2024 April 27/ 02:57: 18am

   मान्छेहरुले हजारौं गल्ति गर्न सक्छन् । जीवन सिकाई हो । भोगाई हो । हरेक मान्छेका भोगाईहरु अविश्मरणीय हुन सक्छन् । तिनै भोगाईहरु कालान्तरमा मिठा र ऐतिहासिक पनि बन्ने गर्छन् । यस्तो भोगाईबाट मान्छेले केहि सिक्यो भने मात्रै जीवन सफल हुन सक्छ । महामानव विपी कोईराला पनि लामो समय जेल बसेकै हुन् । उनको जेल जीवन पढ्नेहरुले जीवन सकारात्मक बनाउन सक्छन् । नेपालका अधिकांश नेताहरु जेल बसेकै छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको जेल जीवन पनि कम्ति अविश्मरणीय छैन । शेरबहादुर देउवाको भोगाईहरु पनि महत्वपूर्ण छन् । उनकै कारण देश यो अवस्थामा पुग्यो भन्नेहरु पनि छन् । सरकारको विघटन, प्रजातन्त्रलाई दरबार लगेर बुझाएको, स्थानीय निकायको म्याद नथपेको जस्ता आरोप देउवाले भोग्दैछन् । त्यसको प्रतिफल उनी लामो समय पदमा पुग्न सकेनन् । 
    हो मान्छेहरुका आफ्नै भोगाईहरु छन् । आफुसँग हुँदा केहि नहुने र नहुँदा संसार नै गुम्यो भन्ने सोच राख्नेहरु पनि छन् । समस्यासँग भागेर होईन मुकाविला गरेर मात्रै मान्छे सफल हुन सक्छ । सफल मान्छेका इतिहास पनि लेखिएका छन् । मान्छे पढेर र परेर जान्दछ भन्ने नेपाली उखान हरेकको जीवनमा लागु हुन्छ । अपराध बोध भएको छ मलाई । विगत सम्झेर धिक्कारिरहेको छु । आफ्नै खुशी थिएन मेरो । साथीहरुको लहैलहैमा लाग्दा आफन्त परिवार सबै गुमाएको छु मैले यतिखेर । यो ठाउँ भनेको धेरै निर्दोषहरु पनि आईपुग्ने ठाउँ रहेछ । कोहि परिबन्दमा पर्ने रहेछन् । कसैले आफैले आफैलाई सन्तुलनमा राख्न नसक्दा वा नियन्त्रण गर्न नसक्दा हुने रहेछ । यस्ता विविध कारणबाट जेल पुगेकाहरुको भोगाई सुन्दा लाग्छ आफ्नो केहि होईन । धेरै साथीहरुले आफ्ना भोगाईहरु ब्यक्त गरिसकेका छन् । केहिले पर्खाल भित्र सिमित राखेका छन् त केहिले विश्वभर सुनिनेगरी प्रेषित गरेका छन् । हामीले भोगेका अनुभूतिहरुले समाजमा थप अपराध र यस्ता खाले घटनाहरु नघटुन भन्ने हो । यो पनि एउटा सिकाई हो । हुन त सरकार र राज्यको उद्देश्य पनि त्यहि होला । सुधार गृहमा हुनुपर्ने धेरै कुरा उपलब्ध छैन तर पनि सिक्नेहरुले यसलाई पनि सदुपयोग गरिरहेका छन् । अध्ययन छुटेकाहरुले अध्ययन गरिरहेका छन् । सिप सिक्नेहरुले सिप सिकिरहेका छन् । अरु क्षेत्रमा कृयाशिल भएकाहरुले त्यहिबाट आफुलाई अब्बल बनाएका छन् । सुध्रन चाहने र खोज्नेलाई जेल जीवन महत्वपूर्ण र उपलब्धी मुलक हो । 
    जन्म, मृत्यु, विवाह सबै लेखेकै लेखान्त हुनेरहेछ । त्यस्तै संघर्षमा मेरो बाल्यकाल बित्यो । जब मैले आफुलाई उमेर पुगेको सम्झन पुगें तब अरुको खोजी हुन थाल्यो । बुबाहरुकै सल्लाहमा मैले २०७३ मंसिर २२ गते मागी विवाह भयो । हामीहरुबाट १ छोराको जन्म समेत भएको छ । विवाहको एकवर्ष नपुग्दै हाम्रो बच्चा जन्मियो । सन्तबहादुर तामाङ हो उसको नाम । भर्खरको युवा केटो धोका पाईएला भन्ने मैले कहिल्यै सम्झिनँ । समय वित्दै गयो । उ भर्खर २१ वर्षको मात्रै छ । म पनि त्यहि उमेरकै हुँ । नेपालको कानुनले पछिल्लो समय २० वर्ष नपुगी विवाह गर्न दिदैन । हामीबाट २० वर्षमा एक सन्तानको जन्म नै भईसकेको थियो । धुलिखेल न.पा. वडा नं. ११ स्थित आफ्नै घरमा मेरा श्रीमान सन्त बहादुर तामाङले घरमा श्रीमती र १ छोरा समेत हुंँदा हुँंदै कानुनी रुपमा सम्बन्ध बिच्छेद समेत नभई अंश दिई कानुनतः रुपमा छुट्ट भिन्न नभएको अबस्थामा अर्काे केटीसँग विवाह गरेका रहेछन् ।     
केटा मान्छेहरु कस्तो धोकेबाज हुन्छन । घरमा भर्खरकी युवती श्रीमती छ । तामाको मुना जस्तो एक वर्ष नपुग्दैको छोरा छ । उसलाई घर बाहिर अर्काे युवतीसँग मोजमस्ती गर्नु परेको छ । मोजमस्ती मात्रै होईन उसलाई कान्छी श्रीमतीका रुपमा समेत विवाह गरेर ल्याउन सक्छ भने त्यस्तो श्रीमानलाई के भन्ने ? त्यस्तो पुरुषलाई के भन्ने ? उसले कान्छी श्रीमतीको रुपमा सम्झना दनुवारलाई विवाह गरेछ । सम्झना दनुवारलाई उसको पहिलो श्रीमती र बच्चा भएको कुरा जानकारीमा थियो । अझ मैले उसलाई यस्तो काम नगर भनेर पटक–पटक सम्झाएको पनि थिएँ । तर पनि उसले मानिनँ । सन्त र सम्झनाको सम्बन्ध छुटाउन मैले पटक–पटक आग्रह पनि गरें । कानुनको पनि त्रास देखाएँ । समाजको डर देखाएँ । इज्जत भएकालाई पो डर हुन्छ । इज्जत नै नभएकाले के को डर ? 
    श्रीमान सन्तबहादुर तामाङले सम्झनासँग २०७२ साल देखी नै फेस बुक मार्फत चिनजान भई नम्बर समेत आदन–प्रदान भई प्रेम बसेको बयान दिएको रहेछ । २०७१ सालमा मलाई विवाह गरेको लोग्ने २०७२ सालमै फेसबुकमा केटी भेटियो भन्दै प्रेम गर्ने कस्तो अपराधी होला ? उसले फेसबुकमा भेटाएकी सम्झनालाई छाड्न सकेन । यता घरमा श्रीमती गर्भवती भएकी छ । उता अर्की युवतीसँग प्रेम शुरु भएको छ । हे पुरुष ? तिमीलाई चाहिने चाँहि के हो ? घरको प्रेम, गर्भ रहेको श्रीमती वा अरु कुनै युवती र त्यसले दिने माया प्रेम ? यो नारीले सहनु कति ? एउटी नारीको बेदना र पीडा बताईरहँदा अर्की नारी प्रेममा फस्ने र घरमा गर्भ समेत बसेको विवाहित श्रीमती भएको थाहा पाउँदा पाउँदै प्रेम गर्ने कस्ति नारी तिमी ? उसले प्रेम मात्रै गरेनछ । समय समयमा भेटघाट गरी सँगै बस्दै आएका रहेछन् । घरमा मलाई काम छ भन्दै निस्कने र बाहिर उसैसँग रात विताउने मेरा सन्त श्रीमानको कसरी बयान गरौ म ?  सम्झना र सन्तले मलाई घरमै छाडेर अर्काे घरबार शुरु गरिसकेको लामो समय भएछ । मैले त ढिला थाहा पाएँ । समयमै थाहा पाएको भए सायद यस्तो घटना पनि हुँदैन थियो होला । जब थाहा पाएँ तब नेपालको कानुन अनुसार दोश्रो विवाह गर्न नपाउने भए पछि उजुरी गरें । 
    श्रीमान सन्तबहादुरले म सँग २०७३ सालमा सहमती बिना नै सम्झना सँग बिबाह गरिसकेका रहेछन् । श्रीमानले गएको तिहार भन्दा १ दिनपछि मलाई बताए । म त छाँगाबाट खसे झै भएँ । उनिहरु त्यति बेलै भाग्ने योजनामा रहेछन् । तर मेरै कारण रोकिए । उनिहरुले आईन्दा त्यस्तो नगर्ने भन्दै आफुहरुले गरेको विवाह सबै नौटंकी भएको बताएका थिए । घरमा नन्द सुत्केरी थिईन् । म आफै पनि भर्खर सुत्केरी अवस्थाबाट तंग्रँदै थिएँ । हाम्रो त्यो अवस्थालाई समेत उसले ख्याल पु¥याएन । सम्झना र उ भागेर पोखरा पुगेछन् । पोखरा पुगेको कुरा पनि धेरै पछि हामीले थाहा पायौं । पोखराबाट आएर उनिहरु आफन्तकोमा पुगेछन् । हामी उनिहरुको खोजी गरिरहेका थियौं ।  उ माईतीमा बसेको कुरा थाहा भयो । मेरो श्रीमान २०७५ फागुन ११ गते श्रीमानकै मामाको छोराको छेवारमा गएका रहेछन् । त्यति नै बेला मैले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा बहुविवाह मुद्दा शिर्षकमा जाहेरी दरखास्त दिएको थिएँ । प्रहरीले सोहि दिन उनिहरुलाई पक्राउ गरेर ल्याउन सफल भयो । 
    प्रहरीले गरेको अनुसन्धान तथा मेरो बयानका आधारमा उनिहरुलाई पक्राउ गरेर थप कारवाहि लागि हिरासतमा राखेको छ । प्रहरीले पनि मेरा श्रीमान सन्तबहादुर तामाङले कानुन बमोजिम सम्बन्ध बिच्छेद नभएको अबस्थामा सम्झना दनुवारलाई दोस्रो कान्छी श्रीमतीको रुपमा बिबाह गरी ल्याएको र आरोपित कसुरदार सम्झना दनुवार समेतले सन्त बहादुर तामाङको जाहेरवाला श्रीमती, १ छोरा समेत छ भन्ने थाहा जानकारी हुँदा हुँदै दोश्रो विवाह गरेकाले श्रीमान सन्तबहादुर र सम्झनालाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १७५ को उपदफा १ र २ को तथा सोही ऐनको दफा १७५ को उपदफा ४ बमोजिम सजाय गरी उपदफा ५ बमोजिम बिबाह बदर गर्न माग गर्दे सरकारी वकिल मार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । मान्छे सप्रनु र विग्रनुमा सबै भन्दा ठुलो उसको संगत रहेछ । संगत गुनाको फल भने जस्तै मेरो जीवनमा त्यस्तो भोगाई शुरु भयो । 

मनको पीडा कसले सुनिदेला
ओठको मुस्कान खोलिरहन्छु
मेरो साथ शून्यताको आभाष छ
तिम्रै फोटोसँग बोलिरहन्छु
आउँदैन जवाफ तिम्रो तस्विरबाट
लोलाएका आँखाहरु टोलाई रहन्छु
एकान्तमा बस्छु आशा लाग्छ 
तैपनि आज यहि तस्विरमा बोलाइरहन्छु 
    मलाई लाग्छ साँच्चै भगवान पनि स्वार्थी हुँदा रहेछन । नभए पनि नहुने भए पनि नहुने । विवाह गर्दिनँ भन्दा बुबा आमाले मान्नु भएन । जब विवाह गरें श्रीमानले धोका दिए । भर्खर २० वर्ष पूरा हुँदै छु । यहि उमेर देखि म श्रीमान छाडेर अलग बसौं कि ? काखमा भएको सन्तान लिएर दोश्रो विवाह गरौं ? आखिर जति विवाह गरे पनि धोका पाउने त श्रीमतीहरुले नै रहेछ । बच्चाले बाबु सोध्यो भने कसलाई देखाउँ ? महिलाहरुको जीवन खै के के ? उनिहरु जेलमै छन् तर पनि मेरो मनमा चयन छैन । 
सितामाया तामाङ
धुलिखेल, काभ्रे