2026 August 11/ 04:22: 04am

    ८१ वर्ष पछि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा शहरलाई नेपालको इतिहासमा पहिलो पटक सहकारी स्थापना गर्ने शहरका रुपमा स्थापित गरेको छ । सरकारले संसदले गरेको छानविन, अनुसन्धान र अध्ययनलाई हुबहु कार्यान्वन गर्ने बताएको छ । त्यसो हुँदा सहकारी स्थापनाको इतिहास सरकारी स्तरबाट बदल्नु पर्छ । सरकारी तहबाट बदलिएको इतिहासलाई सहकारीसँग सम्वन्धित संघ संस्थाहरुले कार्यान्वन गर्नेछन् । संसदले दिएको सुझावलाई सरकारले तत्काल कार्यान्वन गर्न आवश्यक छ । इतिहासलाई संरक्षण गर्न सके मात्रै वर्तमान र भावी दिनमा न्याय हुन सक्छ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्वन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन २०८१ मा नेपालमा सहकारीको ऐतिहासिक विकास सम्वन्धी परिच्छेद ३ को ३.१ मा अवधारणा विकासको चरण (२०००–२००५) मा बनेपामा पहिलो सहकारी सरकारी स्तरबाट शुरुवात भएको उल्लेख छ । सोहि प्रतिवेदनका आधारमा सरकारले सहकारी इतिहासलाई बदल्नु पर्ने निश्कर्ष छ ।
    सुर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा इश्वरीदेवी न्यौपाने, लेखनाथ दाहाल, शिशिर खनाल, दिलेन्द्रप्रसाद वढु, धु्रर्वबहादुर प्रधान र सरिता भुसाल सदस्य रहेको समितिले नेपालमा सहकारीको ऐतिहासिक विकास, विश्व सहकारी अभियान, नेपालमा सहकारी समस्याको अध्ययन र सिफारिस कार्यान्वयन, सहकारी विधिशास्त्र, सहकारी संकट समाधान र यसका सीमा, सहकारीमा वित्तीय सुशासनः निरन्तर अनुगमन, सुधार शून्य, सहकारी कसुरमा कारवाही, समस्यामा रहेका सहकारीका वित्तीय विश्लेषण र देखिएका समस्या, केहि सूचकमा हेर्दा राम्रा सहकारी र अनुकरणीय अभ्यास, नेटवर्किङ्ग ब्यवसायसँग जोडिएको सहकारी ठगी, सहकारीमा बचत दुरुपयोग, फैलिएका जरा, सहकारी संकट र राजनीतिक दल, संघीयतामा सहकारी नियमन, सहकारी संकट स्थलगत निरीक्षणको वस्तुस्थिति, सहकारी समस्याको समाधान, विहङ्गम विश्लेषण, निश्कर्ष, सुझाव तथा सिफारिस पेश गरेको छ । बनेपामा स्थापना भएको सहकारी सम्वन्धी इतिहासका दस्तावेजमा लेखिएका विषयहरुलाई समेत समितिले दस्तावेजका रुपमा समावेश गरेको छ । शतप्रतिशत जस्तै कृषक भएको नेपाल अधिराज्यमा कृषकलाई ऋणबाट मुक्त गरी कृषि उत्पादन बढाउनु र पुरानो घरेलु उद्योग पुनः सुरु र नयाँको स्थापना नै नेपालको छिटो आर्थिक विकास निर्भर हुने तथ्यबाहेक नेपाल सरकारको अगाडि त्यसबेला अर्काे कुनै विकल्प थिएन । उक्त सुझावमा यो काम सरकारले गर्न सक्दछ र त्यो काम सुरु पनि गरिहाल्नु पर्दछ भन्ने तथ्य समेतको सुझाव थियो । तत्कालीन श्री ३ जुद्दशमशेरलाई लामो ब्याख्या गरेपछि हाल एक ठाउँमा चलाउनलाई पटके एक लाख रुपैंया र कर्मचारीको दरवन्दी पास गरिदिनु भन्ने आदेश भई सोही कुरालाई सरदार भूपध्वपज कार्कीले खड्ग निशाना लगाइदिएपछि २००० साल भदौ महिनामा लाएण्ड मोर्टगेज (साहुको ऋण चुक्तागरी हलुका ब्याज लिने गरी जमिन साहुबाट निखनी किसानलाई फिर्ता दिने) र कोअपरेटिभ सोसाईटी (कृषि र घरेलु इलमीलाई आवश्यक बीज अथवा औधोगिक कोरा जिनिस सुपथ मूल्यमा किन्ने र उनीहरुले तयारी गरेको सामान उचित भाउमा बेच्ने प्रवन्ध मिलाइदिने) को स्थापना भएको थियो । त्यसवखत ती संस्थाहरु बनेपामा खोल्नुपर्ने अनेक कारणहरु मध्ये ठोस कारण बनेपाका अति लोकप्रिय राजदाश बादे श्रेष्ठको सहयोगमा बनेपामा अघिदेखि कुटिकर उद्योगको केन्द्र, यातायातको सुविधा र पूर्वी पहाडको ढोकाजस्तो र बनेपाको औधोगिक मनोवृत्ति थियो । 
    नेपालमा ३१ हजार ४ सय ५० वटा सहकारी संस्था दर्ता भएका छन् । ९४ अर्ब १५ करोड शेयर पुँजी लगानी भएको छ । ४ खर्ब ७८ अर्ब ३ करोड बचत परिचालन र ४ खर्ब २६ अर्ब ३५ करोड ऋण लगानी भएको छ । नेपालको ईतिहासमा हालसम्म चितवन जिल्लाको शारदा नगरमा २०१३ साल चैत्र २० गते बखान ऋण सहकारी संस्था स्थापना भई संचालनमा आएको संस्था नै नेपालको पहिलो सहकारी संस्था भएको उल्लेख छ । उक्त इतिहासलाई अब संसदीय समितिको प्रतिवेदनमा उल्लेख गरे अनुसार बनेपा कायम गरिनु पर्छ ।