रविन्द्र यादव
प्रमुख
नेपाल विद्युत्त प्राधिकरण, काभ्रे शाखा
जन्म, बाल्यकाल र औपचारिक शिक्षाः २०३० साल भदौ ११ गते सर्लाहि जिल्लाको बसन्तपुर गाविस ५ हालको हरिअर्वा नगरपालिका वडा नम्वर ११ मा मेरो जन्म भएको हो । स्व. बुबा र स्व. आमाको कोखबाट कान्छो सन्तान अर्थात कान्छो छोराको मेरो जन्म भएको थियो । बुबा आमा दुबै अशिक्षित । बुबा र आमाले सन्तान सबैलाई अध्यापन गराउनु पर्छ भन्ने सोच थियो । गाउँकै विद्यालयमा मैले अध्ययन गरें । घर सँगै रहेको आनन्द मार्ग विद्यालयमा अध्ययन गरें । मेरो दाई महेन्द्र यादव अभिभावक हुनुुहुन्थ्यो । उहाँ अहिले सांसद हुनुुहुन्छ । पहिले मन्त्री पनि हुनु भयो । हामी दुई भाईलाई त्यो आनन्द मार्ग नीजि विद्यालयमा भर्ना गरिदिनु भयो । कक्षा ५ सम्म अध्यनन गरेर केन्द्रिय विद्यालयमा अध्ययन ग¥यौं । एसएलसी त्यहिबाट सकेपछि +२ अध्ययनका लागि भारतमा गयौं । इन्जिनियरिङ्ग पनि उतैबाट भयो । अध्ययन सकेपछि नेपाल फर्किएर नेपाल विद्युत्त प्राधिकरणमा जागिर खान शुरु गरें ।
हामी सबै जनाले अध्ययन गरेका छौं । जुन बस्तिमा हामी बसेका थियौं त्यो बस्तिमा पहिलो डाक्टर मेरो दाई, पहिलो मन्त्री मेरो दाई र पहिलो इन्जिनियर पनि म थिएँ । बुबा आमाको सोच जसरी पनि छोराहरुलाई अध्ययन गराउन सकियो भने उनिहरुले आफुलाई सक्षम बनाउन सक्छन् भन्ने थियो । नभन्दै हामी सबै भाईले त्यो काम ग¥यौं । बुबा आमा पछि दाईले अभिभावकत्व ग्रहण गरेर त्यो अवसर प्राप्त भयो । मैले होस्टलमा बसेर अध्ययन गरेको थिएँ । गुरुकुल जस्तै थियो । विद्यालयमा गर्मीको समय थियो । होस्टेलमा बस्दा हामीले बेल ल्याएर राख्ने गरेका थियौं । एक दिन त्यो बेल सबै जनाले मिलेर पालैपालो खायौं । बेलमा सबै भन्दा धेरै औला पसाएर खाने म थिएँ । होस्टल वार्डेनले जसले जति औलाले खायो त्यति स्टिक कारवाही थियो । बेल खाए बापत उहाँले मलाई चार लाठी हान्नु भयो । बेलको प्वाल ठुलो हुँदा मैले चारवटा औला निकालेर खाएको थिएँ । त्यो पहिलो कारवाही थियो । कहिलेकाँहि शिक्षकहरु शौचालयमा ढिला ग¥यो भने पनि कारवाहीमा परिन्थ्यो । शिक्षकहरु किन शौचालयमा ढिला गरिरहेको छ ? खासमा अध्यनन गर्न गाह्रो लागेर विद्यार्थीहरु शौचालय गएर कक्षामा नफर्कने गर्दथे ।
एकपटक दाईको कुटाई खाएँ । विद्यालयमा दाईले लगेर छाडिदिनु भएको थियो । परिक्षा सकेर रिजल्ट नहुँदासम्म नआउनु भन्नु भएको थियो । तर मैले परिक्षा दिएर रिजल्ट जे होस् भन्दै घर आएँ । दाईले मलाई नराम्रोसँग कुट्नु भयो । त्यो कुटाईले मलाई सुध्रने अवसर दियो । दाईको तालिका बाहेक त्यसपछि कहिल्यै अगाडी बढिन । आजसम्म दाईकै अनुशासनले चलेका छौं । भोलिपल्ट विहानै म होस्टल गएँ । त्यसपछि मैले अलिक प्रगति पनि गरें । अभाव कहिल्यै महसुस भएन । बुबा आमा पछि दाईले अभिभावकत्व निभाउनु भएकाले कहिल्यै समस्या भएन । त्यस माथी म सबै भन्दा कान्छो भएकाले सहज भयो । विद्यालयमा अतिरिक्त कृयाकलापहरु हुने गरेका थिए । कक्षा ९ मा अध्ययन गर्दा फुटबलको राष्ट्रिय खेलाडी भएको थिएँ । प्रतियोगितामा एक पटक भाग लिने अवसर पाएँ । त्यसपछि कहिल्यै त्यो अवसर पाईन । फुटबल, हक्कि र बास्केटबलको म सौखिन थिएँ । अहिले ब्याडमिन्टन खेल्छु । प्रतिस्पर्धा कतै छैन । शिक्षकहरु कहिलेकाँहि कक्षामा नआउँदा हामी फुटबल तथा अन्य खेलहरु खेलेर समय विताउने गरेका थियौं । मेरा त्यस बेलाका साथीहरु अन्तराष्ट्रिय खेलाडी समेत भएका छन् । हामी विदाको दिन मुभी हेथ्र्याै । टिकटको एक रुपैया, बस भाडा २५ पैसा, विद्यालयको शुल्क मासिक ८ रुपैया थियो । होस्टलको छात्रावास सहित मासिक १ सय रुपैया थियो । +२ सम्मको अध्यनन त्यसरी नै भयो । भारत सरकारले त्यस्ता विद्यालयहरु खोलेको छ । काठमाडौमा पनि त्यस्ता विद्यालयहरु छन् । हाम्रो विशेष सौखिन चाँहि फिल्म नै थियो ।
एसएलसी खासै कठिन भएन । मैले सोचे जस्तै परिणाम प्राप्त हुन सकेन । थोरै कम भयो । त्यस्तो अविश्मरणीय भएन । ७२ प्रतिशत मात्रै आयो । ७५ प्रतिशत आउने सोच थियो । रिजल्ट आउँदा घरमै थिएँ । रिजल्ट आएको जानकारी पाउने वितिक्कै हामी भोलिपल्ट विद्यालय गयौं । विद्यालयमा गएर हेर्दा उर्तिण भएको थाहा भयो । मेरो घरमा सबै खालका शिक्षा प्राप्त गर्ने ब्यक्तिहरु थिए । दाई डाक्टर भएकाले म कक्षा ५ बाट नै इन्जिनियर बन्ने भन्ने थियो । तर कस्तो खालको इन्जिनियर भन्ने थिएन । फरक फरक शिक्षा लिँदा राम्रो हुन्छ भन्ने सोच भयो । परिवारको पनि त्यसमै सहयोग थियो । कुन विषयको इन्जिनियर अध्ययन गर्ने भन्ने कुरा पछि फाईनल भयो । नेपालमा हाईड्रोका सम्भावना छ त्यसमै अध्ययन गर्दा राम्रो हुन्छ भन्ने थियो । तर त्यतिबेलाको सोच र विकास अहिलेसम्म हुन सकेन । हाईड्रोको सम्भावना भए पनि विकास नहुँदा अवसरहरु गुमे । नेपालमा पुल्चोकमा बाहेक इन्जिनियरिङ्ग कलेज अन्यत्र थिएन । नेपालमा चाहिने इन्जिनियरहरु त्यसले उत्पादन गर्न सक्दैन थियो । भारतका विभिन्न शहरमा थुप्रै नेपालीहरुले विभिन्न विषयमा अध्ययन गरिरहेका थिए । इन्जिनियरिङ्ग अध्ययन गर्ने समयमा मेरो कलेजमा मात्रै ३० भन्दा धरै नेपाली थिए । विभिन्न जिल्लाका साथीहरु हुँदा नेपालको भाषा, संस्कृति र समुदाय सबै चिन्न र जान्ने अवसर मिल्यो । तराई, पहाड र हिमाल सबै देख्न र भोग्न पाईयो । त्यतिबेलाको समुहले एउटा संस्था बनाएका छौं । त्यसले सामाजिक कार्य पनि गर्दै आएका छौं ।
राजनीतिः विद्यार्थी जीवनमा अखिलमा सक्रिय थिएँ । जनकपुरमा जहिले नेविसंघले जित्ने गरेको थियो । नेविसंघ हराउन हामी सक्रिय हुन्थ्यौं । म कहिल्यै कुन कमिटीमा बसिन । पदाधिकारी पनि भईन । तर नेविसंघको दादागिरी र एकलौटी विरुद्ध हामी सक्रिय हुन्थ्यौं । विद्यार्थीहरुका हरेक आन्दोलन र २०४६ सालको आन्दोलनमा सहभागि हुने अवसर मिल्यो । कहिलेकाँहि प्रहरीको लाठी खाईन्थ्यो । जेल कहिल्यै जानु परेन । दाई आफैमा राजनीतिज्ञ हुनुुहुन्थ्यो । प्रभाव दाईको पनि थियो । तर दाईले आफु राजनीति गरेर अरु सबै भाईलाई विभिन्न कार्यमै लगाउनु भयो । अध्ययन गरेर मात्रै थप काम गर्न सकिन्छ भन्ने उहाँको सोच थियो । अधिक समय मैले छात्राबासमै बसेर अध्ययन गरें । दाईको राजनीतिले हामीलाई प्रभाव पारेन । एसएलसी सकेर +२, चार वर्षे इन्जिनियरिङ्ग अध्ययन गरेर एकै पटक जागिरमा आईयो । संगठित हुने अवसर मिलेन । जागिरमा आएपछि पार्टीका झण्डा बोक्ने कु्रा भएन । जागिरको अवधी सकेर समाजसेवामा लाग्ने सोच छ । समाजसेवाको बाटो राजनीति हुन्छ कि अन्य अहिले भन्न सकिदैन ।
प्रेम र विवाहः विद्यालय जीवनमा प्रेम गर्ने चलन थियो । अहिले जस्तो प्रविधी थिएन । मन पराएका मान्छेलाई पत्र लेखेर पठाउने चलन थियो । मैले पनि एक पटक कक्षा १० मा अध्ययन गर्दा पत्र लेखेर पठाएको थिएँ । हाम्रोमा धेरै जातभातको कुरा हुन्थ्यो । म विश्वास गर्दिन थिएँ । तर पनि त्यसले गाँजेको समाज थियो । हाम्रो जात भन्दा अलिक माथील्लो जातको एकजना केटी मलाई मन प¥यो । मन परेपछि मैले उनलाई पत्र लेखेर पठाएँ । उनको घर र हामी बस्ने घर केहि नजिक थियो । केटीले घरमा मैले मन पराएको र पत्र दिएको कुरा भनेको रहेछ । उसको बुबाले हामी बसेको ठाउँमा लाठी लिएर आउनु भयो । हामी १० दिन सम्म विद्यालय नआई भाग्यौं । विद्यालयको शिक्षक र उसको बुबा बीच सहमति भएछ । पत्र एकजनाले लेख्या आरोप सबै जनालाई लाग्यो । त्यसपछि विद्यालय जीवनमा पत्र लेख्ने साहस भएन । प्रेम प्रस्ताव मात्रै थियो, मन नपर्दा भनेको भए पनि हुन्थ्यो । लाठी नै लिएर आएपछि हामी पनि भाग्यौं ।
इन्जिनियरिङ्ग अध्ययन गर्दा गर्दै मेरो प्रेम बस्यो । सर्लाहि जिल्लाकै थिईन उनी । माया र प्रेमका कुरा चल्दा चल्दै उनको र मेरो विवाह भयो । उनी कृषि विकास बैकमा काम गर्थिन । अहिले गर्दिनन् । उनी जागिरे थिईन म अध्ययन गर्दै थिएँ । झण्डै १८ महिना हामी प्रेममा रह्यौं । उनको र मेरो घर परिवारको सहमतिमा २०५६ मा प्रेमलाई मागि विवाहमा परिणत ग¥यौं । प्रेम र मागि विवाहमा धेरै अन्तर छ । मागि विवाहमा केहि सम्झौता हुन्छन् । प्रेममा त्यस्तो हुँदैन । प्रेमको जस्तो वातावरण विवाह पछि नहुन सक्दो रहेछ । कहिलेकाँहि खटपट स्वभाविक हो । हुन्छ । मान्छेहरुको अनुभव पनि त्यस्तै रहेछ । प्रेम विवाहमा अलिक धेरै खटपट हुन्छ । प्रेम विवाह गरेकाहरुको सम्वन्ध विच्छेद पनि धेरै भएको छ । प्रेम विवाह भन्दा मागि विवाह ठिक हो कि जस्तो लाग्छ मलाई पनि । उनी शुरुमा जागिरे थिईन अहिले अध्ययन गर्दै छिन् । सन्तान एउटा छ । छोरा कक्षा ९ मा अध्ययन गर्छ । परिवारलाई पर्याप्त समय उपलब्ध गराउन नसक्दा हामी बीच खटपट हुने गरेको छ । मेरो जागिरको सेवा इमरजेन्सि हो । २४ सै घण्टा सेवा दिनु पर्ने विद्यूत्त सेवाको जागिरबाट समय ब्यवस्थापन गर्न सकिन । भनेको समयमा काम गर्न नसकेपछि स्वभाविक हो खटपट पर्नु । यसलाई ब्यवस्थापन गर्न सकियो भने त्यस्तो अवस्था आउँदैन ।
जागिरः इन्जिनियरिङ्ग सकेर बसेको केहि महिनामै नेपाल विद्युत्त प्राधिकरणमा जागिर खाने अवसर पाएँ । २०५५ साल देखि २०६० सालम्म प्राधिकरणमा जागिर खाएँ । २०६१ देखि जिल्ला विकास समितिमा रहेर काम गरें । २०६५ बाट पुनः प्राधिकरण फर्किँए । रौतहट, सर्लाहि, पोखरा, नेपालगञ्ज, काठमाडौ, विराटनगर र काभ्रे जिल्लामा रहेर काम गर्ने अवसर पाएँ । जिल्ला विकास समितिमा जाँदा पनि परियोजनाको काम थियो । विद्युत्तसँग सम्वन्धित नै काम थियो । हिजोको समय र आजको समय धेरै परिवर्तन भएको छ । जागिर शुरु हुँदा भएको काम आज हुन सकेको छैन । उमेर समुह परिवर्तन हुन पुग्यो । प्राधिकरणमा पनि धेरै परिवर्तन भएको छ । प्राधिकरणको सिस्टम परिवर्तन भएको छ । प्रविधि मैत्री सिस्टम भईसकेकोे छ । अझै केहि समयमा यसले गति लिनेछ । शुरु शुरुमा गरेका कामकै कारण अहिलेको प्रतिफल देखिएको हो । त्यतिबेला जसरी काम भयो अहिले राम्रो भईरहेको छ ।
विद्युत्त प्राधिकरणमा अहिलेको जस्तो कार्यकारी प्रमुख १० वर्ष रहन सक्ने हो भने प्राधिकरणको सेवाले फड्को मार्नेछ । तल्लो तहको काम देखि नीति निर्माणसम्म उहाँले देखाएको सक्रियताले प्राधिकरणले गति लियो । धेरै ब्यक्तिहरुले त्यो कुर्सिमा रहने अवसर प्राप्त गर्नु भयो तर यस्तो खालको सक्रियता थिएन । सप्लाई र डिमान्ड दुबै ब्यवस्थापन अहिलेको एमडीले गर्नु भयो । विगतमा यस्तो हुन सकेको थिएन । १८ घण्टासम्म लोडसेडिङ्ग हुने गरेको नेपालमा लोडसेडिङ्गको अन्त्य भएको छ । जिल्लाको हकमा दुई गाउँपालिका खानिखोला र महाभारतमा विद्युत्तीकरण हुन सकेका छैन । दुईवटा सप्लाई बाहेक छैन । सब स्टेशनको संख्या थपिनु पर्छ । कटुञ्जे र महाभारतको धापमा दुईवटा सब स्टेशन बन्नेछन । माझिफेदामा अर्काे सब स्टेशन बनिरहेको छ । पाँचखाल र २८ किलोको सब स्टेशन सहित ५ वटा सब स्टेशनले पुरै जिल्ला धान्न सक्छ । काभ्रे जिल्लामा माग र आपुर्तिमा समस्या छैन । जिल्लामा विद्यूत्त चोरी धेरै रहेछ । मैले त्यस्तो सोचेको थिईन । चेतनाको कमी वा एड्भोकेसी दुबै कुराको कमी भएको अनुभुति भयो । दुई कप चियाको पैसाले विजुलीको पैसा तिर्न पुग्छ । चोरी गर्दा कारवाही र जरिवना हुन्छ । सामाजिक प्रतिष्ठा पनि जान्छ भन्ने कुराको चेतना हुन थालेको छ । सरकारी सम्पतिको चोरी र दुरुपयोग नगरौं भन्ने अभियान शुरु भयो । १३ वटै तहमा यहि कुराको अभियान शुरु भयो । ११ वटा तहमा हामीले चोरी विरुद्धको अभियान शुरु गरेपछि दिउसको समयमा नियन्त्रण भएको छ । रातिको समयमा भएको हुकिङ्ग रोक्ने संयन्त्र परिचालन गरिदैछ । विद्युत्त अक्सिजन जस्तै भई सकेको छ । यसलाई सदुपयोग गर्ने र नियम संगत गर्ने गरी नागरिकलाई सेवा दिने अभियानमा कृयाशिल छौं । मिटर धेरै माग बढेको छ । चोरीमा कमी हुनु र मिटर धेरै माग हुनु राम्रो कुरा हो । हामीले मसिंर भित्र सबै ग्राहकलाई मिटर उपलब्ध गराउने छौं । स्थानीय सरकार, नागरिक समाज र संचारक्षेत्रको यो अभियानमा सक्रिय सहभागिता र सहयोग रहेको छ ।
ट्रान्सफरमर विग्रिएका केहि दिनमै परिवर्तन गरेका छौं । पहिला जस्तो हप्तौ फेर्न नसकिने समस्या अहिले छैन । चोरी हुनु ट्रान्सफरमर जल्नु प्रमुख कारण हो । त्यो रोक्न हामीले नागरिकलाई सचेत गराएका छौं । अहिले प्राधिकरणको युनिट थपिएको छ । झण्डै ७ करोड रुपैयाको ७० लाख युनिट अहिले थपिएको छ । धुलिखेल नगरपालिकामा खासै बत्ति जाँदैन । बनेपामा पनि खासै बत्ति जाँदैन । पनौतीमा पनि अब जाँदैन । नगरकोटमा बसेको ब्यक्तिको घरमा बत्ति जाँदा बनेपामा जान्थ्यो । अहिले हामीले नगरपालिका स्तरमा र शहरी क्षेत्रमा फरक फरक सप्लाई सिस्टम शुरु गरेका छौं । जहाँ धेरै विद्युत्त धेरै खपत हुन्छ त्यहाँ २४ सै घण्टा उपलब्ध गराउने योजना अनुसारको ब्यवस्थापन शुरु भएको छ । पुष मसान्तसम्म साँगा, नाला, महेन्द्रज्योती सबै क्षेत्रमा बत्तिको समस्या हुँदैन । नमोबुद्ध र मण्डन देउपुर नगरपालिकामा अर्काे सब स्टेशन नराखी विकल्प छैन । सब स्टेशनमा बत्ति हुँदा ग्राहकको स्विचमा बत्ति हुन्छ । बनेपा, पनौती, धुलिखेल र पाँचखालमा तत्काल यो कुरा लागु हुन्छ । २०७३÷२०७४ मा विद्युत्तकै कारण चारवटा घटना भएका छन् । काठको पोल बदली गर्ने अभियान शुरु भएको छ । ५ हजार पोल बदली भएको छ । नाङ्गो तारलाई केबुल तार राख्ने काम शुरु भएको छ । एकै पटक जिल्लाको सबै स्थानमा यो हुन सक्दैन । सिमिति श्रोत र साधनबाट त्यो काम सम्भव छैन । ४ अर्ब रुपैया जिल्लाको विद्युत्त सुधारका लागि आवश्यक छ । चार अर्ब मध्ये १ अर्बको काम डाँडापारी क्षेत्रको काम शुरु भएको छ । गर्न चाहँदा धेरै हुने रहेछ । एक वर्षमा भएको काम १० वर्षमा पनि भएको थिएन । लाईन ब्यवस्थित बनाउन सक्दा खपत धेरै हुन्छ । प्राधिकरण र नागरिक दुबैलाई फाईदा हुने गरी काम शुरु भएको छ । जिल्लामा विद्यूत्त प्राधिकरणले दिनु पर्ने सेवाबाट बञ्चित नगराउने उपाय गरिदै छ । विद्यूत्त चोरी नगरौ । समयमै महसुल बुझाउँ । राज्यको सम्पति दुरुपयोग नगरौं । ९८५१११९१२० मा कुनै समस्या भए सिधै मलाई सम्पर्क गर्न अनुरोध गर्दछु ।
जीवनः अमुल्य छ । तपाईले कसरी जिउनु हुन्छ । त्यसमै भर पर्छ ।
प्रेमः अपरिहार्य । अत्यावश्यक चिज हो ।
विवाहः सोचमा फरक छ । अनिवार्य छैन ।
शारिरिक सम्वन्धः समाज अनुसार ब्याख्या छ ।





