2018 November 19/ 08:51: 37am

    समय, प्रविधि, भौगोलिकताले पछाडी पर्दै आएको जिल्लाको डाँडापारी क्षेत्रमा विकासको लहर शुरु भएको छ। महाभारत र खानीखोला गाउँपालिका विकासको प्राथमिकतामा पर्दै गएको छ। जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, मन्त्री तथा पूर्व मन्त्रीहरु, केन्द्रिय नेतृत्व र सरकार तथा स्थानीय सरकार र जिल्लास्थित राजनीतिक दलका नेतृत्वहरुले समेत डाँडापारीलाई प्राथमिकतामा राखेका छन्। उज्यालो यात्रा तथा सडक सञ्जाल समेतबाट पछाडि परेको डाँडापारी अबका केहि वर्षमा झलमल्ल हुने भएको छ। सडक संजालको पहुँचसँगै उज्यालो यात्रा र त्यसबाट गर्न सकिने उद्योग कलकारखाना, ब्यवसायिक खेती डाँडापारीको विकासको सम्भावनाको पहिलो आधार हो। 
    पशुपालन क्षेत्रका लागि डाँडापारी महत्वपूर्ण मानिन्छ। घनाजंगल, उर्वर भूमि उत्पादनका लागि समेत प्रख्यात मानिन्छ। विक्री वितरण गरी ब्यवसायी बन्न नसकिने अवस्था भएकाले उक्त क्षेत्रमा ब्यवसायिकता हुन सकेको छैन। कफि तथा नगदे अन्नबालीहरुको प्राथमिकता सँगै तरकारी बाली तथा अन्य कृषि र पशुपालनका ब्यवसायीक सम्भावनाको ढोका सडक सञ्जालले खोलेको छ। प्रविधिका हिसाबले समेत इमेल, इन्टरनेट मार्फत नागरिकहरुको पहुँच विस्तारले उक्त क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ। इलाका प्रशासनको स्थापना, विद्यालय विद्यालयमा निशुल्क इन्टरनेट, घर घर सोलार तथा केन्द्रिय प्रसारण लाईनको विस्तार पछिको अवस्थाले डाँडापारीको क्षेत्रलाई विकासमा थप प्राथमिकता राखेको पुष्टी हुन्छ। 
    भरखरै मात्र     स्थानीय सरकारको सक्रियता तथा प्रदेश र केन्द्र सरकारको प्राथमिकीकरणका कारण डाँडापारीका दुई गाउँपालिका महाभारत र खानीखोला झलमल्ल बनाउने बजेटको कार्यान्वयनले स्थानीयहरु हर्षित भएका छन्। केन्द्रीय विद्युत प्रशारण लाइन (विद्युतीकरण) का लागि झण्डै १ अर्ब रकम विनियोजन गरिए पछि सर्वसाधारणहरु विकासको मुहान फुट्न थालेको विश्वास गर्न थालेका छन्। विश्व बैंकको अन्तराष्ट्रिय विकास शाखाबाट प्राप्त आर्थिक सहायताबाट जिल्लाको उक्त क्षेत्रलाई १ अर्ब बजेट विनियोजन गरिएको छ। काभ्रे, धादिङ र नुवाकोट जिल्लाको केन्द्रीय विद्युत लाइन विस्तार नभएका क्षेत्रमा ११ हजार ४ सय भोल्टेजको लाइन विस्तार गर्दै ट्रान्सफर्मर राखी केन्द्रीय विद्युत प्रशारण लाइन विस्तार गरिने छ डाँडापारी क्षेत्रमा ग्रामीण विद्युतीकरण बाहेक केन्द्रीय विद्युत प्रशारण लाइन विस्तार भएको छैन। खोपासी ताल्ढुंगा सडक सञ्चालनमा आएको छ । महाभारतका लागि सिपाली बुढाखानी सडक केहि किमी मात्रै ट्रयाक खोल्न बाँकी छ। अन्यत्रबाट महाभारत जान आउन सहज भए पनि जिल्ला भित्रैबाट सहज बनाउन निरन्तर गाउँपालिकाले सडक निर्माणको कार्यलाई तिब्र बनाएको छ। डाँडापारीका दुबै गाउँपालिकामा विहान सदरमुकाबाट हिडेर बेलुका सदरमुकाम नै फर्कन सक्ने गरी सडकको सुविधा भएको छ । 
    विकासको मुहान फुट्न थालेपछि नागरिकको जीवन स्तर सुधार्न ब्यवसायीक योजनाहरुको कार्यान्वयन गरिनु जरुरी छ। विकास उता हुने नागरिक शहर आउने क्रम भयो भने राज्यले गरेको लगानी बालुवामा पानी सरह हुन्छ। त्यहाँका नागरिकहरुको जीवन स्तर सुधार्न शहरीकरण गाउँमै गर्न र ब्यवसायीक बनाउन तत्काल योजना बनाई कार्यान्वयन गर्नु पर्छ।