2024 April 26/ 01:40: 26pm

जीएन प्रधान
    करिब दुई महिना अघि मात्र छिमेकी देश चीनमा देखा परेको कोरोना भाइरस नामको नयाँ रोगले नेपालमा समेत ठूलै आतंकित एवं त्रसित बनाएको छ । सामान्य लक्षण बुझ्दा र सुन्दा साधारण रुघाखोकी जस्तो देखिए पनि विस्तारै विस्तारै श्वासप्रश्वासमा अत्याधिक समस्या देखापरी मृत्यु समेत हुने पुष्टि भइसकेको हुँदा सामान्य ज्वरो र रुघाखोकी लाग्ने वित्तिकै कोरोना भाइरस नामक रुघाखोकीको रोग हो कि भन्ने भय सबैमा लागिसकेको छ । यहि रोगको कारण चीन जस्तो विकसित देशमा समेत यो लेख लेख्दा सम्म करिब तीनहजारको हाराहारीमा चिनियाँ नागरिकको मृत्यु भइसकेको र लाखौं जनता यस रोगबाट प्रभावित भएको भन्ने समाचार सार्वजनिक भइसकेको छ ।
    अहिलेसम्म यस रोगका विरुद्ध कुनैपनि खोप या खाने औषधि पत्ता लाग्न÷लगाउन नसकेकोले पनि यसबाट बढी आतंकित हुनु वा भय पैदा हुनुलाई स्वभाविक मान्न सकिन्छ । सामान्यः रुघाखोकीकै शैलीमा एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने संक्रात्मक रोग भएकोले पनि यस रोगबाट बढी नै भयभित भएको पाइन्छ । हुनपनि अहिले यो कोरोना भाइरस नामक रोग दक्षिण कोरिया, जापान, मलेसिया, भारत लगायत खाडी मुलुक र अन्य दर्जनौं देशहरुमा पनि फैलिसकेको र फैलन सक्ने सम्भावना पनि धेरै रहेको छ । खासगरी चीनसँग व्यापार कारोबार गर्ने व्यापारीहरु र त्यहाँ अध्ययन गर्न गएका विद्यार्थीहरुको माध्यमबाट बढी फैलिन सक्ने वा फैलिएको आशंकाले पनि यो रोग बढीभन्दा बढी देशमा फैलिदै गएको अनुमान गर्न सकिन्छ । यसैले पनि अहिले चीनसँगको आवतजावतमा पूर्णतः रोक लगाइसकेको छ भने त्यहाँ रहेका मानिसहरु पनि कडा निगरानीमा रहेका छन् र रहन÷राख्न अत्यन्त आवश्यक छ ।
    जे होस् यस रोगको संक्रमण चीनमा जुन अवस्थामा रहेपनि वा अन्य मुलुकहरु जतिसुकैमा फैलिए पनि कुरा रहेको छ, रहेको थियो कि चीनमा अध्ययन गर्न गएका धेरै नेपाली विद्यार्थीहरु मध्य सबभन्दा बढी प्रभाव परेको वा संक्रमित स्थानमा रहेका १२७ नेपाली विद्यार्थीहरुलाई नेपाल फिर्ता गरी तिनीहरुलाई सुरक्षित व्यवस्थापन गर्ने कुराको । यद्यपि ती १२७ नेपाली विद्यार्थीहरुलाई केहि ढिलै भएपनि नेपाल फिर्ता गरी उच्च सतर्कताका साथ व्यवस्था गरी राखिसकिएको पनि छ, भक्तपुरको खरिपाटीमा । यसबाट सम्बन्धित अभिभावकहरुलाई पर्न गएको कोरोना भाइरसको आतंकबाट मुक्त (सुरक्षित) हुन सक्छ भन्ने कुराले मनमा शान्ति मिलेको छ । नेपाल ल्याइएका (१२७) सम्पूर्ण विद्यार्थीहरु नै कोरोना भाइरसको संक्रमणबाट मुक्त छ अर्थात् कोहिपनि व्यक्तिमा उक्त रोगको संक्रमण नरहेको भन्ने प्रमाणित भएबाट धेरै नेपालीमा खुशी पनि छाएको छ र नेपाल राष्ट्रकै लागि पनि खुशी र गर्वको विषय बनेको छ । तर यति हुँदा हुँदै पनि यो रोग संसारबाटै निर्मूल नभएसम्म ढुक्क र आनन्दले बस्न नहुने कुरामा पनि सजग नै रहनुपर्छ भन्ने कुराको पनि हामीले बुझ्न जरुरी छ ।
    हुनत कोरोना भाइरस रोग होस् या अन्य कुनैपनि सर्ने वा नसर्ने रोग होस् हामी मानिस मात्रको लागि प्रिय वा मनपर्ने रोग भन्ने हुँदैन र छैन पनि । कोहि कोहि मानिस कुनै रोगबाट दीर्घ पीडित भएर आत्म सन्तुष्टिका लागि भन्ने गर्दछन्, बरु यो (पीडितसँग भएकोे कुनैपनि) रोग लाग्नुको सट्टा अर्काे फलानो रोग लागेपनि हुन्थ्यो नि ? यो रोग त ज्यादै ज्याद्रो र कष्टदायी रोग रहेछ आदि आदि । यो भनाइ पीडित व्यक्तिको लागि आत्मसन्तुष्टि लिन रोजेको वैकल्पिक रोग झैं मात्र लाग्छ । आखिर त्यहि भनेको व्यक्तिले त्यहि रोजेको रोग यो भन्दा पहिला लागेको भए सायद यसलाई पनि यस्तै भाषा शब्द प्रयोग गर्थे होलान् । यो हामी मानिसहरुको स्वभाव पनि हो ।
    हामी रुघाखोकीलाई सामान्य रोग ठान्दछौं र कतिपयले यसलाई हेपेर, पेलेर वेवास्ता गर्ने गर्दछन् । तर जसले ज्यादा नै हेप्ने र पेल्ने बल गर्दछ र रुघाखोकीको बेलैमा पालना गर्नुपर्ने साधारण नियम पालना गर्दैन, जथाभावी खानपिनमा जोड दिन्छ त्यस्ता मानिसहरु कि त टाइफाइड, कि त निमोनियाबाट ग्रस्त भएर मृत्यु अवस्थामा पुग्दछ । पुग्दछ मात्र हैन धेरै नै यो संसारबाट विदा भएको प्रमाणहरु पनि हामीसँग छँदै छ । 
    धेरै मानिसमा यो छाप बसेको छ कि उच्च रक्तचाप, मधुमेह, टि.बी.क्यान्सर, कुष्ठरोग, एड्स, हेपटाइटिस बि आदि धेरै डरलाग्दा रोगहरु हुन्, निको पार्न कठिन हुन्छ । एउटा कुराले हेर्दा उपयुक्त रोगहरु र ती रोगसँग सम्बन्धित धारणाहरु सहि सत्य भएपनि आखिर कुनैपनि रोगहरु कुनै भन्दा कुनै कम छैनन्, होइनन् भन्दामा फरक पर्दैन । रोगहरु कुनैपनि मानिसका मित्र र स्वस्थ जीवनको सहयोगी हैनन् । सबै रोगहरुले आ–आफ्नो गुण अनुसार भूमिका निर्वाह गरेकै हुन्छन् हामी मान्छेको जीवन लिनका लागि । कतिपय डरलाग्दा र अत्यन्त घातक भनिएका रोगहरु पनि अपाm्नै सजगता र यथेष्ठ हेरविचार र समयमै नियम पालना गर्नाले पूर्णतः निको भएको उदाहरण पनि रहेका छन् भने ज्यादा लापरवाही गर्नाले सामान्यजस्तो नलिएको रोगले भयंकर रुप लिई ज्यानै लिएको उदाहरण पनि धेरै छन् । त्यसैले रोगसँग कसैको मितेरी साइनो हुँदैन भन्ने कुरालाई हामीले बुझ्नै पर्छ । सबै रोगहरुबाट सतर्क रहनै पर्दछ । रोगले विश्वका कुनैपनि व्यक्तिलाई छाडेको छैन, यसले पक्षपात पनि गर्दैन । मात्र पक्षपात गर्दछ भने रोगबाट बेलैमा सजग एवं होसियार नरहनेलाई गर्दछ, आफ्नो जीवनको गम्भीर ख्याल गर्नेलाई गर्दछ । यसले निरोग रहन सचेत रहने मानिसलाई आक्रमण गर्ने सताउने गर्दैन । र, यस्तै यस्तै व्यक्तिहरुलाई रोग लाग्ने आँट गर्न सक्दैन र पक्षपात गर्न पुग्दछ ।
    कुरा रह्यो कोरोना भाइरसको संवेदनशीलता मानवीय भावनाको विवेकशीलता । चीनमा उत्पन्न भइ माहामारीको रुप लिएपछि धेरै देशले यथाशीघ्र व्यवस्थापनका साथ आफ्ना देशका नागरिकहरु धमाधम फिर्ता लाने काम गरे । यो गर्नु भनेको सम्बन्धित देशको सरकारको दायित्व पनि हो । चाहे रोगबाट संक्रमित होस, चाहे रोगबाट सुरक्षित होस् । मानवीय हिसाबले पनि सम्बन्धित देशका सरकारले आफ्नो देश लान अत्यन्त आवश्यक छ । यसमा कुनैपनि व्यक्तिले रोगी व्यक्ति र रोगबाट संक्रमित देशका निरोगी व्यक्ति भित्र्याउनु हुन्न भनी विरोध गर्न मिल्दैन । जसले विरोध गर्छ उसलाई विवेकशील व्यक्ति भन्न पनि सुहाउँदैन । प्रसङ्ग चीनमा अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरु नेपाल ल्याउने कुराले कतिपय व्यक्तिले तीव्र विरोध गरे । कहि नभएको जात्रा हाँडी गाउँमा भनेझै कुनैपनि देशका नागरिकले नगरेको विरोध नेपालमा गर्न पुगे । हुनत नेपालमा राम्रो राम गरेपनि नराम्रो काम गरेपनि आँखा चिम्लेर विरोध गर्ने बानीको परम्परै बसिसकेको छ । मानौं कि विरोध गर्नु एउटा सँस्कृति हो, एउटा ठूलै पर्व हो । विरोध गरिएन भने उसलाई राती निद्रा नै लाग्दैन । 
यसैले पनि सरकारले गरेको वा गर्ने काममा विरोध जनाउनु विपक्षीको धर्म भएको छ । यस अर्थमा पनि चीनबाट नेपाल फिर्ता गर्न लागिएका वा ल्याइएका १२७ नेपालीलाई नेपाल ल्याउनु हुन्न, यदि ल्याइ हालिए पनि यहाँ राख्नु हुन्न, त्यहाँ राख्नु हुन्न भनी मानवीय भावनालाई चटक्कै विर्सेर विरोध गर्न पुगे । यदि सच्चा मानिस हो, विवेकशील एवं मर्मशील व्यक्ति हो भने पक्कै पनि विरोध गर्दैनथे होलान् । यस विषयमा विरोध जनाउने कथित महान् व्यक्तिहरुलाई प्रश्न गर्न मन लाग्छ कि चीनमा तपाईका छोराछोरी वा अन्य परिवारका कुनै पनि सदस्य रहेको भए नेपाल ल्याउनु भनी माग गर्ने थियो कि थिएनौं ? मेरो परिवारका सदस्य (दाजुभाउजु, भाईबहिनी, बुहारी, बुबाआमा आदि) लाई रोगको संक्रमण नै भइसकेको अवस्थामा पनि नेपाल नल्याउ भन्न सक्ने थिएन । बरु हामीलाई उक्त रोग सरेसरोस नल्याउ भन्न सक्ने थिएन परिवारको मायाले । नल्याउन खोज्दा सरकारलाई कति मुर्मुरिएर गाली गर्थे होलान् । यस्तै गाली तीनै १२७ विद्यार्थीका अभिभावकहरुले पनि गर्न पुगे, छिट्टै आफ्ना छोराछोरीहरु ल्याइदेउ भनेर ।
तसर्थ हाम्रो नेपालीहरुको धेरैको भावनामा यो रहेको पाइएन, अत्यन्त निकृष्टपनको स्वार्थ रहेको पाइयो, देखियो । आफ्नो परिवार सदस्य भए ल्याउ अरु नल्याउ आहा ! कति मज्जाको स्वार्थी कुरा, विवेक र मानवीय सेवाभावले छोपिएको कुरा । यहि खालको गाईजात्रे विरोध गरेको देखियो, सुनियो भक्तपुरमा । यदि ऊ र उहाँहरुसँग यो खालको मानवीय भावना थियो भन्ने पक्कै पनि यस्तो बोल्ने, विरोध गर्ने आँट गर्न सक्दैनथे होलान् । मानवीय सेवाभाव शुन्य रहेको देखियो ।
    जे होस् केहि दिन ढिलै भएपनि र जो सुकैले जति विरोध गरे पनि नेपाल सरकारले आफ्नो दायित्व पूरा गरेको छ, गर्नुपर्ने कर्तव्य पूरा गरेको छ । अहिले तिनीहरु सबै उच्च सतर्कताका साथ व्यवस्थित रुपमा रहेका छन्, राखिएका छन् । उनीहरु उक्त रोगबाट पूर्णतः मुक्त छन् । यसमा म जस्तै मेरो भावनाका सबै मानिसलाई अत्यन्त खुशी छाएको हुनुपर्छ । फोहोरी राजनीति गर्नमा पेशा बनाइसकेकाहरुलाई यो स्तम्भकारको तर्फबाट भन्नु केहि छैन । बरु मानवीय भावना गुमाउन सकेकोमा मुरीमुरी धन्यवाद छ भन्न मन लाग्छ ।