2026 April 19/ 10:21: 13pm

राती १० बजेसम्म निरन्तर काम गरिरह्यो । हातमा उठेका जलजलाउँदा ठेलाबाट पानी बगिरहेको हुन्थ्यो । थकाई महसुस गरेर आराम गर्ने भन्ने कुरै थिएन । भोक त लाग्नै छाडिसकेको थियो । बल्लबल्ल खान पाए पनि अघाउञ्जेल हुन्थेन । पेट भर्नु कि ? भोकै बस्नु ? प्रतिउत्तर हुँदैन थियो । जति आउँछ खायो सुत्यो । कतिबेला निदाईन्छ पत्तो थिएन । विहानको राति २ बजे उठ्नै पथ्र्यो । उठेदेखि नै गाईबस्तुको धन्दामा कृयाशिल हुनु पर्दथ्यो । न खाजा, न चिया, न पानी । एकोहोरो काम गरिरह्यो । न कसैको दया जाग्यो । न त जाग्थ्यो । दिउँसो १ बजे नभई खाना सम्भव थिएन । विहानको खाना १ बजे र रातिको १० बजे ।  यस्तो यातना सायदै जस्तोसुकै अपराधीलाई पनि गरिदैन होला । आफैले जन्माएको सन्तानप्रतिको यो खालको यातना कुनै बाबुले पनि गर्दैनन् होला । समयमै काम नसक्दा फलामको रडको कुटाई पनि भोग्नु प¥यो । भाईलाई उचालेर भुईमा पछार्दा मेरा आँशु झर्थे । एकदिन भाईलाई भुईमा पछारेर कान तान्दा लोतीबाट बगेको रगत रोक्न सकिएन । भोलिपल्टै भाई भाग्न सफल भएछ । यस्ता अपराधी बाबु जसले आफ्ना सन्तानलाई मात्रै हैन काम गर्न राखेकी १४ वर्षकी अर्की बालिकालाई पनि मेरो जस्तै यातना दिईएको छ । प्रहरीलाई मैले जानकारी गराएको छु । उद्धारको पखाईमा छिन् उनी । 
२०६३ साल साउन ११ गते मेरो जन्म भयो । उग्रचण्डी नाला गाविस हालको बनेपा नगरपालिका वडा नम्वर ४ भण्डारीगाउँ । बुबा आमाको म पहिलो सन्तान । भाई जन्मिएको छ । १० वर्ष लाग्दै छ उ । बुबाको कुनै पैसा थिएन । सधै रक्सी खाएर आउने र घरमा हल्ला गर्ने, जन्म दिने बाबु आमालाई पनि कुट्ने र श्रीमतीलाई अझै धेरै कुट्ने । आमा सहेरै धेरै समय उहाँसँगै बस्नु भएछ । बुबा आमाको झगडामा हामी बीचमा परेका रहेछौं । कतिसम्म भने बुबाले आमाको समर्थन ग¥यो भनेर हामीलाई समेत कुट्नु भयो । अति भए पछि ममीले हामी दुवैलाई मामाघर ल्याएर राख्नुभयो । पछि त हामीलाई घरमा जान प्रतिबन्ध भयो । आमालाई कुटेर खुट्टा भाँचिएको रहेछ । खुट्टाको उपचारमा एक लाख रुपैयाँ खर्च भयो भन्ने बुबाको भनाई रहेछ । आमालाई कति यातना भयो होला ? हुँदाहुँदै आमा पनि त्यो घरमा बस्न नसेर माईतीमा हामीसँग बस्न थाल्नु भएको थियो । त्यहि मौका छोपेर उहाँले अर्काे विवाह गर्नु भएछ । सानीआमाको पनि तेश्रो विवाह रहेछ । पहिलो श्रीमानसँग जन्मिएको एउटा छोरा, दोश्रो श्रीमानसँग एक छोरी र अहिले तेश्रो विवाह गरेकी आमाबाट दुई सन्तानको जन्म भएको छ । आमाले सानीआमा ल्याएको थाहा पाए पनि जान मान्नु भएन । उहाँकै सासुआमा आएर जेजे भयो भयो अब तिमी र म अलग्गै बस्ने भन्दै आमालाई लिएर जानुभयो । आमा र हजुरआमा दुबैलाई बाबुले नमज्जाले कुटेछन् । पटक पटक उनी प्रहरीको कस्टडीमा परेका छन् । चोरीको मुद्दामा उनि फरार थिए । अति भए पछि आमाले सदाका लागि त्यो घर छाडिदिनु भयो । हामी त मामाघरमा नै बसिरहेका थियौं । 
मामा घरको हजुरबुबा, हजुरआमा र मामाहरुले हामीलाई नजिकैको विद्यालयमा पढाउन भर्ना गरिदिनु भएको थियो । हाम्रो अध्ययनका लागि हजुरबुबाको माध्यमबाट एसओएस बालग्रामले सहयोग गरिदिएको रहेछ । आमा केहि समय पछि लमजुङ्गमा विवाह गरेर जानुभयो । बुबा आमालाई समेत नभनीकन उहाँ विवाह गरेर गए पछि हामी अझै विचल्लीमा परेका थियौं । उहाँको ममतामयी सद्भाव रहे पनि हामी अभिभावक नभएको टुहुरा जस्तै भयौं । बुबा आमा जिउँदै हुँदा पनि टुहुरो भएको आभाष हुन थाल्यो । विवाह गरेर गए पनि आमाले फोन गर्ने र माईतीमा आउँदा हामीसँग भेट्ने गर्नु हुन्थ्यो । त्यो कुरा बुबाले देखिसक्नु भएन । आमालाई जहाँ भेटेपनि मारिदिने धम्कि दिनु भएछ । बुबा आमाको सम्बन्ध विच्छेद भएको थिएन । २०७६ बैशाख महिनामा जिल्ला अदालतमा सम्बन्ध विच्छेद भयो । सम्बन्ध विच्छेद पछि सन्तान आमा बाबु जो सँग बसे पनि हुने अदालतले फैसला सुनायो । ममीले अर्काे विवाह गरेको चार वर्ष पछि सम्बन्ध विच्छेद भएको थियो । त्यसपछि पनि बाबुले उहाँलाई धम्की दिन छाडेनन् । अहिले आमासँग भेट भएको १० महिना भएको छ । हामी मामाघरमै बसिरहेका थियौं । मामाघरकै ममतामयी प्रेरणामा हामी हुर्कदै गयौं । यो दशैं हाम्रा लागि जीवनकै अर्काे ठूलो दशा बनेर आयो । दशैंको उमंग र उत्साहमा थियौं हामी । म कक्षा ७ मा अध्ययन गर्दैछु । घर पट्टिको हजुरआमा दशैंमा लिन आउनु भयो । भाई र मैले नजाने भन्दा पनि केहि सिप लागेन । केहि वर्ष अघि आमाको विवाह गर्नु अघि सानीआमा हाम्रो घरमा जानु भएको थियो । ममी र हामीलाई दिएको यातना देखेर उहाँमा एकखालको पीडा भएछ । घर फर्किएको केहि दिनमै उहाँले आत्महत्या गर्नु भएछ । अत्याचार, अन्याय विरुद्ध कतै जान सकिएन । गणतन्त्र, लोकतन्त्र, नयाँ संहिता कानुन जे जे भए पनि हामीले न्याय कहिल्यै पाएनौं । कहिले पाईन्छ न्याय ? कसले दिन्छ न्याय ? 
दशैंको केहिदिन अघिको कुरा हो । २०७६ असोज । विद्यालय बन्द थियो । मामाघरको हजुरआमा लिन आउनु भयो । घरमा एक्लै भएको, सानीआमा र बुबाले हजुरआमा प्रति दुब्र्यवहार गरेको जस्ता कुरा गर्नु भयो । मामाघरबाट पनि ठिकै छ नि त दशंैको बेला पुगेर आउँ भनेर भाई र म घरमा गयौं । गएको केहि दिन देखि नै बुबाले कुट्न थाल्नु भयो । गाली गर्न थाल्नु भयो । बुबाको गाई फर्म रहेछ । १२ वटा माउ र ४ वटा बाच्छा सहित १६ वटा रहेछन् । गाई फार्ममा सानीआमाले हेटौडाबाट काम गर्न ल्याएकी एउटी म जत्रै उमेरकी बालिका रहिछन् । सिन्धुलीका एक जना मान्छे रहेछन् । केहि दिन भित्रै सिन्धुलीका तिनै काम गर्ने ब्यक्तिका छोरा, छोरीलाई घरमा बोलाईयो । मलाई कतै जान दिईएन । एक दिन राति मलाई गाई फार्ममै राखेर विवाह गर्ने कुरा भयो । मैले हुँदैन अध्ययन गर्नु पर्छ भनें । मेरो कुराको सुनुवाई नै भएन । जर्बजस्ति मेरो विवाहको निधो भएछ । राति नै सिन्दुर राखेर विहान उज्यालो हुँदा सिन्धुली पु¥याईयो । सिन्धुलीमा पु¥याएर एउटा घरमा राखियो । मसँग विवाह गरेका युवा १८ वर्षका रहेछन् । उनलाई पनि विवाह गरेर ल्याएको श्रीमतीसँग केहि इच्छा चाहना थियो होला । तर मलाई उनले फकाउन पनि सकेनन् । म एक्लै बसिरहें । एक दिन कसैको मोवाईल फेला पारें र फोन गरें । भाईले उठायो भाईलाई सबै कुरा भनें । त्यहि दिन भाईलाई बाबुले नमज्जाले कुटेछन् । भाई भोलिपल्टै मामाघर भागेर आएछ । दशैंको टिकाको दिन मलाई बुहारीकै रुपमा टिका लगाईयो । म रोईमात्र रहें । आँशु बगाएर बसिरहें । उनिहरु मोवाईलमा फोटो खिचेर रमाईरहे । उसलाई दशंैमा खिचेको फोटो फेसबुकमा नराख्नु भनेर भनेका रहेछन् । दशंैको भोलिपल्ट मामाघर, माईत कतै जानु थिएन । बाबुले आमालाई उपचार गर्दा लागेको १ लाख रुपैयाँ नउठी मलाई घरमा आउनै नदिने बताउनु भयो । अझ मेरो आमालाई भेटेको थाहा पाए खुट्टा भाँचिदिन्छु भनेर गाली गरे । त्यहि खालको यातना पनि दिए । 
यता भाई भागेछ । उता मलाई झनै सकस भईरहेको थियो । म एक्लै बसिरहेको हुन्थे । एक्लै सुत्ने गरेको थिएँ । सिन्धुलीमा उसका आफन्त जम्मा भएछन् । मेरो उमेर १४ वर्ष पनि लाग्दै थियो । बाल विवाहमा कारवाही हुन्छ भन्ने थाहा भएर होला मलाई उसकै दिदीको साथमा फिर्ता ल्याउने निर्णय भएछ । भकुण्डेसम्म मलाई उसकै भिनाजुले ल्याई दिए । भकुण्डेबाट मलाई ट्याक्सीमा राखेर घरसम्म ल्याउने योजना बनाईएको रहेछ । प्रहरीले सोध्यो भने आफै गएको हो भन्न सिकाईएको थियो । भाईलाई चाँहि मलाई काठमाडांै काम गर्न पठाईएको भनिएको रहेछ । झुटै झुटको योजनामा हामी शिकार भईरहेका थियौं । १४ वर्षको कलिलो उमेरमा मैले भोगेको यातनाको बयान गरि साध्य छैन । घरमा आए पछि मलाई कतै जान दिईएन । कोहि सँग भेट्न दिईएन । कोहिसँग बोल्न दिईएन । काममा जाँदा कोहि मान्छे हाम्रो पछाडी लगाईयो । धेरै पटक भागेर मामाघर आउने प्रयास गरें । सम्भव नै भएन । हजुरआमासँग भेटेर मनका कुरा भनें । तर पनि उहाँले त्यसको प्रतिकार गर्न सक्नु हुन्न थियो । बुबाको त्यो खालको यातना मेरी आमासँगको बदला लिन रहेछ । उहाँको उपचारको क्रममा खर्च भएको एक लाख रुपैयाँ उठाउन मलाई बन्धक बनाईएको रहेछ । असोज, कार्तिक, मंसिर, पुष, माघ महिना मेरा काला दिनहरु बिते । न कोहिसँग सम्पर्क, न कोहिसँग भेटघाट । विहान राति २ बजे उठेर गाई फार्ममा भकारो सोहोर्ने, कुडो पकाउने, खुवाउने, बाहिर र भित्र गर्ने हाम्रो दैनिकी थियो । मसँगै अर्की एउटी साथी थिईन् । अध्ययन छुटेको थियो । मामाघरको याद आईरहन्थ्यो । भाईको मायाले झनै सताउँथ्यो । तर पनि हिड्न पाईदैन थियो । भोक लाग्दा पनि खान पाईदैन थियो । विहान ११ बजे तिर खाना पाक्यो भने १ बजेतिर खान पाईन्थ्यो । भोक लाग्यो भनेर न खाजा, न चिया । चुपचाप बसिरहनुको विकल्प थिएन । राति पनि १० बजे मात्रै खान पाईन्थ्यो । सुत्ने त्यहि बेला हो । उनिहरुले भनेको काम गरेन र विग्रियो भने यातना भोग्नु पर्दथ्यो । आफ्नै बाबुले दिएको यस्तो यातनाका बारेमा मैले कसैलाई भन्न सकेको थिईन् । 
एक दिन घरमा कतैबाट एउटा टोली पुगेछ । मलाई भेट्न आएको भन्ने थाहा पाएर घर भित्रै थुनिदिनु भयो । भेट्न आउने समुहलाई पनि हप्की र दप्की गरेर पठाउनु भयो । त्यो दिन मैले उहाँहरुलाई भेटेर मनको कुरा राख्न पाउने अवसर पनि पाईनँ । केहि दिन पछि मलाई प्रहरीबाट उद्दार गरियो । तर बाबु फरार भए । अहिले म उनलाई कारवाहीको पक्षमा छु । मलाई सहयोग गर्ने र मेरो पीडामा मल्हम लगाउने संघ संस्था र ब्यक्तिहरु पनि हुनुहुन्छ । म चाहन्छु बाबु आमाले जन्म दिउन् तर यस्तो क्रुर बाबु कसैका पनि नपरुन् ? सन्तानलाई यस्तो यातना दिईन्छ भने अरुलाई यस्ता ब्यक्तिले कस्तो सहानुभूति पाउँछ होला ? अपराधी बाबुहरु मुर्दावाद । सन्तानको अधिकार संरक्षण गर । बालबालिकाहरुको नैर्सिगिक अधिकार संरक्षण गरौं । म अध्ययन गर्न चाहन्छु । देशका लागि केहि योगदान गर्न चाहन्छु । 

बाबुबाट पीडित छोरी
अंशुमाला