लामो समयपछि आफन्तहरुको सम्झना गरें । सम्झना त दिन दिनै आईरहन्थ्यो तर उनिहरुको त्यो सम्झनामा मेरो माया धमिलो भईसकेको थियो । मान्छे बाँचिरहनु पर्छ हरेक कुराको अनुभव गर्न पाउँछ । हरेक क्षणमा उसले भोगाईहरुलाई अनुभवका रुपमा लिने अवसर पनि पाउँछ । जन्म दिने बाबु आमा, कर्म दिने परिवारका सदस्यहरु, शिक्षा दिने गुरुहरु, हरेक समयमा बाटो देखाउने अग्रजहरुलाई सम्झिनु, गल्तिबाट पाठ सिक्नु र पुनः गल्ति नदोहो¥याउनु विवेकशिल मान्छेको बानी हो । त्यहि कुराले मलाई सधै पछ्याईरहेछ । कोशिस गर्छु सक्दिनँ । सम्हालिन खोज्छु सक्दिनँ । धेरै रुन्छु । आँखाबाट बग्ने आँशु कतिबेला रोकिन्छ । सुक्कसुक्क समेत हुन छाडेपछि आँखा चिम्लिन्छु । सुख्खा आँखामा फेरी त्यहि जीवन, त्यहि भोगाई खोजिरहेको हुन्छु । सम्पन्न जीवन, सुखी परिवारको कल्पना गर्छु । सबै सपना जस्तै लाग्छ त्यहि सपना देखेर जीवनका गतिहरुलाई अगाडि बढाईरहेको छु । पाईला रोकिन खोज्दा समेत हिडाउने प्रयास गर्छु । आगो निभ्न लाग्दा उज्यालोको लागि भए पनि दाउरा थपिदिन्छु । शहरभरी झिलीमिली भईरहँदा अँध्यारो मनलाई उज्यालो बनाउने अथक प्रयास गरें । सकिनँ । मान्छेको खुशी भनेको मन रहेछ । जबसम्म मनलाई खुशी बनाउन सकिदैन तबसम्म उसले प्राप्त गरेका आलिसान महल, भौतिक सुख सम्बृद्धिले केहि असर पार्दाे रहेनछ । सबै कुरा क्षणिक रहेछ ।
अहिलेको जस्तो समय थिएन । घर नजिकै विद्यालय थिएनन् । भएका विद्यालयहरुमा अध्ययन गर्ने अवसर थिएन । अझ छोरीहरु भनेपछि त्यो अवसरबाट धेरै पछाडि थिए । गाउँका मुखिया, ठालुहरुले समेत आफ्ना छोराहरुलाई पढ्न पठाएर छोरीहरुलाई घरको काममा लगाउँथे । छोरी अझ बुहारी भनेका गोठमा दाम्लोले बाँध्ने बस्तु सम्झिन्थे । त्यो पुस्ता महिलाहरुलाई दास नै सम्झन्थे । हुन त समय पनि त्यहि थियो होला । सिंगान आयो भन्न नजान्ने बेला विवाह गरिदिने चलन थियो । मेरी आमाको ५ वर्ष पुगेर ६ वर्ष लाग्दा मेरी आमाको विवाह भैसकेको रहेछ । त्यो पनि आफन्त भित्रै । त्यतिबेला छोरी साट्ने चलन रहेछ । अहिले पनि कतै कतै त्यो चलन चलिरहेको होला । मेरी आमाको त्यो भोगाई मैले पनि भोगें । आमाले जति भोगाई त मैले भोग्नु परेन होला तर पनि उहाँको दुःख, उहाँको समयको बेलाको चलनले साँच्चै दुःख थियो । गर्न सक्ने पनि गर्नु पथ्र्याे । नसक्ने काम धेरै गर्नु पर्दथ्यो । गरेन भने बुहारी काम नलाग्ने भई, यसले घर गरी खान्न भन्ने खालको आरोप आउँथ्यो । अझ बालमस्तिकले भोग्नु परेको कुरा धेरै थियो । आजकाल के के अधिकारका कुरा गर्नेहरुलाई त्यतिबेलाको चलन, त्यतिबेलाको अवस्था भन्यो भने उहिलेका मान्छेहरुले कथा सुनाए भन्न बेर लगाउँदैनन् । त्यहि भएर मलाई कहिले काँहि लाग्छ बाँचिरहनु पर्छ समयले सबै कुरा देखाउँछ । उतिबेला बैधानिक रुपमै आफ्ना कलिला सन्तानको विवाह गरिदिएर बैधानिक बलात्कार, सन्तानको उत्पादन, बाल श्रमशोषण हुन्थ्यो आजकाल कानुन विपरीत हुन थालेको छ । कुरा त्यहि हो समय बदलियो भन्दैमा मान्छेको स्वभाव बदलिँदो रहेनछ । आजकाल हुने हरेक घटनाहरुमा म त्यहि देखिरहेको छु । बुद्धिजीवीहरुले अध्ययन पनि गरिरहेका होलान् किन हाम्रो समाज त्यस्तो अपराधमा उन्मुख भईरहेको छ ?
२००६ सालमा जन्मिएको रहेछुृ । परिवारको कान्छो सन्तान थिएँ म । म भन्दा माथी चार दाई र तीन दिदीहरु थिए । सन्तानले डाँडाकाँडा नढाक्दा समेत उहिलेका मान्छेहरुले सन्तान जन्माउने क्रम रोक्दा रहेछन् । दशैमा वा कुनै चाडपर्वमा टिका लगाएर आर्शिवाद दिँदा समेत सन्तानले डाँडाकाँडा ढाकोस् भन्थे बुढापाकाहरु । अहिले आर्शिवाद दिने चलन पनि फेरिएको छ । जसका छोरा उसको धन, जसका भैसी उसको बन भन्ने उखान पनि थियो । ८ सन्तानका अभिभावक बुबा आमा हाम्रो रेखदेख सँगै भैसीपालनमा ब्यस्त हुनुहुन्थ्यो । उतिबेला अरु काम पनि थिएन । अहिलेको जस्तो चेतना भईदिएको भए सायद उतिबेलाका मेहनति मान्छेहरुले धेरै काम गर्न सक्ने थिए । चेतनाका लागि शिक्षा नै महत्वपूर्ण कुरा रहेछ । दाईहरुलाई क ख सिक्न बुबाले घर देखि चार घण्टा लामो बाटो पठाउनु भएको थियो । केहि दाईहरुले अध्ययन पनि गर्नुभयो । थोरै पढेर धेरै ज्ञान हासिल गर्नुभयो । उतिबेला तमसुक लेख्न जान्ने ब्यक्ति गाउँमा ठुलो मान्छे हुने रहेछ । गाउँका जमिनदारका छोराहरुले तमसुख लेख्न जानेनछन् । मेरो दाईले तमसुक लेखिदिन थालेपछि जमिनदारको छोराले मेरो बुबालाई छोराहरु विद्यालय नपठाउन दबाब समेत दिएका रहेछन । अन्ततः मेरो दाईले पछि त्यहि गाउँमा संचालन भएको विद्यालयमा अन्यलाई पनि क ख सिकाउनु भयो । कक्षा ८ पास गरेका दाजुले केहि वर्ष विद्यालयमा पढाएपछि त्यहि विद्यालयको अध्यक्ष हुनुभयो । विस्तारै विद्यालयलाई तह थप्दै लैजानु भयो । जमिन्दारको अत्तोपत्तो छैन मेरो दाजुले बाबुकै कारण गाउँमा नाम राख्नु भएको छ । हामी छोरीहरुले पनि शुरुमा विद्यालय जाने अवसर पाएनौं । पछि प्रौढ कक्षा समेत पढ्ने अवसर पाईएकाले चिठी पत्र अध्ययन गर्न, आफुले चाहेको कुरा लेख्न, पैसा तथा मोबाईलका अक्षरहरु चिन्न सक्ने भएका छौं । फेरी सरकारले पनि साक्षरता कक्षा संचालन गरेकाले त्यसले अझै थप ग¥यो । समस्या धेरै छन् जति बुढो भईयो त्यति कान नसुन्ने र आँखा नदेख्ने कुराले समस्या हुने रहेछ । अध्ययन गर्न मन लाग्छ तर स्वास्थ्यले साथ दिदैन ।
२०१३ सालमा मेरो मागि विवाह भयो । ७ वर्षकी रहेछु । मलाई केहि थाहा छैन । मेरो आमाजु भाउजु बन्नु भएको रहेछ । मेरो दाईलाई मेरो आमाजु विवाह गरेपछि मलाई भाउजुको भाईसँग विवाह गरिदिएको रहेछ । विवाह गरेको केहि दिन घरमा पठाएको सम्झना छ । केहि वर्ष माईती बसेपछि १० वर्षको उमेर देखि मलाई घरमा पठाईयो । त्यति सानो उमेरमा के सासु, के ससुरा, के नन्द आमाजु ? मलाई साह्रै संकट परेको थियो । बालमस्तिकले आमाहरुले सिकाए अनुसारको सबै काम गरें । बालकै भए पनि बुहारी भएकाले भोक लागेको बेला खान, अरुले अह्राएको बाहेक काम गर्न, श्रीमान श्रीमती बोल्न समेत मिल्दैन थियो । श्रीमान् भनेकै के हो थाहा थिएन । त्यस्तो अवस्थामा पनि राती सासुको खुट्टामा तेल नलगाई सुत्न पाईदैन थियो । सबैले खाना खाएको भाँडा माँझी सकेर मात्रै सुत्नु पर्दथ्यो । त्यसो गर्न नसके यो काम गर्ने खालकी बुहारी होईन यसको विकल्प खोजौ भन्ने कुरा हुन्थ्यो । सानैमा घर खान सकिएन भने भविष्यसम्म त्यसको सुनिश्चितता हुँदैन थियो । त्यसका लागि पनि जसले जे जे भन्छ त्यो सबै सरासर मान्नुपर्ने अवस्था थियो । गर्न नसके रुनु बाहेक अर्काे विकल्प थिएन । रुँदै माईती गए घर गरेर खान नसकि किन आकी भन्थे । माईतीमा तिनै परिवारका सदस्यहरु भाउजु बनेर आएपछि हेपिहाल्थे । बल्ल बल्ल घर ग¥यो भने पनि यसको घर राम्रो हुने भयो भनेर भाँड्नेहरु पनि हुन्थे । त्यो सबै चेतनाको कारण रहेछ अहिले बुझिरहेको छु । मैले सबैलाई भन्ने गरेको छु तिमीहरुले सन्तानलाई केहि दिन सक्दैनौ भने संस्कार देउ, चेतना देउ र सम्मान गर्न सिकाउ । १३ वर्षको उमेरमा म आमा बन्ने भएछु । विस्तारै पेट बढ्दै गएपछि मलाई सबैले अब आमा बन्ने भईस् भन्दै सम्झाउन थाले । त्यसको केहि महिना अघि मात्रै म नछुनु भएको थिएँ । त्यतिबेला माईतीका मान्छेले हेर्नु हुँदैन भनेर कोहि भेट्न आएका थिएनन् । म गर्भवती भएको खबरले सबैतिर खुशी छाएको थियो । दिदीहरु सबैको विवाह भएको भए पनि एकजना दाईको विवाह गर्न बाँकी थियो । त्यतिबेला अहिले भन्दा चर्काे थियो जातभातको कुरा । जातभात भित्र पनि तहका कुरा हुने रहेछन् । पानी समेत चल्दैन थियो सबै जातका मान्छेहरुको । त्यहि जातका मान्छेहरुको समेत तह छुटाएर पानी चलाउने गरिएको थियो ।
पहिलो सन्तानको जन्म भयो । छोरा थियो । एक वर्ष नपुग्दै उसको निधन भयो । अहिले थाहा भयो त्यतिबेला निमोनिया रोगका कारण मेरो छोराको मृत्यु भयो । त्यो शोक विर्सन नपाउँदै मलाई अर्काे बज्रपात आईलाग्यो । घाँस काट्न जंगलमा गएका मेरा श्रीमानको रुखबाट लडेर मृत्यु भयो । १४ वर्षको उमेरमा भईसकेकी म सन्तानको मृत्युको शोकमा हुँदा हुँदै संसारमा सबैभन्दा नजिकको ठानेर पठाएका मेरा बाबु आमाको भन्दा धेरै माया गर्ने श्रीमान गुमाउन पुगें । गाउँघरको भाषामा म विधवा भएँ । कलिलो दिमागले के सोच्यो होला । घरका सदस्यहरुको राम्रो बन्दै गएको बेला म माथी भगवानले पु¥याएको दृष्टिले म पागल जस्तै भएँ । आत्महत्या गर्ने बाटो समेत रोजें । एक वर्षसम्म माईतीले समेत लिन आएनन् । सेतो लुगामा दाजुभाईले हेर्नु हुँदैन भन्ने विश्वास रहेछ । खै किन हो मैले बुझ्न सकिनँ मलाई श्रीमान टोकेकी भनेर घरबाट समेत पटक पटक निकाल्ने प्रयास भयो । मेरो श्रीमान परिवारको सबैभन्दा राम्रो ब्यक्ति हुनुहँदो रहेछ । उमेर हाम्रो धेरै फरक थियो । १० वर्ष भन्दा उहाँ जेठो हुनुहुन्थ्यो । उहाँको निधनले मलाई एक खालको मानसिक, शारिरीक र सामाजिक रुपमै बहिस्कृत ग¥यो । केहि वर्ष घरमै बसें । घर गरेर खान सकिन्छ कि भन्ने आँट थियो तर सकिएन । समाजको एकखालको आरोप त छँदै थियो अर्काे आरोप मैले आफन्तकै पाएँ । दुखी देखेर सहयोग गर्न आउने पुरुषलाई उनिहरुले बात लगाउन थाले । मानसिक रुपमा मलाई परेको चोटले २ वर्ष ओछ्यानमै थलिएँ । आमाले आफ्ना सन्तानहरुलाई दिने माया त्यहि बेला अनुभुति गरें सायद आज म आमा भईदिएको भए त्यो माया दिन सक्दिन थिएँ कि ?
माईतीमै बस्न थालेको लामो समय भैसकेको थियो । सबै दाईहरु आ–आफ्नो काममा हुनुहुन्थ्यो । फरक फरक थियो बसाई पनि । दुःखको कुरा अर्काे छ । विश्वभर कोरोना भाईरस फैलिरहेको थियो । चैत्र महिना देखि आवत–जावतलाई कम गरिएको थियो । एक्कासी बुबा विरामी पर्नु भयो । यो भदौ महिनाको कुरा हो । अस्पताल त लगियो । उपचारमा सहज भएन । केहि दिनको अस्पताल बसाई पछि थाहा भयो बुबालाई कोरोना संक्रमण भयो । तत्कालै उपचारका लागि थप ब्यवस्था त गरियो तर उहाँ फर्कन सक्नु भएन । अन्त्येष्टीका बेला उहाँको अनुहार समेत हेर्न पाईएन । शत्रुलाई पनि यस्तो रोग नलागोस् । घरबाट बाहिर कहिल्यै नजाने बुबालाई लागेको कोरोना भाईरसका कारण परिवार झनै मर्माहत भयो । किरिया बसेका परिवारका सदस्यहरुको परीक्षण भयो । दाईमा पनि पोजेटिभ देखियो । परिवारका ४ जना संक्रमित भए । आशंका झनै बढ्यो । कतै अन्य सदस्यहरु पनि कोरोनाकै कारण गम्भिर विरामी त पर्ने हैनन् ? बुबा बितेको २ महिनामा आमा बित्नुभयो । जन्म दिने बाबु आमाको निधन पछि म शोकमा डुबें । बुबा आमा वितेपछि त्यो घर मेरा लागि पनि शुन्य हुन लाग्यो । बाल्यकालमा विवाह हुनु, विवाहको केहि वर्षमै श्रीमानको निधन हुनु मेरा लागि अर्काे बज्रपात थियो । कोरोनाका कारण बाबुको निधन हुनु र बाबुको निधन भएको दुई महिनामै आमाको निधन हुनु अर्काे बज्रपात बन्यो । लाग्छ मलाई हे निष्ठुरी भगवान मलाई एक पछि किन अर्काे पीडा दिन्छौं ? ‘म दुखीको घरमा मात्रै तेरो बास हुने भए हे भगवान अझै बढी मलाई दुख दे ?’
नम्रता श्रेष्ठ
बनेपा, काभ्रे









