2026 August 06/ 04:19: 55pm

    धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा जनसंख्या वृद्धिदर निरन्तर घट्दो क्रममा रहेको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय, तथ्याङ्क समन्वय कार्यालय काभ्रेपलाञ्चोकले विश्व जनसंख्या दिवस २०८३ को अवसरमा सार्वजनिक गरेको ‘तथ्याङ्कमा काभ्रेपलाञ्चोक’ अनुसार जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर –०.४६ प्रतिशत पुगेको छ । २०६८ सालमा यो दर –०.१ प्रतिशत थियो । 
    तथ्याङ्क समन्वय अधिकारी दीपक कोइरालाले प्रस्तुत गरेको विवरणअनुसार काभ्रेपलाञ्चोकमा कुल जनसंख्या ३ लाख ६४ हजार ३९ जना रहेको छ । त्यसमध्ये पुरुष १ लाख ७८ हजार ९०९ (४९.१५ प्रतिशत) र महिला १ लाख ८५ हजार १३० (५०.८५ प्रतिशत) छन् । जिल्लाको लैङ्गिक अनुपात ९४.४६ रहेको छ, अर्थात् प्रत्येक १०० महिलामा करिब ९४ पुरुष छन् । 
    जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक हुनुको प्रमुख कारण वैदेशिक रोजगारी, शिक्षा तथा रोजगारीका अवसरका लागि काठमाडौं उपत्यका र अन्य सहरी क्षेत्रमा हुने बसाइँसराइ रहेको तथ्याङ्कले देखाएको छ । जन्मदरभन्दा बसाइँसराइको प्रभाव बढी हुँदा समग्र जनसंख्या वृद्धि घट्दै गएको हो । काभ्रेपलाञ्चोकमा औसत परिवार संख्या ३.७८ व्यक्ति रहेको छ भने कुल घरपरिवार ९६ हजार ३३० रहेका छन् । स्थानीय तहका तथ्याङ्कले जनसंख्या वृद्धिदरमा ठूलो भिन्नता देखाएको छ । बनेपा नगरपालिका जिल्लामै सबैभन्दा उच्च वृद्धिदर भएको स्थानीय तह हो । २०६८ सालमा २.३३ प्रतिशत रहेको वृद्धिदर २०७८ सालमा पनि १.८८ प्रतिशत कायम रहेको छ । शिक्षा, स्वास्थ्य, व्यापार तथा रोजगारीका अवसर केन्द्रित भएकाले बनेपामा बसाइँसराइमार्फत जनसंख्या थपिएको देखिन्छ । धुलिखेल नगरपालिका मा पनि जनसंख्या वृद्धिदर ०.७ बाट ०.४६ प्रतिशत रहेको छ भने पनौती नगरपालिका मा ०.१९ बाट ०.१६ प्रतिशत कायम छ ।
    ग्रामीण भेगका अधिकांश स्थानीय तहमा भने जनसंख्या घट्दो छ । चौरीदेउराली गाउँपालिकामा  –२.६४ प्रतिशतबाट –३.३६ प्रतिशत पुगेको छ । भुम्लु गाउँपालिकामा –१.७८ बाट –१.८० प्रतिशत, तेमाल गाउँपालिकामा –१.४८ बाट –२.८० प्रतिशत, नमोबुद्ध नगरपालिकामा –०.१६ बाट –१.१६, प्रतिशत, बेथानचोक गाउँपालिकामा –१.०८ बाट –१.१० प्रतिशत, रोशी गाउँपालिकामा –०.४९ बाट –१.८२ प्रतिशत, महाभारत गाउँपालिकामा ०.१० बाट –१.२३ प्रतिशत, खानीखोला गाउँपालिकामा  ०.१५ बाट –१.५९ प्रतिशत, पाँचखाल नगरपालिकामा ०.०१ बाट –०.५२ प्रतिशत र मण्डनदेउपुर नगरपालिकामा –०.२३ बाट –०.६९ प्रतिशत रहेको छ । जिल्लाभित्रै जनसंख्या सहरी क्षेत्रमा केन्द्रित हुँदै गएको र ग्रामीण बस्तीहरू क्रमशः रित्तिँदै गएको संकेत गरेको छ । 
    तथ्याङ्कअनुसार जिल्लाको जनघनत्व प्रतिवर्ग किलोमिटर २६१ जना रहेको छ । साक्षरता दर ६७.०५ प्रतिशत छ, जसमा पुरुष ७६.५३ प्रतिशत र महिला ५८.२६ प्रतिशत छन् । गरिबीको दर १६.४ प्रतिशत रहेको छ, जुन राष्ट्रिय औसत २०.२७ प्रतिशतभन्दा कम हो । जिल्लामा गरिवको संख्या ४२ सय ५५ जना रहेको छ । औसत विवाह उमेर १९.६ वर्ष छ । पुरुषको औसत विवाह उमेर २०.९ वर्ष र महिलाको १८.५ वर्ष रहेको छ । त्यस्तै एकल परिवार ५६.०५ प्रतिशत र संयुक्त परिवार ४३.९५ प्रतिशत छन् । पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता ७५.९९ प्रतिशत पुगेको छ । एकल महिलाको संख्या ९.६३ प्रतिशत रहेको छ । विद्यवा महिलाको संख्या ११.७६ प्रतिशत रहेको छ । अपाङ्गता दर ३.१७ प्रतिशत रहेको छ । तथ्याङ्कले काभ्रेपलाञ्चोकमा जनसंख्या बृद्धिदर लगातार ऋणात्मक बन्दै गएको देखाएको छ । विशेषगरी ग्रामीण क्षेत्रबाट सहरी केन्द्र तथा विदेशतर्फको बसाइँसराई बढ्दै जाँदा अधिकांश गाउँपालिकामा जनसंख्या घटिरहेको छ भने बनेपा, धुलिखेल र पनौतीजस्ता शहरी क्षेत्रमा मात्रै जनसंख्या वृद्धि देखिएको छ । 
    विज्ञहरूका अनुसार रोजगारी, कृषि आधुनिकीकरण, स्थानीय उद्योग, शिक्षा र स्वास्थ्य सेवाको विस्तारमार्फत ग्रामीण क्षेत्रमा बसोबासलाई आकर्षक बनाउन सके मात्रै जनसंख्या असन्तुलनलाई दीर्घकालीन रूपमा सम्बोधन गर्न सकिनेछ । विश्व जनसंख्या दिवस २०८३ को अवसरमा सार्वजनिक गरिएको यो तथ्याङ्कले काभ्रेपलाञ्चोकको जनसंख्याको वर्तमान अवस्था र आगामी चुनौती दुवै स्पष्ट रूपमा उजागर गरेको तथ्यांक समन्वय अधिकारी दिपक कोईरालाले बताए । गाउँबाट तड्पिदै बसाइसराई गर्नेहरु शहरमा कचच्क परे बस्न बाध्य छन् ।