2024 May 05/ 09:16: 02pm

    धुलिखेल/अनेरास्ववियु काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीले विद्यार्थी हकहितका लागि उठाएका मागहरु पूरा गर्न विश्वविद्यालय प्रशासन सहमत भए पछि संगठनले लगाएको ताला खुलेको छ । 
    संगठनका तर्फबाट ०८० चैत्र २८ गते विश्वविद्यालय प्रशासन समक्ष प्रस्तुत गरेका मागहरुलाई सम्बोधन गर्दै विश्वविद्यालय प्रशासनले विश्वविद्यालयमा सुशासन कायम राख्न, विद्यार्थी मैत्री तथा महिला मैत्री विश्वविद्यालयका लागि आवश्यक वातावरण, पठनपाठनका सम्बन्धमा पूर्ण रुपमा लचकता सहितको किस्ताबन्दी सुविधा, विद्यार्थीहरुलाई सेमेस्टर पाठ योजना, परिचय नखुल्ने गरि शिक्षक सुझाव सङ्कलन, खेलकुदमा ख्याति प्राप्त खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गर्न निर्देशिका बनाउने र १२ महिना खेल सञ्चालन गर्न मिल्ने मैदान र क्रिकेट खेल मैदान निर्माण सम्बन्धी अध्ययन, सुरक्षा सम्बन्धी जिल्ला प्रशासन र स्थानीय सरकारसँग सहकार्य गर्ने, खानेपानी, ईन्टरनेट, र डस्टबिन आवश्यक स्थानमा व्यवस्था गर्ने लगायतका विषयमा सम्झौता गरेको छ । 
    साथै स्कुल अफ मेडिकल साइन्समा जरिवाना शुल्क सम्बन्धी स्कुलका सहायक डीन डा.दिपक कुँवरको अध्यक्षतामा अध्ययन समिति बनी समस्या समाधान गर्ने सहमति भएको छ । उक्त सम्झौता कार्यकारी परिषदबाट अनुमोदन हुने भएकले काठमाडौं विश्वविद्यलयको नितिगत, आर्थिक, शैक्षिक, प्रयोगशाला, परीक्षामा सबल सुदृढीकरण, विद्यार्थीहरुले दैनिक रुपमा विश्वविद्यालयमा भोगेका तमाम समस्याको समाधान, विद्यार्थी कल्याण परिषदको निर्वाचन लगायतका विषयमा सुधार हुने बताईएको छ । सम्झौता पत्रमा अनेरास्ववियुका तर्फबाट बालकृष्ण घिमिरे, अरुण लम्साल, उत्सव भट्टराई, प्रज्ञान बराल र माजाका अर्यालले हस्ताक्षर गरेका छन् भने विश्वविद्यालयका तर्फबाट बालचन्द्र लुईटेल, मनोज हुमागाई, मनिष पोखरेल र राजेन्द्र जोशीले हस्ताक्षर गरेका छन् ।