2026 April 19/ 08:22: 03pm

छ दशक भन्दा बढी भैसक्यो, नेपालमा हामीले सहकारी र सहकारीताका बारेमा पढेको, सुनेको, देखेको अनि कतिपय ब्यक्तित्वहरुले भोगेको पनि । यस लामो यात्रामा सहकारी क्षेत्रको अनुभव संगालिरहनु भएका सहकारी क्षेत्रका दिग्गज ब्यक्तित्वहरुका अगाडि सहकारीका बारेमा बिचार तथा धारणा राख्नु विश्लेषण पस्कनु अनि यसका बारेमा थप कुराहरु राख्नु पनि अभियानकै एउटा प्रकृण भित्र नै पर्दछ । समग्रतामा यसको बारेमा उत्प्रेरण जगाउने कार्य नियमिति गर्नाले सहकारी आन्दोलनले थप ऊर्जा प्राप्त गर्दै समृद्ध सहकारी निर्माणमा ठूलो टेवा पुग्न जान्छ भन्ने नै हो । हाम्रो देशमा सहकारीताको बारेमा समय समयमा विभिन्न खालका लेख, रचना, आलेख सहित पुस्तकहरु प्रकाशन हुदै आइरहेका छन् । सहकारीका बिचार, दर्शन, मर्म र भावना र सहकारीताले यस माटो सुहाउने खालका नीति, विधि र पद्धतीहरु कसरी स्थापित गर्ने र गर्दैछौ. भन्ने बिषयमा खारिएका महानुभावहरु यसको समग्र पक्षको विश्लेषण सहित अगाडि बढ्दै अभियान नै उचाइमा पुर्याउनका लागि मिहेनतका साथ लागिरहनु भएको छ । 
नेपालको माटो र हावापानी सुहाउने सामाजिक, आर्थिक तथा साँस्कृतिक संरचना र धरातल अनुसार हामीले भोग्दै र व्यवहार गर्दै आएका हाम्रा आफ्ना संस्कार र बानी व्यहोरा अनेकौं कुराहरु हामीसँग जोडिएका छन् । आदिकालिन हाम्रा भाषा, संस्कृति र परम्पराहरुलाई हामीले हेर्ने हो भने हाम्रा हरेका खालका गतिविधिहरु एक अर्कालाई  सहयोग गर्ने, सद्भाव राख्ने र सहयात्रिका रुपमा सहयोगिको भूमिका निर्बाह गरिरहेका छन् । बेलायतबाट सुरु भएको सहकारीको यात्रालाई हामीले अर्कै खालको बिषयवस्तुका रुपमा लिइरहेका छौं यदि भने सहकारीको वास्तविक रुप र सार हामीले बुझ्न सक्दैनौ । पुर्खा देखि नै हामीले भोग्दै र व्यवहारमा उतार्दै आएका एक अर्काका सारथी बनेर गर्दै आएका व्यवहार नै सहकारीता हो भन्न हामीले सक्नुपर्दछ । हो यहिँबाट सहकारीताको सुरुवात हुन्छ । 
समय परिवर्तनसँगै हामीले धेरै खालका हाम्रा संस्कृति अनि परम्पराहर छोड्दै गइरहेका छौं । दाजुभाइ, ईष्टमित्र, साथिभाइ, छिमेकीहरुसँगको सम्वन्ध विस्तार टाढा हुदै गइरहेको हो की भन्ने भान हामीलाई हुदै गैरहेको पनि छ । यस्ता पुर्खा देखिका सम्वन्धहरुलाई अनि व्यवहारहरुलाई हामीले सहकारीका मर्म, भावना र दर्शन अनुसार एक अर्कामा गाढा बनाई अझ प्रगाढ बनाउने काम यहि सहकारी मार्फत बढाउनु पर्नेछ । सहकारीमा रकम जम्मा गर्ने वा बचत गर्ने, ऋण लैजाने आदि जस्ता काम मात्र सहकारीको हुदै होइन । आफ्ना अचल सम्पत्तिहरु तथा जग्गाहरु धितो राखेर रकम उपलब्ध गराउन अन्य बित्तिय क्षेत्रहरु पनि छन् मात्र फरक के हो भने भनेको समयमा कम झन्झटिलो प्रकृयाबाट सस्तो र शुलभ रुपमा ऋण प्राप्त गर्नका लागि सहकारी नै उत्तम हो भन्ने आधार मात्र हो । अहिले सहकारी संस्थाहरुले पैसाको व्यवसायहरु मात्र गरेर धानि रहेको प्रष्टै छ । यसैको व्यवसायहरु बढाएर जाँदा संस्था तथा शेयर सदस्यहरु एक अर्कामा लाभांन्वित हुने गर्दछन् । के सहकारीको यहि मात्र उद्देश्य हो त ? यसका लागि सिंगो सहकारीको अभियानको बागडोर सम्हालेका अभियानकर्ता तथा जिम्मेवार ब्यक्तित्वहरु बीचमा एक खालको अन्र्तक्रिया, छलफल, गोष्ठि तथा दुई पक्ष वा त्रिपक्षिय रुपमा बसेर बहस तथा पैरवी गर्नुपर्ने अभाव खड्किएको छ । यदि साँच्चै सहकारीताको भावना अनुसार कहिँ न कहिँ कतैबाट यसको विकास, विस्तार गर्दै प्रवद्र्धनमा लाग्ने हो भने स साना कुराहरु बाट यसको पक्षमा अभ्यास सुरु गर्नुपर्ने छ । जसका लागि शेयर सदस्यहरुको मनमा सहकारीताको वास्तविक रुप यसको मर्म र भावनाका बारेमा जानकारी गराउनु पर्ने बिषय पहिलो रुपमा पर्न आउँछ । जो जो जहाँ जसरी आफु र आफ्ना क्षेत्रमा क्रियाशिल भएर रहेका छौ उक्त स्थानबाट नै यसको सुरुवात गर्नुपर्ने पो हो कि भन्ने हो । 
सहकारी अभियानकर्ताहरु सबैमा एक आपमा सहकारीताको साझा एजेण्डा सहित एउटै मन र तनका साथ लक्ष्य र उद्देश्य किटान गर्दै अभियान अगाडि बढाउनुको अर्को विकल्प छैन । यसका लागि हामी बीचमा मनमा भएका तिक्तता तथा बुझाईहरु एउटै डालोमा हाल्दै एउटै ढिक्काका रुपमा प्रस्तुत हुन हिम्मत गर्न सक्नुपर्दछ । अभियानमा लागेका हामी अभियन्ताहरुले पक्कै पनि सहकारीकर्मीका रुपमा स्थापित हुन केहि बिषयमा चिन्तन मनन सहित आफुले आफुलाई परिमार्जित भने पक्कै गर्नुपर्दछ । हामीले सहकारी क्षेत्रको नेतृत्व गरिरहँदा सिंगो क्षेत्रले हामीबाट केहि न केहि सकारात्मक तथा सुधारका कामहरुको अपेक्षा गरिरहेको हुन्छ । हामीले बोल्ने भाषा, शैली गरिने व्यवहार, हाम्रो सामाजिक तथा अन्य क्षेत्रको कार्यक्रममा भएको सहभागिता आदि जस्ता बिषय हाम्रा लागि उपयोगि र कठिन दुवै हुन सक्ने कारण पनि सहकारी अभियानकर्ताहरुले हरेक पाइलामा सचेत र प्रभावकारी कार्य सम्पादन गर्नु उपर्यूक्त नै हुन्छ । त्यसैले हामी अभियन्ताहरुले निम्नअनुसारका बिषयमा सचेतता सहित हाम्रो उपस्थिती भएको खण्डमा सहकारी क्षेत्रको विकास हुन धेरै समय नलाग्ला की?
हामी जुनसुकै क्षेत्र, पेशा तथा व्यवसायमा काम गरौं प्रत्येक क्षेत्रमा ईमान्दिारिताको प्रदर्शन गर्नैपर्छ । बदलिदो समय र परिस्थिती अनुरुप आफुले समाजमा अलि फरक ढंगले प्रस्तुत हुन नसकेको खण्डमा प्रतिष्पर्धामा अगाडि बढ्न कठिन नै हुन्छ त्यसैले सहकारी क्षेत्र पनि एउटा यस्तो क्षेत्र हो जहाँ मानिसलाई सामाजिक, आर्थिक तथा अन्य मानवजीनवसँग जोडिएका हरेक पक्षहरुको विकास र उचाइमा प्र्याउने गतिलो माध्यम बनेको छ । आफुले नेतृत्व गरेको सहकारी होस वा आफु संलग्न भएको होस वा अभियानका रुपमा सहकारीलाई बलियो र सक्षम बनाउने अभियानमा लागेको ब्यक्ति जो कसैले पनि सहकारीमा ईमान्दारिता, पारदर्शिता सहित हाँक्नु अभियानकर्ताहरुको पहिलो कर्तब्य हुन्छ । सहकारीमा आवद्ध नेतृत्वकर्ता हामी हाम्रो कार्यशैली हिजो जस्तो थियो त्यसमा नै रमाउने खालको बनाइ राख्नु हुदैन । हामीले हाम्रो व्यवहार, खानपान, रहनसहन, बोलि बचन र समाजमा प्रस्तुत हुने प्रत्येक कुराको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कसैले नियालि रहेका हुन्छन । त्यसैले सिंगो सहकारीमा नेर्तत्व गर्ने हामी सहकारी अभियानमा संलग्न व्यक्तित्वहरु सबै पक्षहरुसँग जानकार हुनु अनिबार्य हुनेछ । हामी सबैमा अहिलेको समयमा अध्ययन (पढ्ने)  र सहकारीता बारेमा जानकारी लिने दिने कार्य अलि कमी भएको हो कि भन्ने आभाषहरु समेत देखिन थालेका छन् । सहकारी संस्थाहरुका औपचारिक कार्यक्रममा सहभागि हुदा होस वा अन्य कुनै पनि कार्यक्रममा जाँदा सहकारीको विकास, विस्तार तथा यसको प्रयोग र सिद्धान्त बारे खुलेर जानकारी गराइएको खासै पाइदैन । यसका पनि दुइ पक्ष हुन्छन एउटा उसले कि त सहकारी बारेमा राम्रोसँग बुझेको हुदेन कि त उ अर्के क्षेत्रको व्यक्तित्व हुनुपर्दछ । विभिन्न समयमा विभिन्न ब्यक्तित्वहरुले रचना गरेका पुस्तक, लेख रचनाहरुका बारेमा अध्ययन गर्दै सहकारीमा लाग्न सकेमा सहकारी क्षेत्रको विकास हुनेछ र अभियानकर्ताले यस्तो खालको बिषयमा बिषेश ध्यान पुर्याउनु पर्दछ । सहकारीकर्मीले समाज प्रतिको बुझाईका बारेमा राम्रै ज्ञान राख्नुपर्दछ । समाजले के खोजिरहेको छ र हामी सहकारीकर्मीले के दिन सकेका छौं ? अनि हाम्रा वरीपरी रहेका सहकारीहरुले समाजमा के बिषय कसरी प्रयोग गरिरहेका छन ? वा दिएका छन् ? भन्ने बिषयलाई गम्भिरतापूर्वक लिनुपर्दछ । नीति एकतिर, विधि एकतिर सिद्धान्तलाई प्रयोग गर्ने तौर तरिका अर्कौ तिर हुँदा सिंगो आन्दोलनले सोचेको उपलब्धि हासिल गर्न सकिदैन जसका कारण भोलिका दिनमा यसबाट आउने समस्या र यसको नकारात्मक परिणाम हामीले हामी कसरी स्विकार गर्न सक्दछौं त ? भन्ने कुरालाई समेत अभियानकर्ताले बिषेश ध्यान अवस्य दिनुपर्दछ । 
अभियनमा लागेका सहकारीकर्मीहरुले अर्को महत्वपूर्ण पाटोको रुपमा लिनुपर्ने बिषय भनेको हामी जुनजुन स्थानबाट जसरी सहकारी अभियानमा होमीएका छौं हाम्रो समय उक्त संस्था तथा निकायमा कसरी व्यवस्थापन गर्न सकिरहेका छौं त भन्ने बिषयमा बिषेश ध्यानदिनु उपर्यूक्त हुन्छ । ६२ बर्षको सहकारी अभियानमा सहकारीका धेरै भन्दा धेरै कामहरु भएका छन् । भूमिव्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ, सहकारी विकास बोर्ड, केन्द्रिय संघहरु, जिल्ला संघहरु, बिषयगत संघहरु तथा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पुरस्कार प्राप्त गरेका विभिन्न सहकारी संस्थाहरुले आफ्ना निति, कार्यक्रम तथा कामगर्ने तौर तरिका, सफल असफल बिषय, समस्या तथा त्यसका समाधानका उपायहरु र समय समयमा भए गरेका क्रियाकलापहरुका बारेमा स्व अध्ययन तथा आम नागरिकहरुमा सूचना सम्प्रेषण गर्ने बारेमा हामीसँगको समयले कतिको काम गरेको छ त भन्ने हामीलाई लाग्नुपर्दछ । प्रत्येक दिन जस्तो सम्वन्धित निकायले लागु गर्ने सहकारीका सूचना प्रवाहहरु थाहा पाउन र भर्खरै जारी भएका सहकारी ऐन तथा त्यसमा व्यवस्थापन गरिएका बिषय र आम सहकारीहरुले साधेका बेलामा सहि र सत्य जानकारी दिने काम पनि सहकारीकर्मीहरुकै भएकोले सहकारीका क्षेत्रमा सहकारीकर्मीहरु धेरै भन्दा धेरै चनाखो भई लाग्न सकेमा मात्र सहकारीकर्मी भएको पुष्ट्याँइ गर्दछ । यसका लागि पनि समय व्यवस्थापन सहकारीकर्मीहरुले गर्नै पर्दछ । कुनैपनि तह र तप्काका सहकारीकर्मीहरुको उपल्लो तहमा पुगेका ब्यक्तित्वहरु मार्फत खिसी ट्यौरी नगरी अभियान जो जसले जहाँबाट सुरु गरेपनि व्यवस्थित, मर्यादित गर्नुपर्दछ भन्ने सिकाइ पनि सहकारीकर्मीहरुबाट नै गर्नुपर्दछ । जसले गर्दा सिंगो सहकारी आन्दोलन फस्टाएर वास्तविक सहकारी आन्दोलन फलदायि हुनेछ ।  
जय सहकारी ।