श्याम सापकोटा/नाला
उग्रचण्डी नाला नेपालको बाग्मती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित काठमाण्डौंको पूर्व तिरको रहेको प्राचीन ऐतिहासिक सहर हो । यो काठमाण्डौसंगै जोडिएर रहेको भक्तपुरबाट झण्डै दुई कोष टाढा पूर्व्तिर अवस्थित छ ।
काभ्रेपलाञ्चोक जिल्लाको सात प्राचीन नेवार बस्तीहरू मध्ये प्रमुख बस्ती भएको ऐतिहासिक प्रमाणहरूले देखाउँछ । नाला समुद्र सतहबाट करीब १४०० मीटर उचाईमा अवस्थित छ । नालाको दायाँबायाँ नण्यमाता र पुण्यमाता खोलाहरू रहेका छन् । यहाँको हावापानी समशीतोष्ण रहेको छ । यस क्षेत्रलाई चारैतिर हरिया पहाडहरूले घेरिएको छ । यस स्थानमा नेपालका प्रमुख प्रख्यात चार भगवती मध्ये एक उग्रचण्डी भगवती तथा नेपालमा प्रमुख प्रख्यात चार करुणामय मध्ये श्रृष्टीकान्त लोकेश्वर करुणामय पनि यसै स्थानमा रहेको छ । यहाँ गुप्त बालमिकेश्वर महादेब, बाल्मिकी गुफा, करिब ११ सय बर्ष पुरानो उमामहेश्वर मन्दिर र त्रेता युगका धर्मराज युधिष्ठिरको मुर्ति समेत रहेको यहाँ उत्तरमा बासुकि नागले बिराजमान पुर्बमा चामुण्डा देबि दक्षिणमा सरस्वती र पस्चिममा गणेश जि ले पहरा दियकी साक्ष्यात देबि उग्रचण्डी भगवती रहेको पबित्र भुमि हो नाला । २–३ दशक पहिले दूध, दही र खुवाको लागि प्रसिद्ध थियो भने हाल आलुको लागि प्रसिद्ध छ । लिच्छवीकालमा हस्त निर्मित बाँसको ढक्की तथा कँलालीको लागि प्रसिद्ध रहेको कुरा इतिहास प्रमाण छन् । मञ्जुश्री उपत्यका प्रवेश गर्दा नालाको बाटोबाटै आएको कुरा इतिहासले देखाउँदछ । नालाको लागन टोल ढुङ्गे धाराको भित्तामा रहेको लिच्छवीकालको ऊँ सम्बत् ११८ (वि.सं.७१५) को शिलापत्रले यहाँको ऐतिहासिक गरिमालाई प्रकाश पार्न मद्दत पु¥याएको छ । नाला विभिन्न समयमा विभिन्न नामाकरण भएको देखिन्छ। लिच्छवीकाल पूर्व सत्ययुगको राजा दीर्घरथको समयमा “नगिरीपुर”, लिच्छवीकालीन राजा शिवदेव द्धितीयको समयमा “नालङ्गग्राम”, मल्लकालीन यक्ष मल्लको समयमा “नालादेश”, आधुनिककालीन समयमा नाला शहर नामाकरण भएको पाइन्छ । यहाँको उग्रचण्डीको भजन गीतमा उत्ररापुर” नाम रहेको पाइन्छ । त्यसकारण यसको नामाकरण र अर्थबारे अझै थप अनुसन्धान गर्नु पर्ने देखिन्छ । हाल बनेपा नगरको ४ र ३ नं वडामा रहेको छ ।
नालामा हालसम्म गढ, पर्खाल, ढुङ्गाको मूल ढोकाहरू, प्रशस्तमात्रामा ढुङ्गेधाराहरू, इनारहरू, मनोरञ्जनको लागि डबलीहरू, सडक चोकमा ढुङ्गा पेबिङ विछ्याएको बाटो, ढलको व्यवस्था भएको, लायकू (दरबार) रहेको अवशेषहरू पाइन्छ । यी प्रमाणहरूले के कुरा पुष्टि गर्दछ भने आधुनिककाल भन्दा पनि परापूर्वकालको (किराँती, लिच्छवी, मल्लकालीन) नाला एक ऐतिहासिक र सुन्दर नगरीको रूपमा विकसित भएको देखिन्छ । अझ यहाँ मनाउने चाडपर्व, अन्य साँस्कृतिक क्रियाकलापहरू अन्य ठाउँको भन्दा पृथक रहेको ती सम्पूर्ण क्रियाकलापहरू बैज्ञानिकतामा सामीप्य रहेको देखिन्छ । यस साँस्कृतिक क्रियाकलापहरूलाई यहाँ रहेको प्राकृतिक वातावरणले सुनमा सुगन्ध थपेको छ । हाल नाला शहरको सम्पूर्ण ऐतिहासिक, पुरातात्विक, धार्मिक, पौराणिक आदि विषयवस्तुहरूलाई फेरि एक पटक अध्ययन अनुसन्धान गर्ने हो भने यहाँबाट पक्कै पनि मानव सभ्यता भित्र लुकेको रहस्मय तथ्यहरू पत्ता लाग्न सक्ने कुरामा दुई मत छैन । यहाँका जनश्रुतिहरू, लोक साहित्य, किम्बदन्तीहरू र पौराणिक, ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं किम्बदन्तीयुक्त तथ्यहरूलाई यहाँका भावी पिँढीहरूले बचाई राख्नु नितान्त आवश्यक छ ।
यसै सन्दर्भमा अर्को रोचक तथ्य पनि रहेको छ । मध्यान्हकालको भगबति मन्दिरको गजुरसम्मको छाँया पर्ने भु–भाग भगवति पुजा फुलबारी गुठी हो भने यस जग्गामा हाल भय जस्तै अर्को मन्दिर निर्माण गर्न सकिने काठ लगायतका आबस्यक सामग्री पुरेर राखिएको किम्बदन्ति समेत रहेको छ । तर त्यो जग्गा समेत ब्यक्तिका नाममा नामसारी भैसकेको र यस सही कुरालाई मनन गरी हामी सबै लाग्नु पर्ने आवश्यक भएको कुरा हामीले भुल्नु हुँदैन । यस कुरालाई भुल्ने हो भने हामी फेरि एक पटकलाई पछि पर्नेछौं । त्यसैले यस भेगका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरू आ–आफ्नो स्वार्थलाई छोडेर आ–आफ्नो मत भिन्नताहरूलाई थाँती राखेर नालाको पुनः उग्रचण्डी नालाका अमूल्य कलात्मक काष्ठकला, ढुङ्गे धारा, ईनार, कुवा, डबलि, चार द्वार, खेल मैदान, मठ मन्दिर जोगाउन सबै हामी हातेमालो गरेर लाग्नु अपरिहार्य छ । स्वार्थ छाडौ नमुना वडा बनाउन लागौ, हाम्रो नाला राम्रो नाला ।





