2024 April 26/ 10:11: 28pm

    ‘यो दशंैमा म आउन पाईनँ, सम्झनालाई पठाउन केहि पाईनँ’ सम्झिरहन्छु यो गीत । जब–जब दशैं आयो तब तब यो गीत र यसको संगीतले मन भुलाउने प्रयास गर्छु । प्रवासमा मजदुरी गरिरहेको छु । एउटा काम भनेर म्यानपावर कम्पनीले कतारमा पठायो अर्काे काम गर्नुपर्ने बाध्यता आईलाग्यो । गरौं आफूले भने जस्तो र सहज छैन । पैसा पनि भने जति र सम्झौता अनुसार छैन । नगरौं बैदेशिक रोजगारका लागि भनेर ऋण गरी गरी केहि कमाउन सकिन्छ कि ? घर परिवार र आफन्तहरुलाई पैसा नभएकै कारण सुख र सन्तुष्टिबाट बञ्चित हुने डर भगाउन सकिन्छ कि ? यस्ता धेरै सोच, चिन्तनबाट विदेशिएको म तत्काल नफर्कने निर्णय गरें । झण्डै २ लाख रुपैयाँ खर्च गरेर विदेशिएको मेरो अनुभूति भनि साध्यै छैन । कसैले पत्याउन सक्छ । कसैले नपत्याउन पनि सक्छ । वास्तविक पीडा भोग्नेलाई थाहा हुन्छ । जसले भोग्यो उसलाई भावनाको कुरा लाग्छ । मन सन्तुष्टि हुन्छ । मन भित्र गुम्सिएका अनेक कुराहरु पोख्न पाउँदा सहज हुन्छ । सरल लाग्छ । आनन्द त्यसपछि आउने रहेछ । 
    झण्डै दुई वर्ष हुन लाग्यो विश्वभर कोभिडको महामारीले आर्थिक, सामाजिक, साँस्कृतिक र ब्यक्तिका स्वतन्त्रताका हकहरु पनि कुण्ठित हुन थालेका छन् । रोजगार गुमेको छ । आर्थिक समृद्धिको सपना चकनाचुर भएको छ । बाँच र बचाउ भन्ने सन्देश छर्न थालिएको छ । ब्यक्ति आफु बाँच्नका लागि संघर्ष गर्न बाध्य भएको छ । जस्तो सुकै विपत्ति आओस् पीडित हुने भनेको गरिव नै रहेछ । उसको चुल्हो बल्न नसक्दा एक बोरा चामल उपलब्ध गराएर जिम्मेवारी मुक्त भईयो भन्ठान्ने नेताहरु तथा सरकारी कर्मचारीहरुलाई उसका १२ महिनाकै दिनहरु कति कष्टकर बने होलान् ? बुझ्न पनि सक्दैनन् । सरकार कार्यक्रम ल्याउँछ त्यो सबै पहुँचवालाहरुलाई मात्रै हुने रहेछ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा पनि हामी गरिबहरुलाई त्यस्तै भएको अनुभूति भयो । अहिले सरकारले फेरी प्रतिपरिवार १० हजार वितरण गर्ने चुनावी नारा बनाएको सुनिदैछ । त्यो पनि हामी जस्ता गरिबका घरमा आईपुग्दैन । किनकी त्यो फेरी चुनाव हुँदा भोट राख्ने कार्यकर्ताको परिवारले पाउनेछ । हामी जस्ता गरिबहरुको सिफारिस पनि हुन सक्दैन । बोलिदिने पनि कोहि हुँदैन । तर पनि मनले भन्छ कुनै दिन हाम्रो पनि पालो आउँछ कि ? बुबा आमाले भन्नुभए जस्तै सधै रात हुँदैन । दिन पनि आउँछ । सधैं अँध्यारो हुने हो भने यो समुदाय र समाज कसरी चल्थ्यो होला र ? 
    बाल्यकाल सहज भएन । बुबा आमाको पहिलो सन्तान रहेछु । म जन्मने वितिक्कै आमाको निधन भएको रहेछ । म ७ दिनको थिएँ रे । हजुरआमाको न्यानो काखमा रमाउन त पाएँ तर आमाले दिने माया र ममतामा स्वभाविक हो कमी आउने नै भयो । उहाँले आमाको माया कम हुन नदिन मेरा लागि गर्नु भएको मेहनत, परिश्रम र माया ममताको जति बयान गरी साध्य छैन । ७ दिनमा आमा वितेको सन्तान पनि बाँचेको छु । आज २÷४ कुरा भन्न सक्ने भएको छु । हजुरबुबाले बुबाको घर विग्रने डरले मलाई आफैसँग राखेर दोश्रो विवाह गरिदिनु भएको रहेछ । हुर्कदै गएँ । विद्यालय जाने उमेरमा मलाई पनि भर्ना गरिएको रहेछ । बुबा र आमाले मलाई नियमित विद्यालय पठाउन मेहनत त गर्नुभयो तर म प्राथमिकतामा परिनँ । मेरा भाई बहिनीहरु नियमित विद्यालय जाँदा मैले उनिहरुको रेखदेखमा समय बिताउनु प¥यो । उनिहरुको रेखदेख मेरो पहिलो शर्त बन्न थाल्यो । मलाई पनि लाग्यो भाई बहिनी खुशी भए भने त मैले आफैले पढे जस्तै हो । सामान्य अक्षर चिन्न थाले पछि मैले विद्यालय छाडेर घरको काममा जोड दिएँ । बुबा आमाले पनि मलाई त्यसमै रमाउने अवसर दिनुभयो । सायद अध्ययन गरेको भए मैले पनि सुखी जीवन जिउन पाउँथे कि ? विस्तारै हुर्कदै गए पछि थाहा भयो मलाई मेरो आमा सानैमा बित्नु भएको रहेछ । त्यसपछि मलाई आमाको मायामा कमी भएको महसुस हुन थाल्यो । आपूmलाई भन्दा भाई बहिनीहरुलाई धेरै माया गरेको जस्तो लाग्न थाल्यो । यो डाहा पनि थियो ? सायद अरु कुनै मेरो भ्रम मात्रै थियो कि ? दशैं आउँथ्यो बुबा आमाले मलाई भन्दा उनिहरुलाई पो राम्रो कपडा ल्याई दिएको हो कि जस्तो लाग्थ्यो । मलाई बर्षको एक जोर कपडा किन्दा उनिहरुलाई विद्यालय पोशाक बाहेक अरु दुई जोर आउँथ्यो । मलाई भारी बोक्न, घाँस काट्न जस्तो भए पनि हुन्थ्यो । कतै जानु थिएन । मावल जानु परे मलाई लिन आउनु पर्दथ्यो । धेरै पछि मैले आफ्ना मामाहरु भएको थाहा पाएँ । आमा नै नभए पछि मामाहरुको पनि प्राथमिकतामा परिँदो रहेनछ । दशैं आउँथ्यो उनिहरु मामाघर जान्थे । म उनिहरुको पछि पछि लाग्थे । लाग्थ्यो म अलिक ठुलो भएर पो मामाहरुले मलाई कम पैसा दिए होलान् । कुरा त्यस्तो होईन रहेछ म सौतेनी आमाको छोरा भएकाले रहेछ । नाना, छाना र मानामा गरिएको फरक फरक ब्यवहारले मलाई विद्रोहको भावना जन्माउन पुग्यो । विद्रोहि यस्तो मानेमा कि भोलि म आफै पैसा कमाउँछु र उनिहरुलाई पनि पैसा दिन्छु् । मामाघरमा किन फरक–फरक ब्यवहार गरियो ? केहि वर्ष पछि मैले आफ्नै मामाघर चिनें । मामाघरमा गएर सोधें आमा विते पछि उहाँबाट जन्मिएको सन्तान तपाईको आफन्त होईन ? मलाई त्यो खालको ब्यवहार किन भएन ? झगडा पनि गरें । उहाँहरुले त्यसदिन महसुस गर्नु भयो होला सायद म त्यहि बेला देखि म उनिहरुको मामाघर जान छाडेर आफ्नो मामाघर जान थालें । बुबाले केहि भन्नु भएन । मलाई आवश्यक भएका सामानहरु खरिद गरिदिनु हुन्थ्यो । उहाँमा सन्तानलाई गर्ने ब्यवहारमा विभेद नदेखिए पनि मलाई महसुस हुन्थ्यो । आमाको ब्यवहारको बुबाले प्रतिकार गर्न नसक्दा म सधै हेपिएको महसुस हुन्थ्यो । 
    चाडपर्व नजिकिदै छन् । त्यतिबेलाका सबै कुराहरुले मन चसक्क हुन्छ । बालबालिकाहरुमा पर्न जाने मनोभावना जीवनभर रहिरहन्छ । आजकाल मैले आफ्ना सन्तानहरुमा त्यो खालको छाप नपरोस् भन्ने उद्देश्यले हरेक कुरामा ख्याल राख्न भनेको छु । बैदेशिक रोजगारका क्रममा त्यस्ता धेरै विषयले प्राथमिकता पाएको छ । तीन वर्ष भयो म विदेशिएको । अध्ययन गर्न नपाएकाले धेरै ज्ञान त छैन तर अनुभवले भन्छ टुहुरा सन्तानको ब्यथा फरक नै हुन्छ । भाई बहिनीहरु एसएलसी दिने भए । मेरो विवाहको कुरा चल्यो । कारण एउटै थियो विवाह गरे पछि घरमा काम गर्ने मान्छे थप हुन्छ । उनिहरु सबै अध्ययन गर्न पाउँछन् । मैले नाई भन्न सक्ने अवस्था पनि थिएन । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा मेरो विवाह भयो । २०५५ साल मंसिरमा सामान्य तरिकाबाट विवाह भयो । अहिले जस्तो जन्ति धेरै जाने चलन थिएन । रातिको विवाह थियो । घरबाट दिउँसो १ बजे तिर हिडेर साँझ पुगेका थियौं हामी । केहि सम्झना छन् । रातभर श्लोक भन्दा भन्दै उज्यालो भएको थियो । म खुशी नै थिएँ । अहिले जस्तो श्रीमतीसँग मनका कुरा भन्न सक्ने, उनिहरु पनि हामीसँग बोल्न सक्ने अवस्था थिएन । श्रीमान् श्रीमती बोल्ने भनेको ओछ्यानमा पुगे पछि हो । त्यो पनि साउती गरेर बोल्नु पर्दथ्यो । अरु कोठामा भएका सबै मान्छेहरुले सुन्नु पनि भएन । घर पनि त्यस्तै हुन्थे । विगतका दिनहरु सम्झँदा कहालि लागेर आउँछ । विहान उठेर भैंसीलाई खोले पकाउने, भकारो सोहोर्ने, दुध दुहुने अनि घाँस गएर आउने र खाना खाने । दिउँसो फेरी सोत्तर लिन जानुपर्ने । हामी दुवै जनाले मेहनत ग¥यौं । तीनवटा भैंसी र दुईवटा गाई थिए । झण्डै ४० लिटर दुध विक्री गर्दा पनि मनमा लागेका केहि राम्रा राम्रा कपडाहरु लगाउने अवसर मिलेन । कतै जानु प¥यो भने बुबाको निगाहमा थोरै रकम लिएर जानुपर्ने हुन्थ्यो । श्रीमतीका चाहना कसरी पुरा गर्नु ? तिजमा माईत जाने बेलामा विवाहमा किनिएको सारी लगाएर जानु पर्दथ्यो । उनी पनि भन्न सक्दिनँ थिईन् । तर मेरो मनले भन्थ्यो उनलाई त्यो खालको समस्याले पिरोलेको छ । तरपनि मैले माया धेरै गरेकाले उनले त्यो सबै कुरा बिर्सन पुगेकी थिईन् । 
    दशैंको बेला थियो । बुबाले हामीलाई छाडेर अरुलाई मात्रै कपडा ल्याई दिनुभयो । मन खल्लो भयो । विवाहको बेला सिलाएको कपडा लगाएर दशैं मनायौं । दशैं लगत्तै मैले अलग्गै बसेर एक्लै संघर्ष गर्ने निर्णय गरें । बुबासँग अंश मागें । बुबाले मलाई उल्टो चड्कन लगाउनु भयो । केहि सिप लागेन । ससुरालीमा सल्लाह गरें । मावलीमा सल्लाह गरें । श्रीमती गर्भवती थिईन् । यस्तो बेला अलग हुनु राम्रो होईन भन्ने सल्लाह दिनुभयो । बुबाको कुरा ठिकै रहेछ । श्रीमतीको ज्यान अलग अलग भई सन्तान जन्मिएको ६ महिना पछि मात्रै मलाई बुबाले अलग राखिदिनु भयो । अनि शुरु भयो संघर्षको कथा । एक्लो हुँदा र सगोलमा हुँदा । केहि समय दुःख गरेर ऋण काढेर विदेश आएँ । विदेशमा केहि वर्ष दुःख गरेर घर फर्किएँ । श्रीमती र सन्तान खुशी बनाउने चाहना बाहेक केहि थिएन । केहि रकम कमाएँ पनि । केहि वर्ष स्वदेशमै दुःख गरें । अर्काे सन्तान पनि जन्मियो । दुई सन्तान छाडेर म २०७६ सालमा कुवेत लागें । श्रीमती मेरो लागी स्वदेशमा दुःख गरिरहेकी छिन् । म विदेशमा । सन्तान हुर्किरहेका छन् । कोभिडले धेरै काम हुन सकेन । ६ महिना काम नगरी विदेशमै रहिरहें । अझै केहि ऋण बाँकी छ । भुकम्प पछि भत्किएको घर निर्माण गर्नु छ । छोराछोरीको शिक्षा दिक्षाका लागि दुःख गर्नु नै छ । विदेशी भूमिमा रहेर नजिकिएका चाडबाडहरु मनाउन नपाउँदा छटपिट्ट भएको छ । सबैको चाहना हुन्छ चाडपर्वहरु आफन्तसँग मनाउँ । मलाई पनि कति कति सम्झना । तर के गर्नु ? विदेशमा बसेर सम्झना बाहेक केहि गर्न सकिँदो रहेनछ । 
    बडा दशैं सबै नेपालीको सुखमय होस् । हामी लाखांै युवाहरु श्रमकै लागि विदेशिन बाध्य भएका हौं । सरकार र राजनीतिक दलहरुले हाम्रो ब्यथा कथा सुनुन् । परिवारको काखमा बसेर श्रम गर्न पाउँदा कति आनन्द आउँछ होला ? दशैं आयो । तिहार आउँछ । अर्काे वर्ष यस्ता चाडपर्वहरु पैसाकै लागि छाडेर हिड्नु नपरोस् । सबै नेपालीहरुको तर्फबाट विदेशी भूमिबाट अनुरोध गर्छु । 

श्रीकृष्ण तिमल्सिना
सिन्धुपाल्चोक, मेलम्ची
हालः कुवेत