अधिबक्ता सुदर्शन जोशी “तेजस्वी”
“जसले ‘म’ लाई चिन्ने प्रयत्न गर्दै ‘म’ लाई नै बदल्दछ । त्यो ‘म’ ले दुनियालाई नयाँ सन्देश दिनेछ । जुन नयाँ आउने ‘म’ हरुको लागि पथ हुनेछ ।”– तेजस्वी
म पञ्चतत्वबाट निर्मित कोष, शरीर हँु । म सँग आन्तरिक संसार र वबाह्य संसार छ । त्यहि म बाटै रुपान्तरण, जागरणको यात्रा नै सचेत क्रान्ति हो । यसले जीवन, राष्ट्र र विश्वको समग्र रुपान्तरणका सुत्रहरु बोकेको छ । यतिबेला विश्व परिदृश्य रुपान्तरणको संक्रमणकालमा छ । यत्र–तत्र–सर्बत्र असल यात्राका क्रमहरु चलिरहेका छन् । सचेतना उद्बुद्ध भईरहेको छ । प्रस्फुटित हुँदै छन् । हरेक व्यक्ति, समाज, राष्ट्र, विश्व समग्ररुपमा सचेत, बोध, जाग्रत हुनु पर्ने नै छ । यो अवसरमा यो असलताको सशक्त घटक बन्ने सौभाग्य म आफैबाट रुपान्तरण शुरु गर्न चाहन्छु ।
हाम्रो मौलिक संस्कृतिका शीरपोषहरुलाई कृतज्ञता ज्ञापन गर्दै संयमित, सचेत जीवन शैलीलाई अनुसरण गर्दै यज्ञमय जीवन जिउने आधार शाकाहार, प्रकृतिप्रेम, मानवता, सामाजिक न्याय एवं साधनालाई मान्दै सचेत क्रान्तिको यात्रामा यज्ञीय भावना र तपस्या गर्दै छु । म यस्तो कुरा लेख्न चहन्छु जुन पढ्न लायक होस्, म यस्तो कर्म गर्न चाहन्छु जुन लेख्न लायक होस् । म बाटै रुपान्तरण हुने क्रममा फुलजस्तै जीवन बनाउन हरदम प्रयत्न गरिरहेको थिए, गरिरहेछु र गरिरहनेछु । चुनौती नै चुनौतीले भरिएको यो जीवनलाई उत्कृष्ट ढंगले व्यतित गर्ने कसरी? भन्ने विषयमा चर्चा गर्ने जमर्काे वा प्रयासमा बुझ्नुपर्ने विषयवस्तुहरू भनेको जीवन, सुखी र खुसी, जीवनकला, जीवनवृत्ति, सफलता, उत्प्रेरणा, भाग्य र कर्म, ज्ञान वुद्धि र विवेक, प्रेम, सम्बन्ध, परिवार, वैवाहिक जीवन, अभिभावकत्व, बच्चाहरूलाई के गर्ने – के नगर्ने, व्यवहारिक ज्ञान, संस्कार, धन–सम्पत्ति, मान–प्रतिष्ठा, साथी, लत, मनोरञ्जन, स्वास्थ्य, सुरक्षा, चिन्ता, डिप्रेसन, र आध्यात्मिक र भौतिक चेत आदि हुन् ।
यी ज्ञान विज्ञानका विषयहरु सिक्दै म एउटा प्रसन्न चित्त भएको मानिस बनेर जहाँ जान्छु त्यहीँ आफ्नो प्रेम, सकारात्मकता, खुसी दिन चाहन्छु । जुन बिषयले सबैलाई उत्साहित बनाउनुको साथै प्रेरणा दिन, प्रसन्न रहन सिकाओस् र मलाई पनि शान्त राखोस् । पलपल पाईला पाईलामा सचेत क्रान्ति तेजको आधार !
प्रकृतिप्रेम, मानवता, सामाजिक न्याय, साधना र शाकाहार !!
जसलाई म मृत्यु सम्झन्छु त्यो जिन्दगी हो, एक क्षणमा म करोडौंको मालिक बन्छु अर्को क्षणमा म गरीब बन्छु । यो नै म र मेरो अनुभव हो । जे हुँदा पनि समभावमा बस्ने प्रयास गर्नु नै रुपान्तरणको यात्रा वा जीवन बोधको सुत्र हो । प्रत्येक म का सामु चुनौतिका धेरै कठिन बाटाहरू छन् । तिनै कठिनाईहरूबाट अगाडि बढ्दै जाँदा पक्कै पनि प्रत्येक म रुपान्तरित असल गन्तव्यमा पुग्छ नै । सचेत क्रान्तिले लिएको म बाटै रुपान्तरण हुने असल, सचेत सत्य युगको मार्गमा हिँड्नका लागि स्वयंको चेतना जागृत हुन आवश्यक छ । प्रत्येक म को जागृत संघर्षको शक्तिले अन्तर्यमा अनन्त दीपक जलाउनु छ ।
म बाटै रुपान्तरण, जागरणका लागि सचेत क्रान्ति एक विशाल प्रेमको महासागर हो । यो सागरमा जे खोज्यो त्यही पाउन सकिन्छ । जिम्मा प्रत्येक खोज्ने वालाको हो । म यो महासागरमा के खोजिरहेको छु ? आज जन, समाज, देश हुँदै विश्व सबैतिर संकटै संकटमा गुज्रिएको छ । छन् त धेरै सम्भावना पनि छन् । त्यो बोल्नेलाई भन्दा कर्म योग गर्नेलाई थाहा छ । प्रत्येक म ले अरुलाई गाली नगरी आ–आफ्नो ठाउँबाट केही न केही दान गर्नै पर्दछ । त्यो दान हो योग्यता प्राप्त योगदान । त्यसको लागि पञ्चतत्वरुपी पृथ्वी, मान्छे, बनस्पति, ब्रह्माण्ड जस्ता मूलप्रवाहमा मौलिकताको रक्षा, प्रयोग र विकास अहिलेको आवश्यकता हो । यसको लक्ष्य, उद्देश्यलाई प्रत्येकले आफैबाट बदलिदै संसार बदल्ने यात्रा जीवनको लक्ष्यमा रूपान्तरित गर्नु पर्दछ ।
म बाटै रुपान्तरित हुने विषय एउटा यज्ञ पनि हो । जहाँ कर्म (सत्), उपासना (ध्यान) र ज्ञान (प्रज्ञा) को साधना हुन्छ । यो यज्ञमा प्रत्येक म ले चारू (काम, क्रोध, लोभ, मोह) होम्ने काम गर्नुछ र यो विशाल यज्ञलाई सार्थकतामा पु¥याउनु छ । प्रत्यक व्यक्ति, देश, विश्व समुन्नत, विशाल, शान्त, ज्ञान–विज्ञानको उचाईमा रहेर धरोहर बन्न चाहन्छ । मृत्यु पछि पनि स्मृतिका गाथा गाइरहने । यो गाथालाई भोलिका सन्ततिहरूमा हस्तान्तरण गर्ने उद्देश्यका साथ । यसको लागि अब कुरा काट्ने, गाली गर्ने, विरोध गर्ने भन्दा आफ्नो जागरुपतामा रहनु अपरिहार्यता छ, परिवर्तनको लागि, मानवता–असलता सहितको मौलिक संस्कार संस्कृति, सभ्यतालाई संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनका लागि ।
“सचेत असल एक विश्व बनाउन दृढ सङ्कल्पित बनेर !
सकारात्मकता, सृजनशीलता एव आत्मनिर्भरतामा रहेर !!”
म योगीहरुमा उपयोगी ‘सहयोगी’ बन्ने प्रयास गर्छु–कसैलाई मद्दत चाहिए म छु नि भन्न सकुम्–यो जीवन लीन लाई हैन, दिनलाई हो भन्ने मानेर । (लेखक म बाटै रुपान्तरण, जागरण, बोधको यात्रा सचेत क्रान्तिका सोचकर्ता, अनुरोधक एव संकल्पकर्ता हुनुहुन्छ ।)





