2026 April 19/ 10:20: 57pm

    प्रेम दिवस सकिएको छ । प्रेममै धोका पाएको मलाई यस्ता दिवससँग कुनै साईनो सम्वन्ध छैन । तर प्रेम गरेर जीवनभर सँगै मर्नेे र बाँच्ने कसम खाएका ब्यक्तिले दिएको धोका, पीडा र अलपत्रको कहानी कसरी फुकाउँ ? मोराती भावना बुझ्ने तिमी र तिम्रो स्तम्भलाई मेरो तर्फबाट सलाम छ । 
‘घरमा बसे आर्थिक चाप, विदेश गए श्रीमती टाप’ गाडीमा लेखिएको सायरीसँग मिल्दो छ जीवन । आफैंले १२ वर्ष गाडी चलाएँ । गाउँमा खान पुग्दैन थियो । बुबा आमाका धेरै सन्तान थिए । ‘जसको भैंसी उसको वन जसका सन्तान उसको धन’ यो गाउँघरको उखान थियो । बुबा आमा त्यहि भन्नुहुन्थ्यो । त्यो कुरा पनि मैले विश्वास गरें । गाउँमा खासै काम हुँदैन थियो । जग्गा जमिन धेरै हुन्थ्यो । भैंसीपालन हुन्थ्यो । अध्ययन गर्नुपर्छ भन्ने चेतना पनि खासै हुँदैन थियो । चेतना भए पनि अभिभावकले सबैलाई विद्यालय पठाउने आर्थिक हैसियत थिएन । त्यो सबै बुझेको म घरको जेठो सन्तान थिएँ । राजाको पहिलो र प्रजाको कान्छो छोरा हुनुपर्छ भन्थे समाजमा । अहिले त राजा नभएको देश । जनताकै छोराले पनि राज्य चलाउन पाएका छन् । राजाको स्थानमा जनताकै सन्तान छन् । खुशी र सुखी विस्तारै थपिदै छ । विकास र समृद्धि पनि हाम्रै पालामा देखिदै छ । हिजोको विकटता आज सुगमतातर्फ धकेलिदै छ । तर प्रविधिको सदुपयोग हुन सकेन । प्रविधिको सदुपयोग नहुँदा जीवन अन्योलता तर्फ धकेलियो । पश्चिमी संस्कृति भित्रिन थालेको छ । हामी सबैले जे पनि गर्न पाउनुपर्छ भन्ने मान्यताले डेरा जमाएको छ । कानुन पालना गर्ने असल मान्छे होईन कानुन उल्लंघन गर्ने शक्तिमा पुगेका छन् । 
    १२ वर्षको उमेरमा गाउँबाट राजधानी गएँ । शुरुमा गाडीमा खलासी भन्ने पदमा काम गरें । महिनामा खाना खर्च दिएर सरसफाईमा लगाउने गरिएको थियो । मलाई पनि काम चाहिएको थियो पैसा मतलब थिएन । विस्तारै काम गर्दै गएँ । मासिक २ सय रुपैयाँ तलब आउन थाल्यो । खानलाई सहज थियो । समयले मलाई जिम्मेवार बनाउँदै लग्यो । १५ वर्षको उमेरमा मैले गाडी चलाउन सक्ने भएँ । विस्तारै सिक्दै जाने क्रममा मलाई आत्मविश्वास बढ्यो भने मेरो इमान्दारीताले गाडी दिने विश्वास बढायो । मेरै उमेरका धेरै भाईहरु गाडीमा बस्ने, गाडीकै सामान चोरेर पटक पटक कारवाहीमा परेका थिए । पैसा लुकाएर पनि कारवाहीमा परेका थिए । पेशा जुन भए पनि मुखबाट फुत्कने शब्दहरु राम्रा थिएनन् । त्यसले मान्छेलाई भन्दा पनि पेशालाई नै बदनाम बनाउँदा रहेछन् । त्यो पीडामा म थिएँ । गाडी चलाउन जाने पनि मेरो नागरिकता थिएन । नागरिकता बनाउने उमेर पनि थिएन । घरमा गएको बेला बुबा आमालाई आफ्नो कामका बारेमा बताएँ । गाउँमा वडा सचिवले जन्म दर्ता गर्ने र नागरिकताको सिफारिस गरिदिनु पर्दथ्यो । संकटकाल थियो । गाउँमा कर्मचारी बस्ने कुरै भएन । सदरमुकाममा आएर एकै पटक १५ वर्षको उमेरमा १६ वर्ष पुगेको जन्मदर्ता बनाउँदै नागरिकता सिफारिस लिएँ । नागरिकता सिफारिस बोकेर जिल्ला प्रशासन कार्यालय पुग्दा कसैले पत्याएन । तर पनि नागरिकता रोक्ने अधिकार उहाँहरुलाई रहेनछ । 
त्यसपछि लाईसेन्सको तयारी गरें । भाग्यमा भएपछि कसैले लुट्न सक्दैन । छैन भने डोकोले छोपेर पनि अडिदैन । त्यस्तै भयो साँढे १५ वर्षमा मैले हेभी गाडीको लाईसेन्स पाएँ । त्यसपछि मैले नियमित गाडी चलाउन थालें । शुरुमा मैले मिनिट्रक चलाएँ । पछि बस चलाउन थालें । फरक फरक सवारी साधन र त्यसको उपभोक्ता आफ्नै स्वभावका हुन्थे । सबैलाई झेल्नु स्वभाविक थियो । विस्तारै घरमा पैसा पठाउन थालें । बुबा आमाको अनुहारमा केहि महिना भए पनि खुशी दिने मेरो प्रयत्न सफल भयो । भाई बहिनीहरुले चाहे जति पढाउन नसके पनि विद्यालय पठाएर अक्षर चिनाउन सक्षम भईयो । उनिहरुले अध्ययन गर्न चाहे जति आफै पढ्ने ब्यवस्था गर्न थाले । मैले अध्ययन गर्न पाईनँ । पछि महसुस भयो । राजधानी जस्तो महासागरमा आएर मैले अध्ययन गर्नु पर्दथ्यो । मेरो भन्दा धेरै दुःख गर्ने मान्छेहरु छन् । गाडी क्षेत्रमा काम गरेको ७ वर्ष वितेको थियो । एक दिन काठमाडौबाट काभ्रेमा सामान ल्याउनु पर्ने भयो । त्यसदिन डेराको सामान थियो । डेराको सामान सार्ने समयमा मैले केहि सहयोग गरेको थिएँ । परिवार नै काठमाडौमा बस्ने रहेछन् । उनिहरुको पनि अवस्था त्यस्तै रहेछ । बनेपामा होटल पसल गर्ने उद्देश्यले काठमाडौंबाट सामान बनेपा ल्याईएको थियो । मोबाईलको प्रयोग हुन थालेको थियो । उनले प्रयोग गरेको नम्वर म सँग थियो । उनले मलाई फोन गर्न थालिन् । केटा मान्छे न परें उनको इशाराले मलाई पगाल्यो । हामी बीच विस्तारै प्रेम हुन थाल्यो । उनी मलाई भेट्न कुनै न कुनै बाहना बनाएर काठमाडौ आउँथिन् । म पनि सामान नभए पनि कहिलेकाँहि खाली गाडी लिएर बनेपा आउने गरेको थिएँ । प्रेम केहि वर्ष चल्यो । ३ वर्षको प्रेम पछि हामीले अभिभावकको सहमति विना भागी विवाह ग¥यौं । घरमा बुबा आमाले मलाई मागी विवाह गर्न केटी हेरिरहनु भएको थियो । उहाँहरुको भावनामा ठेस पु¥याउँदै खोजेको भन्दा रोजेको भन्ने उपयुक्त भन्ने लागेर विवाह गरें । उनी डेरामै बस्न थालिन् । मैले मिनी ट्रक छाडेर ट्याक्सी चलाउन थालें । काठमाडौमा बस्नै कठिन थियो । ट्याक्सी भाडामा थियो । कहिलेकाँहि आफै लुटिन्थें । घरमा श्रीमतीले भने जति पैसा नलैजादा कति दिन बोलचाल नै भएन । बुबा आमालाई यो कुरा कहिल्यै भन्न सकिनँ । उनीसँग धेरै पटक पैसाकै कारण असमझदारी हुन थाल्यो । एकदिन उनलाई जानकारी नै नदिई राहदानी बनाएँ । राहदानी बनाएर म कुवेत जाने योजनामा लागें । एकवर्ष पुग्न लागेको थियो उनी गर्भवती भईन् । बच्चा जन्मिएर आमा स्वस्थ भए पछि मात्रै जाने योजनामा चुपचाप बसिरहें । विदेश जाने ऋण खोजें । श्रीमती सुत्केरी भईन् । सुत्केरी उतार्न मलाई केहि हजार लाग्यो । छोरा जन्मिएको थियो । मनमा खुशी त थियो तर पैसा नभएकोमा दुःखी थिएँ । नेपालमा जति पैसा कमाए पनि बचाउन सकिएको थिएन । श्रीमतीको त खुशी पैसाले दिन नसकेको म छोरा जन्मिए पछि उसको चाहना कसरी पूरा गर्नु ? छोरा ६ महिनाको भएको थियो । घरमा बुबा आमालाई भनेर म विदेशिने निर्णय गरें । उनले पनि त्यहि चाहेकी रहिछन् । सहजै विदेश जाने अनुमति दिईन् । 
विदेश गएका केहि महिना उनले मलाई सहजै रुपमा लिईन् । मलाई उनी र छोरा, अनि बुबा आमाको यादले सताईरहेको थियो । यादहरु विर्सिन कठिन थियो । उनलाई साथी घरबाट आमा आउनु भएको थियो । भाई र बुहारी पनि थिए । दुई वर्ष त्यसरी नै बित्यो । बच्चा सानो भएकाले उनलाई कुनै काममा लगाउने र गर्ने अवस्था पनि थिएन । दुई वर्ष पछि म घर फर्किएँ । फेरी गाडी चलाउन थालें । विदेशमा पनि गाडी चलाउने काममा नै गएको थिएँ । मेरा लागि त्यो सहज भएन । सहज किन भएन भने मलाई त्यहाँको रहन, सहन र भाषासँग मेल खाएको थिएन । छोरालाई निजी विद्यालयमा भर्ना गरियो । सानै भए पनि विद्यालय लैजाने ल्याउने काम मैले गरें । आफु अध्ययन गर्ने अवसरबाट बञ्चित भए पनि सन्तानलाई राम्रो शिक्षा दिनुपर्छ भन्ने मेरो सोच थियो । एवं रितले दिनहरु वितिरहेका थिए । उनको र मेरो सम्वन्धमा ठाकठुक स्वभाविक थियो । उनी म बाहिर गएका बेला अन्यत्र जाने गरेकी रहिछन् । घरमा आउँदा कसैले ल्याई दिन्थ्यो । मैले को हो ? भनेर सोध्यो भने मामाको छोरा भन्थिन् । विवाह गरेको ६ वर्षसम्म मैले उनको मामा चिनेको रहेनछु । उनको छोरा त कसरी चिन्नु ? गल्ति आफ्नै थियो । श्रीमतीको चाहना पैसाले पूरा गर्न सकेको थिईनँ । आफै खाना पकाउँथें । उनि मोवाईलमा ब्यस्त हुन्थिन् । बाबुलाई खुवाएर सुताउँथें । उनि खान पनि समयमा आउँदिन थिईन् । विहानै गाडी लिएर निस्कनु परेको बेला बाबुलाई खुवाएर समयमै स्कुल पठाउँदिन थिईन् । त्यहि कुरा भन्यो भने कुटाकुट हुन्थ्यो । बरु जे जे छ होस् भनेर सहेरै बसें । यसरी कति दिन चल्छ ? एकदिन मैले रक्सी टन्न खाएर उनिसँग कुरा गर्ने आँट गरें । समाजमा मलाई काँतर पुरुषको रुपमा चिन्न सकिन्छ । समाजले दिएको परिभाषा त्यहि हो । 
फेरी विदेश जाने निर्णय गरें । साउदी अरबमा अलिक धेरै पैसा आउने थाहा भयो । म विदेशिने निर्णय गरें । टन्न पैसा कमाएर श्रीमतीका सबै चाहना पूरा गर्ने र आनन्दको जीवन जिउने उदेश्य अनुरुप फेरी विदेश गएँ । पहिलो पटक विदेश गएर फर्किएको समयमा मैले विवाह दर्ता गरें । उनको पनि जन्म दर्ता भएको रहेनछ । त्यो पनि गरें । नागरिकता बनाई दिएँ । छोराको पनि जन्म दर्ता गराएर विद्यालयमा भर्ना गरेको थिएँ । विदेश गएर शुरुकै महिना पैसा पठाउन सकिनँ । यता उनले तुरुन्तै ऋण लिएको पैसा फर्काउनु पर्छ भनेकी थिईन् । मैले दोश्रो महिना देखि पैसा पठाउन थालें । २ वर्षको बीचमा मैले १० लाख रुपैयाँ उनको खातामा पठाएँ । केहि लाख रकम बुबा आमाको खातामा पनि पठाएँ । उनले शुरु शुरुमा मलाई श्रीमानकै हैसितमा कुरा गरिन् । ब्यवहार गरिन् । सत्कार गरिन् । फोनमा हुने न भए सबै कुरा । घरबाट मेरो परिवार आउँदा नराम्रो ब्यवहार देखाउन थालिन् । बसिरहेकी मेरी आमालाई घरमा फर्काइन् । बुबा आमा आउँदा कोठामा ताल्चा लगाएर हिड्न थालिन् । मैले किन त्यसो गरेको भन्दा मलाई अर्कै केटा लगाएर फोनमा थर्काइन् । एक दिनको कुरा हो । कोठामा उनिहरु दुई जना रहेछन् । मलाई भिडियो कल गरेर उनिहरुले आईन्दा हाम्रो जीवनमा नआउनु भन्दै धम्क्याए । कोठा भित्र श्रीमान श्रीमतीकै हैसियतमा एउटै ओछ्यानमा रहेको तस्विर पठाए । घरमा के भनौ ? कसरी भनौं ? बुबाले त्यो आफ्नै आँखाले देख्नु भएको रहेछ । मलाई भन्न सक्नु भएन । उसैलाई भन्दा झण्डै कुटाई खानु भएनछ । अति भए पछि म विदेशबाट फर्कने निर्णय गरें । छोरालाई अर्कै विद्यालयमा लगेर भर्ना गरिछन् । १० वर्ष देखि एउटै डेरामा बसेको ब्यक्ति म मैले डेरा नदेखोस् भनेर डेरा सरिछन् । त्यहि केटासँग उनको दिनचर्या शुरु भएको रहेछ । कतिसम्म भने उनको माईतीमा पनि त्यो कुराले झगडा परेको रहेछ । बुबा आमासँग उनको बुबा आमाले माफि पनि माग्नु भएको रहेछ । आफैले खोजेर विवाह गरेको श्रीमतीको त्यो रुप देख्दा विदेशी भूमिमा कसको मन अडिन सक्ला र ? 
घटना त्यसरी टुङ्गिदैन । म नेपाल आएँ । उनि विदेश गइसकिछन् । छोरालाई हामीले नभेट्टाउने गरी छात्राबासमा राखिछन् । पहिला गरेकै जन्मदर्ता लिएर माईती गाउँमा गएर विवाह नभएको नागरिकता बनाउन सिफारिस लिएकी रहिछन् । एउटै सिफारिसमा नागरिकता बनेपछि राहदानी बनाईछिन् । उनिहरु दुवैजना बैदेशिक रोजगारीमा गएका रहेछन् । मैले पठाएको १० लाख रुपैयाँ पैसा पनि मेरो खातामा छैन । के गरांै ? कसो गरौं ? कसलाई दोष दिउँ म ? मेरो मात्रै होईन मेरो एकजना साथीको पनि मेरो जस्तै घटना भएको रहेछ । उनि त अझ स्वास्थ्यकर्मी रहिछन् । उनले श्रीमानलाई दिएको धोकाको बयान गरी साध्यै छैन । नेपाल आएर बुबा आमालाई भेटें । प्रहरीकोमा उजुरी दिएँ । मसँग बैवाहिक सम्वन्ध विच्छेद नहुँदै उनले अर्काे नागरिकता र राहदानी बनाएर अर्काे केटासँग विवाह गरेर विदेशिएकी रहिछन् । त्यहि कुरा मसँग गरेको भए पनि मैले त्यो वातावरण मिलाउँथे हुँला ? महिला नै हो मेरी आमाको त्यो भावना छैन ? त्यो सानो बच्चा । जसलाई आमाको खाँचो छ । टुहुरो पारेर पैसाकै लागि किन त्यस्तो गर्नु प¥यो होला ? मलाई उनले सामाजिक सञ्जालमा आफ्नो बाटो नहेर्न सुझाव दिएकी रहिछन् । फेसबुकमा ब्लक गरिन् । अरु साथीहरुकोबाट उनको वालमा लेखिएका शब्दहरुले मलाई स्तब्ध बनायो । जीवनमा पैसा सबथोक उनको बुझाई रहेछ । मेरो भावना र आत्मा दुःखी भए पनि उनी सुखी रहनु् । कुनै दिन मेरो चोखो मायालाई सम्झिन पुग्दा समय ढिला भईसकेको हुनेछ । जहाँ छौ, जस्तो अवस्थामा छौ खुशी हुनु । भाग्यमै नभएको चिज खोजेर कहाँ पाउनु ? हरेक ब्यक्तिले परिवार, आफन्तसँगको ब्यवहार मिलाउन सक्नु भएन भने दुख मेरो भन्दा धेरै पाउनु हुनेछ । समयमै चेतना भया । 

सुजन लामा
बनेपा, काभ्रे