बद्री तिमल्सिना
धुलिखेल
‘केहि वर्ष अघि बैदेशिक रोजगारमा सहभागी भई केहि महिना अघि आफ्नै जन्मभूमिमा ब्यवसायिक कृषि तथा पशुपालन फर्म संचालन गर्ने सोचले फर्किए । बैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरु सदस्य बन्ने रिर्टनी संस्थाको सदस्य पनि हुँ । अर्थमन्त्रीले बैंकहरुले ऋण नदिए मलाई सिधंै फोन, ईमेल गर्नु भनेको सुनें । विदेशबाट फर्किए लगत्तै कृषि ब्यवसायमा केहि गर्ने उदेश्यले बैंकमा ऋणका लागि तयारी शुरु गरें । बनेपामा रहेको एनएमबी बैंकमा आफ्नो कागजात सहितको फाईल बुझाएको ३ महिना बित्यो । ऋण पाउन सकेको छैन’–बनेपा नगरपालिका १ टुकुचाका कृषक उत्तम विश्वकर्माले भन्नुभयो ।
‘बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको हकमा लगानीको सुरक्षाका लागि राज्य आफै ग्योरन्टी बसेको हुन्छ’–उत्तमले भन्नुभयो–‘बाहना बनाएर बैंकले ऋणमा आनाकानी गर्छन्, बंैक राज्य भन्दा ठुला हुन् ? कागजात यो र त्यो नमिलेको बाहानामा कृषकहरुलाई झुलाउने काम बैंकहरुले गर्दै आएका छन् ।’ सरकारले घोषणा गरेको कार्यक्रम अनुसार बाणिज्य बंैकहरुले ऋण लगानी गरिरहेका छैनन् । विकास बैंकहरुले लगानी गरेका ऋणमा पनि सहजता छैन । ब्याजको दर पनि विकास बंैकहरुमा धेरै छ । कृषि क्षेत्रमा लगानी गर्न बंैकहरुले आनाकानी गरिरहेका छन् । कृषि विकास बैंक लगायतका अन्य बैंकहरुले कृषि क्षेत्रमा लगानी गर्न आनाकानी गरी कृषकहरु प्रति अनुदार बनेको कृषकहरुले बताएका छन् । भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना गरेको १३ वटै स्थानीय तहमा कार्यरत कर्मचारी तथा कृषकहरुसँग आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै कृषकहरुले बैंककै कारण सरकारका कार्यक्रम असफल बनाउँदै कृषकहरुले दुःख दिईरहेको बताए । ‘धितो राखेर पनि ऋणका लागि फाईल पेश गर्दा बैंकले पत्याउँदैनन्’– पनौती नगरपालिका ३ कुशादेवीका कृषक सुरेश सापकोटाले भन्नुभयो–‘सरकारको नीति बंैकहरुले कार्यान्वयन गरेनन् ।’ ठुलो लगानीमा फर्म स्थापना गर्ने उदेश्यले ऋण माग गर्दा बंैकहरुले असहयोग गरेको उहाँको भनाई छ ।
‘३० लाख भन्दा धेरै लगानी गरेर खोलिएको फर्म नाफामा जान सकेको रहेनछ भन्दै ऋण लगानी गर्न मानेनन्’–पाँचखालका कृषक भिमसेनप्रसाद पन्तले भन्नुभयो–‘उत्पादन नै शुरु नगरी घाटा नाफा कसरी थाहा हुन्छ ? पहिलो वर्ष लगानीको वर्ष हो । दोश्रो वर्ष उत्पादन र मुनाफाको वर्ष हो । तेश्रो वर्ष विस्तारको वर्ष हो ।’ ‘फर्ममा पशु लगेर राखे लगत्तै नाफा देखिन्छ ?’– सापकोटाले प्रश्न गर्नुभयो–‘हाम्रो लगानी चाँहि ऋण लगानी गर्ने आधार हुन सक्दैन ? साँचो कुरा गर्दा पत्याएनन्, झुटो बोल्न आउँदैन ।’ बैंकले फर्मको लेखापरिक्षण गराउँदा घाटा भए पनि नाफा देखाएको भए ऋण लगानी गर्ने बताएको उहाँले बताउनु भयो । ‘वास्तविक हिसाब देखाउँदा बैंकहरु ऋण दिन पन्छिए’–उहाँले भन्नुभयो–‘लगानीलाई घाटा भन्न मिल्छ ?’ पाँचखालमा मात्रै फर्म खोलेर ब्यवसायिक खेती गर्ने कृषकहरुको समुह ठुलो छ । तर आफुसँग पुँजी कम भएपछि सोचेजस्तो ब्यवसायिक फर्म संचालन गर्न कठिनाई भएको कृषकहरुले बताएका छन् । राज्यले उपलब्ध गराउने भनेको सहुलियत ब्याजको ऋण समेत उपलब्ध नहुँदा युवाहरु पुनः विदेशिनु पर्ने अवस्था रहेको कृषक उत्तम विश्वकर्माले बताउनु भयो ।
भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लामा रहेका बैंकका प्रतिनिधिहरुसँग समेत कृषकहरुको गुनासोका सम्वन्धमा केहि समय अघि छलफल गरेको थियो । बैंकका प्रतिनिधिहरुले कृषकहरुले भने जस्तो बंैकले लगानी गर्न असहज परिस्थिति रहेको बताएका थिए । अन्र्तक्रिया कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका बरिष्ठ पशु विकास अधिकृत डा. सुरेन्द्र यादवले कृषकहरुका गुनासा सरकार समक्ष पु-याउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
विउमा गुणस्तर
भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको आयोजनामा धुलिखेलमा घाँसको विउ गुणस्तर प्रर्वद्धन सम्वन्धी अन्र्तक्रिया कार्यक्रम कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका बरिष्ठ पशु विकास अधिकृत डा. सुरेन्द्र यादवको प्रमुख आतिथ्यता तथा जिल्ला प्रमुख डा. मंगोलप्रसाद शाहको अध्यक्षतामा सम्पन्न भएको छ । भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका बरिष्ठ पशु विकास अधिकृत डा. मगोलप्रसाद शाहले बहुबर्षिय घाँसका विउ उत्पादन प्रविधिसम्वन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका बरिष्ठ पशु विकास अधिकृत डा. सुरेन्द्र यादवले पशु उत्पादनमा आत्मनिर्भरता सँगसँगै दिगोपनाका भावी रणनीति तथा कार्यक्रमका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जिल्लामा डाले घाँसहरु, लहरा हुने घाँसहरुको विउ उत्पादनको अवस्था र सम्भावनाका बारेमा जानकारी गराईएको थियो । नेपालमा दैनिक ४ करोड रुपैयाँको दुध विक्री हुने बताउँदै यादवले १० हजार ब्यक्तिहरु दुग्ध क्षेत्रमा रोजगारमा रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । दुग्ध क्षेत्रमा १६ अर्बको लगानी रहेको छ । ५ लाख कृषकहरु दुग्ध ब्यवसायमा आबद्ध भएका छन् । ७ प्रतिशतले माग बढिरहेको दुग्ध ३.५ प्रतिशतले मात्रै उत्पादन भईरहेको उहाँले बताउनु भयो । अण्डा र मासुमा आत्मनिर्भर रहेको नेपाल विस्तारै दुधमा आत्मनिर्भर हुने तरखरमा रहेको छ । प्रदेश नम्वर ३ कुखुरा, गाई, बाख्रा र चौरीपालनको ब्यवसायीक सम्भावना रहेको बताउँदै पशु नश्ल सुधार, पशु आहार कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भयो ।
डा.यादवले उत्पादन लागत बढी हुनु, छरिएर रहेका उत्पादनहरु, गुणस्तरीयतामा कमी र बजारसँगको सम्वन्ध कमजोर हुँदा दुध उत्पादन लागत बढिरहेको बताउनु भयो । दुध उत्पादन बढाउँदा प्रति २० लिटर एकजनाले रोजगार पाउने बताउँदै उहाँले रोजगार बृद्धि गरी युवाहरुलाई स्वदेशमा रोक्न घाँसको विउ उत्पादन देखि पशुपालनमा ब्यवसायिकता बढाउनु पर्ने डा.यादवले बताउनु भयो । १३ वटै स्थानीय तहका पशु तथा कृषि विकास शाखाका प्रमुख तथा प्रतिनिधि र कृषकहरुको सहभागीता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, कृषि ज्ञान केन्द्रका अधिकृत पुजन जंगम, भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अधिकृत राजकुमार हुमागाई लगायतले मन्तब्य राख्नु भएको थियो ।





