शर्मिला बन्जाडे
सामान्यतया तिज भन्ने वित्तिकै महिलाहरू अर्थात दिदिबहिनीहरू, आमा तथा छोरीहरू भेला भई मिठो मसिनो खाई एक आपसमा आफ्ना सुख दुःख साट्ने माध्यमको रूपमा परापुर्वदेखि चलिआएको ऐतिहासिक र नारीहरूको महान चाडको रूपमा बुझिन्छ । यसको ऐतिहासिक पृष्ठभुमिलाई केलाउदा हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतिको कन्यादान भगवान विष्णुसँग गरिदिने बचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार ब्रत बस्न बसिन् ।
यसरी पार्वतीको कठोर ब्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ । यद्यपि यसको अबलम्बनमा समय सापेक्ष परिवर्तन हुदै आएको छ । हिजोको दिनमा दिनभर श्रीमतीले निराहार ब्रत वसी सुर्यास्तसँगै श्रीमानको पुजा गरी खुट्टा ढोगी पानी खानुपर्ने प्रचलनलाई एउटा सँस्कारको रूपमा लिदै आईरहेको अवस्था थियो । त्यसलाई वर्तमान समयमा ज्ञानको विकास, योग्यता, क्षमता र बुझाईमा आएको व्यापकता र परिवर्तनले स्वेच्छिक रूपमा दुवैले एकअर्काको सम्मान स्वरूप समान तरिकाले श्रीमान श्रीमतीले दुवैले गर्ने प्रचलनले व्यापकता पाएको छ ।
आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । यस पर्वलाई भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइन्छ । जसमा सुरूको दिनमा महिला दिदिवहिनीहरू लगायत आफन्तहरू भेला भई दर खाने तथा नाचगान गरी रमाईलो गर्ने गरिन्छ र त्यसको भोलिपल्ट श्रीमानको लामो, दीर्घायु आयु र स्वस्थ जीवनको लागि निराहार व्रत बस्ने प्रचलन छ । विगतमा महिलाहरू (विवाहित÷अविवाहित) मात्र ब्रत वस्ने प्रचलन रहेकोमा समाज परिस्कृत र सोचाईमा विकास हुदै गर्दा पुरूषहरू समेत आफ्नो श्रीमतीको लागि निराहार व्रत बसी भगवानसँग वरदान माग्ने प्रचलन बढ्दै गईरहेको छ । जसले पुर्ण समाज हुनका लागि महिला पुरूषको समान अस्तित्व हुनुपर्छ भन्ने कुराको बोध दिनानुदिन बढ्दै गईरहेको छ ।
हिजोका दिनमा हाम्रो आमा हजुरआमाका पालामा तीजको आफ्नै मौलिकता र महत्व थियो तर आज समाज आधुकनिकरणमा प्रवेश गर्दै गर्दा अथवा भनौ प्रविधिले फड्को मार्दै गर्दा समाजमा सँस्कृतिको नाममा विकृति फैलिदै जाने सम्भावन बढ्दो छ । चाहे त्यो गीत संगीतमा नै किन नहोस् । तीजको एकदिन अगाडिको दर कार्यक्रम लाखौ खर्च गरी महंगो बनाईदै छ महिनौ दिन दरको नाम दिईएर । शालीन र सभ्य सँस्कृतिलाई भड्किलो र अशोभनीय बनाउदै छौ जसले भोलीका हाम्रा सन्तानलाई के सिकाउदै छौ त भन्ने सम्मको सोचको हामीले परिकल्पना गरेकै छैनौ । हामीले आज मनाउने चाडपर्व भनेका भोलिका पुस्ताको लागि हस्तान्तरण गरिने क्रियाकलापहरू हुन् । जसले पुस्तागत रूपमा सम्मान र सँस्कृतिलाई संरक्षणमा टेवा पु¥याउँछ । तर हामी त एउटा सानो र क्षणिक रमाईलोको लागि बालबालिकाहरूको ईच्छाविपरीत वा उनीहरूको अनभिज्ञतालाई अहिले प्रचलनमा रहेका टिकटक, ईन्स्टा, फेसबुक अथवा युटुब को नाममा छोटो समयमा स्टार र पपुलारिटी हुने लोभमा कोमल मस्तिष्कलाई प्रयोग गरिरहेका छौ । त्यी बाल मस्तिष्कको सिकाई कता गईरहेको छ ? भोलिका दिनमा त्यसको प्रतिफल कस्तो रहन्छ र त्यसले हाम्रो सस्कृति, परम्परा, ईतिहास र प्रचलनलाई कता धकेल्दै छ ? अबको गम्भिर र सोचनीय प्रश्न बन्दै गईरहेको छ ।
तिज महिला बिशेष कार्यक्रम÷चाड हो । विगतमा अधिकांश महिलाहरू स्वतन्त्र नहुँदा चुलो चौका, मेलापात र खेतवारीमा सिमित रही आफ्नो मनको कुरा खुलेर परिवारसँग राख्ने समेतको वातावरण नहँुदा वर्षमा १ दिन आफ्नो मन मिल्ने दिदिबहिनिहरू जम्मा भई नयाँ लुगा लगाई गीतलाई माध्यम बनाई मनको बह पोख्ने एउटा महत्वपूर्ण पर्वको रूपमा रहेको भन्ने कुराहरू हामी हाम्रा आमा हजुरआमाहरूबाट सुन्दै आईरहेका छौ । तर वर्तमान समयमा यस किसिमको वातावरणमा केही फरकपना अर्थात विकास हुदै आईरहेको छ । हिजोका दिनमा छोरी भन्ने वित्तिकै नाक खुम्च्याउन समाज आज केही परिवर्तन भई खुशीसाथ महिलाको अस्तित्वलाई स्वीकार्दै गईरहेको अवस्था छ । तर हामीले लेख्ने गीत र बनाईने कथामा महिलालाई सधै कमजोर पात्रको रूपमा देखाईनु पक्कै पनि त्यो उपर्युक्त होईन । विभिन्न टेलिसिरियलहरूमा आज पनि महिलालाई एउटा कमजोर पात्रको रूपमा चित्रण गरिएको छ । जहाँ महिला नयाँ लुगा र गहना र खान पाएपछि हुरूक्क भई फुरूङ्ग नाच्दै सबै गाउँ, शहर र टोल टोल तिर देखाउदै हिडेको देखिन्छ । हरेक एपिसोडमा महिला भन्ने वित्तिकै झगडा गर्ने, अर्काको डाहँ, ईष्र्या, र लोभ गरेको र पटक पटक चरित्रमा नै समस्या देखाईन्छ ।
एउटा कोही नयाँ महिला कुनै नयाँ ठाउमा उपस्थिति दखिनेवित्तिकै गलत नजरे हेर्ने प्रवृतिलाई हरेक कथामा जोडतोडका साथ देखाईन्छ तर त्यही त्यस्तो प्रवृतिलाई निराकरण गर्ने अथवा समाजमा सन्देश दिने सकारात्मक विषयले त्यहा प्रवेश पाउदैन । चाड पर्व भन्ने वित्तिकै महिलाले लुगा र गहनाका लागि कथाको प्रमुख विषय बनाईनुले मुलुक आधुनिकता र परिस्कृत तर्फ उन्मुख भएतापनि हाम्रो सोच र कथा लेख्ने क्षमतामा त्यो पाउन सकिएको छैन । कथाले सधै दुई पक्षलाई समेट्नुपर्दछ पहिलोः कमजोर र सबल, कमजोरी जुन हाम्रो टेलिसिरियलहरूमा हामीले छ्यापछ्याप्ती देख्न सक्छौ अर्थात माथि उल्लेखित कुराहरू र दोस्रो सबल पक्षः जुन विभिन्न चुनौतीको सामना गर्दै सबल बन्न सकिने सम्भावना सहितका दृश्यहरू जसले समाजमा कमजोर बनाईएका महिलाहरूका लागि उत्प्रेरणा बनोस्, गन्तब्य सम्म पुग्न सकिने जटिलतालाई पनि सहजताको बाटो देखाओस ।
मुलुक आज पनि पितृसत्तात्मक सोचबाट माथि उक्लिन सकेको छैन । कुनैपनि महत्वपूर्ण पदको लागि योग्य, सक्षम हुँदाहुँदै पनि त्यहाँ महिला भएकै कारण उसले अवसर पाउदैन । उ भन्दा कमजोर र जुनियरलाई पुरूष भएकै कारण सक्षम ठानी पद हस्तान्तरण गरिन्छ । महिला भन्ने वित्तिकै पहिला हेपाहा र कमजोर दृष्टिले हेर्न हाम्रा आँखाको धमिल्याईपना अझै पनि हट्न सकेको छैन । समाजले पूर्णतः महिलाको नेतृत्व र अस्तित्वलाई स्वीकार्न नसकेको अवस्थामा हामी महिलाहरू आज पनि आफु भन्दा धेरै पढेको, धनस सम्पति वाला लगायतका आफूलाई कमजोर बनाई चिच्याई चिच्याई तिजका गीतका नाममा छमछम नाचिरहेका छौ । गीतबाटै एउटा साडी र गहनाको लागि श्रीमानसँग झगडा गर्दै छौ । जसबाट हाम्रा अबोध छोरीहरूले के सिक्छन् । तिनै गीतहरू ३ वर्षको छोरीले दोहोर्याईरहदा मनमा कता कता चिसो पस्दो रहेछ । जसले पीडा बोध गराउँछ र समाजको गलत तस्विर अगाडि झल्किन्छ ।
चाडपर्व भनेका समाजका ऐना हुन जसले हामीलाई एक अर्कासँग माया, ममता, स्नेह, सम्मान र आत्मियता बढाउने उदेश्यले परापूर्वकालदेखि निरन्तर चलिआएका छन् । हिजोका दिनमा केहि सिमिति विषय यीनका माध्यम थिए होला तर आज विश्व विज्ञान प्रविधिको तिव्र विकाससँगै यसको अबलम्बनमा केही परिमार्जन हुनु स्वाभाविकै हो तर यसको मर्म र मौलिकतालाई नै असर पर्ने गरी यसको औचित्यतामा नै प्रश्न उठ्नु पक्कै पनि राम्रो होईन । तसर्थ, तीज हिन्दु नेपाली नारीहरूको महान चाड हो । जसको माध्यमबाट देश विदेशमा छरिएर रहनुभएका आमादिदिबहिनीहरू एकआपसमा जुटी रमाईलो गर्नुले साच्चीकै हामीलाई नजिक्याएको छ साथै माया, ममता ,स्नेह र आत्मीयता समेत बढाएको छ ।
त्यसैले हुनेले अस्वाभाविक, भद्दा प्रस्तुती र खर्च नगरी नहुने तथा कमजोर आर्थिक अवस्था हुनेले क्षमता अनुसारको जोहो गरी कोही कसैसंग गलत प्रतिस्पर्धा नगरी स्वच्छ र शालिन भई पर्व मनाउन तर्फ केन्द्रित रहौ । यो पर्व हामी महिलाहरूको आस्था, श्रद्वा र भावनसंग जोडिएकोले पनि यो महान चाडलाई आफुलाई सक्षम, योग्य र नेतृत्वदायी बनाउन सकिने कथा, गीत संगीतहरू रचना गरी सबै नारीहरूलाई उत्प्रेरणा हुने खालका कार्यक्रम तर्फ सबै अग्रसर हौ अनि जुटौ । सबैमा हरितालिका तिजको शुभकामना ।।





