2026 August 09/ 10:57: 26pm

    मानिस जन्मन्छ, हुर्कन्छ, बाँच्छ र अन्ततः मर्छ । तर जब जीवनको शुरुवात हुन्छ, त्यो क्षणमा मृत्युको अन्तिम सत्यलाई मानिस बिर्सन्छ । जन्मसँगै मृत्यु अटल सत्य भएर पनि किन मानिस त्यसलाई स्वीकार्न सक्दैन ? यस प्रश्नले सधैं मलाई भित्री तवरले सताउँछ । 
    समाज भनेको केवल मानिसहरूको भौतिक समूह मात्र होइन । यो त चेतना, सोच र विश्वासहरूको साझा भाँडो हो । एक व्यक्तिको विचारले अर्को व्यक्तिको जीवन प्रभावित हुन्छ, अनि त्यसैबाट समुदायको सोच, समाजको दिशा र भविष्यको स्वरूप निर्माण हुन्छ । कुनै व्यक्तिको सही वा गलत निर्णयले धेरैको जीवनलाई उचाल पनि दिन सक्छ, पतन पनि गराउन सक्छ । यही भएर मानिसको सोच, चेतना र संस्कार समाजको मेरुदण्ड हो । तर विडम्बना मानिसहरू आफ्ना व्यक्तिगत स्वार्थ र आकांक्षामा जकडिन्छन् र समाजलाई जिम्मेवार ढंगले अगाडि बढाउन सक्दैनन् । सँस्कृतिमा भनाइ छ । मानिस जन्मेको छैटौं दिनमै उसको भाग्य लेखिन्छ । यो भनाइले मानिसलाई प्रारब्धमा बाँध्छ । के साँच्चै भाग्यमा लेखिएको कुरा बदल्न सकिँदैन ? यदि सबै पूर्व निर्धारित छ भने प्रयास, संघर्ष र नीतिको के अर्थ ? मलाई लाग्छ, भाग्य भन्दा ठूलो शक्ति मानिसको सोच र कर्म हो । तर हाम्रो समाज अझै पनि भाग्यमा लेखिएको छ भन्ने बहानामा अन्याय, अत्याचार र अपराधलाई सहने प्रवृत्तिमा अड्किएको छ । पीडितलाई न्याय दिलाउन भन्दा ईश्वरको इच्छा भनी टार्ने चलनले विकृति झन् गाढा पार्छ ।
    वर्तमानमा हाम्रो समाज एक खतरनाक मोडमा उभिएको छ । प्रविधि, शिक्षा र अवसर विस्तार भए तापनि अपराध र विकृति उस्तै गतिमा बढिरहेका छन् । आत्महत्या गर्नेहरूको संख्या दैनिकजसो बढिरहेको छ । पछिल्लो तथ्याङ्कमा केही कमी देखिए पनि, सुरुको महिनामा नै आत्महत्याको घटनाले समाजलाई तर्साएको छ । महिला हिंसाका घटनाले महिलाको असुरक्षित जीवन झल्काउँछ । २ सय १६ घटनामा ३ सय ३१ जना महिला पीडित छन् । यो केवल संख्याभन्दा बढी, एउटा पिँढीको पीडाको प्रतीक हो । युवाहरू अपराधमा तानिँदैछन् ५ सय ६० अपराधका घटनामा ३ सय १४ जना युवा संलग्न हुनु, समाजको भविष्य नै डगमगिएको संकेत हो । यी सबै तथ्यहरूले देखाउँछ । हाम्रो समाज केवल बाहिरी विकासले मात्र उन्नत हुँदैन, चेतना, नैतिकता र जिम्मेवारीको विकास नभएसम्म सभ्यताको दावी खाली शब्द मात्र हुन्छ ।
    समाजको सबैभन्दा सुरक्षित थलो परिवार हो भन्ने मानिन्छ । तर अहिले परिवारभित्रै सदस्यहरू असुरक्षित बन्दै गएका छन् । छोरीचेलीलाई ११–१२ वर्षमै प्रेम, भाग्ने, जबरजस्ती विवाह र करणीमा तान्ने प्रवृत्ति हृदयविदारक छ । अभिभावक आफैं कमजोर भए, युवाहरू लहैलहैमा बहकिए, अनि कानुनले कडाईका साथ नियन्त्रण गर्न सकेन भने भविष्यमा समाज असुरक्षा, अपराध र विकृतिको डरलाग्दो दलदलमा फस्नेछ । महिलामाथि हुने हिंसा र करणीका घटनाले समाजको चरित्र नै प्रश्नमा पार्छ । छोरीचेलीलाई जोगाउन धौधौ भइसकेको छ । कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह निषेध गरेको छ, तर गाउँ–शहरका गल्लीहरूमा अझै बालविवाह लुकेर भइरहेका छन् । महिलामाथि हुने बलात्कार, करणी प्रयास र मानव बेचविखन जस्ता अपराध बढिरहेकाले कानूनी दायित्व मात्र होइन, समाजको नैतिक दिवालियापन झल्किन्छ । यी घटनाहरू केवल पीडितको व्यक्तिगत त्रासदी होइनन्, पुरै समाजको घाउ हुन् ।
    अझ पीडादायी कुरा अलग्गै छन् । मानसिक वा शारीरिक अपाङ्गता भएका महिलामाथि हुने यौनजन्य अपराधहरू दिनानुदिन बढिरहेका छन् । अबोध बालिका, सुस्त मनस्थितिका युवती वा अपाङ्ग महिलामाथि गिद्धे नजर लगाउने अपराधी समाजकै चेहरामा कालो धब्बा हुन् । मानवीय कर्तव्य के हो ? असक्षमलाई जोगाउनु, असुरक्षितलाई संरक्षण गर्नु, न्याय दिलाउन हातेमालो गर्नु । तर जब मानिसहरूले यो आधारभूत कर्तव्य नै बिर्सन्छन्, तब समाज कस्तो हुन्छ ? विश्वास गर्न लायक रहँदैन । म पनि एउटा साधारण मानिस हुँ । कृषि पेशा गरेर परिवार पाल्दै आएको । मेरो जीवन विशेष छैन, तर मेरो भोगाइ विशेष पीडादायी छ । मेरो परिवारमा आमा–बुबा, श्रीमती, छोराछोरी र एक दिदी हुनुहुन्छ तर मेरी दिदी ४२ वर्षीया मानसिक रूपमा अस्वस्थ हुनुहुन्छ । उहाँ हाम्रो परिवारको माया र बोझ दुवै हुनुहुन्छ । समाजमा विकृति बढिरहेको चर्चा सुन्दा मात्र नभई, आफैंले भोगेपछि त्यो पीडाको गहिराइ बुझिन्छ । किन समाजले अपाङ्गता भएकालाई अझै पनि कमजोर कडीको रूपमा हेर्छ ?
    किन महिला अझै असुरक्षित छन् ? किन कानुनले पीडकलाई डर देखाउन सक्दैन ? यी प्रश्नहरूको उत्तर खोज्दै जाँदा मेरो आफ्नै जीवन एक कथामा परिणत भयो । दुःख, अन्याय र पीडाबाट जन्मिएको कथा, जसलाई बाँड्नु मेरो दायित्व हो । हामी जसलाई शान्त समाज भन्छौं, त्यहाँ आज अपराधको छाया दिनानुदिन गहिरिँदै गएको छ । विगतमा कहिलेकाहीँ मात्र सुन्ने यस्ता घटनाहरू आज त सामान्य समाचार जस्ता बनेका छन् । बिहानको रेडियो खोले पछि, साँझको टेलिभिजन हेरिसकेपछि वा सामाजिक सञ्जाल स्क्रोल गर्दा एक वा धेरै अपराधका समाचारले आँखा चिम्लनै दिन्नन् । यी समाचारहरू केवल अङ्क वा तथ्य मात्र होइनन्, प्रत्येक अङ्क पछाडि एउटा पीडितको जीवन, एउटा परिवारको रोदन र एउटा समाजको असफलता लुकेको हुन्छ ।
    अपराध भन्नासाथ हामीले सोच्ने पहिलो शब्द प्रायः हत्या वा बलात्कार हुन्छ । तर, आत्महत्या पनि एउटा गम्भीर अपराधकै स्वरूपमा देखिन्छ । आफूलाई आफैं समाप्त पार्ने अपराध । पछिल्ला तथ्याङ्कहरूले आत्महत्यामा केही कमी आएको देखाए पनि वर्षको सुरुवातमै दैनिक आत्महत्याका घटनाले समाजलाई हल्लाएको छ । कसरी ? मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखिँदैन, अभिभावक, परिवार र समाजले युवाको मनोविज्ञान बुझ्न सक्दैन, तनाव, बेरोजगारी, असफलता वा प्रेममा ठेस पुग्दा तत्कालीन समाधान आत्महत्या ठानिन्छ । यी घटनाले देखाउँछ हाम्रो समाजले मानिसलाई बाँच्छु भन्ने आधारभूत प्रेरणा दिन सकिरहेको छैन । समाजमा बढ्दै गएको अर्को छाया हो महिला हिंसा । यस्ता घटनामा कुटपिट, जबरजस्ती विवाह, यौन दुव्र्यवहार, दाइजोसम्बन्धी उत्पीडन सबै पर्छन् । समस्या के हो भने, महिलामाथि हिंसा केवल घरबाहिरबाट मात्र हुँदैन, प्रायः घरभित्रै हुने गर्छ । जसले गर्दा पीडित महिलाले प्रहरी वा अदालतसम्म पुग्न नै सक्दैनन् । घरको कुरा बाहिर ल्याउन नहुने भन्ने संस्कारले अपराधीलाई अझै सुरक्षित बनाइदिन्छ ।
    युवाहरूलाई देशको भविष्य भनिन्छ । तर तथ्यले देखाउँछ धेरै युवा आज अपराधतर्फ लहसिएका छन् । लागु औषध सेवन, चोरी, लुटपाट, बलात्कार, हत्या जस्ता घटनामा युवाको संलग्नता बढ्दो । किन ? बेरोजगारी, दिशाहीन शिक्षा, लहैलहै संस्कृतिको बढोत्तरी, अभिभावक र राज्यको जिम्मेवारी नलिने प्रवृत्ति । एकपटक अपराधतर्फ लागेका युवालाई फर्काउनु कठिन हुन्छ । यसले भविष्यमा अझै भयावह अवस्था ल्याउँछ । बाल विवाह कानून र वास्तविकता बीचको दूरी । नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न निषेध गरेको छ । तर व्यवहारमा बाल विवाह अझै रोकिएको छैन । ११–१२ वर्षकै बालबालिकाले प्रेम गरेर भाग्ने, परिवार र समाजले त्यसलाई ठिकै हो भनेर मान्ने अवस्था छ । यसरी, कानुन पुस्तिकामा मात्र बाँधिएको छ, समाजको गल्लीमा यसको अस्तित्व कमजोर छ । बाल विवाहका परिणाम छोरीहरूको शिक्षा अधुरो, समयअगावै मातृत्व, स्वास्थ्यमा जोखिम, हिंसा र गरिबीको चक्रलाई अझै बलियो बनाउने  लगायत छन् ।
    करणी र जबरजस्ती अपराध । सबैभन्दा हृदयविदारक अपराध भनेको जबरजस्ती करणी हो । अझ पीडादायी अबोध बालिका, सुस्त मानसिकताका युवती, अपाङ्ग महिलामाथि हुने करणीका घटनाहरू दिनानुदिन बढिरहेका छन् । यी अपराधहरू किन बढ्छन् ? अपराधीलाई कडा सजाय नदिनु, प्रहरी र कानुनप्रति प्रभावशालीको दबाब, पीडित परिवारलाई डर, लाज र सामाजिक दबाब, समाजमा पुरुषप्रधान मानसिकता, यसरी, अपराधी अझै निडर हुन्छन् । पीडित अझै मौन हुन्छन् । समाजमा मौलाउँदै गएको  अर्काे अपराध हो रहरको अपराध । कतिपय अपराध यति निर्लज्ज छन् कि अपराधीहरूले रहर भनेर अपराध गर्छन् । रहरमा पनि जे पनि हुन्छ भन्ने मानसिकताले अबोध बालिका बेच्ने, महिला करणी गर्ने, युवतीलाई तर्साउने काम बढाएको छ । अपराधलाई मनोरञ्जन वा रहर ठान्ने मानसिकता समाजलाई अराजक बनाइरहेको छ । कानुन र कार्यान्वयनबीचको खाडल । नेपालमा कानुन छैन भन्ने होइन । मुलुकी अपराध संहिता, महिला हिंसा विरुद्धका ऐन, बाल विवाह निषेध ऐन, अपाङ्ग अधिकार ऐन सबै छन् । समस्या के हो भने कार्यान्वयन कमजोर छ । अपराधीलाई समयमै सजाय दिन सकिँदैन । प्रभावशाली मानिसले न्याय प्रणालीलाई दबाब दिन्छन् । पीडितलाई सुरक्षा, उपचार र पुनःस्थापनामा राज्य उदासीन हुन्छ । यसरी कानुन पुस्तामा मात्रै हुन्छ, व्यवहारमा छैन ।  परिवार र समुदायको मौनता छ । 
    हाम्रो परिवारमा जन्मदेखि नै एउटा विशेषता थियो मेरी दिदी । उहाँको मानसिक अवस्था कमजोर भएकाले हामीले उहाँलाई कहिल्यै सामान्य जीवन बिताइरहन सक्ने आशा राखेनौं । तर त्यसले हाम्रो माया कम गरेन । बरु उहाँलाई सुरक्षित राख्ने, माया गर्ने, सहारा दिने जिम्मेवारी हाम्रो परिवारले आत्मसात गरेको थियो । दिदी हाम्रो घरको आत्मा जस्तै हुनुहुन्थ्यो । उहाँ आफैं बोल्दा, हाँस्दा वा कहिलेकाहीँ अनौठा प्रश्न सोध्दा हामीलाई घरमा न्यानोपन महसुस हुन्थ्यो । तर, उहाँको मन सधैं चञ्चल, कहिलेकाहीँ बालबालिकाभन्दा पनि कमजोर हुन्थ्यो । यही कारण उहाँलाई बाहिरी संसारले सजिलै चोट पु¥याउन सक्थ्यो । म कृषिमा निर्भर परिवारको प्रमुख जिम्मेवार मान्छे । दिनभर खेत, बारी र पशुपालनमा व्यस्त हुन्छु । श्रीमती, छोराछोरी र दिदी सँगै घर चलाउँदै आएका छौं । दिदी घरमा सधैं रहनुहुन्थ्यो । कहिलेकाहीँ घाँस काट्न, कहिलेकाहीँ सामान्य घरायसी काममा हात बटुल्न सक्थिन् । उहाँलाई हामीले कुनै कमी नहोस् भनेर हेरचाह गथ्र्यौं । तर उहाँ आफैंलाई सधैं लागिरहन्थ्यो म अपाङ्ग भएकैले परिवारलाई बोझ भएँ उहाँको अनुहारमा त्यो पीडा पढ्न सकिन्थ्यो । 
    २०७९ साल कार्तिक २५ गते, साँझको करिब ५ बजेको थियो । दिदी बारीतिर घाँस काट्न गएकी थिइन् । त्यो त सामान्य दिन थियो, हाम्रो दैनिकी नै । तर त्यही दिन हाम्रो जीवन सधैंका लागि बदलियो । भरत सिग्देल हाम्रो घरमै काम गर्ने, कहिलेकाहीँ खेत खन्ने, गोरु जोत्न सहयोग गर्ने मान्छे । श्रीमती अर्कैसँग भागे पछि ऊ तनावमा थियो । उसलाई रक्सी खाने बानी पनि लागेको थियो । तर, त्यति बेला पनि हामीले कहिल्यै कल्पना गरेका थिएनौं ऊ दिदीलाई यस्तो नजरले हेर्छ भन्ने । त्यो साँझ ऊ नजिकैको बारीमा गयो । रक्सीको नशामा, विकृत सोचमा, उसले दिदीलाई फकायो, हात समात्यो, कपडा खोल्न खोज्यो । दिदी त प्रतिकार गर्नै सक्ने अवस्थामा थिइनन् । तर भगवानको कृपा घर नजिकै रहेका मेरी दुई बहिनीहरूले त्यो दृश्य देखे । दिदी ! भनेर चिच्याएपछि अपराध अधुरो रह्यो । उ भाग्यो, तर भाग्दा पनि धम्की दियो यो कुरा कसैलाई भन्यौ भने तिमीहरूको ज्यान जान सक्छ ! मौन पीडा र साहसका साथ उनिहरुले घटनाका बारेमा भने । सुरुमा हामी डरायौं । समाजको डर, धम्कीको डर, लाजको डर । दिदीले आफैं सबै कुरा बताउनुभयो । उहाँको मानसिक अवस्था कमजोर भए पनि, पीडाको अनुभव बुझ्न उहाँ सक्षम हुनुहुन्थ्यो । उहाँ रोइरहनुभयो, तर भन्नुभयो कसैलाई भन्नैपर्छ, नत्र ऊ फेरि यस्तो गर्छ ।
    त्यो बेला हामी परिवारले निर्णय गर्यौं कानुनतर्फ जानैपर्छ । प्रहरीसमक्ष उजुरी हाल्यौं । प्रहरीलाई सबै कुरा सुनाए पछि, दिदीलाई स्वास्थ्य परीक्षण गरियो । उ पक्राउ प¥यो । बयानमा आफ्नो अपराध स्वीकार ग¥यो । रक्सीको नशामा, तनावको अवस्थामा मैले यस्तो गरेँ । तर, के पीडितको जीवनलाई केवल नशा भनेर ढाकछोप गर्न मिल्छ ? हामीले माग ग¥यौं हदैसम्मको कारबाही होस् । दिदीलाई न्याय मिलोस् । अहिले उ जेलमा छ । गल्तिको पश्चाताप गरिरहेको छ । फेरी पनि हामी भन्छौ यस्ता अपाङ्गता भएकालाई अझै बढी संरक्षणको आवश्यक छ । दोषिले कतै पनि उम्कने अवसर नपाउन् । 

रहर सिं सार्की
पाँचखाल, काभ्रे