हरिसिद्धि भवानी ललितपुर जिल्ला स्थित लगनखेल बाट दक्षिण गोदावरी जाने बाटोमा सबै भन्दा ठुलो र पहिलो एतिहासिक ठाउँ, जेष्ठग्राम, जतल, जेस्तापुर तथा धार्मिक एबम प्राचीन नेवा बस्ती जल (हरिसिद्धी)गाउँमा विराजमान हुनुहुन्छ । वास्तवमा श्री हरिसिद्धि भवानी परब्रम्हा परमेश्वोरी, शिवशक्ति स्वरुपी महादेवी, चण्डिका दुर्गा भवानी हुनुहुन्छ । उहाँ त्रिगुन्तित त्रिशक्तिदेबी हुनुहुन्छ । योगिनितन्त्रमा उल्लेख गरेको ६८ योगिनिहरु मध्ये ३८ औ स्थानमा श्री हरिसिद्धि रहेको छ । नेपालको प्रसिद्ध ४ ठुला योगिनीहरु श्री बज्रयोगोनि(फर्पिङ्ग), खडगयोगिनी(साँखु), बिज्यस्वोरी(स्वयम्भु), र फुलचोकी माई जल्देबी (फुलचोकी पर्वत) हुन् । श्री हरिसिद्धि योगिनी स्वरूप श्री फुलचोकी माई जल्देबी हुनुहुन्छ । वास्तवमा श्री हरिसिद्धि माता र श्री फुलचोकी माई जलदेवी एकै हुन् । यसरी नै नेपालका राजा नरेन्द्रदेब (७औ शताब्दी), कान्तिपुरका शक्तिशाली तान्त्रिक श्री बन्धुदत आचार्य र ललितपुरको ललित ज्यापू र कर्कोटक नाग राज मिलि भारतको आसाम कामरुकामाक्षबाट श्री मचिन्द्रनाथ नेपालमा ल्याउने क्रममा श्री हरिसिद्धि भैरबलाई ल्याउनुभएको थियो । हरिसिद्धि देवीलाई जल्ल देवीको रुपमा नि चिनिन्छ । उहाँको ललितपुर स्थित ४ तल्लाको भव्य मन्दिर रहेको छ । ललितपुरको हरिसिद्धि गाउँ स्थित महर्जन परिवारको कुल देवीको रुपमा परिचित हुनुहुन्छ ।
१२ बर्ष नाचको तयारी
नाचको तयारीको लागि जात्रा सुरु हुनु भन्दा एक हप्ता अघि अष्टमीको दिन सबै पुजारीहरु मन्दिरमा जम्मा भई नाचको तयारीको छलफल गर्छन् । यस कार्यलाई स्थानीय भाषामा गण मुनेगु भनिन्छ । यसको लगत्तै डिचामचा (नयाँ भर्ना भएका सदस्य)ले प्रत्येक पुजारीको घरमा गई जात्रा सुरु हुन लाग्यो नियममा बस्नु भनी सुचित गरिन्छ । सुचित गरेपछि जात्रा नसके सम्म नीति नियममा बस्नुपर्ने हुन्छ । नाच देखाउने एक दिन अगाडि सबै देवी देवताहरुको तिसा सिलेगु (गरगहना सरसफाई) गरिन्छ । जात्रा गरिने स्थानमा इँला अर्थात एक प्रकारको बिचमा देवताको चित्र अङ्कित ४ कुने कपडा राख्छन् । धान्य पूर्णिममा तथा होलि पूर्णिमाको दिन देखाईने नाच १४/१५ घन्टा सम्मा बीचमा केही विश्राम गरेर नाच देखाइने गरिन्छ । यस नाचमा १८ भाग हुन्छ जसमा देवताको पात्र अनुसार मुकुण्डो सहित नाच्ने गरिन्छ जस अन्तर्गत मुकुण्डोको आकार रङ रुप अनुसार पहिरन फरक हुन्छ । कसैको मुकुट हुने मुकुट नहुने पनि हुन्छ । एकातिर खड्ग एका तिर त्वाकः(काठले भनेको सानो ढाल), कसैले यःमहृ आकारको बस्तु कसैले धनुष, त्रिशुल आदि इत्यादी अस्त्रको रुपमा लिएको हुन्छ । यस जात्रामा देवगण बाहेक अन्यले सेतो भोतो, सेतो जामा, शिरमा सेतो पगडी लागाएको हुन्छ । सेतो वस्त्रको मान्यता सुद्धिकरण बुझिन्छ ।
विक्रम सम्वत्को समयमा यो नाच सुरुमा नाटक सम्वादको रुपमा मात्र प्रस्तुत हुन्थ्यो र बिच बिचमा यो नाच रोकिएपछि मल्लकालमा आएर अमर मल्लले भावनृत्यको रुपमा निरन्तरता दिएको पाइन्छ ।
३ धुलिखेल र १२ वर्ष हरिसिद्धि जात्राको सम्बन्ध धुलिखेल नगरपालिका नेवा बस्ति अन्र्तगत पर्दछ । धुलिखेलमा विभिन्न जात धर्मका व्यक्तिहरु बस्दछन् । जसमध्ये माकजु, ब्याञ्जु देवजु, बिज्जु, तुसुजु लगायत अन्य थरको व्यक्तिहरु पनि रहेको छ । धुलिखेलको पुरानो बजारमा पनि ४ तल्लाको हरिसिद्धि मन्दिर रहेको छ । हरिसिद्धि माता माकाजु, ब्यान्जु, देवजु, बिज्जु, तुसुजु लगाएतका कुल देवीको रुपमा परिचित हुनुहुन्छ । उहाँ धुलिखेलमा साक्षात देवीको रुपमा परिचित छ ।
हरिसिद्धि त्रिशक्ति भवानी गुठीको नामले संचालित यो नाच सम्पुर्ण गुठीयार महर्जन जातीका हुन्छन् । जम्मा २९ गुठीयार सदस्यहरुले देवगण बन्ने, बाजा बजाउने र अन्य कार्यको जिम्मेवारी वहन गरेको हुन्छ ।
ललितपुरमा हरेको वर्ष ३ चोटी हरिसिद्धि मेला लाग्ने गर्दछ तर अन्य स्थान पशुपति, दोलखा पनौती लगायत धुलिखेलमा पनि १२ वर्षको एक चोटी मात्र लाग्ने गर्दछ । यो जात्राको महत्व त्यस स्थानमा देवीहरुको बास प्रशस्त हुने तथा हैजा माहामारी निर्मुल हुने जन विस्वास रहेको छ । धुलिखेलमा यस वर्ष १२ बर्षे हरिसिद्धि जात्रा लाग्ने तयारी रहेको छ जसमा मुख्य भूमिका देवजु गुठीको रहेको हुन्छ । हरिसिद्धि देवीलाई लिन जानको लागि विभिन्न नयाँ बस्त्र, फलफुलहरु साथै पुजा गरेर जात्रा संचालन गर्ने गरिन्छ । अघिल्लो २०६६ साल चैत्र ४/५/६ र ७ गते संचालन भएको थियो भने यस वर्ष २०७८ चैत्र १८/१९/२०/र २१ गते संचालन हुनेछ । सम्पुर्णमा जात्रा भब्य रुपले सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
लेखन सहयोगी : रेखा शाक्य





