2024 March 28/ 01:53: 11pm

नमस्कार !! म मुटु हँु , मानव शरीरको नभई नहुने अति नै आवश्यक अंग । तपाईंले मलाई मानव शरीरको सबैभन्दा मेहेनती अंग पनि भन्न सक्नु हुन्छ किनभने मेरो काम मानिसको जन्मबाट होइन, ऊ आफ्नो आमाको गर्व मै छदा सुरm हुने गर्दछ र म आफ्नो काम कहिल्यै पनि रोक्दिन किनभने यदि मैले काम गर्न रोकिदिए भने माीनसको जीवन नै रोकिन केही क्षण पनि लाग्दैन । अब जानौ मेरो कामको बारेमा । 

तपाईले मेरो कामलाई पुनर्चक्रण प्रक्रियासँग दाज्न सक्नुहुन्छ । जसरी त्यस प्रक्रियामा वरपरका नचाहिने र बिग्रिएका सामानहरु बटुलेर राम्रो बनाइ फेरी प्रयोगमा ल्याइन्छ , त्यसैगरी म पनि शरीरको कुनाकुनाबाट अक्सिजन नमिसिएको रगत बटुल्ने गर्छु र त्यसलाई  अक्सिजनयुक्त बनाइ नसाहरुको माध्यमबाट फेरी हरेक अंगसम्म पुर्याउने गर्छु । यस प्रक्रियामा मेरो मित्र फोक्सोको पनि ठूलो भूमिका रहेको छ किनभने शरीरको अधिकांश अकिसजन फोक्सो मै हुने गर्दछ । यसरी म रगतसँगै अरु अनेक थरीका पोशक तत्वहरु र खाना पनि सबै अंगसम्म पुर्याइदिने गर्दछु । म एक मिनेटमा करिब ६० देखि १०० पटक धड्कने गर्दछु । संकोजन हँुदा म हरेक अंगसम्म रगत पुर्याइदिने गर्छु र विस्तार हुँदा सबै अंगहरुबाट रगत बटुल्ने गर्दछु । यही रगत ल्याउने र पुर्याउने प्रक्रियामा शिरा , धमनी र केशिकाको ठूलो भूमिका रहेको छ । खेल खेल्दा वा अरु कुनै शारीरिक गतिविधि गर्दा म अलि छिटोछिटो धड्कने गर्दछु किनभने त्यस बेला शरीरले बढि अक्सिजन खपत गर्ने गर्दछ त्यसैले सन्तुलन बनाइराख्न म अंगहरुसम्म बढि अक्सिजन पुर्याइदिने गर्छु ।

म के हो, मेरो काम के हो र मेरो कामको प्रक्रिया त हजुरहरुले बुभ्नुभयो होला तर अब कुरा गरौँ संसारमै चर्चा र चिन्ताको विषय बनेको कुरा ‘हृदय रोग’ जसलाई सरल भाषामा मुटुको रोग पनि भन्ने गरिन्छ । म र म जस्तै अरु थुप्रै मुटुहरुले मानव शरीर भित्रको जटिल काम पनि सरल तरिकाले गर्ने गर्दछौ तर हरेक पल हँुदै गरेको विकास र मानिसले गर्ने व्यवहारले हाम्रो काममा जटिलता बढाउने गर्दछ । पहिँले जब मानिसहरुले सादा जीवन जिउने गर्थे त्यति बेला कुनै हृदय रोग देखिएको पनि थिएन तर विश्व र देशहरुमा हुँदै गरेको विकाससँगै  मानिसहरुको खानपिनमा पनि बदलाव आएको छ । अहिँले संसारभर नै नानाथरीका रसायनहरु मिसिएका जंक फुड र फास्ट फुड खाने प्रवृत्ति बढेको छ जसलेृ शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउने गर्दछ । कोलेस्ट्रोल भनेको मानवको कलेजोमा उत्पादन हुने खास किसिमको पदार्थ हो जसको शरीरमा एकदम ठूलो भूमिका रहेको छ तर संतृप्त बोसो ( स्याचरेटेड फ्याट ) जस्तै घिउ , रातो मासु(बिफ , पोर्क , आदि) र तारिएका खानेकुराहरुको अधिकांश सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउने गर्दछ । कोलेस्ट्रोल बोसोको रुपमा नसामा जम्मा हुने गर्दछ क्लोटको रुपमा नसामा रहेर यसले रगतको बाटोलाई ब्लक गर्ने गर्दछ जसले हृदय घाट र स्ट्रोकको खतरा बढाउने गर्छ । ममा , यानी म मुटुमा आएको समस्याले गर्दा कसैको ज्यान गएको देखेर म आफैलाई पनि निकै नरमाइलो लाग्छ तर विडम्बना के हो भने यी कुनै पनि कुनै पनि कुरामा न त मेरो केही दोष छ न त म केही गर्न नै सक्छु । म मात्र यति भन्न सक्छु कि म मुटु हुँ र मलाई माया गर जसको फल तिमी मानिसले जीवनभर पाउने छौ । 

मानिस कै लापरवाहीका कारण हृदय रोगहरु झन घातक बन्दै गएका छन् । पहिँले ६० वर्ष भन्दा माथिका वृद्धहरुलाई मात्र त्यस्ता रोगहरु देखिन्थे भने अहिल्यै कलिलै उमेरका युवायुवतीहरु पनि हृदय रोग र सुगर(चिनि रोग) को सिकार हुने गरेका छन् । हृदय रोगहरु बढ्नुको अर्को मुख्य कारण बालबालिकाहरुको बद्लेको मानसिकता पनि हो । बालबालिकाहरुलाई यी सबै ज्ञान र स्वास्थका कुराहरु हावादारी लाग्ने गर्दछन् जस्को मुख्य कारण अभिभावकहरुको लापरवाही पनि हो । स्वयम् विश्व स्वास्थ संगठनले पेश गरेको रिर्पाेट अनुसार हृदय रोगका कारण हरेक वर्ष करिब दुई करोड मानिसको ज्यान जाने गरेको छ । मध्य एसियाली र दक्षिण एसियाली राष्ट्रहरुमा यी रोगहरुको दर उच्च रहेको छ किनभने तिनै राष्ट्रहरुमा कोलेस्ट्रोयुक्त खानेकुराहरुको बढी सेवन गर्ने गरिन्छ । अमेरिकामा पनि यसको दर उच्च रहेको छ किनभने अमेरिकामा बरगर र पिज्जा जस्ता फास्ट फुडको सेवन हद भन्दा बढी हुने गर्दछ । यस्ता कुनै पनि व्यवहारले मुटुलाई माया गरेको जस्तो जनाउँदैन । फेरी हृदय रोगको कारण खाना मात्र हो भनेर सोच्नु पनि गलत हो । मानिसमा बढ्दै गएको आलस , मोटोपन र अज्ञानताले पनि खतरा उत्तिकै बढाउने गर्दछ । खानाले धेरै असर पारे पनि हृदय रोगका आफ्नै वंशानुगत कारणहरु पनि रहेका छन् । 

हृदय र हृदय रोगका बारेमा गफ मात्र गरेर पनि केही फाइदा छैन । सरकारले वा अरु कसैले केही कदम चाल्नु भन्दा पनि हरेक व्यक्तिले हृदय रोगका कारण र परिणाम आफैँ मनन् गरे पनि यी सबै समस्याहरु आफैँ हराउँदै जान्छन् । बालबालिकाहरुलाई पनि सानैदेखि मुटुलाई माया गर्न सिकाइनु पर्छ । मुटुलाई माया गर्नु कुनै ठूलो काम पनि हाइन । दिनमा केही बेर बसरत , स्वस्थ खाना र पर्याप्त शारीरिक गतिविधिले मात्र पनि मानिसलाई स्वस्थ राख्न सक्छ । चिन्ता र तनाब भनेका उच्च रक्तचापका मुख्य कारणहरु हुन् जसलाई नियन्त्रण मानिस स्वयमृले मात्र गर्न सक्छ । अन्त्यमा म मुटु आफैले मात्र यति भन्न चाहन्छु कि , स्वस्थ मुटु र स्वस्थ जीवनको मात्र एउटै मुलमन्त्र रहेको छस् 
मलाई माया गरौँ ! मुटुलाई माया गरौँ !!! (नेपाल हृदय निवारण प्रतिष्ठान काभ्रेशाखा द्धारा विश्व मुटु दिवस २०७८ मा जिल्ला स्तरीय निबन्ध प्रतियोगितामा प्रथम हुन सफल निबन्ध । लेखक नाइटिङ्गेल एकडेमी कक्षा १० का विद्यार्थी हुनुहुन्छ ।)