- जिएन प्रधान
“जुन गोरुको सिङ्ग छैन उसकै नाम तिखे” भन्ने नेपाली उखान जस्तै वर्तमान सत्ता राजनीतिमा कथित नेकपा एसको अति भाउ बढेको देख्न सकिन्थ्यो । गएको २०७९ मंसिर ४ मा भएको संघीय र प्रदेश निर्वाचनमा तत्कालीन नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाको नेतृत्वको सात दलीय गठबन्धनको सहयोगमा मुस्किलैले १० सीट प्राप्त गर्न सफल नेकपा एस यतिखेर सत्ता संचालनको लागि च्याँखे दाउ बन्न पुगेको थियो र अहिले पनि छ । यसो त नेकपा एस मात्र नभै जनता समाजवादी पार्टी, नेपालको अध्यक्ष उपेन्द्र यादवको पनि यस्तै च्याँखे दाउ रहेको रहेछ भन्ने कुरा भर्खरैको जनता समाजवादी पार्टी आफै फुट्न गएपछि सबै रहस्य छताछुल्ल भएबाट स्पष्ट हुन पुगेका छ । यी दुई पार्टीका अध्यक्षहरूलाई नेपाली काँग्रेसले प्रधानमन्त्रीको उधारो लालीपप देखाएर अहिलेको नेकपा एमाले सम्मिलित प्रचण्ड नेतृत्वको सत्ता समिकरण भट्काउने प्रयासमा रहेको कुरा पनि दिउँसोको घाम जतिकै छर्लङ्ग भएकै थियो । नेपाली काँग्रेससँगको सत्ता गठबन्धनलाई अप्रत्यासित रुपपमा तोडेर नेकपा एमालेसङ्ग मिली सत्ता समिकरण बनाउन पुगेपछी रन्थनिन पुगेका नेपाली काँग्रेस के गरि हुन्छ यो सत्ता समीकरण भट्काएर खासगरी नेकपा माओवादीलाई पाखा लगाइ मेख मार्नेमा सक्दो कसरतमा लागिरहेका थिए। माओवादी पार्टीलाई बदलावको उच्च भावनामा राखेर जसरी पनि एक्लो बनाउने उद्देश्यले नै नेपाली काँग्रेस नेकपा एमालेसँग्ग पनि अलि नरम, अलि लचिलो, अलिक प्रजातान्त्रिक मैत्रीभाव राखे जस्तै गरि अगाडि बढ्न थालेको पनि प्रष्टै हुन्थ्यो । नत्रभने नेपाली काँग्रेसले २०४६÷०४७ को संयुक्त जन आन्दोलनको क्षणिक समय (करिब ८÷९ महिनाको समय) बाहेक नेकपा एमालेसङ्ग मिल्नु पर्छ र मिलेर अघि बढ्नुपर्छ भन्ने सोच्नमा कहिल्यै सकारात्मक भावना देखाउने आँट गर्न सकेन । यो भन्दा अघिको नेकपा एमालेको बारम्वारको यस्तै प्रस्तावहरूलाई नेपाली काँग्रेसले कति लट्याए, कति लट्याए । नेपाली काँग्रेसलाई लागेको थियो कि संसदमा रहेका अवसरवादी च्याँखे पार्टीहरूलाई हात लिँदै सत्ताको अवसर निरन्तर हातपार्न सफल भएबाट मख्ख नै थिए, निकै खुशी नै थिए । प्रचण्ड जस्तो अस्थिरतावादी र नेकपा एसका अध्यक्ष माकुने र यस समूहका पदलोलुप वादीहरूको मद्दतले एमालेलाई कमजोर या एक्लो बनाइ देशको ठूलो दल बन्न पाई मख्ख हुन पुगेका नेपाली काँग्रेसले कहिलै एमालेसँग सत्ता सहकार्य गरेर अघि बढ्ने कुरामा प्रस्ताव अगाडि बढाउन चाहेन । नेपाली काँग्रेसलाई लाग्थ्यो जे जसरी भएपनि कम्युनिष्टमा फुट र बिभाजन ल्याई आफू बलियो शक्ति बन्नुपर्छ । यहि धारणा र विचार नेकपा एसमा पनि रहेको थियो र अहिले पनि कायम छ । त्यसैले पनि नेकपा एस र यसका अध्यक्ष माकुनेलाई नेपाली काँग्रेस समेतको गठबन्धन तोडेर एमालेसङ्ग मिल्न आएदेखी नै मन खुशी हुन सकिरहेको थिएन । माकुनेको पार्टी नेकपा एसलाई नेकपा माओवादी केन्द्रको प्रचण्डको सहारामा नेपाली काँग्रेससङ्ग मिलेर सरकारमा रहन पाउँदामा निक्कै खुशी को महसुस भैरहेथ्यो । आफूलाई एमालेको अध्यक्ष केपि ओली भन्दा अग्लो कदको छु भन्नमा उच्च गर्व लागेको देख्न सकिन्थ्यो । यसैले पनि माधव नेपालाको फुर्ती निक्कै बढेको देखिन्थ्यो÷थियो । यो सरकार लामो समयसम्म जाँदैन भन्नमा कुनै अप्ठेरो मान्दैनथ्यो । अतः यस्ता यस्ता अभिब्यक्तिहरू आइरहनुको कारण पनि यहि रहेछ कि उपेन्द्र यादवको जसपा नेपाल र आफ्नै पार्टी समिलित नेकपा एस यो सरकारबाट बाहिरिने र नेपाली काँग्रेससङ्ग मिलेर अर्को सरकार बनाउने । यसैले पनि नेकपा एस पार्टी र नेपाली क्सँग्रेसका नेताहरूमा एउटै स्वरको, एउटै किसिमको अभिब्यक्ती एवं भाषणहरू आइरहन्थ्यो । सार्वजनिक मन्चको भाषणहरूमा पनि यो सरकारको आयु एक महिना भन्दा लामो छैन, छिट्टै ढल्छ भन्ने आवाजहरू आइनै रहन्थ्यो । अहिले आएर प्रष्ट भयो कि यिनिहरूको भित्री रहस्य यहि रहेछ, योजना यो रहेछ । जसपाको बाह्य हल्ला र फुर्ती केही नदेखिए पनि भित्र भित्रैको “सुइरे धमिरोको चाल रहेछ “र नेकपा एस र नेपाली काँग्रेसमा” कागे फूर्ती“ चढेको पनि यसैले रहेछ भन्ने पनि प्रष्ट भयो ।
रहस्य यहि रहेछ र पो १० सीट मात्र संघीय संसदमा सदस्य रहेपनी हामी विना अहिलेको प्रचण्ड नेतृत्वको सरकार चल्न सक्दैन र “फु” गर्ने बित्तिकै ढाल्न सकिन्छ भन्ने अहम्ता चढेको पनि छर्लङ्ग भएको छ । यहि षड्यन्त्र रहेछ र पो माकुने नेतृत्वको नेकपा एस पार्टीको फूर्र्ति या भाउ निक्कै बढेको देख्न सकिन्थ्यो । यहि रहस्य लुकेको रहेछ र पुष्पकमल दाहाल (प्रचण्ड) ले कुनैबेला संसद्मा ब्यक्त गरिएको “सत्ता उथल पुथल” को बाक्यांसलाई पैँचो लिँदै हाम्रो कारणले यो सरकार वा वर्तमान सरकारमा उलत पुलत आउन सक्छ÷उथल पुथल ल्याउन सक्छौँ भन्ने भनाईहरू आईरहनुको कारण नै यहि रहेछ ।
याद रहोस् कि २०८० फागुण २१ गते पुष्पकमल दाहाल प्रचण्डले एकाएक नेपाली काँग्रेससंगको सत्ता गठबन्धन तोडेर एमाले समेतको यो समिकरण बने लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपि ओली निजकै निवास भेट गर्न गएपछि एकाएक फुल्न र ठुलिन ठालेको त थियो नै । यो भित्र पनि नेपाली काँग्रेसले जसपा नेपाल र नेकपा एसलाई प्रधानमन्त्री नै बाँडेपछि हौसिन पुगेका यी दुवै पार्टीहरू यतातिर मौकामा चौका हान्नुपर्छ भन्ने अभिप्रायका साथ प्रचण्ड, एमालेको वर्तमान सरकारमा कालोबजारको राजनीती गर्न भ्याए÷थाले । जसले गर्दा मधेस प्रदेशको सरकारको नेतृत्व गर्ने अवसर पाउनुदेखी केन्द्रमा पनि हैसियत भन्दा बढिनै मन्त्री पाउन सफल भए जसपाले भने सूदुर पश्चिममा पनि ४ सीट मात्र रहेका नेकपा एस पार्टीले मूख्यमन्त्रीको दावी गर्न लाजै पचाएर पाउन सफल पनि भए । सत्ता राजनीतिमा लाज घीन, सरम, नैतिकता, इमान्दारीताले सीमा नाघेपछी जस्तो पनि बोल्न, माग राख्न, घुर्की र धकी पनि देखाउन सकिँदो रहेछ भन्ने कुरा पनि माधव कुमार नेपाल (माकुने) को ब्यवहारहरूले प्रष्टै पा¥यो । पार्टीभन्दा स्वार्थ र पद ठूलो हुँदो रहेछ भन्ने कुरा पनि माकुनेबाटै सिक्न सकिन्छ । दुनियाँलाई नीति, सिद्धान्त, नैतिकता र इमान्दारीताको पाठ सिकाएर आफूहरू जस्तोसुकै नैतिक हरामी र बेइमानी बन्न पछि पर्दो रहेनछ । हुँदाहुँदा अरुलाई दिउँसै बत्ती बालेर खोज्नुपर्नेछ भन्न पछि नपर्ने पार्टीले आफै राष्ट्रिय पार्टी बन्न नसक्दा समेत लाज लागेन यहि माकुने र यस पार्टीका अन्य नकचरो नेताहरूलाई ।
गठबन्धनको बैशाखीमा बल्लबल्ल १० सीट संघीय संसदमा ल्याएपनि राष्ट्रिय पार्टी समेत हुन नसकेको यो पार्टीले लाजै नमानी सरकारको नेतृत्व गर्न पाउनुपर्छ भनी माग राख्दै र यदि यसो नभएमा अहिलेको सत्ता समिकरण नै फेरेर भए पनि आफू प्रधानमन्त्री बन्छु भनी घमण्ड बोक्न पुगेका माधव नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपि ओलीलाई धम्क्याउँदै÷घुक्र्याउँदै अघि बढिरहेका थिए । यतिसम्म कि “म प्रधानमन्त्री बन्न लाग्यो भनेर कसैलाई पेट पोलेको छ, आगोले जल्न लागेको छ । कसैको पेट पोले पोलोस्, जले जलोस्, म प्रधानमन्त्री बन्छु बन्छु” भन्ने जस्ता भाषण गर्नसम्म पछि परेन । उनमा यो भाषण गर्ने फुर्ती त्यसै आएको पनि होइन रहेछ भन्ने कुरो पनि अहिले आएर प्रष्ट भएको छ । जब प्रचण्डले नेपाली काँग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सत्ता समीकरण गर्न आए त्यो बेलादेखी सत्ता बर्हिगमणबाट रन्थनिन पुगेका नेपाली काँग्रेसको सत्ता चालबाजीमा भित्रभित्रै लागि परेर यो समीकरण भत्काई नयाँ सत्ता समीकरणको भरमग्दुर प्रयासमा लागेका यिनै नेपाली काँग्रेस र माकुनेको एस पार्टी अनि जसपा पार्टी र अन्य साना दलहरूको समेत साथमा लिई सरकार बनाउने सपनामा थिए नेपाली काँग्रेस । जब जनता समाजवादी पार्टी नेपालमा आएको अपर्झटको पार्टी बिभाजनले माकुनेको नेकपा एस पार्टी र नेपाली काँग्रेसको सम्पूर्ण योजना र सरकारको नेतृत्व गर्ने सपना चक्नाचुर भयो ।
नेपाली काँग्रेसको यो सरकार असफल बनाउने शुरुदेखी कै प्रयासले आश्वस्त एवं पूर्ण बिश्वस्त रहेकै कारणबाट पनि माकुने र उनका पार्टीका नेताहरूको पनि उस्तै फुर्ती रहेको थियो। र, यहि भित्री रहस्य रहेकै कारण यो सरकार छिट्टै ढल्छ, कतिखेर ढल्छ, यो सरकारको आयु लामोछैन, म÷ मैले फू गरेरै ढाल्न सक्छु भन्ने जस्ता फुर्ती, धम्की, वारम्वार बाहिर ओकलिरहेका थिए । जसपा नेपालको विभाजन पछि यी पार्टीहरू सबैको अहिले ओठमुख सुकेको छ, अनुहार निचोरिएको निबुवा झैँ भएको छ । छाती फुलाएर गर्जिएका स्वरहरू मर्नै लागेको बिरालोको झैँ हुन थालेको छ ।, एकाएक यिनीहरूको आपत्कालीन पार्टी बैठकबाट भाषाहरूमा परिवर्तन आएको छ, बोलीमा फरक आएको छ, सत्ता समीकरणमा ऐक्यबद्धता आउन थालेको छ । जबकी विभाजनसँगै बसेको नेकपा एसको बैठकले यहि समीकरणलाई टिकाइ राख्ने निर्णय समेत गरिसकेको छ । उता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि स्वदेश फर्किने बितिक्कै प्रधानमन्त्री प्रचण्डलाई भेटेर हामी यो समीकरण तोड्ने पक्षमा थिएनौँ, यहि समीकरण टिकाइ राख्ने पक्षमा थियौँ र हाम्रो समीकरण यथावत रहन्छ भन्ने जस्ता अभिब्यक्तिले अब भने अर्को सरकार बन्न÷बनाउन सक्ने स्थिती रहेन भन्ने आशय यी दुवैपार्टीमा आएको प्रष्ट हुन्छ । यतिखेर यी दुवै पार्टीका साथै नेपाली काँग्रेस पनि “ठिमीको उकालोमा मरेको विरालो काखी च्यापेर हिँड्दै गरेको रुँग्न मान्छे” को अवस्थामा पुगेको जस्तै देखिन थालेको छ । यसमध्ये पनि सबभन्दा जिल्लै र भीरबाट लडेर सख्त घायल भएको मान्छे झैँ हुन पुगेको छ नेकपा “एस“ पार्टी । हिजोसम्मका घुर्की र धम्किका भाषाहरू पनि हराउन थालेको होकि जस्तो भएको छ । नेकपा एमाले, एमाले अध्यक्ष के पि ओली र पुष्पकमल दाहाल प्रचण्डदेखी कता कता आक्रोसित, कता कता बिछिप्त हुन पुगेका माधव नेपालको प्रधानमन्त्री बन्न पाउने सपना चक्नाचुर बनेसङ्गै नेकपा एस पार्टीको फुर्ती लत्रकै परेको छ । यस्तो सपना र अप्रत्यासित राजनीतिक घटना आउला भन्ने कल्पना सायद माकुनेको पार्टीले सोच्न भ्याएको थिएन । यहि गएको बैशाख १५ को उप–निर्वाचनसम्म सोचेको पनि थिएन कि जसपा नेपाल पार्टी विभाजन होला भनेर । यदि यस्तो सोच या कल्पना थियो त ५०० मत पनि नआउने इलाम २ को उप निर्वाचनमा एमाले उम्मेदवारलाई नै समर्थन जनाउन केको अप्ठेरो पथ्र्याे तर यसो नभै एमालेलाई समर्थन गर्नुको सट्टा नेपाली काँग्रेस जिताउनको लागि नेकपा एसले अलग्गै निर्वाचनमा लड्न उम्मेद्वार उठाउने काम गरे । यो बेला नेकपा एसलाई यस्तो अप्ठेरो प¥यो होला कि “नखाउँ भने दिन भरिको सिकार खाउँ भने कान्छा बाबुको अनुहार” भनेझैँ हुन पुग्यो “एस” पार्टीलाई । यदि माकुनेको एस पार्टी अहिलेको समिकरणमा नरहेको भए बिना संकोच नेपाली काँग्रेसलाई जिताउनमा खुलेर लाग्न सक्थ्यो तर सत्तामा रहेकै कारण नेपाली काँग्रेसलाई समर्थन गर्न अप्ठेरो लाग्यो “एस“ पार्टीलाई ।
स्मरण रहोस कि पुष्पकमल दाहाल प्रचण्डको नेपाली काँग्रेससँङ्गको गठबन्धन तोडेर वर्तमान नेकपा एमालेसँग समीकरण पछिको विश्वासको मत लिने÷दिने क्रममै नेकपा एसको तर्फबाट समर्थन दिने प्रसङ्गमा आफ्नो दलको तर्फबाट संसद्मा आफ्नो पार्टीको धारणा राख्न उभिएका दलका साँसद राजेन्द्र पाण्डेलेले ब्यक्त गरिएको कुराबाटै स्पष्ट हुन्थ्यो कि यो पार्टीको यो नयाँ समीकरण प्रती त्यति सन्तुष्ट र खुशी छैन किनभने नेकपा एसको लागि नेपाली काँग्रेससँग मिल्नु, सहकार्य गर्नु, गठबन्धन गर्नु, अगाडि बढ्नमा जति खुशी लाग्छ, जति हौसला उठ्छ यसको विपरीत एमालेसँगको सत्ता समिकरणमा त्यतिनै बेखुशी लाग्छ । यो कुराको प्रमाण एमालेको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउन सकृय भएर लागि परेदेखिनै स्पष्ट भएकै छ । यसमा बढाइ चढाइ गरेर लेख्नन, आरोप लगाउन त्यति आवश्यक छैन । अझै भर्खरैको नेकपा एसको अधिवेशनको लागि प्रस्तुत गरिने पार्टी अध्यक्ष माकुनेको राजनीतिक दस्तावेजमा उल्लेख गरिएको देशका राजनीतिक दृष्टिकोणमा समेत नेकपा एमालेलाई भन्दा काँग्रेसलाई नजिकको मित्रपार्टी मान्न पुग्नुले पनि नेकपा “एस” पार्टी कस्तो पार्टी हो र र यो पार्टीको भविष्यमा बिलय हुने पार्टी नै नेपाली काँग्रेस हो भन्दा फरक पर्नेछैन । उनको अभिब्यक्ति, ब्यक्त बिचार, हालका दिनहरूमा वर्तमान सरकारप्रति गर्दै आएको टिप्पणी आदिलाई हेर्दा पनि लाग्छ उनको पार्टीको देखिने “नेपाल कम्युनिष्ट पार्टी” खोक्रो नाम मात्र हो भन्ने स्प्ष्ट भएको छ । जुन प्रतिवेदनमा नेकपा एमाले प्रति कडा आलोचना गर्न कुनै कसर बाँकी राखेको छैन भने नेपाली काँग्रेसप्रति अत्यन्त लचिलो भएर प्रस्तुत गर्नुले पनि नेकपा एस अब नाम मात्रको कम्युनिष्ट भएर बाँकी तन मन सबै नेपाली काँग्रेसप्रति झुकाव रहनुले नेकपा एसलाई अब कम्युनिष्ट भन्न सकिने अवस्था छैन र भाइ काँग्रेस भन्दा अन्यथा हुन जानेछैन । यो सबैलाई हेर्दा यो समीकरणमा माकुनेको “एस” पार्टीलाई अति भाउ चढाएर राख्नुपर्ने जरुरत देखिदैन । यहि पार्टीको कारणले सरकार ढले पनि कुनै चिन्ता लिनुपर्ने छैन ।





