शान्तिका पक्षमा भएको निर्वाचनमा नागरिक प्रति जोश र जाँगर पनि थियो । आफ्ना लागि आफै लेख्ने संविधानका लागि जनप्रतिनिधिहरु चुनिदै थिए । त्यो अवस्थामा काभ्रेमा पुनः क्षेत्र बर्गिकरण भयो । जसमा निर्वाचन क्षेत्र ४ वटा कायम भए । 
    क्षेत्र नम्वर १ मा नेकपा माओवादीका सुर्यमान दोङ, क्षेत्र नम्वर २ मा नेकपा माओवादीकै अक्कलबहादुर थिङ, क्षेत्र नम्वर ३ मा नेकपा एमालेका कृष्णप्रसाद सापकोटा र क्षेत्र नम्वर ४ मा नेकपा माओवादीका तेजबहादुर मिजार विजयी भए । दोङ राज्यमन्त्री भए । बामगताी अञ्चलमा नेकपा एमालेबाट विजयी हुने सापकोटा एक्ला उम्मेदवार थिए । सापकोटा एमाले हुँदै समाजवादीबाट नेकपामा छन तर निस्क्रिय । अक्कलबहादुर थिङ पनि निस्क्रिय छन् । त्यहि निर्वाचनबाट समानुपातिक सांसदको ब्यवस्था गरिएको थियो । काभ्रेपलाञ्चोक जिल्लाबाट नेकपा एमालेकी शिला कतिला, नेपाली काँग्रेसबाट ललिता किङरिङ, हर्षजित लामा र कमला थापा, नेकपा माओवादी केन्द्रबाट रेणुका चौलागाई सांसदभएका थिए । 

संविधान सभा निर्वाचन २०७० (दोश्रोे) 
    पहिलो संविधान सभा संविधान लेख्न नसकी विघटन भए पछि दोश्रो संविधान सभाका लागि २०७० सालमा निर्वाचन भयो । निर्वाचन क्षेत्र नम्वर १ मा नेपाली काँग्रेसका तीर्थ लामा, क्षेत्र नम्वर २ मा नेकपा एमालेका रामहरी सुवेदी, क्षेत्र नम्वर ३ मा नेपाली काँग्रेसका कञ्चनचन्द्र बादे र क्षेत्र नम्वर ४ मा नेकपा एमालेका विदुर सापकोटा विजयी भएका थिए । सोहि निर्वाचन पछि संविधान निर्माणका लागि नेपाल सरकारको मनोनित कोटामा केशव बडाल नेकपा एमालेबाट र श्याम श्रेष्ठ माओवादीबाट सांसद भए । समानुपातिक तर्फ नेकपा माओवादीबाट कमला दोङ र राप्रपा नेपालबाट रेशम लामा सांसद निर्वाचित भए । रेशम पनि राज्य मन्त्री भएका थिए । यहि बेला देखि समानुपातिक सांसदका विषयमा आलोचना शुरु भएको थियो । बादे राज्यमन्त्री भएका थिए । विदुर सापकोटाको निधन भईसकेको छ । 

प्रतिनिधि सभा निर्वाचन २०७४
    संविधान जारी भए पछिको पहिलो निर्वाचन थियो । स्थानीय तह, प्रदेश र संघ तर्फ तीन तहका सरकार संचालनका लागि पहिलो अभ्यास पनि थियो । एकै पटक संघ र प्रदेश सभाको निर्वाचन भएको थियो । बामगठवन्धन गरे लगत्तै काभ्रेमा रहेका प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ सिटमा नै नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । क्षेत्र नम्वर १ मा नेकपा माओवादी केन्द्रका गंगाबहादुर दोङ, क्षेत्र नम्वर २ मा नेकपा एमालेका गोकुलप्रसाद बास्कोटा विजयी भएका थिए । 
    प्रदेश सभा तर्फ क्षेत्र नम्वर १ को क मा रत्न ढकाल नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए भने क्षेत्र नम्बर ख मा नेकपा एमालेका तर्फबाट चन्द्र लामा विजयी भएका थिए । क्षेत्र नम्वर २ को क मा नेकपा एमालेका तर्फबाट लक्ष्मण लम्साल र ख मा एमालेकै बसुन्धरा हुमागाई विजयी भएका थिए । त्यतिबेला शुरु भएको विकासको रफ्तार र गतिले अहिले जिल्ला समृद्धीको अभियानमा छ । हुमागाई र लम्साल अहिले नेकपामा छन् । दोङ र बास्कोटा २०८२ को निर्वाचनमा प्रतिस्पर्धामा छैनन । ढकाल अहिले पनि प्रदेश सभामा छन् । चन्द्र लामा २०७९ मा तीन मतले पराजित भएका थिए । बास्कोटा त्यहि बेला नेपाल सरकारको प्रवक्ता तथा शक्तिशाली दुई मन्त्रालयका मन्त्री बने । जिल्लाको समृद्धीका लागि उनले बहुबर्षिय परियोजनाहरु शुरुवात गराए । जसले जिल्लाको कायापलट शुरु गरेको छ । लामा र हुमागाई पनि प्रदेश सभाका मन्त्री बने । 
    यो निर्वााचनमा पनि प्रदेश र प्रतिनिधि सभा तर्फ समानुपातिक सांसदहरु निर्वाचित भएका थिए । संघ तर्फ नेकपा एमालेबाट नविना लामा र केशव बडाल सांसद भए । प्रदेश तर्फ नेकपा एमालेबाट गोमा भुर्तेल सांसद भईन् । २०७४ देखि २०७९ सम्म काभ्रेपलाञ्चोक जिल्लामा नेपाली काँग्रेसबाट संसदमा प्रतिनिधित्व नै भएन । 

प्रतिनिधि सभा निर्वाचन २०७९
    २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले विरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी लगायतका दलको गठवन्धन भएको थियो । नेकपा एमाले एक्लै प्रतिस्पर्धामा थियो । क्षेत्र नम्वर १ मा गठवन्धनबाट नेकपा माओवादीका सुर्यमान दोङ विजयी भएका थिए भने क्षेत्र नम्वर २ मा नेकपा एमालेका गोकुल बास्कोटा गठवन्धनका उम्मेदवारलाई पराजय गर्दै विजयी भएका थिए । यो संसद ३ वर्ष अवधी नपुग्दै २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका कारण विघटन हुन पुग्यो । प्रदेश तर्फ क्षेत्र नम्वर १ को क मा नेकपा माओवादीबाट पुनः रत्न ढकाल निर्वाचित भए भने ख मा नेपाली काँग्रेसका तीर्थ लामा निर्वाचित भए । लामाले एमालेका चन्द्र लामालाई तीन मतले पराजित गरेका थिए । त्यस्तै क्षेत्र नम्वर २ को क मा समाजबादी पार्टीका लक्ष्मण लम्साल र ख मा नेपाली काँग्रेसका कञ्चनचन्द्र बादे निर्वाचित भए । उनी अहिले प्रदेश सरकारका मन्त्री छन् । तीर्थ लामा पनि प्रदेशका मन्त्री भएका थिए । 
    २०७९ सालमा जिल्लाबाट संघ तर्फ समानुपातिकमा नेकपा एमालेबाट रुकमणी राना मगर र नेकपा माओवादीबाट मिना तामाङ सांसद भएका थिए भने प्रदेशमा नेकपा माओवादीबाट रुकु चौलागाई र नेकपा एमालेबाट ज्ञानबहादुर तामाङ सांसद भएका थिए । त्यस्तै उपसभामुख रहेकी पनौतीकी अप्सरा चापागाईपनि काभ्रेबाट प्रतिनिधित्व गर्छिन । विवाह पछि उनको स्थायी बसोबास उपत्यका रहेको छ । 

प्रतिनिधि सभा निर्वाचन २०८२ (फागुन २१) 
    २०८२ फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको छ । जिल्लाका २ वटा निर्वाचन क्षेत्रमा ४२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेश १ मा १८ र प्रदेश २ मा २४ जना उम्मेदवार छन् । समानुपातिक तर्फ जिल्लाबाट करिव ८ जना उम्मेदवार छन् । नेकपा एमालेबाट सुमित्रा भोक्षिभोया, भक्तकुरमारी लामा र इन्द्र तामाङ छन् । नेपाली काँग्रेसबाट मिरा नेपाली, नेपाली कम्युनिष्ट पार्टीबाट रामदेवी तामाङ र रास्वपाबाट डा.राम लामा समानुपातिक सूचीमा छन् । यो पटक प्रदेश तहको निर्वाचन फरक समयमा हुनेछ । 

बडाल चारपटक, देउजा तीन पटक
    जिल्लामा लगातार विजयी भएका सांसद शिवबहादुर देउजा हुन् । उनी २०४८, २०५१ र २०५६ मा विजयी भए । २०७४ पछि उनी नेकपा हुँदै नेकपा एमालेबाट नेकपा समाजबादी भए । दुई पटक निर्वाचित, एक पटक नेपाल सरकारबाट मनोनित र एक पटक समानुपातिक सूचीमा गरी चार पटक सांसद भए नेकपा एमालेका नेता केशव बडाल । अनुशासन आयोगका अध्यक्ष समेत रहेका बडालले २०८२ सालमा आयोजित पार्टीको महाधिबेशन पछि राजनीतिबाट विश्राम लिएका छन् । गोविन्दनाथ उप्रेती, गोकुल बास्कोटा, सुर्यमान दोङ, लक्ष्मण लम्साल, तिर्थ लामा, कञ्चनचन्द्र बादे, रत्न ढकाल दुई–दुई पटक निर्वाचित भएका छन् । पार्टीबाट पटक पटक अवसर लिएकाहरु नै राजनीतिमा दल अदल बदल गरिरहेका छन् । 

विरासत जोगाउने कि भत्काउने ?
    नेकपा एमालेले २०४८ र २०५१ मा काभ्रेका चारवटै क्षेत्रमा विजय हासिल गरी काभ्रेपलाञ्चोक जिल्लालाई बाम किल्ला बनायो । २०५६ सालमा तीन वटा क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा २ वटा क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भई बाम किल्ला भत्कायो । २०६४ सालमा नेकपा माओवादी र नेकपा एमालेले विजयी हासिल गरे । पुनः जिल्लालाई बाम किल्ला बनाए । २०७० मा चारवटा क्षेत्र मध्ये २ वटामा नेकपा एमाले र २ वटामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भई बाम किल्ला भत्कियो । २०७४ सालमा प्रतिनिधि सभाका २ वटा र प्रदेश सभाका ४ वटा क्षेत्रमा एमाले र माओवादीको गठवन्धन बन्यो र बाम किल्ला स्थापित भयो । २०७९ को निर्वाचनमा नेकपा माओवादीले आफ्नै विरासत तोड्ने गरी नेपाली काँग्रेससँग गठवन्धन ग¥यो तर पनि नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभामा एक र नेकपा माओवादीका तर्फबाट प्रतिनिधि सभामा एक र प्रदेश सभामा १, नेकपा समाजबादीका तर्फबाट एक जना उम्मेदवार विजयी भए । नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभामा २ जना उम्मेदवार विजयी भए । 
    २०८२ सालमा सबै दल एक्ला एक्लै प्रतिस्पर्धामा छन् । पुराना दलहरुलाई २०७९ साल देखि नयाँ दलहरुले चुनौती दिएका छन् । यो निर्वाचनमा पुराना दललाई विरासत जोगाउन चुनौती छ भने नयाँ दललाई पुराना दलको विरासत भत्काउन । यद्यपी नेकपा एमालेका उम्मेदवाहरुले पुरानै विरासत कायम राख्ने गरी दुबै क्षेत्रमा विजय हात पार्ने गरी पार्टी भित्रको एकता कायम राख्दै अन्य मतदातालाई आफ्नो पक्षमा मत राख्न लगाउने गरी राष्ट्रियता, राष्ट्रिय गौरवका आयोजना र मुलुक निर्माणका योजना अघि सारेका छन । नेपाली काँग्रेसले पनि पुरानो विरासतलाई पुनस्थापित गर्ने गरी दल भित्रको विवादलाई मत्थर बनाउँदै प्रचार अभियानलाई तिब्र बनाएको छ । नेकपा माओवादी र समाजबादी लगायतका १५ वटा भन्दा धेरै मोर्चा मिलेर बनेको दल नेपाली कम्युनिष्ट पार्टीले पनि आफ्ना उम्मेदवार विजयी गराउने गरी अभियान संचालन गरेको छ । नयाँ दल रास्वपा, उज्यालो नेपाली पार्टी लगायतका उम्मेदवारहरु पनि मैदानमा सक्रिय छन् । अन्य साना दल जसले हरेक निर्वाचनमा जमानत जफत गराउँदै आएका छन् उनिहरु पनि मैदानमा छन् । 

२०७९ मा दलहरुको अवस्था

           तीन दलिय गठवन्धनका बीच प्रतिनिधि सभा निर्वाचन २०७९ मा काभ्रेमा समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो दल बनेको थियो । काभ्रेका २ प्रतिनिधिसभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको थियो । काभ्रेमा पहिलो दल बनेको एमालेले संघ र प्रदेश गरी समानुपातिकमा १ लाख २३ हजार ६ सय ५७ मत ल्याएको थियो । दोस्रो भएको नेपाली कांग्रेसले १ लाख ४ सय ३३ मत पाउँदा नेकपा माओवादी केन्द्रले ५१ हजार ५ सय ९८ मत प्राप्त गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले १८ हजार ९ सय ५४ मत र नेकपा एकीकृत समाजवादीले १७ हजार ९ सउ ४६ मत पाएको थियो । एमालेले पाएको मत कांग्रेसको भन्दा २३ हजार २ सय २४ ले धेरै हो । प्रतिनिधि सभातर्फ एमालेले ५८ हजार ७८४ मत पाएको थियो । नेपाली कांग्रेस ४८ हजार ३११ मत पाएर दोस्रो भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी २६ हजार ६१८ मत पाएर तेस्रो स्थानमा थियो । नेकपा माओवादी केन्द्र २५ हजार २६१ मतका साथ चौथो स्थानमा थियो । नेकपा एकीकृत समाजवादी पार्टीले ८ हजार ९८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार २२१ मत पाएका थिए । यस्तै प्रदेश सभातर्फ एमालेले ६४,८७२ मत पाएर प्रदेशमा पनि अग्रस्थान कायम गरेको थियो । कांग्रेसले ५२,१२२ मत, माओवादी केन्द्रले २६,३३७ मत, राप्रपाले १२,७३३ मत र एकीकृत समाजवादीले ९,८४८ पाएको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जानकारी दिएको छ । काभ्रेमा क्रियाशील सबै दलले प्रतिनिधिसभाभन्दा प्रदेशसभामा धेरै मत ल्याएका थिए । अरू साना दलले पाएको मत भने १ हजारभन्दा कम छ । रास्वपाले भने प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिक दुवैमा भाग लिएको थिएन ।
क्षेत्रगत रूपमा कुन दलले कति मत पाएका थिए ?
               काभ्रे क्षेत्र नम्बर १ मा समानुपातिकतर्फ एमाले २४,०७९ मत, कांग्रेस २१,७५५, माओवादी केन्द्र १७,३३५, रास्वपा ९,७९४, राप्रपा २,४२९ र एकीकृत समाजवादीले १,९५५ मत ल्याएका थिए । 
               जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार काभ्रे २ मा एमालेले ३४,७०५ मत, कांग्रेसले २६,५५६, रास्वपाले १६,८२४, माओवादी केन्द्रले ७,९२६ र एकीकृत समाजवादीले ६,१४३, राप्रपाले ३,७९२ र नेपाल मजदुर किसान पार्टीले १,२९१ मत पाएका थिए ।  २०७९ को निर्वाचनमा काभ्रे १ मा कुल १,५२,६२१ मतदाता रहेकोमा संघमा ८३,६३३ र प्रदेशमा ८३,३६७ मत खसेको थियो । त्यस्तै काभ्रे २ मा १,५७,४४२ मतदातामध्ये संघमा १,०३,६६१ मत र प्रदेशमा १,०३,०९७ मत खसेको थियो ।