2026 April 30/ 05:16: 53pm

    बनेपा/नेकपा काभ्रेका नेताहरुलाई शनिबार सपथ गराईने भएको छ । पार्टी एकीकरणको लामो समय पछि जिल्ला नेताहरुलाई सपथ गराउन लागिएको हो । एकीकरण पछि छनौट गरिएका १ सय २८ नेतालाई सपथ गराईने भएको हो । 
    पार्टी इन्चार्ज एवं सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले जिल्ला कमिटीमा चयन भएका नेताहरुलाई सपथ गराईने बताउनु भयो । इन्चार्ज बास्कोटाका अनुसार दुबै तर्फबाट छनौटमा परेका नेताहरुको सपथ शनिबार तय गरिएको छ । जिल्ला अध्यक्ष रुकु चौलागाईले साविक नेकपा माओवादीका ६५ र नेकपा एमालेका ६३ जनालाई सपथ गराउने गरी प्रदेशबाट जिल्ला कमिटी सदस्यहरुको नामावली स्विकृत भएको बताउनु भयो । नेकपा एमालेले थप्न पाउने १५ जना सदस्यहरुको नाममा सहमति हुन नसक्दा लामो समय देखि सपथ हुन सकेको थिएन । माओवादी तर्फ २ जना थप गर्न पाउने भए पनि सहमति नभएका कारण ६५ जनालाई मात्र सपथ गराउन लागिएको छ । माओवादी तर्फबाट ६५ र नेकपा एमाले तर्फबाट ७८ जनाको जिल्ला कमिटी बनाउने गरी प्रदेशले मापदण्ड बनाएको थियो । थप गर्न पाउने सदस्यहरु सपथ पछि थपिने नेताहरुले बताएका छन् । जिल्ला सचिव टोकबहादुर वाईवाका अनुसार साविक नेकपा एमालेबाट सिफारिस गरिएका ७८ मध्ये अधिबेशनबाट निर्वाचित भएका ६३ जनाको मात्रै सपथ हुनेछ । सिफारिस प्रकृयाका बारेमा सहमति हुन नसक्दा निर्वाचित जिल्ला कमिटी सदस्यहरुलाई मात्रै सपथ गराउन लागिएको सचिव वाईवाले बताउनु भयो ।