2026 April 19/ 09:56: 00pm

मतदाता परिचय पत्रका लागि फोटो खिचेपछिको खुशी
धुलिखेल/महाभारत गाउँपालिका १ गोकुले घर भएकी ७० बर्षिया चरिमाया पहरीले अहिलेसम्म भएका कुनै पनि निर्वाचनमा मतदान गरेकी छैनन् । पहिले पहिले निर्वाचनमा मतदान गर्न नागरिकता आवश्यक पर्दथ्यो, पछि मतदाता सहितको परिचय पत्र अनिवार्य भयो । परिचयपत्र र नागरिकता दुबै मध्ये एक गर्दा पनि उनले मतदान गर्न पाईनन् । 
    गोकुलेकै ७६ बर्षिया जन्त्रीमाया मोक्तान पनि मतदान गर्ने अवसरबाट बञ्चित हुँदै आएकी थिईन् । ग्रामिण भेगमा विभिन्न कारण महिलाहरुको नागरिकता बनाउन अवरोध हुँदै आएको थियो । नागरिकता नहुँदा मतदान गर्न र मतदाता परिचयपत्र बनाउन असम्भव थियो । नागरिकता नहुँदा कुनैबेला नेपाली नागरिक नै नभएको अनुभूति समेत जन्त्रीमाया र चरिमायालाई पर्दै आएको थियो । ‘अरु बेला त त्यस्तो हुँदैन थियो, जेष्ठ नागरिक सुरक्षा भत्ता नपाउँदा र लाईनमा बसेर मतदान गर्न नपाउँदा नेपाली नागरिक नै होईन कि जस्तो अनुभूति हुन्थ्यो’–जन्त्रीमाया मोक्तानले भनिन–‘लामो समय पछि आफ्नै मान्छेले निर्वाचन जितेपछि गाउँमै नागरिकता र मतदाता सहितको फोटो खिच्ने अवसर मिल्यो ।’ गोकुलेमा महाभारत गाउँपालिकाको ब्यवस्थापनमा नागरिकता वितरण सहितको मतदाता नामावली संकलन समेत गरिएको थियो । मंसिर २ र ३ गते आयोजना गरिएको शिविरमा जन्त्रीमाया जस्तै थुप्रै जेष्ठ नागरिकहरुले वर्षाैं बन्न नसकेका नागरिकता प्राप्त गरे भने नागरिकता सँगै मतदाता नामावलीमा समेत नाम लेखाए । 
    ‘उमेरको यत्रो अवधीसम्म मतदान गर्न पाईएन, अब मतदान गर्ने अधिकार भयो, मतदान हुने समयमसम्म बाँचिन्छ कि मरिन्छ’–चरिमाया पहरीले भनिन्–‘नागरिकता र मतदाता परिचयपत्र उपलब्ध गराउने घर आँगनकै सरकारलाई धन्यवाद दिन्छु ।’ महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले एकिकृत सेवामा महिलाहरुको स्वास्थ्य परिक्षण सहित विभिन्न खालको परिक्षणका लागि नोबेल अस्पतालसँगको सहकार्यमा डाक्टरको टोली गाउँ पु¥याएका थिए । महिला माथी हुने हिसा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतले एकिकृत सेवामै सेवा प्रदान गरेका थिए । एकिकृत सेवाबाट मतदाता नामावलीमा ९८ जना महिला, १ सय ६८ जना पुरुष सहित २ सय ६६ जनाले सेवा प्राप्त गरे । सेवा प्राप्त गर्नेहरुले नागरिकता महाभारत गाउँपालिकाबाटै लिन पाउने भए पनि मतदाता नामावलीका लागि सदरमुकाम नै आउनु पर्ने थियो । महाभारत गाउँपालिकाबाट नागरिकता वितरण शुरु भए पनि मतदाता नामावली संकलनको काम हुन सकेको छैन । सरकारले स्थानीय सरकारको केन्द्रमै त्यो सुविधा उपलब्ध गराउनु पर्नेमा नारिकहरुले ध्यानाकर्षण गराएका छन् । 
    जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख उमेश राईका अनुसार नागरिकहरुको सेवाका लागि हरेक दिन कार्यालयबाटै मतदाता नामावली संकलन भईरहेको छ । जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन गरेर नागरिकलाई सेवा दिईरहे पनि गाउँ गाउँ पुग्ने तयारी भने भएको छैन । जिल्लामा पछिल्लो मंसिर मसान्तसम्मको तथ्याङ्कका आधारमा २ लाख ७४ हजार ५ सय ८१ जनाले मतदाता परिचयपत्रका लागि फोटो खिचाएका छन् । १६ वर्ष पुग्ने वितिक्कै नागरिकता बन्ने भए पनि मतदानमा सहभागी हुन १८ वर्ष पुग्नुपर्ने कानुनी प्रावधान छ । १८ वर्ष पुगेपछि स्वतः फोटो खिच्ने नागरिकहरु मतदाता सूचीमा समावेश हुने प्रमुख उमेश राईले जानकारी दिए । निर्वाचन कार्यालयमा मात्रै संघ र प्रदेश सरकारको निर्वाचन भएको एक वर्षमा ६ सय ६९ जनाले फोटो खिचाएका छन् । २ सय ८३ महिला र ३ सय ८६ पुरुष गरी ६ सय ६९ जनाले तस्विर खिचाएका हुन् । ७ जनाले जिल्ला स्थानान्तरण गरेका छन् भने २४ जनाले सच्याउन निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा ६ सय २७ महिला, ७ सय ५ पुरुष गरी १ हजार ३ सय ३२ जनाले फोटो खिचाएका छन् । निर्वाचन पछि कुल जम्मा २ हजार २३ जनाले फोटो खिचाएका छन् । 
    प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्म १ लाख ३५ हजार ४ सय महिला र १ लाख ३६ हजार ८ सय ९१ महिलाले फोटो खिचाएका थिए भने १ जना तेश्रो लिंगीले फोटो खिचाएका थिए । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन र घुम्ती एकिकृत शिविरबाट समेत जिल्लामा मतदाता परिचय पत्रका लागि १ लाख ३६ हजार ५ सय ८९ महिला, १ लाख ३७ हजार ९ सय ९१ पुरुष, १ तेश्रो लिंगी गरी २ लाख ७४ हजार ५ सय ८१ जनाको मतदाता परिचय पत्रका लागि फोटो खिचिएको रेकर्ड कायम भएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए ।