2026 August 06/ 11:08: 49pm

    बनेपा/सूचक प्रकाशनले विगत १४ वर्षदेखि प्रदान गर्दै आएको सूचक सम्मान यो वर्ष पनि विभिन्न क्षेत्रका प्रतिभाशाली व्यक्तिहरूलाई प्रदान गर्ने भएको छ । काभ्रे जिल्लाको बनेपामा एक कार्यक्रम मार्फत विभिन्न क्षेत्रका ६ जना प्रतिभाहरूलाई सम्मान गर्न लागेको सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल (दीपसागर) ले बताए । 
    जनमत प्रकाशनका अध्यक्ष एवं साहित्यकार मोहन दुवाल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवं साहित्यकार धुर्व मधिकर्मी, शब्दयात्रा प्रकाशनका अध्यक्ष एवं साहित्यकार हरि मन्जुश्री, समाजसेवी शंकर खड्का तथा पत्रकार भगवती तिमल्सिनालाई सम्मान अर्पण गर्न लागिएको हो । उक्त सम्मान प्रकाशनको १५ औं वार्षिकोत्सवको अवसरमा असार १८ गते शनिबार प्रदान गरिने सूचकले जनाएको छ । 
    लेखन र साहित्यिक पत्रकारिताको माध्यमबाट नेपाली भाषा र साहित्यलाई देश देशान्तरमा पु¥याउन अहोरात्र सक्रिय रहँदै आएका जनमत प्रकाशनका अध्यक्ष एवं साहित्यकार मोहन दुवाललाई सूचक साहित्यसेवा सम्मान, नेपाली भाषा, संस्कृति, संस्कार र मौलिकताको उत्थान एवं विस्तार गरी राष्ट्रिय स्वाभिमान जागरण गराउन अहम् भूमिका खेल्दै आएका शब्दयात्रा प्रकाशनका अध्यक्ष एवं साहित्यकार हरि मन्जुश्रीलाई सूचक संस्कृतिसेवा सम्मान, नेपाली साहित्यको कथा, लघुकथा र विशेषगरी समालोचना लेखनमा विगत लामो समयदेखि महत्वपूर्ण योगदान दिँदै आएका नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवं साहित्यकार धुर्व मधिकर्मीलाई सूचक साहित्य साधना सम्मान, समाजसेवाको माध्यमबाट सामाजिक विकासमा सक्रिय रहँदै आएका समाजसेवी शंकर खड्कालाई सूचक कृष्ण बहादुर समाजसेवा सम्मान र राष्ट्रिय मूलधारको पत्रिकाबाट तीन दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी पत्रकार भगवती तिमिल्सिनालाई सूचक पत्रकारिता सम्मान समर्पण गर्न लागिएको सूचक प्रकाशनले बताएको छ । 
    नेपाली कला, संस्कृति, भाषा, साहित्य र अध्यात्मको क्षेत्रमा क्रियाशील सूचक प्रकाशनले भगवान बुद्धको सम्यक शिक्षालाई स्वतन्त्र ढंगबाट जनमानसमा पु¥याउन सम्यक सन्देश नामक समानान्तर बौद्ध आध्यात्मिक पत्रिका प्रकाशन गरिरहेको छ भने देशव्यापी रूपमा निःशुल्क पुस्तक समेत वितरण गर्दै आएको छ ।