2024 April 26/ 10:37: 34am

    भाग्यमा लेखेको कुरा हुने रहेछ । नपुग्दो केहि थिएन र छैन पनि । अझै पनि मलाई बुबा आमाले मेरो चाहना अनुसार अध्ययन गराईदिने बताउनु भएको छ । कसरी बिग्रिएँ म ? त्यसको कारण खोजिरहेको छु । मैले मेरा बाबा आमालाई सधै ढाँटिरहें तर आफ्नो मनलाई कहिल्यै ढाँट्न सकिनँ । मनलाई ढाँट्न नसकेकै कारण अभिभावकको साथमा आईपुगेको छु । भलै उ पनि सोझै रहेछ । उसले चाहेको भए मलाई नरकमा पु¥याउन पनि सक्दथ्यो । त्यो जिल्लाका हरेक मान्छेहरुको दिमागमा त्यहि बाहेक अरु छैन । अझ हामी जस्ता बालबालिकाहरु पाए पछि उसले जे जे गरेको भए पनि सक्दथ्यो । उसले पनि भित्रैबाट माया गरेको रहेछ । शुरुमा मलाई उ बाहेक कोहि चाँहिदैन जस्तो लागेको थियो पछि त्यस्तो लागेन । बाबा, आमा भनेका सबै भन्दा प्यारा रहेछन् । पछि भेटिएका मान्छेहरुले बुबा आमाले दिने माया दिन सक्दा रहेनछन् । उमेर अनुसार फरक फरक हुने होला तर अहिलेलाई मैले त्यहि सोचें । 
    भुकम्पले घर लड्यो । सिन्धुपाल्चोक जिल्ला । भुकम्पको केन्द्र बन्यो । धेरै हताहत भए । म जुन स्थानमा जन्मिएँ । हुर्किएँ । त्यहाँ भुकम्पले ठुलो क्षति गरायो । त्यो गाविसका अधिकांशको लेक र बेशी छ । खेत हुनेहरुले लेकबेशी गर्छन् नहुनेहरुलाई त्यो गर्नु पर्दैन । घर अगाडी विद्यालय छ । घरबाट केहि समय हिडे पछि पुग्ने विद्यालयमा मैले क ख सिकें । एक दाई, एक दिदी र एक भाई छन् मेरा । बुबा आमाले हामीलाई कहिल्यै खान र लगाउन समस्या पार्नु भएन । बुबा त सानै देखि काठमाडांैमा काम गर्नुहुन्थ्यो । बुबा कहिलेकाँहि मात्रै घरमा आउनुहुन्थ्यो । हामी सबै आमाको हुकाईमा थियौं । खेतमा गोठ थियो । त्यहि गोठमा गाई बस्तु पालिएका थिए । गाउँ भए पनि खासै दुःख थिएन । रमाईलै थियो । बुबासँग म कहिलेकाँहि काठमाडौं जाने आउने गरेको थिएँ । पढाई पनि नराम्रो थिएन । विद्यालयमा सबैले मलाई सोझी छस् भन्दै जिस्क्याउँथे । मान्छेको अनुहारले सोझो र चलाख कसरी थाहा हुँदो रहेछ र ? फेरि केलाई सोझो भन्ने ? केलाई चलाख ? मनभित्र मान्छेले कसैलाई चिनेको हुँदैन । त्यहि मन क्षणम कता पुग्दो रहेछ । क्षणमै कता ? कसले सम्हाल्ने ? गाई बस्तु भए पो दाम्लोले बाँधेर राख्नु ? त्यो पनि उसको स्वतन्त्रतामा दाम्लो छिनालेर कुदिरहन्छ । केहि केहि साथीहरुको विद्यालयमा प्रेम प्रसंगले चर्चा चल्थ्यो । मलाई त्यो पनि मतलब थिएन । केहि साथीले प्रेमपत्र दिएका थिए मैले वास्तै गरेको थिईनँ । अलिक राम्रो पनि थिएँ म । कक्षा ७ पढ्दै केहि साथीहरुले मन पराएको बताउँथे । मलाई मतलबै हुँदैन थियो । 
    मध्यम खालको अध्ययन थियो । गाउँमै बसेर पढ्ने तयारी थियो । भुकम्पले हाम्रो घर लड्यो । भाई पनि अलिअलि बिरामी थियो । बुबाले भाई र मलाई काठमाडौं लगेर पढाउने कुरा बताउनु भयो । बुबा काठमाडौंमा ग्यारेजमा काम गर्नुहुन्छ । विहान बेलुका खाना पकाउने, खुवाउने आफु पनि खाएर भाईलाई लिएर विद्यालय जाने । भाई अलिक विरामी भएकाले निरन्तरको रेखदेख आवश्यक थियो । बुबाले पनि त्यहि भनिरहनु भएको थियो । कतिपटक विद्यालयबाटै उसलाई पढाई छाडेर घर ल्याईएको थियो । भाईलाई निको हुँदै गएको थियो । बुबा ग्यारेजमा जाने भएकाले मलाई तत्काल बोलाउनु प¥यो भने केहि साधन थिएन । घरबेटीको घरमा फोन भए पनि हामीलाई पहुँच थिएन । बुबाले मलाई एनसेलको सिम किनिदिएर एउटा मोबाईल साथमा राखि दिनुभयो । किनकी भाई विरामी भयो भने तत्काल खबर गर्नु भनेर । शुरु शुरुमा मलाई त्यो मोबाईल प्रति आकर्षण पनि थिएन । मतलब पनि लाग्दैन थियो । विहान उठेर खाना पकाएर खाएर विद्यालय जान धौ–धौ थियो । टिकाथलीमा रहेको महेन्द्र आदर्श माविमा कक्षा ८ मा भर्ना भएको थिएँ । भर्खर म १४ वर्षको लाग्दै छु । केहि साथीहरु कक्षा ९ मा पढ्न थालेका छन् । मलाई सानोमा एक वर्ष विद्यालय ढिला भर्ना गरि दिएकाले एक बर्ष पछि परेको रहेछु । दिनहरु वित्दै गए । दशै र तिहार विदा भयो । दशैंमा पनि हामी सबै जना घरमा गयौं । रमाईलो भएको थियो । शुरुमा दशै तिहार विदा भनिएको पनि पछि विद्यालय खुल्यो । दशैं सकेर विद्यालय खुलेपछि हामी फेरी घरबाट काठमाडौ आएका थियौं । बुबा त हामी आए पनि नआए पनि पहिल्यै कामका लागि आउनु भएको थियो । हामी तामाङ समुदायका भए पनि बुबाले कहिल्यै जातभात भन्नु हुँदैन थियो । हामी पहिला नेपाली अनि तामाङ । नेपाल रहे मात्र हामी तामाङ, बाहुन जस्ता जातहरु रहन्छौं । समाजमा भएका सबै जात हाम्रा लागि बराबर हो । वल्लो घर तामाङको छ । पल्लो घर बाहुनको छ । अर्काे घर अर्काे जातको मान्छेको छ । समाजमा, छिमेकमा जो म¥यो भने पनि बढ्यो भने पनि भोज भने पनि त्यहि समाजका सबै जातका मान्छेहरुको समुह बन्छ । नेताहरु यो जात र उ जातको राज्य भनेर नेपालीहरुलाई फुटाईरहेका छन् । हैन यिनीहरु कसका लागि राजनीति गरिरहेका छन् हँ ? बुबाले भनेको कुराले मलाई चसक्क छोईरहेको थियो । 
    तिहारको बेला ७ दिन विद्यालय बन्द भयो । बुबाले भाई र मलाई घर पठाईदिनुभयो । अभाव नै अभाव थियो । बसहरु खचाखच थिए । मलाई बसपार्कबाटै रामेछापका लागि बस चढाई दिनुभयो बुबाले । बसको छतमा चढेर सिन्धुपाल्चोकको यात्राका लागि मैले बाटो तताएँ । कोटेश्वर आउँदा नआउँदा एकजना केटाले मलाई कता हो बहिनी भनेर सोधे । उनी सिन्धुपाल्चोक जिल्ला ठुलो सिरुवारी गाविस ९ झयाम्टीका रहेछन् । उनी पनि लामो समय देखि काठमाडौमा बसेर गाडीको ग्यारेजमा काम गर्दा रहेछन् । मान्छेको खचाखचले उनी र म एकै स्थानमा बस्न पुग्यौं । बस कोल्टो पर्दा उनले मलाई, मैले उनलाई समाउँथ्यौं । सिन्धुपाल्चोक पुग्दा नपुग्दा उनी र म घनिष्ट भैसकेका छौं । उनले प्रयोग गर्ने नम्वर र मैले प्रयोग गर्ने नम्वर साटासाट ग¥यौं । बुबाले किनिदिएको मोबाईल मैले घर जाँदा पनि लिएर गएको थिएँ । एक पटक हामीले सँगै हुँदा पनि मोबाईल मोबाईलमा कुरा गरेर आनन्द लियौं । उ बनदेउमा बसबाट ओर्लियो । हाम्रो बस रामेछाप जाने भएकाले बाटो फरक भयो । हामी दुबैले प्रण ग¥यौ कि एकले अर्काेलाई फोन गरिरहने । उ घरमा पुगेर ग¥यो । म चरिकोट मात्रै पुगेको थिएँ । मैले पनि रामेछाप पुगेर गरें । त्यसदिन हामीले फोनमा दुई पटक कुरा ग¥यौं । 
    मलाई कहिल्यै मोबाईलको वास्तै नहुने त्यस बेला देखि मैले मोबाईल नै छाडिनँ । कसैले देख्ला भनेर लुकीलुकी कुरा गर्ने गरें । उसको मेरो कुरा नै कहिले भेट्न आउने ? कहिले तिमी र म सँगै बस्ने ? मात्रै हुन्थ्यो । तिहार पनि सकियो । म काठमाडौ आएँ । काठमाडौ आउँदा पनि उसलाई फोन गरेरै आएको थिएँ । गाउँमा तिहार पछिको एकादशीको मेला लाग्ने गरेको छ । दशै तिहार भन्दा त्यो रमाईलो जात्रा हो । त्यो जात्रामा आउने बताएँ । उ पनि घरमै बसिरहेको थियो । उ भर्खर १८ वर्षको भएको रहेछ । सोझो नै थियो । कुरा गर्दा पनि डराई डराई गर्दथ्यो । तिमीलाई साथी बनाउँछु, पछि श्रीमती बनाउँछु भन्थ्यो । म उसको श्रीमती हुन तयार भएको थिएँ । तर श्रीमती भए पछि के के हुन्छ ? के के भोग्नु पर्छ ? सानो उमेरमै श्रीमती हुँदा के हुन्छ मलाई केहि पत्तो थिएन । उसले हरेक पटक फोन गर्दा भेटौं बाहेक केहि भन्दैन थियो । २०७२ मसिंर ६ गतेको कुरा हो । हामीले ५ गते नै फोनमा कुरा मिलाएका थियौं । नभन्दै आमाले मलाई एकादशीको जात्रामा जान खेतमा रहेको गोठका बस्तुलाई खान राख्न पठाउनु भयो । मैले नयाँ नयाँ लुगा लगाएँ । खेतमा खाना राख्ने भन्दै म गोठमा नगई लामाबगर झरें । बस आयो त्यहि बसमा चढेर चरिकोट पुगें । विष्णु पाँच गते नै आएर बसेको थियो । 
    मलाई भेट्ने वितिक्कै उ खुशीले गद्गद् भयो । खाजा खाने हो ? मैले होईन कहाँ लैजाने भन्या हो लिएर हिडी हाल । नभन्दै उसले मलाई अलिक माथीसम्म हिँडायो र उसकै घर सिन्धुपाल्चोक ल्यायो । शुरुमा मलाई रमाईलै भयो । उसले मेरो मोवाईल अफ गर्न भन्यो । मैले चार्जर पनि ल्याएको थिईनँ । एक दुई दिन पछि आमा बुबाको खुब याद आयो । शुरुमा उसले घरमा साथी भनेको थियो पछि मैले विवाह गर्ने केटी यहि हो । यो मेरो श्रीमती भन्यो । हामी सँगै पनि सुत्यौं । मलाई केहि मतलब पनि थिएन । उसलाई घरमा फोन गरौ न भनें उसले हैन तिम्रो बुबा ममीले हामीलाई छुटाउँछन्, कुटपिट गर्छन् कुरा नगरौ भन्यो । धेरै नै याद आयो मलाई घरको । मैले मेरो मामाघरको दिदीको नम्वर कण्ठ गरेको थिएँ । उसको मोवाईलबाट मलाई भेट्न दोलालघाट आउनु भन्दै बोलाएँ । यता ममी र बाबाले मलाई धेरै स्थानमा खोजी गर्नु भएछ । आमा त दुई दिनसम्म बेहोस हुनु भएछ । सोझी भनेकी छोरी हराई ? अर्काेसँग विवाह गरेर गई भन्दा पनि कहाँ पुगि होला ? कसैले लगेर विक्री पो गरिसक्यो कि ? न कसैले मारिपो सक्यो कि ? यस्तै धेरै कुराले अभिभावकलाई चिन्ता थपिदिएको रहेछ । मैले त्यस्तो कुनै परवाह गरिनँ । मात्र आफ्नो खुशी । आफ्नो मनमा लागेको ब्यवहार कर्महरु गर्दै गएँ । 
    दिदीलाई दोलालघाट बोलाएपछि उसलाई मैले साथी जाउ भनें । पहिला पहिला पनि मैले घर जान्छु भन्दा उसले पठाएको थिएन । गाउँका मान्छेलाई समेत मैले घर जाने बाटो सोधेको थिएँ । मलाई घर जान मन लागिसकेको थियो । घर गएँ भने पढि नसकी तिम्रोमा फर्कन्न भन्ने सोच बनाएको थिएँ । उसले जे हुनु भईसक्यो अब यतै पढ भन्थ्यो । मलाई मन नै थिएन । दिदीलाई भेट्न बनदेउ हुुँदै हामी दोलालघाट आउँदै थियौं उ दोलालघाट जान मानेन । किनकी मेरो अभिभावकले उसलाई कुट्लान् भन्ने डर थियो । उ बनदेउमा बस्यो म दोलालघाटको पुलमा आएर बसें । केहि बेर कुर्दा दिदी आईपुग्नु भयो । दिदीलाई मैले सबै कुरा भन्नै सकिनँ । उहाँले मसँग जाउ भन्नु भयो मैले उसलाई बनदेउमा कुराएको कुरै गरिनँ । हामी काठमाडौ गयौं । त्यो बिचमा उसले मलाई एउटा ज्याकेट, कुर्ता सुरुवाल किनिदिएको थियो । उसले श्रीमतीका रुपमा मलाई स्विकारीसकेको थियो । दिदी र बुबाले मलाई गाली गर्नु भएन । सम्झाउनु भयो । सबै कुरा सम्झाएर माया गरेपछि मैले बास्तविकता सबै भनिदिएँ । उहाँहरुले प्रहरीलाई खबर गर्नुभयो । पहिला पनि म हराएको भन्दै उजुरी गर्नु भएको रहेछ । त्यहि उजुरीलाई समेत आधार मानेर भेटिएको खबर भयो । केटालाई पनि प्रहरीकोमा झिकाईयो । मैले उसलाई अब तिम्रो घर जान्न तिमी जे गर भनिदिएँ । उसले लैजान्छु भन्दै थियो । बुबा र दिदीहरुले केटाकेटीलाई फकाउने ? तिमीलाई प्रहरीकोमा थुनिदिन्छु भन्दै तर्साए । त्यसपछि उसले अब म विदेश जान्छु । हामी दुबैले गल्ति ग¥यौ भन्दै मोवाईलको सिम निकालेर भाँचिदियो । मैले पनि सिम निकालेर भाँचिदिएँ । अभिभावकहरुले दिमागबाटै उक्त घटना फालिदिन अनुरोध गरे । केहि समय उसँगै जानु पर्छ छोरी मान्छे हो भन्दै सम्झाउँदै थिए । मैले उसको घरमा उ सँग जाने भए आत्महत्या गरिदिन्छु भनि दिएँ । त्यसपछि पुनः मलाई अभिभावकहरुले काठमाडौमा लैजाने निर्णय गर्नुभयो । 
    अहिले भुकम्पले क्षति बनाएको गाउँ ठडिएका छन् । मान्छेको भरङ्ग भएको मन शान्त हुन थालेको छ । हामी पनि धेरै बुझ्ने भएका छौं । मोबाईलको गलत प्रयोगले केहि क्षणकै आवेगमा मैले ठुृलो गल्ति गरें । जीवनमा यहि नै मेरो ठुलो पहिलो र अन्तिम गल्ति हो । आत्महत्याको प्रयास समेत नगरेको होईन । केहि विग्रिएको छैन । बुबा आमाले पहिलाकै अवस्थामा अध्ययन गराउँछु भनेकाले पुनः विद्यालय जान शुरु गरें । एसईई राम्रो श्रेणीमा उर्तिण भएँ । अहिले ब्याचलर तहमा भर्ना भएको छु । आफ्नो खुट्टामा उभिन सक्ने भए पनि मात्रै विवाह गर्ने तयारीमा छु । अल्लारे बुद्धि र प्रविधिको गलत प्रयोगका कारण विद्यार्थी जीवनमा यस्ताखाले घटनाले भविष्यमा बालबालिकाहरुको अवस्था के होला ? प्रविधिको प्रयोग होईन दुरुपयोग, अभिभावकहरुको निगरानीमा कमि भयो भने बालबालिकाहरु केहि क्षणमा बाटो बिराउन के बेर ?

सन्तोषी सिम्खडा
सिन्धुपाल्चोक
हालः काठमाडौं