विकास तिमल्सिना
धुलिखेल
प्रदेश ३ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले शिक्षालाई उत्पादनसँग जोड्न सके मात्र समृद्ध नेपालको अभियान सफल हुने बताएका छन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलले आयोजना गरेको कृत्रिम गर्भाधानकर्ताहरुको अन्तक्र्रिया कार्यक्रममा मन्त्री लामाले शिक्षा डाक्टर, इन्जिनियर बनाउने मात्र नभई सफल कृषक बन्न सघाउने खालको हुनुपर्ने बताए । उनले विषादीको बढ्दो प्रयोगलाई रोक्न काभ्रेमा विषादी परिक्षण मेसिन राख्नुका साथै कृषक र प्राविधिकको सहजताका लागि भेटेरीनरी एम्बुलेन्स उपलब्ध गराउने पनि बताए । काभ्रेमा कृषि उपजको संकलन केन्द्र तथा बजारीकरणको समेत व्यवस्था प्रदेश सरकारले गर्ने उनको भनाई छ । अन्र्तक्रिया कार्यक्रममा प्रदेशसभा सांसद चन्द्र लामाले देशमा सबैभन्दा बढी रोजगारी सिर्जना गर्न सक्ने ठाउँ कृषि क्षेत्र रहेको भन्दै यसको आधुनिकीकरण गर्नु जरुरी रहेको बताए । यस्तै प्रदेशसभा सांसद् बसुन्धरा हुमाँगाईले युवालाई कृषि पेशामा आकर्षण गर्ने कार्यक्रम ल्याएर विदेश पलायन हुनबाट रोक्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले तीनै तहका सरकार बिच समन्वय हुन नसक्दा योजना कार्यान्वयनमा जटिलता रहेको बताए । उनले पशुसेवा प्राविधिक सधैं जोखिममा हुने भएकाले उनीहरुको विमाको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
अन्र्तक्रियामा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, पशु सेवा शाखा धुलिखेलका प्रमुख राजकुमार हुमागाँई, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण बडाल, भटेरीनरी डाक्टर, जिल्लाका कृत्रिम गर्भाधानकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख डाक्टर मोगल प्रसाद शाहले काभ्रेमा समग्र पशुपालनको अवस्थाको बारेमा जानकारी गराएका थिए । यस अघि नै काभ्रेलाई दुधमा आत्मनिर्भर जिल्ला घोषणा गरि सकिएको छ भने मासु र अण्डामा आत्मनिर्भर जिल्ला घोषणा गर्ने तयारी छ । जिल्लामा गाई भैंसी फार्म ४४९ वटा, बाख्रा फार्म १३५, बंगुर फार्म ७७ वटा रहेका छन् ।









