2024 April 26/ 10:41: 43am

    २०४५ सालमा मेरो जन्म भयो । साविक भूमेडाँडा गाविस वडा नम्वर ६ नम्बरमा हाम्रो परिवार थियो । जंगलको छेउ थियो । त्यतिबेला देखि विकट मानिएको गाउँ अहिले पनि खासै फरक छैन । अहिले सडक, बत्ति पुगेको छ अन्य हकमा त्यस्तै हो । लेकमा जन्मिएपछि विद्यालयको कुरा परै जाओस् । घरमै पनि कसैले क ख सिकाउने अवस्था थिएन । परिवार ठुलो रहेछ । ६ दिदीबहिनी र पाँच दाजुभाई । बुबा आमालाई सन्तान हुर्काउन र बढाउनै समस्या थियो । तामाङ समुदायका बालबालिकाहरु विद्यालय जाने कमै हुन्थ्यो । छोरीहरु मध्ये म काईली थिएँ । मेरो एउटा भाई थियो । म भन्दा पछि जन्मेका भाई बहिनीहरुको धरालो लाग्नु पर्दथ्यो । बुबा आमा र दिदी दाईहरु बनमा जाने, अरुको ज्यालापानी गर्ने, घरमा भएका साना सानाभाई बहिनी हेर्ने जिम्मा मेरो हुन्थ्यो । आमालाई असाध्यै गाह्रो हुने रहेछ । नहुनु पनि कसरी ? ११ सन्तानको जन्म प्राय वर्ष पिच्छे नै हुने गरेको थियो । अझ गर्भ रहेका सबै बच्चाहरु जन्मिए जस्तो लाग्दैन । त्यतिखेरको अवस्था पनि त्यस्तै हो । घर, बारी, बस्तुभाउको रेखदेख पनि आमाकै थाप्लोमा थियो । जन्मेका सबै छोराछोरीको उतिकै माया लागि हाल्छ । सबैको चाहना पुरा गर्न पनि धौ–धौ थियो होला । कति पिराउँथ्यौ होला हामी आमालाई । कहिलेकाँहि मेरी आमाको त्यो धैर्यता, आँट र मेहनत देख्दा आफै छक्क पर्छु । 
    विद्यालय जान पाईएन । बुबाले भैंसीहरु पाल्नु भएको थियो । बस्तुभाउ जंगलमा लैजाने, उनिहरुलाई घाँस काटेर खुवाउने, उनिहरुको गोबर सोहोर्ने मेरो दैनिकी थियो । छोरी र बन्सो । एकै पटक ह्वात्तै बढ्छन् रे । शुरु देखि नै छोरीहरुका बारेमा भनिने सबै उखान टुक्काहरु यतिखेर साँच्चै सम्झन्छु । बुढापाकाहरुले प्रयोगमा ल्याएर मात्रै उखान भन्दा रहेछन् जस्तो पनि लाग्छ । आखिर उनिहरुले जे–जे भनेका थिए त्यो आजभोलि दैनिक जीवनमा भोग्नु परिरहेको छ । घर छाडेर खासै टाढा जाने गरिएको थिएन । कहिलेकाँहि कुशादेवी, पनौती र मामाघरसम्म जान्थे म । म भन्दा माथीका सबै दाई दिदीहरुको विवाह भैसकेको छ । बुबाको निधन भएको १८ वर्ष भैसक्यो । बुबा सामान्य विरामी हुनुहुन्थ्यो केहि दिनको अस्पतालमा उपचार पछि घरमा ल्याएको तीन दिनमै बित्नुभयो । अझै भाई र बहिनीको विवाह गर्न बाँकी छ । म धेरै अगाडिको मान्छे त होइन । भर्खर ४७ वर्षको पुग्दै छु । मेरो पालामा पनि पुरातन सोचहरु हावी थियो । चेतनाको कमी थियो । अशिक्षाले मान्छेलाई पहिलाकै कुसंस्कृतितर्फ ढालिरहेको थियो । आजभोलिसम्म त मान्छेलाई धेरै चेतना भरिएको छ । मान्छे रोजगारीमा लाग्न थालेका छन् । आफ्नो गाउँ आफै बनाउँ भन्ने अभियानमा जुटेका छन् । सबैभन्दा ठुलो कुरा मान्छेको चेतना नै रहेछ । चेतनाले मान्छेलाई के सहि के गलत छुट्याउन सहज बनाउँदो रहेछ । त्यति मात्रै गर्न सक्यो भने पनि उसले जीवनमा अरुलाई केहि गर्दिन नसक्ला तर आफ्ना लागि उसले के सहि हो के गलत हो ? अरुको बहकाउ मात्रै हो कि ? भन्ने छुट्याउन सक्ने रहेछ । आजभोलि गाउँमा साक्षर कक्षा, प्रौढ कक्षा के–के चलिरहेका छन् तर पनि मान्छेले चासो दिएको छैन । जीवनमा एक पटक ठक्कर नखाई उसले आवश्यकताको महसुस पनि गर्दाे रहेनछ । 
    मामाघर गएको थिएँ । १८ वर्ष अगाडिको कुरा हो । आफुलाई केटाकेटी नै लाग्थ्यो । अझै पनि त्यस्तै लाग्छ । आमा, दिदी, दाई भाउजुहरुको अगाडी म सधै बच्चा नै सम्झन्छु । हाम्रो जातमा आमाको दाजुभाई अर्थात मामाको छोराहरुसँग विवाह गर्न मिल्ने रहेछ । फुपु र मामाको सन्तानसँग हुने विवाहले खासै बाहिरका केटाहरु खोज्नु नपर्ने वा के हो ? अझै त्यसको बारेमा मैले बुझेको छैन । तर यो चलन राम्रो होइन । आफ्नै सन्तान भित्र विवाह गर्ने परम्परा विस्तारै हट्दै गएको छ । मैले भनेको चेतनाको एउटा नमुना यो पनि हो । आजकालका केटाकेटीहरु यो परिधी भित्र रहँदैन । अहिले त मन प¥यो भने सबै जात समान हो भन्ने अभियान पनि छ त्यो ब्यवहारमा देखिएको पनि छ । १५ वर्ष पुग्दै थिएँ १६ वर्ष प्रवेश गर्दै गर्दा मामाको छोरा राजमान तामाङसँग मेरो विवाहको कुरा टुङ्गिएछ । उहाँले मलाई पहिला देखि नै माया गर्नु हुने रहेछ । म केटाकेटी नै थिएँ उहाँको कुरा कसरी बुझ्नु । एकैपटक मलाई त टिका लगाई दिएर अब तिमी सधै यतै बस्ने हो राजमानसँग भन्नुभयो । के भन्या भनेको त राजमान र तिम्रो विवाह भैसक्यो हामीले टिका लगाई दियौं । म दंग परें । यति चाँडो यति सहज ढंगबाट विवाह । छोरीहरु साँच्चै गोठको किलामा बाँधेका गाईबस्तु जस्तै थिए । उनिहरुको कुनै चाहना परिवारले सोध्दैन थियो । पुश पाल्ने मालिकले उसको बेचविखन वा उसको अधिकारको बारेमा केहि बुझ्दैन । पैसाका लागि उसले त्यो पशुलाई जे पनि गर्न सक्छ । मान्छे अझ छोरीहरुको जीवन पनि त्यस्तै थियो । अहिले पनि गाउँ घरमा त्यस्तै चलन बाँकी होला । छोरीहरुको कुनै भावना नै नबुझी अभिभावकहरुले गर्ने निर्णयले पक्कै पनि छोरीहरु त्यस्तै हुन् कि भन्ने देखाउँछ । मेरो हकमा त्यो लागु भयो तर अहिलेका सन्तानहरुले त्यो ब्यहोर्नु पर्दैन । 
    विवाहका शुरुका दिनहरु धेरै दुःखदायी रहे । बच्चै थिएँ एकातिर अर्काेतिर श्रीमान्, घर ब्यवहारको पीडा एकातिर छँदै थियो अर्काेतिर आफ्नै कुराले झन् तनाव भयो । श्रीमान् श्रीमती दुवैको कुनै आय श्रोत थिएन । खान लाउन झनै दुःख भयो । बस्तु पाल्ने र आवश्यक पर्ने घर खर्च चलाउने गरिएको थियो । १७ वर्ष लाग्दै गर्दा आमा बनें । विवाह गरेकै वर्ष गर्भवती भएँ । मलाई त्यतिबेला मात्रै थाहा भयो आमाले भोगेको दुःख । आमा हुनुको पीडा । विवाह गरेको केहि वर्ष मैले बनको काठ बोक्ने काम गरें । गाउँघरमा भएका सबै काममा मेरो सहभागिता थियो त्यसबाटै जीवन चल्यो । १७ वर्षको उमेरमा म आमा बनें । पहिलो सन्तान छोरी जन्मिई । एकातिर म खुशी नै थिएँ । अर्काेतिर श्रीमान्को अनुहारमा केहि न्याउरो पन थियो । छोरा जन्मेको भए हुन्थ्यो भन्ने उहाँको चाहनालाई मैले बुझेको थिएँ । छोरा मान्छेहरु बाहिर जे देखाए पनि छोरा जन्मियोस् भन्ने चाहना राख्दा रहेछन् । उहाँमा पनि त्यो देखिएको थियो । छोरी अहिले १९ वर्षकी भईन् । छोरी जन्मिएको ३ वर्ष नुहँदै फेरी म गर्भवती भएँ । अर्काे सन्तानको प्रतिक्षामा रहेका हामीले दुःख सुख गरेर जीवन चलाएकै थियौं । दुई देवर थिए । उहाँ जेठो सन्तान हुनुहुन्थ्यो । विवाह गरेको एक वर्षमै हामीलाई अलग्गै राखिएको थियो । झनै हामी माथी ठुलो चुनौती थियो । उहाँ म भन्दा दुई वर्ष मात्रै जेठो हुनुहुन्थ्यो । सानै उमेरमा विवाह, विवाह पछि सन्तान, पेट पाल्ने समस्यासँग हामी जुधिरहेका थियौं । दोश्रो सन्तान पनि छोरी नै जन्मिई । त्यतिखेर हामीले पहिलो सन्तानलाई पनौतीको बोर्डिङ्गमा भर्ना गरेका थियौं । हामी जे भए पनि सन्तानको आँखा शिक्षाबाट खोल्नुपर्छ भन्ने चेतना हामीमा थियो । त्यसकारण आधा पेट खाने तर छोरीहरुलाई नीजि विद्यालयमै पढाउने भन्ने निर्णयका साथ खर्च जुटाउने साहस गरेका थियौ । जेठी छोरी कक्षा ४ बाट प्रथम भएर पाँचमा गईन् । अर्की छोरी ३ मा पढ्छिन् । दुवैलाई गत वर्षसम्म सोहि विद्यालयमा पढाएँ । दुःख सुख जे जे गरेर भए पनि पढाएको थिएँ । अहिले दुवैलाई सरकारी विद्यालयमा भर्ना गरेका छौं । दुवैलाई निःशुल्क छ । पढाईको बोझ छैन । उनिहरुको रेखदेख, पोशाक र स्टेशनरी मात्रै मैले हेर्नुपर्छ । 
    कान्छी छोरी १० महिनाकी थिइन् । श्रीमान् राजमानले विदेश जाने कुरा बताउनु भयो । गाउँमा धेरै कमाई हुन सकेन । केहि वर्ष विदेश बसेर फर्किएपछि दुवै जनाले दुःख गरांैला । केहि वर्षको कमाईले सन्तान पनि पाल्नु प¥यो भन्ने सल्लाह भयो । साउदी अरबमा डेढ लाख रुपैयाँ ऋण काढेर १३ हजार तलब र ओभरटाईम समेत गर्दा २० हजार जति बचाउन सकिन्छ भन्ने उद्देश्यले विदेश जानुभयो । अब फागुनमा १३ वर्ष हुन्छ । जब जब फागुन आउँछ तब तब मलाई त्यसले झनै झम्टन्छ । श्रीमान् विदेश जानु भएको महिना दिन बितिसकेको थियो । फागुनको २२ गते तिर उहाँले मलाई फोन गर्नु भएको थियो । धेरै दुःख गर्नु पर्दैन । मेरो कमाई मासिक २० हजार जति हुन्छ । अर्काे महिना पैसा पठाउँछु । पहिले ऋण तिर्नु । अनि अरु खर्च गर्दै गर्नु । ड्युटी सकाएर अन्यत्र पनी काम ग¥या छु । छोरीहरुको राम्रो हेरचाह गर्नु भन्नु भएको थियो । फोनमा भएको त्यहि संवाद अन्तिम थियो । फागुनको २४ गते तिर उहाँ कम्पनीको काम सकाएर बाहिर पानी पु¥याउन जाँदा गाडी दुर्घटनामा परी वित्नु भएछ । मैले ६÷७ दिन पछि मात्रै थाहा पाएँ । उहाँको फोन आउने दिन कुरिरहेको थिएँ । शनिबारको दिन उहाँले मलाई फोन गर्नुहुन्थ्यो । शनिबार आउनै लागेको थियो । सपना पनि विग्रिएको थियो । आफैलाई कस्तो कस्तो अनुभूति भईरहेको थियो । श्रीमान्को फोन आउने दिन उहाँको मृत्युको खबर आयो । म छाँगाबाट खसेजस्तै भएँ । केहि घण्टा त म बेहोस भएछु । उहाँको शव नेपाल ल्याउनै ८ महिना लाग्यो । ८ महिना म हरेक दिन दौडिरहें । उहाँको शव ल्याउनै मात्र ६÷७ लाख खर्च भयो । उहाँको निधनमा क्षतिपूर्ति स्वरुप साउदीबाट नेपाली ५ लाख र नेपालको कम्पनीबाट ५ लाख दिनुभयो । एकै पटक रकम पनि आएन । उहाँको शब आउँदा त्यो सबै पैसा सकियो । जिउँदो नआएपनि मरेकै भए पनि अनुहार हेर्ने मेरो चाहना पुरा त भयो तर उहाँ नहुँदाका अभाव र संकटलाई कसरी ब्यक्त गरौं ? 
    मलाई कसैले ऋण पत्याएन । १० हजार सापटी माग्दा पोइल जान्छे र तिर्दिन भन्दै हेप्ने गरे । विस्तारै मैले सिप सिक्दै गएँ । म अहिले सिलाई गर्छु । कपडा बुन्छु । त्यसबाट केहि कमाई गर्छु । जे भए पनि हातमा सिप भएपछि मान्छेले हेप्न सक्ने रहेनछन् । बंगुर पाल्या छुृ । त्यसबाट पनि केहि आम्दानी भइरहेको थियो । दुवै छोरीहरुलाई पढाईरहेको छु । अब त छोरीहरु पनि ठुला हुँदै गए । श्रीमान् नुहँदा खुशी त कसरी हुन सकिन्छ र ? तर पनि दुःखसुख जीवनलाई अगाडी बढाउने साहस गरिरहेको थिएँ । श्रीमान्ले म र सन्तानप्रति देखेको सपना पूरा गर्ने कोशिस गरिरहेको थिएँ । विनाशकारी भुकम्पले त्यो सपना लुट्यो । अहिले कोरोनाले झनै संकट निम्त्यायो । भुकम्पले भएको घर भत्काईदियो । एकल महिला झनै संकट भयो । जस्ताको टहरामा समस्यै समस्या थिए । सरकारले दिएको अनुदानले घर बनाए । श्रीमान् विदेश जाने वितिक्कै पनि घरमा चोर आएका थिए । छोरीहरु हुर्कदै गए पछि केहि बोझ त कम भएको छ । तर पनि मान्छेको मन भित्रका असन्तुष्टि कति हुन् कति ? एकल महिलालाई कसैले सहयोग गर्नै नहुने रहेछ । कोहि पुरुषसँग छ बोल्नै नहुने रहेछ । कसरी बिताऊँ समय ? भुकम्पको समस्या, श्रीमान्को निधन पछिका तमाम समस्याहरु झेल्दै आएँ । पसल पनि विस्तारै चलाएँ । मेहनत गरे पछि खान लगाउन दुःख नहुने रहेछ । कोरोना भाईरसको संकटले झनै समस्या बनायो । श्रीमान् विते देखि नै विवाह गर्ने हो ? भनेर सोध्ने पुरुषहरुको संख्या धेरै थियो । आफन्तहरुले पनि चाहेकै थिए । हुर्कदै गरेका छोरीहरुको कलिलो अनुहारले मलाई पुनः सम्बन्धमा फस्न मन लागेन । छोरीहरुको भविश्य भनेकै सन्तानको चाहना रहेछ । आफुले चाहेर मात्रै पनि नहुने रहेछ । जे छ छोरीहरुकै भविश्यका लागि दुःख गरिरहेको छु । महिलाहरुले जन्मे देखि मृत्युसम्म भोग्नुपर्ने सास्ती त कति हो कति ? मैले जे भोगें भोगें अरुले भोग्नु नपरोस् ।  

 

सिर्जना तामाङ
पनौती, काभ्रे