जयदेश श्रेष्ठ
बनेपा सँग नामको, मितेरी साइनो भो बन्दीपुर !
नाम जस्तै, काम पनि मिलेको छ सो बन्दीपुर !
सिक्नु र सिकाउनु पर्ने भए, हातेमालो बन्दीपुर !
सुस्ताएर फेरी फक्रेको, पुग्नै पर्ने ठाउँ हो बन्दीपुर !
दसैँ पछिको पारिवारिक घुमघाम यसपटक पोखरा, छाब्दी बाराही, चितवन सौराह, नवलपरासी शास्वत् धाम, मनकामना दर्शन सहित नयाँ गन्तव्य भएको छ बन्दीपुर ! यात्राले मनोरञ्जनको साथै सबै ठाउँको विशेषता अनुभव गर्ने मौका पाइयो । आज यहाँ हाम्रो काभ्रे जिल्लाको बनेपाको मितेरी साइनो अनुभव गरेको बन्दीपुर सहरको बारेमा यात्रा अनुभव लेख्दैछु ।
पर्यटकीय दृष्टिकोण आकर्षण हुन पुगेको बन्दीपुर पुग्नै पर्ने ठाउँ हो । स्वदेशी तथा विदेशी पाहुनाहरूलाई आकर्षण गरी आय–आर्जनको व्यापार पेशाबाट आफ्नै देश भित्र केही गर्न सकिन्छ भन्ने सोचमा बन्दीपुरका व्यापारीहरू लागेको देखिन्छ । जहाँ बाटो त्यहाँ बस्ती ! जहाँ बस्ती त्यहाँ व्यापार ! भक्तपुर नगरको पुरानो शैलीमा बनेका घर पाटी पौवा बाटो घाटो कला कौशल सभ्यताको सानो अंश हो बन्दीपुर । सायद भक्तपुर वा उपत्यका भित्रकै नेवार समुदायबाट विस्थापित भएर बसोबास गरेको हुनुपर्छ बन्दीपुर सहर । व्यापार ब्यवसायमा नाम चलेको र “पहाडकी रानी बन्दीपुर” भनेर उपमा पाएको पर्यटकीय नगरी थियो । पृथ्वी राजमार्गको चहलपहल बढेपछि सदरमुकाम दमौली सरेर एकताका सुनसान भएको बन्दीपुर सहर उजाड खण्डहरको रूपमा रहेको थियो । नाम चलेका व्यापारीहरू जो बन्दीपुरबाट विस्थापित भएर दमौली, नारायणघाट पोखरासम्म फैलिएका व्यवसायीहरूले पुनःबन्दीपुरलाई बिउँझाउनु पर्छ भन्ने हेतुले २०७२ सालको भूकम्प पछि पुरानो शैलीमा नै घरको बाहिरी आवरण तयार विकास गरिएको सानो एक टोललाई ढकमक्क फुल फुलाएर सिँगारिएको सुन्दर बस्तीले पर्यटकहरूलाई आकर्षण गरिएको देखिन्छ । तिहारको सिजनमा झिलीमिली बत्तीहरूले गर्दा उज्यालोको रमझम सहित होटेल व्यवसायले राम्रो व्यावसायिक प्रचार गरेको देखिन्छ । फेसबुक सञ्जालमा भाईरल भएको झिलीमिली बन्दीपुर ! घुम्नको लागी जो कोहीलाई आकर्षण गर्ने होमस्टे व्यवसायले पनि बन्दीपुर नगरी, एक पटक पुग्नै पर्ने ठाउँ भएको छ । आजकाल नयाँ नयाँ योजनाहरू धार्मिक स्थल निर्माण गरेर पर्यटक भित्राउने लहडमा बन्दीपुरले आफ्नो पुरानो कौशललाई पुनः बिउँताएर वा सजाएर पर्यटक गन्तव्य बनाउनु खुसीको कुरा हो । आफ्नो मातृभूमिको माया गर्नु आफ्नो कला सभ्यता र संस्कृति बचाई राख्नु नेवारी परम्परा हो । त्यसैले पनि आदिवासी समूहमा नेवारी समाज अग्रणी भागमा पर्दछ । भाषा ब्वाँसा झि म्वाई, झि ब्वाँसा देश म्वाई (भाषा बाँचे हामी बाँच्छौ, हामी बाँचे देश बाँच्छ) भन्ने उत्प्रेरणाले नेवारहरूले आफ्नो भाषा बिर्सन सकेको हुँदैन । बन्दीपुरमा नेवारी बोलाई लवजलाई नेपाली भाषामा समिश्रण गरेर बचाई राखेको देखियो । अरूलाई बुझाउन उनीहरूकै भाषा जोडिएर बोल्ने बन्दीपुरको नेवारी भाषा गजब लाग्यो । तपाईहरू हामीले धयागु बुझ्दैन खला । हामी नेवारहरू सँग बोल्दा पनि त्यही अपभ्रंश भाषा बोली दिँदा खल्लो लाग्यो । व्यापार व्यवसाय नेवारहरूको पहिचान हो । बन्दीपुर सहरमा नेवारी व्यावसायिक नेवारी खाजा चटामरी, बारा, योमरी, ऐला अनि नेवारी खानाले स्वदेशी विदेशी पर्यटकहरूलाई सत्कार गर्न सकेको भए साँच्चै नै बन्दीपुरको महिमा गाउन लायक हुने थियो । पर्यटक क्षेत्र आधार मानेर विशेष सजाएको सानो टोल सवारी साधन निषेधित ढुङ्गा बिछ्याएको सडक जस्तै अरू ठाँउहरुलाई पनि केही सिँगार्न सकेको भए राम्रो हुने थियो । तल तल बादल देखिने हुँदा आकाश भन्दा माथि जस्तो भान हुने खेलकुद मैदानबाट देखिने सौन्दर्य, ठुला ठुला बर पिपलको छहारी निकै मनमोहक देखिएका छन् भने सँगैको नव निर्मित सानो पोखरीको दुर्गन्धित अवस्थाले भने बन्दीपुर व्यावसायिक गतिविधि हात्तीको देखाउने दाँत जस्तै भएको छ । एकपटक आएका पाहुना पर्यटकहरूलाई फेरी फेरी पनि आकर्षण गर्नको लागी धार्मिक पर्यटन स्थल, गुफा अनि नेवारी कला संस्कृत रीतिरिवाज व्यावसायिक गतिविधिलाई अझै आकर्षण र समर्थन जगेर्ना गर्नुपर्ने देखिन्छ । एक रातको बसाई होटेलको खाना खाएर एक छिनको पाहुना भएर चोकमा बसेर फोटो खिचेर बन्दीपुरको यात्राले बन्दीपुर पुगेको प्रमाण भएको छ ।
बन्दीपुर के हो ? यहाँका विशेषता र बन्दीपुर ओझेलमा पर्नुको कारणहरू र हिजोका दिनहरूमा बन्दीपुर सदरमुकाम भएको बेलामा बन्दीपुरको ख्याति र यहाँका रमणीय घुम्न योग्य ठाउँको विशेषता बुझाएर सुन्दर र स्वच्छ प्राकुतिक वातावरणमा केही दिन बसाइको गन्तव्य भनेर आगन्तुकहरुमा महसुस गराउन सकेको भए जो कोहीलाई पनि बन्दीपुर आकर्षक केन्द्र हुने थियो ।
बनेपाले बन्दीपुरबाट सिक्नु पर्ने पाठ २०२३ सालमा नै बन्दीपुर व्यापारसँग स्थापना भएर २०३१ सालमा तनहुँ उद्योग वाणिज्य संघमा रुपान्तरित भएको अग्रणी व्यापारिक क्षेत्र बन्दीपुर हाल सदरमुकाम तनहुँ सरे पछि ब्यहोर्नु परेको व्यापारिक मन्दीबाट व्यापारिक रणनीति गतिविधिलाई पर्यटन क्षेत्रमा रुपान्तरित गर्नु परेको छ । सानो टोललाई चिटिक्क पुरानो शैलीमा सिँगारेर बन्दीपुरको साख जोगाई राख्न सफल भएको छ । बनेपाले पनि बाटोसँगै बस्ती सर्ने हुँदा व्यापारिक प्रयोजन पुरानो बस्ती छोडेर अरनिको हाइवे सडक तिर सरेको बजार हाल सडक सीमा रेखाले पीडित बन्न पुगेका छन् । पुरानो बस्तीलाई चटक्क बिर्सनु भन्दा पनि ऐतिहासिक पृष्ठभूमिमा बचाई राख्नुपर्दछ र ठाउँ अनुसार व्यावसायिक पनि परिवर्तन गर्ने जमर्को गर्नु पर्दछ भन्ने कुरा बन्दीपुरबाट सिक्न सकिन्छ कि !
बनेपा १४ साँगा