2024 April 26/ 05:30: 54am

    हामी अहिले विषम परिस्थितिमा छौं। मुलुकले ब्यहोर्नु परेको क्षति समृद्ध मुलुकका लागि बाधक पनि छ सँगै अवसर पनि सिर्जना भएको छ। सशस्त्र युद्ध, भुकम्प, नाकाबन्दी जस्ता महत्वपूर्ण परिघटना पार गरेर नेपाली जनतामा स्थायीत्व, अवसर र मुलुकको द्रुत विकासका लागि गरेको परिकल्पना साकार हुनै लाग्दा कोरोना भाईरसका कारण मुलुकको अर्थतन्त्र तहसनहस भएको छ। सरकारी बजेट खर्च गर्ने र आम्दानी गर्ने क्रम रोकिएको छ। निजी क्षेत्रले ब्यहोर्नु परेको दबाब र अभाव उत्तिकै छ। तर पनि नेपाल सरकारले कोरोना भाईरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि गरिरहेका प्रयास सहनीय छन्। संक्रमण दर बढिरहेको, परीक्षण र पहिचानको काम तिब्र बनाईरहेको, क्वारेन्टाईन, आईसोलेसन वार्डको क्षमता विस्तार गरिरहेको, स्वास्थ्य सामाग्रीको उपलब्धतालाई बढाईएको, लकडाउन अवधीमा विकास निर्माणका महत्वपूर्ण आयोजनाहरुको कार्य सूचारु गरिएको जस्ता विषयले आशा जगाएको छ। भोकमरी लाग्न नदिन सरकारले स्थानीय सरकार मार्फत वितरण गरिरहेको राहत, चालु वर्षका कार्यक्रम मार्फत वितरण गरिने अनुदानका कार्यक्रमको सम्झौता र नागरिकहरुको स्वास्थ्यप्रति सचेत रहेको विषयले नागरिकहरुमा आशा र भरोसा जगाएको छ। 
    सिमा समस्या बर्षाै देखि गिजोलिरहेको छ। स्थायी सरकारले सिमाका समस्या समाधान गर्न गरेको प्रयास वार्ताबाट सम्भव भएको छैन। अझै वार्ताको विकल्प छैन । भारत सरकारले एकतर्फी गरेको नक्सा सार्वजनिक, सडक खन्ने र उद्घाटन गर्ने कार्यको जति भत्र्सना गरे पनि पुग्दैन। दर्जनौं प्रमाणहरु नेपालका पक्षमा छन्। नेपालका विशिष्ठ ब्यक्तिहरु समेत छिमेकीको हेपाहा र मिचाहा प्रवृत्तिको खुलेर विरोध गर्न सकिरहेका छैनन्। दिल्लीको निगाहमा आशिर्वाद लिनेहरु सरकारको उक्त कदम गलत भनिरहेका छन्। सरकारले उचित समयमा उचित निर्णय लिएको छ। संविधान संशोधनका लागि संसद्मा दर्ता गरेको विधेयकलाई सर्वसम्मत बनाउने प्रयास पनि जारी छ। नेपाल सरकारको ऐतिहासिक कदमलाई आम नागरिकहरुले साथ पनि दिएका छन्। कोरोनासँग जुधिरहेको नेपाल र नेपालीको मन र मुटुमा बज्रपात हुने गरी भारत सरकारले संविधान जारी भएको बेला भुकम्पको आहातमा रहेका नेपालीहरुलाई नाकाबन्दी गरेर दुःख दिए जस्तै गरी दुःख दिने वाहानालाई अब नेपाली जनताले सहजै पचाउन सक्छन् र आत्मनिर्भर नेपाल र नेपालीको उदाहरण दिन अहिले गाउँगाउँमा बाँझो जमिन खन्न थालेका छन्। ब्यवसायिक तरकारी खेती तथा अन्य आय–आर्जनका ब्यवसायीक काममा नागरिकहरुको उत्साहलाई चालु बजेटका प्राथमिकताले समेटनु पर्छ। 
    बजेटले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्र समेटिनु पर्छ। विशेषगरी स्थानीय तहहरुमा एउटा अस्पताल, अस्पतालमा आवश्यक पर्ने जनशक्ति सहितको ब्यवस्थापन हुनुपर्छ। शिक्षालाई पूर्ण ब्यवसायिक बनाउनु पर्छ। रोजगारका क्षेत्रहरु फराकिला बनाईनु पर्छ। विदेश र अन्य जिल्लाबाट गाउँ फर्किने युवाहरुका लागि कृषि क्षेत्रमा अनुदान र सहुलियत कर्जाको ब्यवस्था गरिनु पर्छ। आत्मनिर्भर मुलुकका रुपमा विकास गर्न र निर्यात गर्ने खालका उत्पादनहरुमा जोड दिनु पर्छ। बजेटले यस्ता विषय समेटन सकेको अवस्थामा कोरोनाले थला परेका नीजि क्षेत्रहरुलाई पनि सहज हुनेछ। तीन खम्बे अर्थनीति अनुसार बजेटको प्राथमिकतामा तल्लो स्तरका नागरिकहरुको जीवन समृद्ध बनाउनतर्फ केन्द्रित हुनु जरुरी छ।