2024 April 26/ 06:27: 59pm

सहि हो वा गलत । कानूनका हिसाबले म गलत भएँ होला । कानूनले दिएको सजायँ मैले स्वीकार्नु पनि पर्छ होला । मेरा कठीनता, मेरा भोगाई, मेरो बाध्यता म सँगै थियो । अहिले संसदमा कानून शंशोधनको आवाज उठिरहेको छ । धेरै सांसदहरुको मत बाझिएको छ । केहिले विवाहको उमेर पनि घटाउन कसरत गरिरहेका छन् । विवाह, नागरिकता, परिपक्व भएर लाईसेन्स लिने उमेर तथा बालबालिकाहरुको उमेरको अवस्था फरक–फरक । अझ निर्वाचनको समयमा मतदान गर्ने उमेर फरक छ । नेपालमा कानून निर्माण गर्ने र त्यसलाई कार्यान्वयन गर्ने विषय हल्का रुपमा लिईन्छ । अपराध गर्नेलाई कुनै कानूनले छोएको छैन । अपराध जोगाउनेलाई जुनसुकै कानून बने पनि अर्थहीन रहेछ । निर्दाेषहरु धेरै फसाईएको छ । बोल्न सक्नेको पिठो बिकाउने काम भएको छ । चामल बिकाउन पनि नसक्नेहरुको पक्षमा कसले बोलिदिने ? राज्य, राज्यका संयन्त्र र राज्य चलाउने राजनीतिक दल वा कर्मचारीहरु सबै उस्तै रहेछन् । दलबाट नियुक्ति हुने न्यायाधीश वा अरु कुनै निकायले दिने न्याय राजनीतिक दलिय स्वार्थका आधारमा हुने रहेछ । जसका कारण सर्वसाधारण पटक–पटक ठगिएका छन् । हेपिएका छन् । 
    बर्षात्को समय थियो । दिउँसै परेको पानी राती पनि रोकिएन । मन पोल्न छोडेको छैन । समय यसरी उल्टो फर्केला भनेर त मैले सोच्न समेत सकेको थिईन । यस्तो चंगोलमा फस्न पुगें म । त्यसकै कारण डिप्रेसनमा पुगेको छु । त्यसको पीडा बोध भएको छ तर त्यसबाट निस्कन सकेको छैन । सायद आफूलाई जीन्दगी भर माफ समेत गर्न सक्दिन होला । खै किन मान्छे यति सम्म क्रुर हुन्छन् होला । म त सानै थिए । पैसाको निम्ति यति धेरै पापकर्म किन गर्छन् मान्छेहरु ? आजकाल जिन्दगीसँग गुनासो मात्र छ, प्रायश्चित मात्र छ । मेरा जस्तै सपनाहरु अरुका पनि थिए होलान् । मेरा कर्म र भूमिकाले जे गर्यो त्यसको भागिदार म पनि हुँ भन्ने लाग्छ । म लज्जित छु । आफ्नै शीर ठाडो पारेर हिड्न सक्ने औकात छैन म सँग । प्रायश्चितको आगो दनदन दन्किएको छ मेरो छातीमा । म आफैँ भित्र मरिरहेको छु दिनदिन । किन–किन जीन्दगीसँग कुनै आशा नै नरहे झैँ लाग्छ मलाई । उकुस मुकुस छु । न कसैलाई भन्न सक्छु न कसैलाई साट्न नै सक्छु । आफैँ भित्र तड्पिनुको विकल्प नै छैन । 
     सामान्य परिवारमा जन्म भयो । आमाको गर्भमा हुँदै बाबा बित्नु भएको रहेछ । बुबाको अनुहार समेत थाहा छैन मलाई । फोटो समेत छैन । नागरिकतामा भएको बाबाको बाल्यकालको फोटोमा रमाउन बाहेक अरु विकल्प थिएन । आमाले मजदुरी गर्दै समाजको अनेक लाञ्छना सहँदै हुर्काउनु भयो । एक त एकल महिला त्यसमाथि पनि म छोरी मान्छे । गरिबी त झनै विकराल थियो । समाजले जसरी प्रयोग गर्न चाह्यो सोही अनुसार भइदिनुपर्ने रहेछ । महिला अनि गरिबले । मान्छेको जिन्दगी माथिको राजनीति पनि हामीले नै सफल बनाइदिनुपर्ने, कस्तो तितो यथार्थ छ हाम्रो समाजको । आमाको अनेक दुःखमा म अर्को दुःख थिए । नबुझ्ने हुने खानेका परिवारका बच्चा जस्तै मेरा चाहाना र मागले मेरी आमा हैरानीमा हुनुहुन्थ्यो । गाउँ घरका अन्य केटाकेटी साथीहरुसँग खेल्ने क्रममा कसैलाई केहि भयो भने पनि दोष ममाथि थोपरिन्थ्यो । उतिबेला त प्रतिशोधको भावना आउँथ्यो तर आजकाल बुझ्दै छु गल्ति नगरेपनि कमजोरहरु नै पेलिनुपर्ने रहेछ । गाउँमा सबै बालबालिकाको खेल्ने मैदान एउटै थियो । स्कुल सकेपछि भेला भएर संगै खेल्थ्यौँ । १०÷१५ जना नै सँगै हुन्थ्यौ हामी । सामान्य तरिकाले चलि नै रहेको थियो । नियमित तालिका भने कै उठ्यो आमाले पकाएको खाना खायो विद्यालय गयो फर्केपछि उहि खेल मैदानमा साँझ नपरुन्जेल खेल्यो र घर फर्कियो अनि गृहकार्य गर्ने, पढ्न,े खाना खाने र सुत्ने । सामान्यतया हाम्रो गाउँका सबै बालबालिकाको दैनिकी नै थियो । सामान्य झैँ हामी सबै सँगै खेलिरहेका थियौँ । मेरो घर भन्दा माथि घर भएकी समिता आइनन् । हामी गाउँकै सरकारी स्कूलमा पढ्थ्यौं । साँझ खेल्ने मैदान एउटै हो । आज किन आइनन् भन्ने लाग्यो । कहिलेकाहिँ होमवर्क बढि हुँदा तथा परीक्षाको समयमा उनि आउन्न थिइन् । सामान्य भैmँ नै लाग्यो । खासै अरु साथीले पनि किन आइनन् भन्ने कुराको ख्याल गरेनन् । हामी खेली नै रहेका थियौँ । हामी भन्दा एक दुई बर्ष धेरै उमेर भएका दाईहरु पनि हाम्रा साथी थिए । त्यतिकैमा एक हुल प्रहरीहरु भ्यान सहित हामी खेलिरहेको ठाउँमा आए र सोधे मदन को हो ? हामी सबै डरायौँ, कोहि पनि बोलेनौ । किनकी हामीले त्यसभन्दा अघि त्यति नजिकबाट त्यति धेरै प्रहरीहरु देखेकै थिएनौ । फेरी प्रहरीले सोध्यो मदन को हो ? अझै हामी बोलेनौ । त्यसपछि समिता र उनकी आमा भ्यानबाट झरेर मदन उहि हो भनेर चिनाउनु भयो । त्यतिकैमा प्रहरीले मदनलाई समात्यो र भ्यानमा राखेर लग्यो । हामी दौडेर मदनको घरमा गएर सबै कुरा सुनायौँ । मदनको आमा त्यहिँ ढल्नुभयो । मदनको बुबा छिमेकका काकाहरुलाई लिएर चौकीतिर लाग्नुभयो । हामी पनि डरले आ–आफ्नो घर लाग्यौ । रातभर डरले आमाको अँगालोबाट हात समेत नझिकिकन सुतेँ खासै निद्रा पनि परेन । बिहान आमाले रातभर कत्ति बरबराईस् सात्तो गयो कि समेत भनेको याद छ । साह्रै डर लागिरहेको थियो । स्कुल जान समेत कसरी जाने झैँ भयो तर पनि जानै प¥यो । तर पनि आमालाई घरी घरि सोधिरहेँ आमा मदनलाई किन पुलिसले लगेको ? आमाले मलाई थाहा छैन आजबाट खेल्न गइस् भने खुट्टा भाँचिदिन्छु भनेर हकार्नु भयो । स्कुलबाट फर्कदा त घरमा एक हुल अपरिचित मान्छेहरु मलाई नै कुरिरहेका थिए । म वास्तै नगरी घर भित्र छिरेँ आमाले बोलाउनु भयो । म निस्केँ । निस्केपछि म नै अपराधी जसरी सोधपुछ गरियो । मैले मलाई केहि जानकारी नभएको बताएँ । आखिर मलाई थाहा पनि त केहि थिएन । पछि आमाले भन्नुभयो कि मदनले समितालाई जर्बजस्ति गरेर पुलिसले पक्रेको रहेछ । म त के भए नै थाहा छैन जब कि मैले त्यो भन्दा के हो समेत बुझेकी थिईनँ । मेरै उमेरकी समिता, खै कसरी भयो यस्तो मलाई थाहा नै भएन । दिन बित्दै गयो । हाम्रो खेल्ने थलो सुनसान बन्दै गयो घरबाट खेल्न जाने दायाँ बायाँ जाने कुरामा बन्देज झैँ लाग्यो । म लगायत खेल्ने साथीहरु सबैलाई पुलिसकोमा लैजाने कुरा भएछ । त्यसको अघिल्लो दिन मेरो घरमा फेरी एक हुल मान्छेको भिड लाग्यो रात परेपछि । 
    नेता, बुद्धिजीवी, संघ–संस्थाका प्रतिनिधि सबै थिए । म आफैँ पीडित भइसकेकी थिए । अनेक तरहले मैले जर्बजस्ति गरेको देखेको भनिदिनुपर्ने दाबाब आयो । जर्बजस्ति करणी भनेको नै नजानेकी मलाई दादाले समिता लगायत मेरो पनि यहाँ चलाउनु भयो उहा चलाउनुभयो यसो गर्नु भयो उसो गर्नु भयो भन्न लागाईयो । मैले देखेको छैन म भन्दिन भन्दा मलाई फकाउने, हप्काउने तर्साउने लगायतका कुरा सुनाईयो । आमालाई समेत नानाथरी भने । गाउँका नेता आए, अपराधीलाई उम्कन दिनुहुन्न तैले भन्नै पर्छ भने । मलाई किन यति धेरै गरिराछन् मेरो बाल मस्तिष्कले कसरी बुझोस् । आमालाई प्रलोभन समेत दिन पछि परेका थिएनन् तिनीहरुले । मैले अझै पनि नदेखेको कुरा भन्दिन । मलाई दादा र साथी दुबैको माया छ भने दुबै जना अस्ति जस्तै म संगै खेल्न आउनुपर्छ भने । त्यसपछि मलाई झुक्याईयो मैले यो सब प्रहरीकोमा भनेमा मदन दादा तथा समिता दुबै पहिले जस्तै खेल्न आउने भन्दै रातभर मलाई छोडेनन् आमाले त मुन्टो हल्लाउदै नभन्न आग्रह नगरेकी होईनन् तर मैले मात्र साथीहरु सँगै खेल्न पाउने स्वार्थका लागि उनीहरुको साथ लागे जसो जसो भन भने उसै उसै भन्दै गए । मलाई के थाहा कि मेरो बयानका कारण मदन दादा कहिल्यै लामो समय जेल जान्छन भनेर । मलाई आजसम्म पनि थाहा छैन कि मदनले साँच्चिकै समितालाई जर्बजस्ति गरेको थियो भनेर । म विश्वास गरुँ कसरी जबकी मेरो आँखाले न केहि देख्यो न महसुस नै ग¥यो । विश्वास नगरुँ आफ्नै छोरीलाई जर्बजस्ति नै नगरी कसरी भन्न सक्छ उसको आमा र परिवार ? समिता माथि घटना घटेको भए पनि मेरो गल्ती भनेको अरुको लहलही र झुक्यानमा परेर गलत कुरा बयान गरेँ । मदन गलत हो होइन मलाई थाहा छैन तर मैले जे बोलेँ गलत बोलेँ भन्ने कुराले म सधैँ छटपटिरहेको छु । अदालतले जेल पठाएको छ । गाँउभरी हल्ला भयो मदन फलानो अपराधी हो भनेर । मदनको पक्षमा बोल्ने त्यतिबेला मैले कोहि देखिन । उ पनि बच्चा नै थियो भन्ने सहानुभुति त परै जाओस् । यदि मदनले गल्ति गरेकै थियो भने उसले सजाय पायो ठिकै छ तर गल्ति थिएन भने त्यसको परिणाम के हुन्छ यो समाजले त्यो कहिल्यै सोचेन । म जस्तो अबोधलाई समेत फकाई फुलाई गलत बोल्न लगाईयो । किन स्वतन्त्र रुपमा आफ्ना कुरा समेत बोल्न दिदैन यो समाज । स्वतन्त्र रुपमा भन्न सम्म दिएको भए पनि मलाई त्यति आत्माग्लानी हुन्न थियो होला, त्यसले त्यति पोलेको छ । मलाई जति आगोले किन पोल्थ्यो होला । प्रत्यक्ष रुपमा मैले गल्ति गरेको पनि होइन, देखेको पनि होइन र मलाई कसैले केहि गरेको पनि होइन भन्ने सत्य मैले मेरी आमा बाहेक कसैलाई भनिनँ । आमाले मदनको परिवार मार्फत एकपटक मेरो सत्य कुरा अदालतमा सुनाउन प्रयास पनि गर्नु भएको थियो तर ढिला भइसकेको थियो । कस्तो समाज छ हाम्रो पैसा विना त निरपराधी समेत अपराधी बन्नुपर्ने, भएको अपराध समेत छोपिने । नेता भ्रष्ट, कर्मचारी भ्रष्ट अड्डा अदालत सबै भ्रष्ट । निमुखाले निस्कलंक बाँच्न सक्ने अवस्थै छैन । पैसाको निम्ति राजनीति गर्ने र जागिरको निम्ती आफ्नो नैतिकता समेत गुमाउनेहरु देख्दा साह्रै दुःख लाग्छ । 


मिना बान्तवा
बनेपा, काभ्रे