नमोबुद्ध÷केहि वर्ष देखि नमोबुद्ध नगरपालिकामा संचालन भईरहेका इँटा भट्टा चलाउने र बन्द गर्ने भन्ने विवाद चुलिएको छ ।
नगरपालिकाले स्थानीय सरकारको अधिकार प्रयोग गर्दै वातावरण प्रदूषण भएको जनाउँदै नगर परिषद्, कार्यपालिका बैठकको निर्णय अनुसार बन्द गर्न पत्र पठाएको थियो । ब्यवसायीहरुले भने नगरपालिकाको पत्र अनुसार बन्द गर्ने योजना बनाएका छैनन् । कानुन अनुसार दर्ता गरेकाले बन्द गर्न नसक्ने तर्क गर्दै धमाधम इँटा बनाई रहेका छन् । केहि सातामै भट्टामा इँटा पोल्न आगो लगाउने तयारी ब्यवसायीहरुले गरिरहेका छन् भने नगरपालिकाले निर्णय कार्यान्वयन गराउने प्रयास गरिरहेको छ । कम्पनीमा भएका उद्योगहरु नविकरण गर्नु नपर्ने भएकाले ब्यवसायीहरु चुपचाप छन् । सरकारसँग झगडा गर्ने भन्दा वार्ताको माध्यमबाट समन्वय गरी ब्यवसायलाई वातावरण मैत्री बनाउने प्रस्ताव स्थानीय सरकारसँग लैजाने अवसर नै नपाएको जिल्ला प्रशासनलाई जानकारी गराएका छन् ।
‘मापदण्ड विपरित निर्माण भएका मध्ये भैरव कुण्ड इटा भट्टाले आफै भत्कायो, भत्काएको केहि दिनमै पुन निर्माण ग¥यो’–स्थानीयले भने–‘भत्काउँदै निर्माण गर्दै गरेको किन हो ? बुझ्न सकिएको छैन ।’ भैरवकुण्ड प्रालिमा दर्ता भएको इट्टा भट्टा हो । नगरपालिकाले तत्काल भत्काउन र भत्काएको भट्टालाई पुनर्निर्माण नगर्न निर्देशन दिदै पत्र थमाएको छ । पैसाले सबै खरिद गर्न सकिन्छ भन्ने मनसाय लिएर भट्टाका ब्यवसायी केदार आचार्यले नगरपालिकाको निर्णय र निर्देशनलाई लत्याउँदै भत्काएको भट्टालाई पुनर्निर्माण गरेका हुन् । भैरवकुण्ड भट्टामा आचार्यका अलावा इँटा ब्यवसायी संघका जिल्ला सचिव जगत शाह समेत साझेदार छन् । नमोबुद्ध नगरपालिकामा निर्माण भएका भट्टाहरु हटाउन तत्कालिन नेकपा एमालेले घोषणा पत्रमा प्रतिवद्धता ब्यक्त गरेको थियो । उक्त पार्टीबाट वडा अध्यक्ष ६ जना, प्रमुख र उपप्रमुख सहित कार्यपालिका बैठकमा बहुमत छ । पार्टी एकिकरण हुँदा समेत कार्यपालिका बैठकमा भट्टा हटाउने विषयमा एक मत छ । बोर्ड बैठक, नगर सभाबाट समेत भट्टा भत्काउन भएको निर्णय कार्यान्वयन हुन सकेको छैन ।
नेकपाका नेताहरुले जनताको स्वास्थ्यमा असर पार्ने भट्टा कुनै पनि हालतमा बस्तिको बीचमा हुनु नहुने निश्कर्ष निकालेको छ । सांसदहरु गंगाबहादुर दोङ्ग, चन्द्र लामा सहितका नेताहरुको उपस्थितीमा भएको बैठकमा समेत तत्कालिन इन्चार्ज राजन भुर्तेल, संयोजक टिपी शर्मा, उप–संयोजक कृष्ण खनाल, जिल्ला कमिटी सदस्यहरु, नेकपाका सबै नेताहरु भट्टा राख्न नहुने पक्षमा एकमत छन् । वडा अध्यक्ष मार्फत ब्यवसायीहरुले नगरपालिकाको निर्णय कमजोर बनाउन गरेको अर्नगल प्रचार प्रति जनप्रतिनिधिहरु विभाजित हुन लागेको भन्दै नगरपालिकाले खबरदारी गरिरहेको छ । ब्यवसायीहरुले आलटाल गरिरहे प्रशासनको सहयोगमा भट्टामा डोजर चलाउने निर्णय गरिसकेको नगरपालिकाले जानकारी दिएको छ ।
भकुण्डेमा रहेका भट्टाहरुमा नेपाली कांग्रेसका पूर्व सांसद चन्द्र महर्जन, नमोबुद्ध नगर समितिका सभापति कुन्साङ्ग लामा, नेता इन्द्र दाहाल, वडा सदस्य रामकुमार मैनाली, कांग्रेसकै कविराज श्रेष्ठ लगायतको लगानी रहेको छ भने नेकपाका जगत शाह लगायतको लगानी रहेको बताईएको छ । केहि जनप्रतिनिधिको खेत भट्टा भित्रै पर्ने भएकाले जग्गा खाली गर्न निर्देशन दिए पनि एउटा कित्ता मात्रै छाड्ने सम्भावना नरहेको बताईएको छ । वडा अध्यक्षहरु मार्फत ब्यवसायीहरुले नगर सभामा प्रस्ताव पठाएर एक वर्ष भट्टा चलाउन पाउने वातावरण बनाउन गरेको प्रयास असफल भएको छ । नगरपालिकाले डोजर लगाएरै भए पनि भट्टा चलाउन रोक लगाउने निर्णय गरिसकेको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले बताए ।
भट्टा उद्योगबाट निस्किएको कालो धुँवा र कणले स्थानीयहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याएको प्रमाण सहित नगरपालिकामा गत वर्ष ३३ वटा संस्थाका हजारौ ब्यक्तिहरुले ज्ञापन पत्र बुझाएका थिए । खोलाको पानी फोहोर भएको, पानीका मुहानहरु सुक्दै गएको, खेति योग्य जमिन मरुभूमिमा परिणत भएको तथा मानव स्वास्थ्यमा गम्भिर खेलवाड गरेको स्थानीयहरुको ज्ञापनपत्र उल्लेख गरिएको थियो ।





