धुलिखेल/साविक शिक्षा कार्यालय काभ्रे विरुद्ध विभिन्न निकायमा उजुरी परेका छन् । उजुरी उपर केहि कारवाही भएका छन् भने केहि अनुसन्धानको क्रममा छन् ।
शिक्षा समन्वय ईकाई तथा साविकको शिक्षा कार्यालयले गरेका गतिविधिहरु विरुद्ध विभिन्न निकायमा परेका उजुरीको किनारा नलाग्दा निर्णयमा कठिनाई भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत र राष्ट्रिय सतर्कता केन्द्रमा परेका उजुरीहरुको चाङ मध्ये केहि किनारा लागिसकेका छन् । कार्यालयका गतिविधि सम्वन्धमा अख्तियारमा ३१ वटा उजुरी दर्ता भएका थिए । अदालतमा १३ वटा उजुरी दर्ता भएका छन् भने सतर्कता केन्द्रमा एउटा उजुरी दर्ता भएको थियो । दर्ता भएका उजुरी मध्ये आर्थिक हिनामिना सम्वन्धी २२ वटा उजुरी रहेका छन् । भौतिक निर्माणसँग सम्वन्धी ७ वटा र शैक्षिक योग्यता सम्वन्धी २ वटा उजुरी दर्ता भएका थिए । शिक्षक बढुवा सम्वन्धी ४ वटा उजुरी अदालतमा दर्ता भएका थिए । नोकरी अवधी गणना सम्वन्धी एउटा उजुरी अदालतमा दर्ता भयो । अस्थायी शिक्षकको आन्तरिक प्रतिस्पर्धा सम्वन्धी ८ वटा उजुरी अदालतमा दर्ता भएको थियो । अख्तियारमा परेका मध्ये सबैभन्दा धेरै आर्थिक हिनामिना सम्वन्धी थिए । २२ वटा उजुरीमा ९ वटाको कारवाही टुङ्गिएको छ भने १३ वटाको कारवाही चलिरहेको छ ।
अख्तियारले सोधेको जवाफमा ७ वटा उजुरीका बारेमा जवाफ पेश हुन बाँकी छ । भौतिक निर्माण सम्वन्धी ७ वटै उजुरीमा कारवाही चलिरहेको छ । शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा २ वटा उजुरी अख्तियारमा परेका थिए । राष्ट्रिय सतर्कता केन्द्रमा पनि आर्थिक अनियिमतता सम्वन्धी नै उजुरी दर्ता भएको थियो । जिल्लामा रहेका ४ सय ९६ बाल विकास केन्द्र रहेका छन् । जस मध्ये ४ सय ६४ वटा विद्यालयमा आधारित बाल विकास केन्द्र रहेका छन् भने ३२ वटा समुदायमा आधारित विद्यालय रहेका छन् । ६ सय ९० विद्यालय मध्ये ख्ुल्ला विद्यालय, अनौपचारिक विद्यालय, धार्मिक विद्यालय समेतमा लेखा परीक्षण नियमित हुन सकेको छैन । १ सय ३ वटा संस्थागत र ५ सय ८७ विद्यालयमा अध्ययन गर्ने ७३ हजार ८ सय ८३ विद्यार्थीहरुको ब्यवस्थापनका लागि शिक्षकसंख्या अपुग छ । नतिजा सुधार्नका लागि नयाँ कार्यक्रम दिन नसकेका सामुदायिक विद्यालयहरुमा बार्षिक रुपमा लेखापरीक्षण गरी प्रतिवेदन तयार गर्ने अभ्यास कमी छ । २० वटा भन्दा धेरे विद्यालयले नियमित लेखापरीक्षण नगराएको शिक्षा समन्वय ईकाई कार्यालयले जानकारी दिएको छ ।
शिक्षा समन्वय इकाई कार्यालय धुलिखेलमा आर्थिक वर्ष २०७४÷२०७५ सम्म ३५ करोड ७५ लाख ३० हजार रहेको छ । आर्थिक वर्ष २०७३÷२०७४ मा मात्रै २७ करोड १४ लाख रुपैया बेरुजु भएको छ । अघिल्लो वर्ष २०७२÷२०७३ मा १० करोड १९ लाख ३० हजार बेरुजु देखिएको थियो । सोहि वर्ष १ करोड ५८ लाख बेरुजु फछ्र्याैट भएको थियो । उक्त अवधीमा ८ करोड ६१ लाख ३० हजार रकम फछ्र्याैट हुन बाँकी थियो । गत आर्थिक वर्ष २०७३÷२०७४ मा थपिएको २७ करोड १४ लाख रुपैया विद्यालय भवन निर्माण लगायतका शिर्षकको रहेको बताईएको छ । बेरुजु अंक बढिरहँदा फर्छाैट अंक न्यून देखिएको छ । ९५.०२ साक्षर भईसकेको जिल्ला साक्षर घोषणा हुन सकेको छैन । केहि स्थानीय तहहरुले साक्षर नगर र गाउँपालिका घोषणा गरिसकेका छन् । सरोकारवालाहरुको बैठकले तत्काल जिल्लालाई साक्षर घोषणा गर्न सुझाव दिएका छन् ।





