2021 January 21/ 09:49: 43am

    हाम्रा पुर्खाहरुले लामो समयको अनुभवबाट आर्जन गरेको भनाई–“शत्रु आफ्नै कोखबाट जन्मन्छ” भन्ने कुराले अहिले नेकपाको पार्टी जीवनमा ठ्याक्कै मिल्न आएको छ । २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभिन्न गुट उपगुट र समूहमा विभाजित हुँदै पचासको दशकमा आईपुग्दा एकदर्जन भन्दा बढी विभिन्न समूहमा टुक्रिन पुगेको नेकपा २०७४ असोजमा एकीकरण भएको थियो । तर एकीकरणको सबै प्रक्रिया पूरा नहुँदै सत्तापक्षबाटै प्रतिपक्ष जन्मिएर नेकपाको विभाजन भएको छ । वि.सं. २०४७ मा तत्कालीन नेकपा माले र नेकपा माक्र्सवादी एकीकरण भई नेकपा एमाले गठन भएपछि उक्त समूह नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह बनेको थियो । सोहि अनुरुप नेकपा एमालेले २०४८ को पहिलो संसदीय निर्वाचनमा प्रमुख प्रतिपक्षको रुपमा र २०५१ को मध्यावधि निर्वाचनमा संसद्मा ठूलो पार्टीको रुपमा स्थापित हुन सफल भई अल्पमतको सरकार समेत गठन गरेको थियो । नेपालमा सरकार गठन र संचालनमा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठित नौ महिने अल्पमतको सरकार सर्वश्रेष्ठ लोकप्रिय र स्वर्णिम युगको सरकार भन्दा बढी हुने छैन ।
    वि.सं. २०५२ फागुन १ गतेबाट प्रचण्ड र बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नेकपा माओवादी समूहले जनयुद्धको घोषणा गरी करिब दशवर्षे छापामार युद्ध संचालन गर्दा सत्र हजार नेपाली जनताको ज्यान गुम्नुको साथै अथाह भौतिक सम्पत्तिको ध्वस्त गरेको थियो र नेकपा माओवादी जनताको माझमा तर्साउने भूतको रुपमा चित्रित भएको थियो । राजतन्त्रको अन्त्य पछि संविधान सभाको लागि भएको पहिलो निर्वाचन २०६४ मा साविक नेकपा माओवादी ठूलो पार्टीका रुपमा स्थापित भई उक्त पार्टीका शीर्ष नेताहरु प्रचण्ड र बाबुराम भट्टराईले प्रधानमन्त्रीको पद समेत सम्हालेका थिए ।
    नेपालमा वि.सं. २०४८ देखि २०७४ सम्म भएका विभिन्न संसदीय, स्थानीय, संघीय र प्रादेशिक तहका निर्वाचन परिणामलाई विश्लेषण गर्दा ७०% जनमत बामपन्थीको पक्षमा देखिन्छ । तर त्यो जनमत गुट र फुटको कारण कहिले पनि एकत्रित हुन सकेन र जहिले पनि ३०% जनमत भएको नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाइरहेको थियो । संघीय गणतन्त्र नेपालको नयाँ संविधान २०७२ जारी भएपछि वि.सं. २०७४ वैशाखमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा पनि तत्कालीन नेकपा एमालेले अग्रता कायम गरेको थियो ।
    उक्त स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी र नेपाली काँग्रेसले चुनावी गठबन्धन गरेका थिए, तरपनि गठबन्धन दोस्रो स्थानमा सीमित रहेको थियो । स्थानीय निर्वाचन भएको छ महिना पछाडि २०७४ मंसिर २१ गते भएको संघ र प्रदेशको चुनावमा नेकपा एमाले र नेकपा माओवादीले पार्टी एकताको घोषणा गर्ने गरी चुनावी गठबन्धन गरी साझा चुनावी घोषणा पत्र र साझा उम्मेदवार सहित निर्वाचनमा भाग लिएको कारण नेकपाको पक्षमा दुई तिहाइ बहुमत आएको थियो । नेपालको राजनैतिक इतिहासमै कम्युनिष्टहरुले संसदीय निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त गरेको यो पहिलो ऐतिहासिक क्षण हो र थियो । नेकपा एमाले र माओवादीको त्यो चुनावी गठबन्धनलाई नेपाली काँग्रेसले अपवित्र गठबन्धनको संज्ञा दिएको थियो । नेकपामा अहिले देखिएको विभाजन र तिक्तताले काँग्रेसको उक्त भनाईलाई पुष्टि गरेको भान समेत हुन्छ ।
    दुई पार्टीबीच एकताको उद्घोषण सहित चुनावी गठबन्धनमा होमिएका नेकपा एमाले माओवादी केन्द्र र नयाँ शक्ति पार्टी बीच २०७४ असोज १७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा पार्टी एकताको घोषणा गरिएको थियो । तर नयाँ शक्तिका डा. बाबुराम भट्टराई उक्त एकतामा टिक्न नसकी नयाँ शक्ति पार्टीलाई जनता समाजवादी पार्टीमा विलय गराउन पुगि आफू पनि वैचारिक रुपमै पलायन हुन पुगे ।
२०७४ को संघीय एवं प्रादेशिक निर्वाचनमा नेकपाको गठबन्धनले दुई तिहाई बहुमत ल्याउन सफल भएपछि २०७४ फागुन ३ गते केपी ओली नेपालको ४१ औं प्रधानमन्त्रीको रुपमा संघीय नेपालको पहिलो प्रधानमन्त्री बन्नु भई २५ सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो । नेपालको संसदीय निर्वाचनमा नेकपाले दुई तिहाई बहुमत ल्याई सरकार गर्नु एकजुगमा आएको ऐतिहासिक उपलब्धि भएकोले यसबाट नेकपाका सबै तहका नेता र कार्यकर्ताहरु खुशी थिए र अब देशमा विकासको गतिले तिव्रता लिनेछ र देशको समग्र पक्षमा कायापलट नै हुनेछ भन्ने आशा र भरोसा गरेका थिए । तर नेकपाको बाहिरी आवरण र घेरामा एकीकरणको लेप लगाएपनि भित्री घेरामा नेता पिच्छेकै विभिन्न गुट उपगुटको चिरा र असन्तुष्टि कायमै थियो । मन्त्रीमण्डल गठन, पुनर्गठन गर्ने क्रममा पनि त्यो गुट उपगुटको असर प्रभाव प्रत्यक्ष देख्न सकिन्थ्यो ।
पार्टी विभाजनमा पर्दा भित्र र बाहिर रहेका नायकहरु
नेकपा अहिले ओली समूह र प्रचण्ड–नेपाल समूह भनि प्रष्ट दुई समूहमा विभाजित भएको छ । तर दुवै समूह विभाजनको कारण र दोष एकले अर्काेलाई लगाईरहेका छन् र नेकपाको आधिकारिकता र चुनाव चिन्ह ‘सूर्य’ आफ्नो हो भन्ने तर्क गरिरहेका छन् । अनि एकपक्षले अर्काे पक्षलाई कारवाही गरेको घोषणा गर्दै आफू नांगिदै दुनियाँलाई घर झगडाको तमासा देखाउने पौरख गर्न रमाइरहेका छन् । नेकपाको केन्द्रमा भएको विभाजन अब प्रदेश, जिल्ला, इलाका, नगर, गाउँ, टोल, वस्ती हुँदै सामान्य कार्यकर्ता र शुभचिन्तक सम्म पुगिसकेको छ । प्रचण्ड नेपाल समूहको बहुमत भएको प्रदेश सरकारका मुख्यमन्त्री विरुद्ध अविश्वासका प्रस्ताव दर्ता भइसकेका छन् । धेरै जिल्लामा पार्टी कार्यालय कब्जा गर्ने र पार्टीको सम्पत्ति जफत गर्ने कुरामा दुई समूह बीच होडबाजी र झडप सुरु भइसकेको छ । 
    नेकपाभित्र भुसको आगोझै सल्किएको विवाद र चिरा जब प्रचण्ड नेपाल पक्षले केपी ओली विरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रस्ताव संसद्मा दर्ता गर्ने संकेत पाएपछि त्यसबाट बच्न प्रधानमन्त्रीले मन्त्रीपरिषद्को निर्णयबाट राष्ट्रपतिको सिफारिसमा २०७७ पौष ५ गते संसद् विघटन गरी २०७८ वैशाखमा मध्यावधि निर्वाचनको घोषणा गरेका हुन् । संसद् विघटनको घोषणाले आफ्ना दुवै प्रस्ताव असफल भएकोले प्रचण्ड नेपाल समूह आक्रामक रुपमा ओली समूहमाथि खनिएको छ । झट्ट हेर्दा प्रधानमन्त्रीले गरेको संसद् विघटन बेमौसमी बाजा र नपाकेको टर्राे फल खाएजस्तो भएको छ । पाँच वर्षको लागि गठित संसद्को अवधि नपुग्दै विघटन हुनु कुनैपनि नेपालीको लागि खुशीको कुरा होइन ।
    संसद् विघटन र पार्टी विभाजनको खेलमा नेकपाका दुवै समूहको बराबरी जिम्मेवारी र दोष रहेको छ । फ्रान्सको लुइ चौधौले “म नै राज्य हुँ” भनेजस्तै प्रधानमन्त्री ओलीले पनि “म नै पार्टी हुँ” भनेर अर्काे पक्षलाई पेलेरै जाने हठी स्वभाव र प्रत्येक पाईला पाईलामा आफ्नो समुहको भागबण्डा खोज्दै आफ्नै सरकारलाई काम गर्न अवरोध सिर्जना गर्ने प्रचण्ड नेपाल समूह नै पार्टी विभाजनका मुख्य कारक सावित भएका छन् । त्यसमा मलजल र सहयोग पु¥याउने दुवै समूहका पर्दा भित्र र बाहिर रहेका धेरै नेता र कार्यकर्ताहरु रहेका छन् । दुवै समूहका खलनायक नेताहरु सिङ्गो घरमा आगो लगाएर आम इमानदार कार्यकर्ताहरुको मन रुवाएर जुंगाको लडाई लडिरहेका छन् । 
    प्रधानमन्त्रीको संसद् विघटन विरुद्ध एकदर्जन भन्दा सिट निवेदनहरु सर्वाेच्च अदालतमा परेका छन् र सबै दलहरु सर्वाेच्चको निर्णयको पर्खाईमा रहेका छन् तर सर्वाेच्चले जे निर्णय गरेपनि देश अब अन्योलको भुँमरीमा फसिसकेको छ । संसद् पुनस्र्थापना भएपनि संसद्मा सांसद्हरुको भाँडभैलो, कुर्सी र मुक्का हानाहान देख्नुपर्छ, पुनस्र्थापना नभई चुनावमा जानुपर्दा पनि अबका चुनावमा कुनैपनि पार्टीको स्पष्ट बहुमत आउने सम्भावना नभएकोले संसद्मा सरकार बनाउने र गिराउने अस्वस्थ र फोहोरी खेलको नाटक मञ्चन भइरहनेछ । देशमा आर्थिक मन्दी, भ्रष्टाचार र अस्थिरता अझै मौलाउने छ ।
    नेकपाको विभाजनले आम इमानदार कार्यकर्ताहरुको मन रोएको छ, उनीहरु अझै पनि नेकपा नफुटोस् भन्ने कामना गर्दछन् । नेताका आसेपासे, पद लोलुप र अवसरवादीहरु मात्र नेकपा विभाजनमा रमाएका छन् र कुन समूहमा लाग्दा आफूलाई बढी लाभ प्राप्त हुन्छ भन्ने लेखाजोखा गरिरहेका छन्, प्रमुख प्रतिपक्ष आगामी चुनावमा आफ्नो बहुमत आउँछ भनि भित्रभित्रै मुख मिठ्याइरहेको छ । तर जे होस् शिखरमा पुगेको नेकपाको एकतालाई भत्काउने सबै खलनायकहरुलाई समय र इतिहासले माफी दिनेछैन ।