दिपक कोइराला
जिल्ला जनगणना अधिकारी
काभ्रे
– जनगणना भनेको के हो र यो किन आवश्यक छ ?
नेपालमा १९६८ सालमा नेपालको जनगणना भएको इतिहास छ । हामीले प्रत्येक १०÷१० वर्षमा जनगणना गर्दै आइरहेका छौं । अहिले १२ औं राष्ट्रिय जनगणना हो । जब जंगबहादुर बेलायतको भ्रमणमा जानु भयो त्यहाँ पुग्दा तिम्रो देशको जनगणना कति छ भन्दा जंगबहादुरले उत्तर दिन सक्नु भएन त्यस पछि नेपालमा फर्केर आउनु भयो । त्यस पछि उहाँलाई जनगणनाको आवश्यकता महसुस भयो । चन्द्रशम्सेरको पालामा आईसकेपछि नेपालको जनगणना सुरु भएको इतिहास छ । पहिलो जनगणनाको प्रमुख उद्देश्य के थियो भने कमारा कमारी र मालिकको मात्र सुची तयार रहेकोमा १९९८ साल देखि सुरु भएको जनगणनामा चाहिँ सामान्य व्यक्ति समेत गणनामा आइसकेको छ भने २००९ देखि २०११ सम्म आइपुग्दा वैज्ञानिक रुपमा जनगणना मानिएको छ । २०१५ सालमा केन्द्रिय तथ्यांक विभाग स्थापना भएपछि केन्द्रिय तथ्यांक विभागले नै जनगणना गर्ने कार्यको जिम्मेवारी पनि लिएको छ । २०७८ सालको जनगणना १२ औं राष्ट्रिय जनगणना रहेको छ । २०७२ सालमा जारी भएको नेपालको संविधान बमोजिम संघीय प्रणालीको पहिलो जनगणनाको रुपमा पनि रहेको छ ।
यसको आवश्यक किन छ ? किन गर्नु पर्छ भन्ने विषयमा भन्नुपर्दा आवधिक नीति योजना तथा कार्यक्रमहरुको तर्जुमा मूल्यांकन गर्न आवश्यक आधुनिक तथ्यांक उत्पादन गर्नु नै राष्ट्रिय जनगणनाको प्रमुख उद्देश्य रहेको छ । यसमा विशेषगरी संविधानको व्यवस्था भएको मौलिक हकहरु जस्तै महिलाको हक, दलितको हक, सामाजिक न्यायको हक, आवासको हक, बालबालिकाको हक लगायतको हक अधिकार र त्यसको मूल्यांकन गर्न, सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा गर्न, आर्थिक तथा सामाजिक रुपमा पछाडि महिला तथा पुरुष, यौनिक अल्पसंख्यकहरु, बालबालिका, वृद्धवृद्धा, अपाङ्ग भएका व्यक्ति, दलित, आदिवासी, जनजाति, पिछडिएका क्षेत्रका बसोबास गर्ने व्यक्तिहरु, धार्मिक अल्पसंख्यक व्यक्तिहरुका लागि र आम नागरिकको हक हितको संरक्षण गर्न, तीनै तहका सरकारलाई वित्तिय स्रोत बाँडफाँड गर्ने कार्यको लागि आवश्यक पर्ने तथ्यांक जनगणना केन्द्रबाट प्राप्त हुन्छ । यसै कारण यो महत्वपूर्ण छ ।
यसैगरी संघीय संरचनामा जनगणना केन्द्रबाट प्राप्त हुने तथ्यांक संघ, प्रदेश र स्थानीय तहका सरकारको लागि लाग्ने आधारभूत तथ्यांक स्रोत, राज्यलाई निरन्तर पृष्ठपोषण उपलब्ध गराउन, आम प्रयोगकर्ताहरु जस्तै बुद्धिजीवी, राजनीतिकर्मी, सञ्चारकर्मी, उद्योगपति, व्यापारी, प्राविधिक वर्ग, योजनाकार, अर्थविज्ञ, शिक्षक विद्यार्थी लगायत आम नागरिकलाई जनगणनाबाट प्राप्त हुने तथ्यांक अत्यन्तै आवश्यकता पर्ने भएको हुँदा यसको दिनप्रतिदिन महत्व बढ्दै गइरहेको छ ।
– भदौ ३० देखि असोज १८ सम्म हुने जनगणना के हो ? गणक र सुपरभाइजरको भूमिका कस्तो रहनेछ ?
यसमा हामीले २ चरणको कार्यक्रम गरेका छौं । अहिले हामीले व्याचलर उत्तीर्ण सुपरभाइजरहरु लिएका छौं । काभ्रे जिल्लाको हकमा भन्नुपर्दा योग्य र दक्ष सुपरभाईजरहरु आउनुभएको छ । यसले गर्दा म एकदमै खुशी पनि छु । साथै काभ्रे जिल्लामा यथार्थ र सहि तथ्यांक आउँछ भन्ने कुरामा पनि ढुक्क र आशावादी छु । यसमा सुपरभाइजरहरुलाई घर तथा परिवार सुचीकरण फाराम र सामुदायिक प्रश्नावली फराम गरी दुईवटा फाराम दिएर फिल्डमा पठाएका छौं । घर तथा परिवार सुचिकरण फाराममा नयाँ नयाँ कुराहरु थपेका छौं जुन पहिलाको फाराममा यो समावेश छैन । अहिले हामीले खालीहरु पनि लिएका छौं । यसबाट नेपालभरमा कतिवटा खाली घरहरु छन् भन्ने कुरा तथ्यांकबाट निस्कन्छ । त्यस्तै उद्योग कलकारखानाका घरहरु पनि लिएका छौं । व्यापारिक घरहरु, सरकारी आवासका घरहरु समावेश गरेका छौं । त्यस्तै वित्तिय साक्षरताको कुराहरु ल्याएका छौं । प्रत्येक नागरिकको बैंक खाता छ छैन ? प्राविधिक तालिमहरु लिएको छ छैन ? यी कुराहरु पनि समेटिएका छन् । यसलाई हामीले दुई चरणमा गर्दैछौं । तत्काल हामीले घरघरमा सुपरभाईजरहरुमार्फत घर तथा पारिवार सुचिकरण फारामहरु भराउँछौं । त्यसपछि घर नम्बर लिने कार्य हुन्छ । पछि त्यहि घर नम्बरको आधारमा दोश्रो चरणमा गणकहरु पठाउँछौं । त्यो कार्य कार्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म हुनेछ । त्यसबेला सुपरभाईजरहरुले लिस्टिङ गरेर ल्याएको कार्यलाई नै पछि हामीले गणकहरु खटाउँछौं ।
– सुपरभाईजरहरु नागरिकको घरमा जाने समयलाई कसरी व्यवस्थापन गरिएको छ ?
अहिले हरेक मोबाइलमा जनगणना सफल पारौं भन्ने खालको सन्देशमूलक टुनहरु बजिरहेको छ । “मेरो गणना मेरो सहभागिता” भन्ने मूल नारा पनि छ । यसलाई आम नागरिकले बुझेर सहभागिता जनाउनु पर्दछ । धुलिखेलमा अनुगमनमा जाने क्रममा नागरिकहरुले जनगणनाबारे उत्सुकता जनाउनु भएको छ । खुशी लागेको छ । अहिले सुपरभाईजरहरु घरघरमा जानुहुन्छ । त्यदि त्यो घरपरिवारमा मान्छे हुनुहुन्न भन्ने पछि पुनः छुटेको लिस्ट लिई २÷३ चोटी पुग्नुहुन्छ । त्यति गर्दा पनि घरपरिवारहरु नभेटिएमा वडा कार्यालय मार्फत फोन नम्वर लिएर आवश्यक जानकारी तथा सूचना लिने कार्य हुन्छ ।
– यस वर्ष तथ्यांकमा कुनै पनि घर परिवार सुचिकृतका लागि छुट्दैनन् भन्ने विश्वास हो ?
पक्कै पनि हो । यसपालि किन पनि छुट्दैन धुलिखेलकै कुनै वडाको कुरा गर्नुपर्दा आजभन्दा दुई तिन वर्ष अगाडि देखि नै हाम्रा साथीहरुले ब्लक अर्थात गणना क्षेत्र बनाउनुभएको छ । तथ्यांक संकलनका प्रयोजनका लागि कुनै पनि वडामा एउटा वडालाई गणना क्षेत्र बनाउनुभएको छ । एउटा गणना क्षेत्रमा २ सय देखि माथि घरपरिवार समेटिएको हुन्छ । यसो गर्दा एउटा वडामा ७–८ वटा गणना क्षेत्र रहेका हुन्छन् । त्यो भइसकेपछि एउटा गणना क्षेत्रमा पूर्व, पश्चिम उत्तर दक्षिणका सबै घर समेटिने हुन्छ । यसरी गरिसकेपछि एउटा सुपरभाईजरलाई एउटा गणना क्षेत्र तोकिदिएको हुन्छ । धेरै गणना क्षेत्र भएको स्थानमा सोहि बमोजिम सुपरभाईजरहरु खटिएका हुन्छन् । यसले गर्दा एउटा पनि घर छुटिदैन र दोहोरिने सम्भावना ज्यादै न्यून छ ।
– शहरी क्षेत्रको हकमा एउटै घरभित्र २÷३ वटा चुलो भएको परिवारहरुको हकमा के कस्तो व्यवस्था रहेको छ ?
प्रारम्भिक समयमा त हाम्रो सुपरभाईजरले घरमुलीलाई भेट्ने काम हुन्छ । घर धनीबाटै तथ्यांक संकलन लिने काम हुन्छ । जसमा परिवार मुलीको नाम, परिवार सदस्य संख्या सहितको लिस्ट तयार गरिन्छ । त्यसपछि घरमुली मार्फत घरमा बसेका घर भाडामा बसेकाहरुको तथ्यांक लिने काम हुन्छ । जस्तै ५ जना परिवारको संख्या आयो भने ५ वटा चुलोको गणना हुन्छ । त्यस पछि ती ५ जना परिवार र घरमुली समेत गरी ६ वटा परिवारको लिस्टिङ गर्ने कार्य गरिन्छ । त्यसैको आधारमा पछि हामी गणक पठाउँछौं ।
– गाउँमा बसेको परिवारको सदस्य शहरमा कोठा लिएर बसेको खण्डमा दोहोरो गणना त हुँदैन ?
यसमा दोहोरो गणना हुँदै हुँदैन । कसरी हुदैन भने हामीले सुपरभाईजरहरुलाई तालिम दिने क्रममा पनि अक्सर बसोबास गरेको स्थानलाई आधार मानेर गणना गर्नु भनेका हुन्छौं । यसो गर्दा कुनै पनि घर छुट्दा पनि छुट्दैन र दोहारिदा पनि दोहोरिदैन भन्ने कुरामा म विश्वस्त छु ।
– दुवै स्थानमा जनगणना हुने वा नहुने सम्भावना कत्तिको रहन्छ ?
यसो कदापि हुँदैन । अहिलेका मानिसहरु धेरै जागरुक भैसकेका छन् । आफ्नो हक र अधिकार प्राप्तिका लागि जनता सचेत छन् । यसले गर्दा दुवै स्थानमा जनगणना हुने र छुट्ने सम्भावना नै हुँदैन ।
– मान्छेहरुमा किन जनगणनामा सहभागिता हुने भन्ने एक खालको निराशा छ नि ?
मान्छेहरुमा सरकारी कर्मचारीहरुले कहिलेकाहिँ दुःख दिएको, सरकारी सेवा सुविधाबाट वञ्चित गरेको जस्ता जनगुनासोहरु आएको पक्कै हो । तर यो जनगणनामा सहभागिता जनाउनु नितान्त फरक कुरा हो । जनगणना १०÷१० वर्षमा आउने गर्छ । मैले नागरिकहरुलाई सम्झाउने क्रममा तपाईहरुले दिनुभएको सहि सूचना र जानकारीले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले भविष्यमा धेरै क्षेत्रमा काम लाग्छ भनेर सम्झाउदा उहाँहरुले यो त राम्रो कार्यक्रम रहेछ भनेर खुशी पनि मान्नुभएको अवस्था छ । अहिले कोभिडको माहामारीको बाबजूद पनि नेपाली नागरिकहरु मनका धनी छन् । विशेषगरी कार्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म चल्ने यो महान् कार्यमा उहाँहरुले योगदान दिनुहुन्छ भन्ने विश्वास लिएको छु ।
– तथ्यांकहरु व्यवहारिक र सत्यतथ्य भएनन् भन्ने जनगुनासो सुनिन्छ नि ?
म भुकम्पको बेलामा पर्यटन मन्त्रालयमा थिएँ । भुकम्प पश्चात दोलखाको एउटा गाविसमा निरीक्षण गर्न गयौं । त्यहाँ के भएको रहेछ भने प्रत्येक घरको सदस्यहरु काल्पनिक रुपमा भिन्न भएको हामीले पायौं । ५ जना परिवारबाट २० वटा परिवार बन्न पुग्यो । हामीले वडामा गएर यो कसरी हुन गयो भनेर सोध्यौं । यसले अलि समस्या पैदा ग¥यो । घर परिवार भन्दा बढी तथ्यांक आउनुको कारण पनि यहि नै हो । २ वर्ष पछि मैले पुरानै तथ्यांकमा आयो भन्ने सुनेको छु । तर यसमा तथ्यांक केन्द्रको कुनै त्रुटि भने छैन ।
– जनगणनाले व्यक्तिको स्वतन्त्रता कसरी कायम राख्छ ? धर्मसम्बन्धी महलले मुलुकमा गृहयुद्ध पो निम्त्याउने हो कि भन्ने चासो र चिन्ता छ नि ?
जनगणना संचालन कानूनी प्रावधान अनुसार हुन्छ । व्यक्तिको स्वतन्त्रता अन्तर्गत मैले किन तथ्यांक दिने ? भन्ने कुरामा हामीले फारामको माथिल्लो भागमा तथ्यांक संकलकको गोपनीयता भनेर राखेका छौं । यसमा नागरिकहरुले दिएको तथ्यांकहरु गोप्य रहनेछन् । यसमा तपाईहरु ढुक्क हुनुहोस् । तथ्यांक ऐन २०१५ अनुसार प्रष्ट रुपमा कानुनमा व्याख्या गरेका छौं । अर्काे तथ्यांक संकलनको गोपनीयता भंग गरेमा पनि जरिवाना र सजायँको पनि व्यवस्था गरेका छौं । सुपरभाइजरले तथ्यांकको गोपनीयता राख्न नसकेको खण्डमा दण्ड सजायँको प्रावधान रहेको छ । त्यस्तै राष्ट्रिय जनगणना संचालन तथा व्यवस्थापन आदेश २०७६ अनुसार गणक र सुपरभाईजरको काम कर्तव्य र अधिकारको व्याख्या गरेको छ । यसमा गणकले कसरी काम गर्ने, कसलाई कसरी व्यवहार गर्ने भन्ने बारेमा बताइएको छ । यसमा हामीले तालिम पनि दिएका छौं । त्यस्तै राष्ट्रिय जनगणना २०७८ को प्रशासनिक व्यवस्था, आर्थिक सुनिश्चितता सम्बन्धी मापदण्डले परिभाषित गरेको छ । यसले गर्दा हामी नागरिकहरुलाई ढुक्क सँग भन्न सक्छौं कि तपाईहरुको सुचना तथा जानकारीको गोपनीयता कुनैपनि हालतमा भंग हुन दिँदैनौं । यो सुरक्षित हुनेछ । यो हाम्रो प्रतिबद्धता पनि हो ।
– नागरिकहरु आफ्नो सूचना, जानकारीहरु सुरक्षित हुने कुरामा ढुक्क भए हुन्छ ?
कुनैपनि व्यक्तिको उत्तरदाता वा सुपरिवेक्षकले सुचनाहरु चुहावट गरेको खण्डमा उक्त व्यक्तिले अदालतमा मुद्दा हाल्न सक्ने प्रावधान रहेको छ । गल्ती गरेको खण्डमा सुपरभाईजर वा गणकलाई जनगणना संचालक कानूनी व्यवस्था अनुसार कारवाही पनि गर्छाैं ।
– वैदेशिक रोजगारमा गएकाहरुको जनगणना कसरी हुन्छ ?
अहिले हामी तीन तरिकाबाट जनगणना गर्छाैं । एउटा चाहिँ अक्सर बसोबास । अक्सर बसोबासको आधारबाट नेपालको जनसंख्या निस्कन्छ । दोश्रो स्वदेश भित्रको अनुपस्थिति । तेश्रो परिवारको अनुपस्थिति अर्थात विदेश गएका । अहिले हाम्रा सुपरिवेक्षकहरु नागरिकको घरमा जाँदा विदेश गएकाहरुको तथ्यांक त आउँदैन । अर्काे मंसिर २५ गतेदेखि पौष ९ गते सम्म गणकहरु खटाउँछौं त्यसबेला विदेश गएका र स्वदेशमा भएकाहरुको तथ्यांक प्राप्त हुन्छ । गणकहरु जब नागरिकको घरमा जान्छन् र घरमुलीलाई त्यसघरको सदस्य विदेश गएका छन् कि छैनन् भनि सोधिन्छ । यदि छन् भने गोलो घेरा भित्र चिन्ह लगाईन्छ । त्यसपछि कुन देश जानु भएको, किन जानुभएको हो ? सो कारण तथ्यांकमा लेख्ने गरिन्छ । यसो भएको हुँदा कानुनी रुपमा होस् या गैरकानुनी रुपमा होस् विदेश गएका जोसुकैहरुको पनि तथ्यांक यदि घरमुलीले सहि रुपमा दिएको छ भने अवश्य पनि जनगणना हुन्छ ।
– तथ्यांक संकलनको विवरण आम नागरिकले कहिले प्राप्त गर्छ ?
कोभिडको संक्रमण नभएको भए हामी प्रारम्भिक चरणमा नेपालको जनसंख्या आइपुग्थ्यौं । हाम्रा स्थानीय जनगणना कार्यालयहरु रहेका छन् । मलाई लाग्छ अबको एक डेढ महिनापछि नेपालको कूल जनसंख्या प्राप्त हुन्छ । गणकहरुको तथ्यांक आएपछि हामी प्रकाशित गरिहाल्छौं ।
– जनगणना १०/१० वर्षमा हुन्छ, अन्य समयमा तथ्याङ्क कार्यालय के गर्छ ?
यो बीचमा हाम्रो धेरै काम भइरहेको हुन्छ । यो बीचमा कृषि गणना हुन्छ । औद्योगिक गणना ५÷५ वर्षमा हुन्छ । निकट भविष्यमा नेपालीहरु कति खुशी छन् भनेर बुझ्न खुशी सर्भेक्षण पनि गर्दैछौं । नेपालको कूल ग्राहस्थ उत्पादन सम्बन्धी पनि सर्भेक्षण गर्छाै । त्यस्तैगरी वार्षिक कार्यक्रमहरु पनि नियमित रुपमा भैरहेको हुन्छ ।
– जनगणनाले भाषाको विषयमा कस्तो व्यवस्था गरेको छ ?
नेपालभर एउटै भाषा नेपालीमा तथ्यांक विभागले फाराम तयार गरिएको छ । तथ्यांक संकलनका लागि स्थानीय स्तरमा स्थानीय गणक र सुपरभाईजरलाई नै खटाउने गर्छाैं । तथ्यांक विभागले स्थानीय स्तरमा तथ्यांक संकलनका लागि स्थानीयलाई नै खटाउने भएको कारण भाषामा त्यति समस्या नआउला ।
- अन्तमा...........
जनगणना २०७८ को लागि २०७८ भाद्र ३० गतेदेखि आश्विन १८ गतेसम्म घरपरिवार सुचिकरण फाराम र कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मुख्य प्रश्नावली फाराम भर्न तपाईहरुको घरघरमा आउने कर्मचारी साथीहरुलाई सहि विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन साथै आफ्नो टोलबासी छरछिमेकीलाई जनगणनामा सहभागी हुन जानकारी दिई राष्ट्रिय जनगणना २०७८ लाई भव्य र सफल गर्नका लागि आम उत्तरदाताहरुमा जनगणना कार्यालय काभ्रेपलाञ्चोक हार्दिक अनुरोध गर्दछ ।









