2024 April 27/ 01:20: 41am

– पूर्णचन्द्र सिग्देल
    अहिले संसारकै मानव समुदाय विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ (कोरोना) को महामारीबाट अक्रान्त बनेको छ । यो विषम परिस्थितिले मानिसका धार्मिक, सामाजिक, साँस्कृतिक मात्र होईन आर्थिक अधिकार पनि खोसेको छ । त्यति मात्र हैन झण्डै पाँच लाख भन्दा बढिको ज्यान समेत गइकेको छ । त्यसैले अब हामी सुरक्षित कसरी हुन सक्छौ र कोरोना मुक्त भएर बस्न कसरी सक्छौ ? भन्ने विषयमा विश्व स्वास्थ्य संगठन तथा बिभिन्न खोज अनुसन्धानकर्ताहरुले योग, ध्यान, प्राणायाम तथा जडिबुटी एवं मसलाजन्य वस्तुको सेवनले कोरोनालाई परास्त गर्ने क्षमता बढाउने कुरा बताइसकका छन् । त्यसैले हामीले अब सजिलै र सहजै गर्न सकिने केही योगाभ्यासलाई आजैबाट शुरु गर्ने प्रण ग¥यौं भने विचलित हुन लागेको तन र मन दुवैलाई फुर्तिलो बनाउँन सक्छौं ।
    जसले योगविज्ञानको आविष्कार गर्याे, हामी तिनै ऋषिमुनिका सन्तान हौं । हाम्रा पुर्खा ऋषिमुनि थिए तर अहिले पश्चिमा सभ्यता देखाउनेहरु केही मानिस सिसिमुनीबाट प्रभावित भए । ऋषिमुनिको परम्परालाई भुलेर असभ्यता तर्फ मोहित भएकै कारण आज सर्बत्र तनाव, बैचैनी र अशान्ति बढेको छ । मनभित्रको अशान्ति नै आजको सर्वाेपरी पिडा हो । यो पिडाले आज बहुमत मानिसको मनमा दुःखकष्ट जन्माएको छ । यस विषमताको एउटै निराकरणको उपाय केवल योग, ध्यान र प्राणायाम हो ।
    त्यसबखत श्रीकृष्णले महाभारतको युद्वभूमिमा गीताको उपदेश दिदै भनेका थिए ‘योगो भवति दुःखहा’ अर्थात हे अर्जुन, योग गर, यसैले तिम्रो युद्वको पीडालाई हरण गर्छ । युद्घमूमिमा अर्जुनलाई भएजस्तो विषाद र पीडा आज प्रत्येक मानिसको नियति बनेको छ । त्यसैले आजका प्रत्येक मानिसलाई आधुनिक अर्जुन पनि भनिन्छ । पुराण तथा शास्त्रमा भएका योगका बचन वा शास्त्रहरु पढेर मात्र हुदैन, सही ढंगले व्यवहारमा पनि उतार्न सकियो भने मात्र जीवनलाई सार्थक बनाउन सकिन्छ । हैन भने एघार प्रतिशत मानिस प्रकृतिलाई सिंगारेर सुन्दर बनाउन जन्मन्छन् । तेह्र प्रतिशत मानिस पृथ्वीलाई केहि न केहि उपहार दिन जन्मिन्छन् भने बाँकी छैहत्तर प्रतिशत मानिस पृथ्वीलाई बोझ दिन, प्राकृतिक संरचना बिगार्न र त्यसबाट फाईदा लिनका लागि मात्र जन्म लिन्छन् । 
    हाम्रा पौराणिक ग्रन्थ तथा शास्त्रहरुमा योगको बारेमा प्रशस्तै चर्चा गरेको पाईन्छ । विधिवत् रुपमा नियमित योग गर्ने हो भने विभिन्न प्रकारका रोगहरुमात्र होईन मानसिक समस्या पनि निदान गर्न सकिन्छ । त्यसैले सबै धर्म शास्त्रहरुमा योगको बारेमा राम्रोसँग प्रष्ट्याईएको छ । योगको विषयमा कुन शास्त्रमा के भनिएको छ त एकपटक हेरौं ।
सर्वश्रेष्ठ योगग्रन्थ पाताञ्जल योगसूत्रमा– ‘योगश्चित्तवृत्तिनिरोध’ अर्थात चञ्चल चित्तका वृत्तिहरुलाई निरुद्घ गर्नु नै योग हो ।
योगशास्त्र श्रीमद्भागद्गीतामा– ‘योगः कर्मशु कौशलम्’ अर्थात कर्ममा कुशलता ल्याउनु नै योग हो । यसमै अर्काे श्लोकमा पनि– ‘समत्वं योग उच्यते’ अर्थात हरेक काम वा विषयमा तटस्थ रहनु नै योग हो भनी बताईएको छ ।
प्रश्नोपनिषद अनुसार– ‘मनः प्रश्मनोऽपायो योगईत्यभिधीयते’ अर्थात मनलाई प्रशमन गर्ने उपायलाई योग भनिन्छ ।
यति मात्र होईन प्रसिद्व ग्रन्थहरु शिव संहिता, ब्रह्मविद्योपनिषद्, योगाशिखोपनिषद्, अग्नि संहिता, विदुर नीति र योगबिज आदीमा पनि प्रष्ट रुपमा उल्लेख गरिएको छ । हामीले यसरी पनि बुझ्न सक्छौ की काँचो माटोको घैंटोमा पानी हाल्यो भने त्यो गलेर जान्छ र दुवै खेर जान्छ । त्यही घैंटोलाई आगोमा पकाएर पानी हाल्ने हो भने न भाँडो गल्छ न त पानी नै सकिन्छ । त्यसैले अपरिवक्व शरीरका बारेमा बुझ्नु पर्छ कि योगाग्निद्वारा यो शरीरलाई परिपक्व बनाउँन यसलाई योगाग्निको भट्टीमा तपाउनु आवश्यक छ । योगको मूल मर्म र दर्शन हो– मानविय चेतनाको उत्कर्ष यात्रा । यस यात्रामा योगका साधना प्रणाली र मार्गहरु भने अनन्य छन् । जसरी भोक एउटै अनुभूति हो तर त्यो भोकलाई शमन गर्ने आहारका परिकार भिन्न–भिन्न छन् । त्यस्तै आत्मसाक्षात्कार हरेक मनुष्यको नैसर्गिक अभिलाषा हो तर त्यहाँ सम्म पुग्ने अनेकौं मार्ग उपमार्ग छन् । ति अनेकौं मार्ग मध्ये योग सर्वसमर्थ र समयसापेक्ष विधा हो । योगमा अनेक प्रकारका विविधता छन् । शाखा प्रशाखाहरु पनि छन् । ति मध्ये राजयोग, कर्मयोग, ज्ञानयोग, भक्तियोग, ध्यानयोग, नादयोग, लययोग, हठयोग, मन्त्रयोग, तन्त्रयोग, कुण्डलिनी योग, प्राणयोग महत्वपूर्ण र शिर्ष शाखाहरु हुन् । लेखक नेपाल योग खेलकुद संघ, काभ्रेका अध्यक्ष हुनुहुन्छ