धुलिखेल/जिल्लामा रहेका सामुदायिक बन उपभोक्ता समुहरुले बार्षिक करोड भन्दा धेरै आम्दानी गर्ने गरेका छन् । साविक जिल्ला बन कार्यालयले गरेको अनुगमनका क्रममा सामुदायिक बन उपभोक्ता समूहहरुले १२ शिर्षकमा आम्दानी गर्ने गरेको पाईएको छ ।
जिल्लाभर रहेका सामुदायिक बन उपभोक्ता समूहहरुको कुल आम्दानी १ करोड ६५ लाख ८९ हजार ३ सय रुपैयाँ रहेको डिभिजन बन कार्यालय काभ्रेका प्रमुख बद्रि कार्कीले बताए । सबैभन्दा बढी हिस्सा ७३ लाख १७ हजार ९ सय २९ रुपैयाँ अघिल्लो वर्षको मौज्जात रहेको छ भने दोश्रो हिस्सा समूह भित्र विक्री भएको काठबाट प्राप्त भएको छ । काठ विक्रीबाट मात्र समूहहरुले ५३ लाख १० हजार ९ सय २७ रुपैयाँ आम्दानी गरेका छन् । सबैभन्दा कम घाँस र स्याउला विक्रीबाट ४३ हजार २ सय ९५ रुपैयाँ प्राप्त भएको छ भने गैरकाष्ठ वन पैदावार विक्रीबाट ६० हजार ७ सय ५७ र कृषि औजार विक्रीबाट १ लाख ८ सय १९ रुपैयाँ प्राप्त भएको छ । जिल्लामा ६ सय ४२ वटा सामुदायिक बन रहेका छन् । ती मध्ये सामुदायिक बन कार्ययोजना स्वीकृत गरी हस्तान्तरण गरिएका ५ सय ७७ वटा मात्रै समुह छन् । विधान मात्र दर्ता भएका ६५ वटा समुह छन् । सामुदायिक बनमा ६४ हजार ४ सय २९ घरधुरी रहेका छन् ।
सामुदायिक बन उपभोक्ता समूहहरुको बार्षिक एक पटक साधारण सभा र महिनाको एउटा समितिको बैठक बस्नुपर्ने विधानत ब्यवस्था छ । अधिकांश सामुदायिक बन उपभोक्ता समूहरुको साधारण सभा नभएको, नियमित बैठक बस्न नसकेको देखिएको छ । ५ सय ७७ वटा सामुदायिक बन उपभोक्ता समूहहरु मध्ये ३ सय ५० वटाको सभा सम्पन्न भएको र बैठक बसेको देखिएको छ । ३८.८२ प्रतिशत समुहले साधारण सभा नै आयोजना गर्न सकेका छैनन् । तेमालको नारायणस्थान, डाँडापारीको साल्मे, जनागाल र महादेवस्थान इलाका बन कार्यालय अन्र्तगतका थोरै समूहले सधारण सभा सम्पन्न गरेका छन् । बैठक र सभा समेत आयोजना नगर्ने समूहका उपभोक्ताहरु प्रति सामुदायिक बन प्रतिको रुची र चासो घट्दै गएको हो कि ? भन्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।
सामुदायिक बनहरुबाट बन ब्यवस्थापन सँगै ढलापढा रुख संकलन गरी निस्केका सबै बन पैदावार भुकम्प पीडितहरुका लागि घरगोठ निर्माण गर्न, आन्तरिक खपत तथा समूह बाहिर विक्री वितरण समेत भएको छ । सामुदायिक बनबाट ४६ हजार ७ सय ८४ कजी खोटो संकलन भई विक्री गरिएको छ । त्यस्तै ३४ हजार ३ सय ९९९ क्यु फिट काठ विक्री गरिएको छ । कोईला ५९ हजार ५ सय केजी, बोधिचित्त (भद्राक्ष), कालादाना र टिमुर समेत गरी ११ हजार २ सय ७ केजी निकासी भएको ट । निजी आवादीको विभिन्न प्रजातिका २ लाख ३२ हजार ३ सय ४२ क्यू फिट गोलिया काठ स्थानानन्तरण गरिएको छ ।
सामुदायिक बन उपभोक्ता समूहहरुले प्राप्त गरेको आम्दानीलाई समूहरुले १ करोड ११ लाख २० हजार ३ सय ९ खर्च गरेका छन् । समूह ऋण लगानीमा ३१ लाख ९७ हजार ४ सय ४७ रुपैया रहेको छ भने बन संरक्षणमा १४ लाख ९८ हजार १ सय ६४ रुपैयाँ खर्च भएको छ । त्यस्तै स्थानीय क्षेत्रको विकास सहभागितामा विशेषगरी मोटरबाटो निर्माणका लागि १० लाख ७ हजार ७ सय ९६ रुपैयाँ खर्च गरिएको छ । सामुदायिक बन उपभोक्ता समूहहरुले बन संरक्षण, वन सम्र्वद्धन, वृक्षारोपण, नर्सरी संचालन, अग्निरेखा निर्माण, जडिबुटी गैह्रकाष्ठ प्रर्वद्धनका लागि केहि रकम खर्च गरेका छन् ।





