2026 April 30/ 11:45: 43am

‘चेष्टा’ को गौरवपूर्ण रजत वर्ष

मोतीराम तिमल्सिना
कार्यकारी सम्पादक

    ‘असल समाज निर्माणका लागि सत्य समाचारको सम्प्रेषण’ भन्ने मुल उदेश्य लिएर शुरु भएको चेष्टा साप्ताहिक पत्रिकाले २५ वर्षे यात्रा तय गरेको छ । प्रदेश नम्वर ३ को राजधानीका लागि प्रस्ताव गरिएको, विकास र अवसरका हिसावले सम्भावना नै सम्भावनाले भरिएको काभ्रेपलाञ्चोक जिल्ला सांस्कृतिक, सामाजिक र आर्थिक रुपले सम्पन्न हुने तरखरमा छ । दुईवटा प्रमुख राजमार्ग मार्फत दुई मुलुक चीन र भारतसँग जोडिएको र केन्द्र समेत रहेको काभ्रेपलाञ्चोक जिल्लामा यतिखेर २५ वटा साप्ताहिक, १० वटा एफ एम र ७ वटा अनलाईन नियमित प्रकाशन प्रसारण भईरहेका छन् । जिल्लाबाट संचालन भएको टिभी राजधानी सरेको छ भने दैनिक पत्रिका बन्द भएका छन् । यो प्रतिस्पर्धात्मक अवस्थामा हामी हामी गौरवपूर्ण इतिहासको रजत वर्ष कार्यक्रम मनाउन सफल भएका छौ । मोफसलमा रहेर २५ वर्षे यात्रा तय गर्नु् आफैमा चुनौती त छँदैछ त्यसमा पनि राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशन भएको साप्ताहिक पत्रिकाले २५ वर्षे यात्रा तय गर्नु खुशीको कुरा हो । 
    २०५१ साल असोज महिनामा विचार प्रधान मासिक पत्रिकाका रुपमा चेष्टा प्रकाशन शुरुवात भएको थियो । २०५० साल भदौ ३० गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा पहिलो नम्वरमा दर्ता भएको चेष्टा प्रजातन्त्र प्राप्ती पछिको जिल्लाको पहिलो पत्रिका हो । जिल्ला हुलाक कार्यालयमा २०५५÷२०५६ मा दर्ता भएको चेष्टा साप्ताहिकले प्रकाशनहरु संचार र प्रविधिको अभावमा पाठकहरुलाई हुलाक मार्फत पठाउने गरेको थियो । समाजमा भएका विभिन्न घटनाक्रम र समस्याहरुलाई उजागार गर्न सक्छ भन्ने उदेश्यले पत्रिकाको नाम चेष्टा रहेको थियो । नाम अनुसारको काम गर्ने गरी असल समाज निर्माणका लागि सत्य समाचारको सम्प्रेषण भन्ने मुल नारा बनाई पत्रिका प्रकाशन निरन्तर भईरह्यो । निरन्तर प्रकाशनले २५ वर्षे यात्रा तय गरेको छ ।  ३० पृष्ठको एक हजार प्रति निकाल्ने अनुमति प्राप्त गरेको पत्रिकामा केशवप्रसाद बडाल सम्पादक रहने गरी दर्ता भएको थियो । विदुरप्रसाद सापकोटा प्रकाशक रहेर दर्ता भएको पत्रिका प्रकाशनको पहिलो अकंमै प्रकाशक÷सम्पादक विदुर सापकोटा, कार्यकारी सम्पादक गोकुल बास्कोटा र कार्यालय सहयोगी प्रचण्ड बञ्जारा रहनु भएकोे थियो । केशव बडाल सल्लाहकार, नारायण पाण्डे कानुनी सल्लाहकार र गोकुल गौतम बजार ब्यवस्थापकको रुपमा हुनुहुन्थ्यो । बनेपा तीनदोबाटोमा कार्यालय समेत रहेको पत्रिकाको पोस्ट बक्स नम्वर ६०५९ काठमाडौ थियो । क्रियटिभ कम्युटर सर्भिसमा कम्युुटर गरी आइडियल डिजाईनर्समा डिजाईन गरिएको उक्त अंक बाणी अफसेट प्रेस टेकुमा छापिएको थियो । ३० पृष्ठ नै प्रकाशन भएको पत्रिकाको कभर रंिगन थियो । मुल्य रु १२ राखिएको मासिक पत्रिकामा विशेषगरी राजनीतिक विषय बस्तुका विचार र समाचारलाई प्राथमिकता दिईएको थियो ।  २०५६ कार्तिक ११ गते विहिबार देखि पत्रिकाले साप्ताहिक आकार ग्रहण ग¥यो । अशोक ब्याञ्जु प्रकाशक, भोजराज तिमल्सिना सम्पादक र हरिगोपाल प्रधानाङ्ग ब्यवस्थापक रहेका थिए । पोस्ट बक्स नम्वर ५१४ रहेको पत्रिकाको कार्यालय बनेपा ६ बसपार्कमा रहेको थियो । टेलिफोन समेत राखी ब्यवस्थित रहेको कार्यालयको कम्युटर लेआउट दिपेन्द्र बादे÷किरण श्रेष्ठले पेसिफिक कम्युटरमा गर्दै आउनु भएको थियो । कमलादी अफसेट प्रेस बानेश्वर छापाखाना रहेको त्यतिबेलाको अवस्थामा पत्रिका निरन्तर प्रकाशनका क्रममा केहि कम्युटर अपरेटहरु परिवर्तन भएका थिए भने मुद्रण पनि परिवर्तन गरिएको थियो । बनेपाबाट हरेक राति काठमाडौसम्म पुगेर नियमित पत्रिका प्रकाशन गरी बनेपा फर्कनु कम्ति चुनौती थिएन । 
    २०५९ जेष्ठ १५ गते भोजराज तिमल्सिनाले सम्पादकबाट दिएको राजिनामा स्विकृत गरी प्रकाशक अशोक ब्याञ्जु सम्पादकको समेत जिम्मेवारीमा रहनु भयो । २०५७ कार्तिक २४ गते देखि मैले चेष्टा साप्ताहिकमा कार्य प्रारम्भ गरेको थिएँ ।  २०६६ मसिंर २५ गते देखि कार्यकारी सम्पादकको भूमिकामा कृयाशिल छु । २०५९ मसिंर २६ गते देखि रामशरण बजगाईलाई कार्यकारी सम्पादकको जिम्मेवारी प्रदान गरिएको थियो । त्यो अवधीमा चेष्टा पत्रिकाको निरन्तरताका लागि धेरै ब्यक्तिहरुको योगदान रहेको थियो । जसको स्मरण स्मारिकामा गरिएको छ । चेष्टा साप्ताहिकमा पुरानै टिम केहि बाहेक अधिकांश कृयाशिल हुनुहुन्छ । चेष्टाले २०५७ कार्तिक १७ गते, २०६३ असोज ५ गते, २०६५ कार्तिक ११ गते र २०६६ कार्तिक ११ गते विशेष स्मारिका प्रकाशन गरेको छ । जिल्लामा यस्तो स्मारिका प्रकाशन गर्ने पत्रिका पनि चेष्टा पहिलो पत्रिका हो । प्रेस काउन्सिल नेपालले गर्ने पत्रपत्रिका बर्गिकरणमा २०५८ साल देखि निरन्तर रहँदै आएको चेष्टाले २०६५ साल देखि क श्रेणी कायम गर्न सफल भयो । मोफसलमै पहिलो क श्रेणीको साप्ताहिक पछिल्लो बर्गिकरणमा क्षेत्रिय स्तरको जिल्लाकै एक मात्र क श्रेणीको पत्रिकाका रुपमा स्थापित हुन पुग्यो । 
    सुचना र संचार सत्य र तथ्यमा आधारित भएन भने सामाजिक जीवनको हरेक पक्षको उदेश्य परिपुर्ति संभव हुदैंन । आजको युगको लाभ र सुनिष्चितता सुचनाको सही सम्प्रेशणद्वारा नै लोक कल्याणकारी समाजको प्रत्याभुत गर्न सकिन्छ । समाजको हरेक तह र तप्का पारदर्शीता, जवाफदेहिता र उत्तरदायी बन्न नसक्दा आजको नेपाली समाजको हरेक पक्ष गतीहीन र उपलव्धी हिन बनेको सर्वबिदित्तै छ । राज्य, शाशन प्रक्रिया, राज्य संयत्रका राजनितीज्ञ, कर्मचारीतन्त्र र लाभकारी जनता समेत आफुले पाउँदा विधि र प्रक्रिया भन्दा पनि बल र चाप्लुसीबादमा आधारीत भै रहेको अवस्थामा त्यसको तिखो आलोचना गर्न सकिएन र गरिएन भने हजारौ वर्ष देखिको यो गलत प्रवुत्तिको अन्त्य हुन सक्दैन र हामीले खोजेको समृद्द समाज निर्माण हुन सक्दैन । तर्सथ देशको शासन प्रणाली जस्तो छ त्यस्तै जीवन पद्दत्ति बन्न बनाउन सके मात्र विधीको शासन कायम रहन्छ । विधीको शाशन बिनाको आजको युगको सार्मथ्य असम्भव र गतिहीन हुनेछ । 
    स्वतन्त्र पत्रकारिता मािथ राज्य र शशस्त्र समुहहरुबाट तथा अन्य विभिन्न क्षेत्रबाट भएको आक्रमणका प्रयासका बाबजुत पत्रिकाको निरन्तरता चुनौतीकै विषय थियो । शक्तिको मात र हतियारको कर्कश आवाजले मानिसहरुको स्वतन्त्र मस्तिष्कलाई दास बनाउने एउटा अध्याय चलेको थियो । त्यो टिकेन र टिक्न सक्दैनथ्यो पनि । खासमा चेष्टाको मान्यताको दार्शनिक पक्ष यहि थियो र कालान्तरमा यो विजयोन्मुख पनि छ । राजाको प्रत्यक्ष शासनमा प्रशासनबाट खेप्नु परेको धम्की र शशस्त्र द्वन्द्वका केहि गलत प्रस्थापनहरुले दिएका मनोवैज्ञानिक अवयवहरुलाई आम पत्रकारिता भन्दा ज्यादा नै भोग्नु प¥यो चेष्टाले । त्यसले हामीलाई विचलित बनाएको मात्र होइन, हरेक शक्तिका पछाडि उसको विजयको प्रशंसक बनेर रङ बदल्ने रहर पनि जगाएन । राजनीतिक दम्भहरुका पहाड माथि प्रहार गर्दा अलोचक र प्रशंसक दुवै पंक्ति आर्जन हुनु स्वभाविकै हुन्छ । कालो–सेतो दुवै उस्तै हुन् भन्ने सम्प्रेषण गरेर सबैको प्रिय हुने धन्दा पनि चलाएनौं हामीले ।
    आम पत्रकारिताको संसारतर्फ ध्यान पु¥याउने हो भने देखिन्छ – अप्राकृतिक आग्रहहरु र बल प्रयोगहरु चेतनाको विकास सँगै भेटिदै जान्छ । मानव चेतनाको अभिव्यक्तिलाई थुन्न खोज्ने जुनसुकै झण्डा ओडेका होउन् यो उनीहरुको युग होइन । चेष्टाले समकालीन समाजमा गरेको वकालत पनि यहि हो । समाजमा हरेक अङ्गहरुका संचालक जनता हुन् । अहिले जसले पनि आफ्नो आकांक्षा पुरा गर्नु प¥यो भने जनताले नै फैसला गर्ने विधिलाई मान्नु पर्छ । जनताको सहभागितामा सम्पन्न क्रान्तिको सन्देश र त्यसले प्राप्त गरेको संविधान, संविधान विपरीत जाने शक्तिहरुलाई खबरदारी गर्नु हाम्रो दायित्व ठानेका छौ हामीले । हामी कुनै अमूर्त जनताको कुरा गर्दैनौ । प्रत्यक्ष रुपमा जनता आफैं सहभागी भएर खोजिने निकासको वकालत गर्नु हाम्रो अखबारी दायित्व हो । यसलाई नै जनताको सेवा ठानेका छौं हामीले । अभियानमा साथ दिने सबैमा आभार प्रकटगर्न चाहन्छौं ।