2019 December 09/ 05:06: 19am

        स्थानीय, प्रदेश र संघ सरकार मार्फत रकम विनियोजन गरी निर्माण गरिएका सडकहरु बर्षातका कारण जिर्ण अवस्थामा पुगेका छन् । सडकको नाली तथा सडक निर्माणमा आवश्यकता भन्दा धेरै इन्जिनियरहरुको नापजाँच विना रेखांकन भई करोडौं रकम खर्च गरिएका सडकहरुमा अहिले सवारी चल्न सक्ने अवस्थामा छैनन । सडकमा गरिएको विकास बर्षातको भेलसँगै बगाएर लगेको छ । स्थानीय सरकारले बजेटको अधिकांश रकम सडकमैै विनियोजन गरेका छन् । त्यसको अलावा संघ र प्रदेश सरकारले पनि त्यहि सडकमा रकम खर्च गरेका छन् । तर खर्च भए अनुसारको सडकको अवस्था छैन । हिउँदको समयमा जसरी पनि संचालन भएका सडकहरु बर्षातको समयमा बन्द भएका छन् । स्थानीय सरकारको मात्रै अर्बाै खर्च भएका सडकहरुको अवस्था कहालिलाग्दो छ । तर पनि स्थानीय सरकारको ध्यान बजेट सदुपयोग र स्थायी संरचना निर्माण भन्दा पनि तत्कालको फाईदा र आवश्यकता पुरा गर्न मात्रै छ । 
    विकास र खर्चकोे प्रणाली बीच समन्वय नहुँदा बर्षेनी प्राप्त बजेट खर्च हुन सकेको छैन । आर्थिक वर्षको अन्त्यमा मात्रै अख्तियारी आएका केहि सडकहरुमा विनियोजन भएको रकम खर्च हुन नसक्दा महत्वपूर्ण सडक अलपत्र परेका छन् । समयमै आएको अख्तियारी पनि संघिय सरकारबाट  हस्तान्तरित सडकको फाईल प्राप्त हुन नसक्दा विनियोजन भएको रकम खर्च हुन सकेन । असार २६ गते ३१ करोड ६७ लाख ३१ हजार ८ सय २९ रुपैयाको अख्तियारी सडक तथा पूल निर्माण शिर्षकमा प्राप्त भयो । पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका नाममा प्राप्त अख्तियारी मध्येको करोडौ रकम फ्रिज भएको छ । यता रकम फ्रिज भएको छ, गाउँमा सडक पैसा नभएकै कारण अलपत्र अवस्थामा छन । समयमै रकम र फाईल प्राप्त हुन नसक्दा तथा अन्य विविध कारणले सडक तथा पूल निर्माणका लागि विनियोजन भएको रकम खर्च हुन सकेन । पहिलो कार्यालय ढिलो स्थापना भयो, दोश्रो हस्तान्तरण गरिएका सडकका फाईल प्राप्त हुन सकेनन, तेश्रो प्राप्त फाईलको अख्तियारी समयमै आएन । सकेसम्म उपभोक्ता समिति र ठेक्कामा लगाईएका सडक र पूलहरु निर्माण गर्ने प्रयास भयो, धेरै सडक अलपत्र परे, केहि सडकका योजनाहरु सम्झौता नै हुन सकेनन् भने केहिको सम्झौता भएर पनि काम हुन सकेन । 
    संधिय सरकारबाट हस्तान्तरित ९ वटा सडक मध्ये ५ वटा सडकको प्रकृया नै शुरु हुन सकेन ।  लाकुरीभञ्ज्याङ्ग पनौती नमोबुद्ध दाप्चा सडक, भकुण्डेबेसी–खरदारपाटी–कानपुर–तिमाल–याङ्गबेल–मेच्छे सडक, दोलालघाट चौरी गुराँसे सडक, तिनपिप्ले बरुवा दोभान सडक र भक्तपुरको तेलकोट पञ्चमहालक्ष्मी मन्दिर छालिङ्ग साँखु सडकको ठेक्काको प्रकृया नै शुरु हुन नसकेको हो । उक्त सडकहरुको फाईल  सडक डिभिजन कार्यालय भक्तपुरले पूर्वाधार विकास कार्यालयलाई असारको अन्तिम तिर मात्रै हस्तान्तरण गरेको थियो । १ करोड २६ लाख ५७ हजार रुपैया मध्ये ६० प्रतिशत भन्दा धेरै रकम फ्रिज भएको छ । मागमा आधारित बजेट प्रदेश सरकारले ढिला गरी विनियोजन गरेको रकम हो । १७ वटा सडकको पहिलो चरणमा अख्तिारी प्राप्त भयो भने जेष्ठ ७ गते दोश्रो चरणमा ४ वटा सडकमा २ करोड भन्दा धेरै अख्तियारी प्राप्त भयो । पिप्ले देउराली भदौरी घ्याङ्गडाँडा सिन्धुली जोड्ने सडक रोशीगाउँपालिकाको ४० प्रतिशत मात्रै विस्तार भयो । पाँचखाल सिमाना मसरखोला भिडाबारी देउराली चरुवा हुँदै विपी राजमार्ग जोड्ने सडकमा २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । दारिमबोट तार्के, खाक्सी भँडारे विपी राजमार्ग सडकको ४५ प्रतिशत काम भएको छ । विनियोजन भएको रकम अनुसार काम हुन नसक्नु, भएका कामहरु अस्थायी हुनु र समयमै रकम प्राप्त हुन नसक्नु ग्रामिण क्षेत्रका सडकहरुको दुरावश्था हो । नीति निर्माण र बजेट विनियोजनमै ध्यान पु¥याउन सकिएन भने हरेक वर्ष यस्ता घटनाहरुको स्थानीयहरुले सामना गरिरहनु पर्छ भने बजेटको दुरुपयोग पनि रोकिदैन ।