2024 April 20/ 01:15: 52am

    काभ्रे एकीकृत खानेपानी, स्मार्ट सिटी, तीन नगरपालिका र आसपासका पालिकाहरुसँगको साझेदारी विकास, जनसंख्याको चाप, बढ्दो शहरीकरण जस्ता विषयका आधारमा काभ्रेपलाञ्चोक जिल्लामा एउटा उपमहानगरपालिका आवश्यक भईसकेको छ। संघीय संरचना निर्माणको बखत नै नेकपा एमालेले उठाएको सवाल त्यहि थियो। थोरै केन्द्र निर्माण गरी भएका केन्द्रहरुमा जनशक्ति र आवश्यक पर्ने पूर्वाधारहरुको समेत तयार गरी नागरिकहरुलाई सेवा दिन पवित्र उदेश्यले प्रस्ताव गरिएको उपमहानगरपालिकाले घोषणा हुन सकेन। लामो समय पछिको राजनीतिक रिक्तता पूर्तिका लागि पनि उक्त प्रस्ताव दलहरुका लागि उपयुक्त हुन सकेन। धेरै पालिकाहरु हुँदा कार्यकर्ताहरुको ब्यवस्थापनमा सहज हुने भएकाले दलहरु त्यसका लागि तयार भएका छैनन्। अहिले पनि उपमहानगरपालिकाको विरुद्धमा उभिने भनेको त्यहि समुहका सिमित नेता कार्यकर्ताहरु मात्रै हुन्। जिल्लाको कायापलटका लागि ढिला भए पनि उपमहानगरपालिका आवश्यक छ। धुलिखेल नगरपालिकाले गरेको सर्वसम्मतको निर्णय सहितको अन्य पालिकासँगको प्रस्ताव सहनीय छ। 
    धुलिखेल नगरपालिकाले निर्णय गरेको उपमहानगरपालिका बनाउने प्रस्ताव यसैवर्ष लागु हुने छैन। किनकी संविधानमा भएको ब्यवस्था अनुसार निर्वाचन घोषणा हुनु एक वर्ष अगावै पुर्नसंरचनाका लागि आवश्यक निर्णय सबै पालिकाहरुले गरेर प्रदेशमा पठाई सक्नु पर्छ। जबकी प्रदेशले आवश्यक ठानेमा संघमा पठाउने ब्यवस्था छ। संघले पुर्नसंरचना कार्यदल निर्माण गरी आवश्यक सिफारिस अनुसारको भुुगोल, जनसंख्या लगायतका राजनीतिक केन्द्रहरु हेरेर प्रतिवेदन बुझाए पछि मात्रै उपमहानगरपालिका घोषणा हुनेछ। धुलिखेल नगरपालिकाले शुरु गरेको यो निर्णयलाई पनौती र बनेपाले पनि सर्वसम्मत निर्णय गरे पछि मात्रै अन्य पालिकाहरुले यसलाई समर्थन गर्न सक्ने सम्भावना रहन्छ। निर्णय भए लगत्तै उपमहानगरपालिका घोषणा त हुँदैन तर यसले पार्ने प्रभाव दुरगामी छ। धुलिखेल नगरपालिका र त्यहाँका जनप्रतिनिधि भविष्यको काभ्रेका लागि चिन्तित छन् भन्ने प्रष्ट बनाएको छ। एकीकृत विकासका अवधारणा त्यहि उपमहानगरपालिको प्रस्तावित रुप हो। यसलाई नागरिक स्तरबाट सर्मथन छ र हुनेछ। धुलिखेल, बनेपा र पनौती नगरपालिका लगायत आसपासका पालिकाहरुलाई एकीकृत गरी उपमहानगरपालिका बनाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णयका पक्ष र विपक्षमा शुरु भएका बहस स्वच्छ र जिल्लाकै विकासका लागि जरुरी छ। 
    ५५ वर्ग किलोमिटर फैलिएको धुलिखेलमा १२ वटा कायम गरिएको छ। पनौती नगरपालिका १ सय १८. ०९ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। पनौतीले पनि १२ वटा वडालाई १३ वटा बनाउने निर्णय गरेको छ। पनौतीको वडा नम्वर १ रयालेलाई दुईवटा बनाउने निर्णय भएको नगरपालिकाले जानकारी दिएको छ। त्यस्तै बनेपा नगरपालिकामा १४ वटा छन्। १४ वटा वडाहरू मिलेर बनेको बनेपा नगरपालिकाको क्षेत्रफल ५४. ५९ बर्ग कि. मी. रहेको छ। क्षेत्रफलको आधारमा काभ्रे जिल्लाको यो सबैभन्दा सानो नगरपालिका हो भने जनसंख्याको आधारमा काभ्रे जिल्लाको यो सबैभन्दा धेरै जनसंख्या भएको नगरपालिका हो। आसपासमा रहेको बेथान्चोक गाउँपालिका, पाँचखाल र नमोबुद्ध नगरपालिकाका केहि वडाहरु पनि उपमहानगरपालिकाका लागि आवश्यक पर्छ। तीनवटा र आसपासका पालिकाहरु भित्र पर्ने धार्मिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक बस्तुहरुको संरक्षण, प्रबद्र्धन, वातावरणको संरक्षण, सरसफाई तथा अन्य पूर्वाधारहरुको सन्दर्भमा समेत उपमहानगरपालिका महत्वपूर्ण आधार बन्नेछ। यसलाई आगामी वर्षमा भए पनि कार्यान्वयन तर्फ उन्मुख हुन जरुरी छ।