2026 April 30/ 11:44: 56am

    धुलिखेल/आगामी पौष ९ गते काभ्रेपलाञ्चोक जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गर्ने तयारी गरिएको छ । ९९ प्रतिशत घरमा शौचालय निर्माण सकिएकाले जिल्लालाई नै खुल्ला दिसा मुक्त गर्ने निर्णय गरिएको हो । 
    जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । आगामी पौष ५ गते भित्र खुल्ला दिसा मुक्त गाउँपालिका र नगरपालिका घोषणा गर्न बाँकी स्थानीय सरकारले घोषणा गर्ने र पौष ९ गते जिल्लालाई नै खुल्ला दिसा मुक्त घोषणा गर्ने निर्णय भएको समन्वय प्रमुख उद्धव केसीले बताए । खुल्ला दिसा मुक्त जिल्ला घोषणाका लागि समन्वय अधिकारी कोमल धमलाको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको छ । समितिमा खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख रामचन्द्र काफ्ले र भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर लोकनाथ रेग्मी रहेका छन् । समितिले बाँकी स्थानीय सरकार बनेपा, पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्ध नगरपालिका तथा खानीखोला, महाभारत, बेथान्चोक गाउँपालिका लगायतमा खुल्ला दिसा मुक्त घोषणा गर्ने छ । 
    त्यस्तै पूर्ण साक्षर काभ्रे घोषणा गर्ने तयारी शुरु भएको छ । आगामी पुष र माघ महिनामा सबै स्थानीय सरकारलाई पूर्ण साक्षर सरकार घोषणा गरे पछि फागुन महिनाको अन्तिममा जिल्लालाई नै पूर्ण साक्षर घोषणा गर्ने तयारी गरिएको हो । जिल्लाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत सहित जिल्लाका विभिन्न क्षेत्रका ब्यक्तिहरु सहभागिता रहेको बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का लगायतको सहभागिता रहेको थियो । बैठकले पाँचखाल, भुम्लु गगाउँपालिका लगायतका क्षेत्रमा भईरहेको बालुवा चोरी निकासी रोक्न तत्काल स्थानीय सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।