2024 April 26/ 05:39: 40am

वर्षात्को समयमा ओसिलो तथा जनावर र बस्तुहरुमा पाईने मुसाबाट सहजै ओसारपसार गर्न सक्ने किर्ना प्रजातिको टोकाईबाट हुने स्क्रब टाईफस रोगको महामारी काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानमा देखिन थालेको छ। महामारी नियन्त्रणका लागि स्वास्थ्य कार्यालय काभ्रे र स्थानीय सरकारले आंशिक तयारी गरेको भए पनि ब्यक्तिहरुको सजगता तथा तत्काल रोगको लक्षण देखिए उपचार गर्नु पर्ने तर्फ नागरिकहरुलाई सचेतना जगाउनु आवश्यक छ। समयमै रोगको पहिचान हुन नसक्दा ब्यक्तिको स्क्रब टाईफसका कारण निधन हुन थालेको छ। पछिल्लो तथ्याङ्कले जिल्लामा स्क्रब टाईफसका कारण पाँच जनाको निधन भईसकेको छ।
    स्क्रब टाईफसका कारण धुलिखेल अस्पतालमा दुई सातामा तीन बालबालिका, एक जेष्ठ नागरिक र एक युवाको निधन भएको छ। कोभिडका कारण समयमै परिक्षण नहुँदा पछिल्लो तीन महिना स्क्रब टाईफस पोजेटिभका विरामी अत्याधिक मात्रामा देखिन थालेका छन्। स्क्रब टाईफसका कारण धुलिखेल अस्पतालमा परिक्षण गर्न आएका तीन बालबालिकाहरुको निधन भएको धुलिखेल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा. अनिष जोशीले बताउनुभयो। स्क्रब टाईफसका कारण धेरै बालबालिकाहरु प्रभावित हुन थालेका छन्। ओसिलो स्थानमा खेल्न जाने उमेरका बालबालिकाहरुलाई किर्नाले टोकेको समयमै थाहा नहुने भएकाले उनिहरुमा रोग लागेको लामो समयसम्म जानकारी नहुँदा उपचार गर्न सम्भव नभएको उहाँले बताउनु भयो। बालबालिकाहरुलाई वर्षात्को समय जोखिम भएका स्थानहरुमा एक्लै नछाड्न अभिभावकहरुले ध्यान दिनु जरुरी छ। बालिबालिकाहरु घरमा फर्किए पछि उनिहरुको शरीरमा साबुन पानीले धोईदिने, सरसफाई गरिदिने र तेल मालिस गरिदिने गर्नाले बालबालिकाहरुलाई स्क्रब टाईफस रोगबाट बचाउन सकिने चिकित्सकहरुले बताएका छन्। 
    स्क्रब टाईफसका कारण युवा र जेष्ठ नागरिकहरुको पनि निधन हुन थालेको छ। यसको प्रमुख कारण नागरिकहरुको हेलेचेक्र्याई पनि हो। बस्तुभाउ रेखदेख गर्ने, जनावरसँग खेल्ने अनि घर फर्कने बेला आफ्नो शरीरमा केले टोकेको छ समेत थाहा नपाउने अभिभावकहरुलाई स्क्रब टाईफसको रोगले सताएको छ। समयमै जानकारी पाउन सकेको अवस्थामा सामान्य औषधीले पनि निको ह्ुन सक्छ। समयमै जानकारी पाउन नसक्दा ब्यक्तिको शरीरमा पसेको किर्नाले शरीरको रक्तसंचारलाई अवरुद्ध बनाउँदै मृगौला, फोक्सो लगायतका शरीरमा विभिन्न अङ्गहरुमा प्रभावित बनाउन सक्छ र निधन हुन्छ। पछिल्ला तथ्याङ्गहरुले त्यहि प्रमाणित गराएको छ। हेर्दा सामान्य ज्वरो जस्तो लाग्ने लक्षण भएको उक्त रोग कोभिड पहिचान हुने डरले पनि ब्यक्तिहरु पहिचान र परिक्षणका लागि अस्पताल पुग्ने गरेका छैनन्। अस्पताल नपुगेकै कारण ब्यक्तिको निधन हुने क्रम तत्काल रोक्न स्थानीय सरकार र सरोकारवालाहरु चनाखो हुनु जरुरी छ। कोभिडको महामारीका नाममा अन्य रोगबाट बच्न समयमै सचेत हुनु जरुरी छ।