2026 June 24/ 11:05: 05am

नवराज केसी 
यो देश अर्थात नेपाल प्राकृतिक हिसाबले असाध्यै धनी र संसारमा वातावरण र पर्यावरणको हिसाबले अत्यन्तै विविधता भएको देश हो । उत्तरमा अग्ला हिमशृंङ्खला बीचको भु–भागमा सुन्दर पहाड जंगल र दक्षिणतिर सम्म परेका ठूलाठूला फाँटहरु अर्थात तराईका भु–भाग यस्तो विविधता त्यो पनि यति साँघुरो क्षेत्रफल भित्र संसारको लागि यो अचम्मलाग्दो चाखलाग्दो कुरा छ । तपाईले विदेशतिर यात्रा गर्नु भएकै होला त्यहाँ ख्याल गर्नुभएको छ तपाईं सवारीको साधन चढेर एक ठाउँबाट अर्को ठाउँ जाँदा अर्थात सवारी यात्रा गर्दा घन्टौसम्म पनि उही दृश्य उही धरातल उस्तै लाग्ने ठाउँहरू देखिन्छ यात्रामा रोमाञ्चकता नै हुँदैन तर नेपालमा यात्रा गर्दा प्रत्येक ३० मिनेट वा एक घन्टाको अवधिमा फरक दृश्य फरक हावापानी फरक ठाउँ फरक धरातल तथा यात्रामा रोमाञ्चकता भरिपूर्ण हुन्छ । फरक–फरक अनुभूति छोटो समयको ती यात्रामा नै प्राप्त गर्न सकिन्छ यो म किन भन्दैछु भने हाम्रो देश भौगोलिक हिसाबले सानो भएतापनि पर्यावरणीय, प्राकृतिक विविधताको हिसाबले अत्यन्तै धनी महत्वपूर्ण र त्यत्तिकै संवेदनशील ठाउँ पनि हो । जसरी अमेरिका चाईना, रसिया आर्थिक हिसाबले संसारमा दबदबा कायम राख्न सफल छन् प्राकृतिक हिसाबले नेपाल संसारमा दबदबा कायम राख्न सफल हुन सक्दछ किनकी संसारको पर्यावरण वातावरण स्वच्छताका लागि हाम्रो देशको भूमिका महत्वपूर्ण हुनसक्छ । प्रकृति, वातावरण, पानी एवं जंगल लगायत यसको महत्व के हो ? मानव जीवनको अस्तित्वका लागि यसको भुमिका के हुन्छ ? नेपालले संसारलाई सिकाउन अहम् भूमिका खेल्न सक्दछ तर के हामी यस कुरामा सही मार्गमा छौं त ? यस्तो महत्वपूर्ण कुराहरूको सम्बद्र्धन एवं संरक्षणका लागि नेतृत्व लिएर हामी काम गरिरहेका छौं त? हाम्रो केन्द्रीय सरकार, प्रदेश सरकार स्थानीय सरकार तीनै तहको सरकारले यस्तो कुरामा ध्यान दिएको छ त ?
हामीलाई लाग्दछ यस्तो कुरामा पटक्कै ध्यान दिएको छैन । वातावरणको मुद्दा त कुनै मुद्दा नै होइन । अस्तब्यस्त कार्य प्रणाली अस्तव्यस्त सरकारी कर्मचारी, अस्तव्यस्त नेता कार्यकर्ता अनि तिनीहरूबाट भएको अस्तव्यस्त विकास के कुरालाई प्राथमिकता दिएर काम गर्ने विकास गर्ने व्यवस्थापन गर्ने भन्ने सोचाइको दरिद्रता विकास भनेको जथाभाबी खेतीयोग्य जमिन, प्राकृतिक जङ्गल मासी भ्रष्टाचार गरेर बिना इन्जिनियरिङका कमसल बाटो बनाउने र त्यसमा डिजेल पेट्रोलबाट चल्ने गाडीहरु चलाउने, ५ मिनेटको बाटोमा पनि गाडी मोटरसाइकल चल्ने सँस्कृति बसाउने प्रकृति मास्ने, पर्यावरण मास्ने आफै खाउँ आफैं लाउँ भन्ने सोचको विकास गर्ने, गरिब वर्गको उत्थानका लागि केही काम नगर्ने वातावरण विनासको र वर्ग विभेदको खाडल गहिरो पार्ने यि र येस्तै मात्र काम भएको छ ।
अब मैले यहाँ जोड्न खोजेको कुरा के हो भने एउटा सामान्य कुरा छ वातावरण पर्यावरण संरक्षणमा यसले ठूलो भूमिका खेल्न सक्छ यो कुरा हामीले अर्थात साईकलको पक्षमा वकालत गर्ने पक्षधरले दशकौं अगाडि देखि सानो भएपनि आवाज उठाउँदै आएका थियौं तर सरकारले कानमा तेल हालेर बसेको छ सुन्दै सुन्दैन ढिलो भैसक्यो । अब कान सुनेर काम ग¥यो भने त अहिले पनि ढिला भएको छैन । हो त्यो कुरा हो साईकल सँस्कृति  सरकारले आत्मसाथ गर्न नसकेको बरु सर्वसाधारण जनताले आफ्नो तहबाट आवाज बुलन्द गर्दै आएको यो मुद्दा यो सानो मुद्दा तर सरकारको प्राथमिकतामा कहिले नपरेको मुद्दा । साईकल प्रकृति पर्यावरण एवं वातावरण मैत्री सवारीको साधन, सम्पदा मैत्री सवारीको साधन, हाम्रो धरातल भुगोल मैत्री सवारी साधन हो तर यो कुरा सरकारमा जानेले सरकारी कर्मचारी संयन्त्रले कहिले बुझेन । हामीले यसको महत्व उपादेयताको बारेमा यो यो छ भनेर भनिरह्यौं तर उनीहरु एक कानबाट सुन्छन् तत्कालै अर्काे कानबाट उडाइदिन्छन् । हाम्रो यो मुद्दा असान्दर्भिक बनाइदिन्छन् । संसार कहाँबाट कहाँ पुगिसक्यो मानिसहरूको जिवनशैली कस्तो भैसक्यो हामी भने साईकल साईकल भनेर कराउँदै छौं । हामीलाई नै लाग्न थाल्यो कि हामीले साँच्चिकै असान्दर्भिक मुद्दा उठाएको त होइन किनकी कसैलाई यो कुरा सान्दर्भिक लागेकै छैन । तर फेरि विकसित देशहरुले त्यहाँका मानिसहरूले साईकल संस्कृतिलाई जुन महत्व दिइरहेका छन् आफ्नो बिग्रिएको वातावरण पर्यावरण एवं मानव स्वास्थ्यलाई बचाउने जुन प्रयत्न भैरहेको छ यो देख्दा अनि लाग्छ हामी गलत असान्दर्भिक मुद्दा उठाइरहेका होइनौं। बरु हामी नेपालीले यो कुरा बुझ्यौं भने हाम्रो सरकारी संयन्त्रले अहिलेनै यो कुरा बुझ्यो भने हामी बुद्धिमानी ठहरिन्छौं किनकी उनीहरूको धेरै कुरा पूर्णरूपमा बिग्रिसकेपछि पछि सुध्रिएर जान खोजेका हुन् अर्थात् भौतिक पूर्वाधार विकास निर्माणको लहडमा, औद्योगिक विकासको लहडमा उनिहरुले पूर्ण रुपमा वातावरण, पर्यावरण एवं मानव स्वास्थ्यलाई मानसिक स्वास्थ्यलाई गुमाएका थिए । उनिहरु अब सच्चिन चाहन्छन् । प्रकृति तिर फेरि फर्किन चाहन्छन् । वातावरण पर्यावरण संरक्षणमा कुनै कसर नराखी काम पनि गरिरहेका छन् । त्यसै अनुरूप साइकल संस्कृतिको विकासका लागि पनि काम पनि गर्दैछन् । तर हामीले उनिहरुले जति बाटो बिराएका छैनौं । हामी तुरुन्तै सहि बाटोमा फर्किन सक्छौं । सामान्य कुराहरु छन् साईकल संस्कृति निर्माणका लागि राज्यले गर्नुपर्ने काम । मेरो विचारमा यी केही कुराहरु गर्न सकियो भने नेपालमा साईकल संस्कृतिको निर्माण हुनसक्छ ।
क) साइकल संस्कृतिलाई पाठ्यक्रममा समावेश गरिनुपर्दछ ।
हो साइकल संस्कृतिलाई र यसको महत्व एवं फाइदाहरुलाई दर्शाएर स्कुल तहदेखि पाठ्यपुस्तकमा समावेश गरिनु पर्दछ ताकी हाम्रा भाई बहिनीहरुले साँच्चिकै यसको महत्व फाइदाहरु पढेर जान्न सकुन् र यसलाई व्यवहारमा उतार्न सकुन् ।
ख) साईकल मार्ग र ठाउँ–ठाउँमा साईकल पार्किङ स्थलहरु बनाउनुपर्दछ । कम्तिमा पनि नयाँ बन्ने राजमार्ग बाटाघाटाहरुमा साईकल लेनको निर्माण अनिवार्य रुपमा गर्नुपर्दछ ।
ग) सरकारी कर्मचारीहरुलाई जो ५,१० कि.मि.सम्मको दुरी मा रहेको कार्यालय जाँदा पनि सवारीका साधनको रुपमा कार, मोटरसाइकल चढेर जाने प्रवृत्ति छ यसलाई परिवर्तन गरेर साइकल चढेर जाने मितव्ययी नियम विस्तारै लागू गर्नुपर्दछ यसो हेर्दा हामीलाई लाग्न सक्दछ कि एक डेढ करोडको गाडी चढेर जाने सरकारी कर्मचारीहरुलाई यो नियम लगाउन सम्भव होला त ? यो सम्भव हुन्छ युरोपको विकसित देश नेदरल्यान्डका प्रधानमन्त्री त साईकल चढेर कार्यालय जान्छन् । थुप्रै देशमा क्रमिकरुपमा साईकल चढेर कार्यालय जाने संस्कृति बढिरहेको छ हामी किन गर्न सक्दैनौं ।
घ) आन्तरिक एवं बाह्य पर्यटकको लागि साईकल पर्यटन विकास गर्ने सबै खालका पर्यटकका लागि देशभर साइकल ट्रेल रुटहरुको निर्माण गर्ने साइकल स्पोर्टसको केन्द्र बनाउने साहसिक साईकल खेलहरुको आयोजना गर्ने जसले देशमा रोजगारीको अवसरको श्रृजना हुनुको साथै देशकै अर्थतन्त्रमा सकारात्मक योगदान गर्न सक्दछ ।
मैले यी केही सामान्य तर महत्वपूर्ण कुराहरु राखे यी बाहेक थुप्रै कुराहरु हुन सक्तछन् । साईकल संस्कृतिका लागि सरकारी तहबाट स्थानीय तहबाट काम गर्न ढिला भइसकेको छ अब ढिलो नगरौं । यो देशलाई साईकल चढ्ने स्वस्थ एवं बुद्धिमानी मानिसहरुको तथा साईकल संस्कृतिको देश भनेर संसारमा चिनाउन सकियो भने प्रकृति पर्यावरण संरक्षण र यसको महत्वको ज्ञान छर्ने अग्रणी देश भनेर चिनाउन सकियो भने हाम्रो जीवनशैलीलाई प्रकृति मैत्री सादा सरल बनाउन सकियो भने यो भन्दा महत्वपूर्ण उपलब्धिहरु व्यक्ति, समाज र राष्ट्रका लागि अरु के हुन सक्दछ ?